शनिबार, वैशाख २२, २०८१

हिरन्मयीले विकेट लिइन्, बाबुआमाले सबैथोक भुले

हिरन्मयीले खेलेका सबै खेल हेर्छन् उनका पिता विरेन। आफ्नो घरमा टिभी छैन, छिमेकीको घरमा छिर्छन्। उनी क्रिकेटका डाइहार्ट फ्यान नै हुन्।
 |  सोमबार, जेठ १६, २०७९

विनय सापकोटा

विनय सापकोटा

सोमबार, जेठ १६, २०७९

जेदिन प्रथम तुमी एसे जिले होबे
तुमी मात्र केथे छिले, ऐसे छिले सबे
एखन एमन जिवन ओडिते होइवे गथरन
मरने हाँसिवे तुमी कदिवे होवन।

triton college

बंगलादेशका राष्ट्रकवि काजी नजरुल स्लामको कविताका हरफ हुन् यी। ‘जीवनलाई यसरी अघि चलाउ कि मृत्युपछि पनि मानिसले तिम्रो कीर्ति सम्झिउन्’ भन्ने अर्थ दिन्छ यो कविताले। विरेन रायले यो कविता सानै हुँदा पढेका थिए। उनी जीवन यसरी नै चल्नुपर्छ भन्ने सोच्छन्।

आफ्ना सन्तानलाई त्यस्तै शिक्षा दिए विरेनले। ‘त्यो कवितालाई नै आदर्श बनाएर मैले छोराछोरीलाई यस्तै बनाउन खाजेको हो। त्यति मात्र हो,’ उनी सुनाउँछन्। जब विरेनकी छोरी हिरन्मयी रायले राष्ट्रिय क्रिकेट टिमबाट उत्कृष्ट खेल्दै देशभरी चर्चा कमाइन्। त्यसपछि विरेनले छोरीलाई सिकाएको जीवनबारेको छोटो दर्शन सुनाए।

आफ्नो पसलमा बेच्ने चियाजस्तै छ विरेनले बुझेको जीवनको दर्शन। थोरै, मिठो, अलिअलि तितो अनि सबैलाई मन पर्ने। ‘बाबुआमाको सन्तानलाई पढाउने नै इच्छा रहन्छ। तर तपाई विचार गर्नुहोला– पढेर मान्छेले आफ्नो लागि पैसा कमाउँछ। त्यो आफ्नो लागि हुन्छ। त्यसैले बाबुआमा छोराछोरीले धेरै पढेर ठूलो जागिर खाओस् पैसा कमाओस् सुख पाओस् भन्ने सोच्छन्,’ दमकको कृष्णमन्दिर नजिकैबाट फोनमा विरेनले भने, ‘मेरो फरक लक्ष्य के छ भने, जन्मेर पैसा कमाएर मात्र हुँदैन। देशका लागि पनि, समाजको लागि पनि, आफ्नो गाउँठाउँका लागि पनि केही गर्नुपर्छ। जसले समाजमा एउटा नजिर बन्न सकोस्, एउटा उदाहरण बन्न सकोस्। मेरो सोचाइ त्यता धेरै जान्छ।’

हो, पैसा कामएर आफ्नो लागि हुन्छ त्यसैले विरेनको सोच रह्यो अलिकति समाजको लागि पनि गर्नुपर्छ। यसै सन्दर्भमा उनले फोनमै माथिको कविता वाचन गरेर सुनाए। 

corrent noodles
Metro Mart
 ‘बाबुआमाको सन्तानलाई पढाउने नै इच्छा रहन्छ। तर तपाई विचार गर्नुहोला– पढेर मान्छेले आफ्नो लागि पैसा कमाउँछ। त्यो आफ्नो लागि हुन्छ। त्यसैले बाबुआमा छोराछोरीले धेरै पढेर ठूलो जागिर खाओस् पैसा कमाओस् सुख पाओस् भन्ने सोच्छन्,’

आज विरेन सम्झिन्छन्, त्यो दिन जब हिरन्मयी भर्खरै कुनै साना कुरा उचाल्न सक्ने भएकी थिइन्। त्यतिबेला नै उनी विशेष लग्थ्यो विरेनलाई। ‘अब यहाँ, रोडमा ढुंगा हान्ने। बाटामा भाटा र लौरोले त्यसलाई हान्ने गरेको उनीहरुमा देखिरहेको थिएँ। त्यसले मलाई लाग्थ्यो कि उनीहरु क्रिकेट खेल्न सक्न्छन्,’ नेपाल समयसँगको कुराकानीमा विरेनले भने, ‘मेरो छोरीहरु त अहिले सानै छन्। तर मैले पहिले नै उनीहरुमा क्रिकेट खेल्ने लक्षण भने देखेको हो।’

आधिकारिक रुपमा सिक्न भने उनलाई धेरै समय लाग्ने नै भयो। तर जब सिक्न थालिन् उनको कला निखारिँदै जान थाल्यो। ‘स्कुलमा पढ्दापढदै खेलकुद विभागबाट पहिलो पटक त्यो इसीडिसी क्रिकेट एकेडेमीमा भर्ना गरिदिएको थियो र मेरो पनि इच्छा थियो कि केटाकेटी एउटा उचाइमा पुगुन्। त्यसैले मैले क्रिकेट खेल भने,’ विरेनले छोरीबारे भने, ‘म त एउटा सानो गरिब मजदुर मान्छे। धेरै त म पढाउन सक्दिन। यिनीहरुबारे के गर्न सकिन्छ भनेर सोच्दासोच्दै यस्तो मौका आयो।’

हिरन्मयीले कक्षा आठ सुरु गरेसँगै क्रिकेट खेल्न पनि सुरु गरेकी हुन्। उनले दुई वर्षमै धेरै उचाइ लिइन्। गएको अप्रिल ३० देखि मे ९ तारिखसम्म नेपाली महिला टिमले युगान्डाविरुद्ध पाँच खेलको टी २० क्रिकेट प्रतियोगिता खेल्यो।


त्यो सिरिजमा उनले डेब्यू गरिन्। अन्तर्राष्ट्रिय खेलमा नेपाली सिनियर टिमबाट डेब्यू गर्ने २४ औं खेलाडी बनिन् हिरन्मयी राय। डेब्यू सिरिजमा हिरन्मयी चर्चाको शिखरमा रहिन्। अन्तिम दुई खेलमा अवसर पाएकी रायले पहिलो खेलमा तीन ओभर बलिङ गर्दै ११ रन खर्चिएर दुई विकेट लिएको दिन प्लेयर अफ दि म्याच भइन्। उनले अन्तिम खेलमा पनि एक विकेट लिइन्।

‘उनीहरुले विगतमा राम्रो प्रदर्शन गरेर नै हामीले राष्ट्रिय टिममा ल्याएको हो। १५ वर्षमा नै ठाउँ दिएको हो। र, उसलाई समावेश गर्नुपर्छ भनेर ठाउँ दिएको हो,’ सिरिजपछि नेपाली टिमकी कप्तान रुविना क्षेत्रीले भनेकी छन्, ‘संघर्ष र डेडिकेसन फिल्डमा पनि देखिएको छ। हामीले युवा खेलाडीलाई वर्षहरु लस भयो भने राष्ट्रिय टिममा कति घाटा हुन्छ भनेर बुझाउनु पर्छ।’

बागमती प्रदेशबाट प्रधानमन्त्री कप महिला क्रिकेट खेलेकी उनले पछिल्लो समय त्रिवि क्रिकेट मैदानमै भएको ललितपुर मेयर्स कप भने ललितपुर–११ बाट खेलेकी थिइन्। मेयर कपमा भने उनले लुम्बिनीविरुद्ध २० र प्रदेश १ विरुद्ध २४ रन बनाएकी थिइन्।

हिरन्मयीले खेलेका सबै खेल हेर्छन् उनका पिता विरेन। उनी क्रिकेटका डाइहार्ट फ्यान नै हुन्। उसो त झापामा क्रिकेटको क्रेज पनि धेरै नै छ। उनी नेपालको मात्र होइन विश्वकै क्रिकेट हेर्छन्। ‘म गेम जहिले पनि हेर्छु। फुर्सद भएको बेलामा म अरुको घरमा गएर जहिँको क्रिकेट खेल, जस्तै आईपीएल पनि हेर्छु,’ उनले भने, ‘टेस्ट हेर्न त लामो हुन्छ। फुर्सद हुँदैन। वान डे, टी २० क्रिकेट हेर्छु। टिभी हेर्दा म कुनै पनि हेर्दिन। क्रिकेट हेर्छु।’ विरेनको आफ्नो घरमा टेलिभिजन छैन। त्यसैले उनी छिमेकीको टिभिमा क्रिकेट हेर्ने गर्दछन्।

उनी धेरै बोल्दिनन्। त्यसैले हाँसिदिन्छिन्। प्रश्नको जवाफ त्यति नै हुन्छ। कस्तो थियो त राष्ट्रिय टिको अनुभव? जवाफमा उनी हाँसिन्। उनीसँग सीधासिधा जवाफ छैन।

आफ्नै छोरीको खेल त झन् छुटाउने कुरै भएन नि! हिरन्मयीको खेल उनले हेरे छिमेकीको टेलिभिजनमा। हिरन्मयीले सिनियर टिमबाट खेल्दा उनलाई केहि विषेश अनुभव भयो। ‘अनुभव कसरी बुझाउनु कि मलाई कति आनन्द भएको थियो। त्यो बयान गर्न सक्दिनँ। एक्लै हेरिरहेको थिएँ। जुन घरमा हेरिरहेको थिएँ, त्यहाँका हरु मलाई टिभी खोलिदिएर काममा गएका थिए,’ टेलिभिजनमा छोरीले विकेट लिएको पलबारे विरेनले सुनाए।

ठूलो श्वास लिएर थपे, ‘मैले त्यतिबेला कस्तो भयो–भयो। के गरेँ भन्ने पनि थाहा छैन। मेरो खुसीको सीमा थिएन। आफ्नो छोराछारीले सानो उमेरमा सिनियर टिममा त्यस्तो राम्रो गर्यो। म खुसीले आधाजति बेहोस थिएँ।’

उनलाई थाहा थियो नेपालले तीन खेल हारिसकेको थियो। सिरिज गुमिसकेको थियो। तर नेपाललाई जित्नु थियो। ‘मेरो छोरीले त्यसपछि मात्र पहिलो खेल खेल्यो र दुई विकेट लियो। जम्मा तीन विकेट थियो। एउटा रनआउट भयो त्यो उसको नाममा आएन,’ छोरीको खेल बुझ्दै उनी सुनाउँछन्।

विरेन श्रीमतीसँग पनि हिरन्मयीको खेलबारे कुरा गर्छन्। ‘उनी त झन् छोरीको आमा हुन्। आमाको हृदय झन् कस्तो होला,’ श्रीमतीको भावना बुझ्दै विरेन भन्छन्, ‘देवी देउताले सन्तानप्रति आमाको हृदयको तुलना गर्न सक्दैन भने म के भनौँ। खुसीले आँसु झरेकी छन्, खुसीले कति थोक विर्सिइन्। भात पस्किँदा पनि सब्जी हाल्न विर्सिन्छन्। खुसीले त त्यस्तो पो भयो।’

छोरीको खेलबाट परिवारलाई नै गर्व लागेको छ। हिरन्मयीले पनि पहिलो विकेट लिएपछि यस्तै लागेको बताएकी छन्। ‘मैले पहिलो विकेट लिएको थिएँ, युगान्डाको खलाडीको। त्यो विकेट लिँदा चाहिँ मलाई गर्व महसुश भएको थियो,’ युगान्डाविरुद्धको सिरिज सकिएपछि उनले भनेकी छन्।

हिरन्मयीले क्रिकेट खेल्न थालेको दुई वर्ष मात्र भयो। खेल्नकै लागि न अन्य खेल पनि थिए। तर विरेनलाई क्रिकेट हेर्न मन परेजस्तै हिरन्मयीलाई क्रिकेट धेरै मन पर्यो। र, उनले क्रिकेट खेल्न थालिन्।

लामो समय नै चाहिएन उनलाई राष्ट्रिय टिममा आइपुग्न। क्रिकेटमा दुई वर्षको यात्रा भनेको धेरै लामो पनि त होइन। तर दुई वर्षमै सिनियर टिममा आइपुग्दा धेरै खुसी लाग्यो हिरन्मयीलाई।

उनी धेरै बोल्दिनन्। त्यसैले हाँसिदिन्छिन्। प्रश्नको जवाफ त्यति नै हुन्छ। कस्तो थियो त राष्ट्रिय टिको अनुभव? जवाफमा उनी हाँसिन्। उनीसँग सीधासिधा जवाफ छैन।

उनी आफ्नो खेल यात्राबारे भने अलिअलि सुनाउँछिन्, ‘दुई वर्षअघि मैले क्रिकेट सुरु गर्दा नै निर्णय लिइसकेको थिएँ कि अब क्रिकेटर बन्नुपर्छ। मैले राष्ट्रिय टिमको लागि नै खेल्छु भनेर अभ्यास थालेँ। त्यो एउटा सपना थियो। यति चाँडै पूरा हुन्छ होला भन्ने चाहिँ लागेको थिएन्। तर, यहाँसम्म आइपुग्नका लागि धेरै मेहेनेत पनि गर्नुपर्यो।’

अहिले झापामा प्याट्रिओटिका क्रिकेट ग्राउन्डमा अभ्यास गर्छिन् हिरन्मयी। उनका पहिलो प्रशिक्षक लाक्पा लामा हुन्। उनकी जुम्ल्याहा बहिनी हैमवती पनि क्रिकेट नै खेल्छिन्। उनीहरुले सिक्ने एकेडेमी एकै हो।

त्यसपछि उनी प्रधानमन्त्री कपको लागि भएको छनोटमा सहभागी बनिन्। प्रदेश १ बाट उनले प्रतियोगिता पनि खेलिन्। केहि महिना अघि भएको प्रधामन्त्री कपमा नेपाली सिनियर टिमकी सबैभन्दा अनुभवी खेलाडी सिता राना मगरलाई बोल्ड गरेकी थिइन्। त्यतिबेला पनि उनको चर्चा भएको थियो। घरेलु प्रतियोगिता खेल्दा र अन्तर्राष्ट्रिय खेल्दा फरक हुने उनको अनुभव छ। उनलाई धेरै सिक्न मिलेको छ।

‘मैले शुक्रबार त्रिवि मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता पनि खेलेँ। त्यो खेलमा सुरुमा बलिङ गर्दा एकदमै खुसी लागिरहेको थियो। पहिलो दिन गरेको आफ्नो प्रदर्शनबाट पनि म सन्तुष्ट छु,’ उनले सिरिज सकिएपछि भनिन्, ‘अब चाहिँ म यो खेललाई निरन्तरता दिन्छु। म अरु देशमा पनि खेल्न चाहन्छु। मलाई सबैभन्दा मनपरेको बिग ब्यास लिग हो। त्यो लिग खेल्ने इच्छा छ।’


 नेपाली महिला टिमका मुख्य प्रशिक्षक हुन् जगत टमाटा। केहि समय अघि हिरन्मयी नेपाली यू–१९ टिमको बन्द प्रशिक्षणमा परेकी थिइन्। उनीहरुको अभ्यास पोखराको क्रिकेट मैदानमा भइरहेको थियो। प्रशिक्षक टमाटाले पोखराको अभ्यासको दौरान हिरन्मयीलाई देखेका थिए। महिला लेगस्पिनर खेलाडी देखेपछि प्रशिक्षक निकै खुसी थिए। ‘राष्ट्रिय टिममा यो खेलाडी चाहिन्छ’ भनेर टमाटाले यू–१९ का प्रशिक्षकलाई मागे।

त्यसपछि हिरन्मयी सिनियर राष्ट्रिय टिममा जोडिएकी हुन्। ‘पहिलो पटक मैले दुई दिन अभ्यासमा हेरेको हो र प्रतियोगितामा दुई दिन खेल खेलाएको हो। त्यो आधारमा उनको प्रदर्शन निकै राम्रो छ। उसको भविष्य निकै राम्रो छ। हामीले हिरन्मयीलाई प्रयोग गरेको दुई खेल मात्र भएको छ। नेपालमा महिला लेगस्पिनर पाउनु सानो कुरा होइन। केटाहरुमा त पाउन सकिँदैन हामीले केटीहरुमा पाएका छौं।’

हिरन्मयीले अन्तिम दुई खेलमा मात्र अवसर पाइन्। तर उनले सोचेभन्दा राम्रो प्रदर्शन गरेर सबैलाई खुसी पारिन्। उनलाई सुरुका खेलमा राख्ने सकेको भए राम्रो नतिजा आउने आकलन पनि गर्न त सकिन्छ। तर, प्रशिक्षक टमाटाले आफ्नो योजनामा नै उनलाई अन्तिमको दुई खेलमा राख्ने योजना बनाएको बताए।

टमाटाको योजनामा परेपछि हिरन्मयीले घरमा फोन गरिन्। ‘घरबाट ममी बाबाले यस्तै खेल्नु, राम्रो गर्दै जानु’ भनेको उनी सुनाउँछिन्। विरेनलाई अब छोरीलाई भन्ने कुरा धेरै छैन। खासमा उनले छोरीलाई के बनाउने भन्ने ठूलो सपना देखेका थिएनन्। अहिले सपना देख्न धेरै खर्चिलो छ।  

 ‘नेपाल आमाको दूध पिएर बनेको रक्त, नेपाल आमाको नामको लागि खेल्न पाओस् भन्ने मेरो हार्दिक इच्छा छ। ऊ नेपाल आमाको लागि देशभित्र, देशबाहिर गएर केहि गरोस् भन्ने इच्छा छ।’

उनको चिया पसलले त मुस्किलले परिवार पालिन्छ। ‘दमक बजार नजिकै रहेको गाउँमा घर छ। यहाँ सानो चिया पसल खोलेको छुु। हामी परिवार मिलेर चिया पसल चलाउँछौं। गुजारा चलेको छ। धेरै भीडभाड हुने ठाउँ होइन। चिया पसलले एक–एक छाक भात खान पुगेको छ। खान लाउन दुःखमा पुग्छ,’ विरेनले भने। छोरीहरुको पेट भर्न पाए सन्तुष्ट लाग्छ विरेनलाई। तर उनको छोरीले अहिले उनलाई ठूलो सपना देखाउन थोलेकी छन्।

‘मैले बीबीएल खेल्छु’ भनेकी छन्, अब हिरन्मयीलाई लिएर विरेनको आशाको सीमा पनि ठूलो भएको छ। उनी देशको टिमबाट आफ्नो छोरीले खेलिरहेको हेर्न चाहन्छन्। ‘आशा भरोषा छ। म भन्छु सकुन्जेलसम्म हिरन्मयीले खेलोस्। बाहिर पनि गएर खेलोस्,’ विरेनले भने, ‘नेपाल आमाको दूध पिएर बनेको रक्त, नेपाल आमाको नामको लागि खेल्न पाओस् भन्ने मेरो हार्दिक इच्छा छ। ऊ नेपाल आमाको लागि देशभित्र, देशबाहिर गएर केहि गरोस् भन्ने इच्छा छ।’

विरेनलाई क्रिकेटबारे धेरै थाहा छ। त्यसो भए उनले जीवनको कुनै कालखण्डमा क्रिकेट खेले त? उनी स्कुल पढ्दा फुटबल, क्रिकेट खेल्ने गरेको बताउँछन्। तर, रमाइलोको लागि मात्र। ‘मैले सानो हुँदा, स्कुले जीवनमा फुटबल अलिअलि खेलेँ। क्रिकेटको पनि ब्याट समाएर केहि सिकेको हो। तर मेरो सबैभन्दा मनपर्ने खेल चाहिँ क्रिकेट नै हो,’ उनले आफ्नो विगत सम्झिए, ‘मैले खेल्दाखेरी बल, ब्याट थिएन। हामी त कहाँ बल ब्याट किन्न सक्नु। झुम्राको गोल र घरमै काठको ब्याट बनाएर खेल्ने हो नि।’

प्रकाशित: May 30, 2022| 15:36 सोमबार, जेठ १६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।