शुक्रबार, वैशाख १४, २०८१
  • गृहपृष्ठ
  • भिडियो
  • ओलीको आलोचना भएपछि एमाले रुष्ट, संसद पुग्यो हदम्याद हटाउने प्रस्ताव [२०७९-२-१३]

ओलीको आलोचना भएपछि एमाले रुष्ट, संसद पुग्यो हदम्याद हटाउने प्रस्ताव [२०७९-२-१३]

सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा ओलीले लगाएका आरोपमाथि टिप्पणी गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले बिहीबारको बैठकमा मन्त्री बडूले आलोचनात्मक टिप्पणी गरेपछि एमाले सांसद्‌हरूले विरोध गरेका थिए।
 |  शुक्रबार, जेठ १३, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, जेठ १३, २०७९

काठमाडौं- शुक्रबारका मुख्य घटनाक्रम सहितको नेपाल समय समाचारका प्रमुख शीर्षकहरू

triton college
  • ओलीको आलोचना गरेपछि एमालेले गर्‍यो प्रतिनिधि सभाको बैठकमा अवरोध, उद्योगमन्त्री बडूका 'असंदीय शब्द संसदको रेकर्डबाट हटाउन सभामुखको रुलिङ। ओलीको आलोचना खप्दैन एमाले
  • निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाउनु दुखद् भएको माधव नेपालको टिप्पणी, सरकारले चुनावमुखी नीति तथा कार्यक्रम ल्याएको राप्रपाको आरोप। चुनावमुखी सरकारको नीति
  • नेपाल राष्ट्र बैंकले बजारमा पठायो ६२ खर्ब ४२ अर्ब ७२ करोड तरलता, बैंक तथा वित्तीय संस्थामा हालसम्मकै बढी तरलता पठाइएको जानकारी। तरलताको छटपटी
  • बाल यौन दुर्व्यवहारमा हदम्याद हटाउन माग गर्दै राष्ट्रियसभामा संकल्प प्रस्ताव दर्ता, जघन्य अपराधका घटना हुनै नदिने गरी कानुनको तर्जुमा गर्ने गृहमन्त्रीको प्रतिबद्धता। के होला हदम्यादको विषय?
  • एन्फाको नयाँ नेतृत्वका लागि ३ अध्यक्षसहित ५४ जनाको उम्मेदवारी मनोनयन, अध्यक्ष शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङले बनाए प्यानल। एन्फामा दुई प्यानल 

अब समाचार विस्तारमा
ओलीको आलोचना गरेपछि एमालेको विरोध
प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको आलोचना भएपछि एमालेले संसदमा अवरोध गरेको छ। 

सरकारको नीति तथा कार्यक्रमका सन्दर्भमा ओलीले लगाएका आरोपमाथि टिप्पणी गर्दै उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडूले बिहीबारको बैठकमा मन्त्री बडूले आलोचनात्मक टिप्पणी गरेपछि एमाले सांसद्‌हरूले विरोध गरेका थिए। 

मन्त्री बडुले बिहीबार संसदमा बोलेका एमाले अध्यक्ष ओलीको टिप्पणीलाई अराजनीतिक र स्तरहीन भएको एमाले सांसदको भनाइ थियो। रोस्ट्रमबाट बोल्दै बडुले ओलीलाई कमिसन नै कमिसन खाएर सत्ता गुमाउँदा पनि अझै चेत नफिरेको भन्दै टिप्पणी गरेका थिए। 

मन्त्री बडूले सम्बोधन गरिरहँदा एमाले सांसदले नियमापत्ति गरेका थिए। एमाले सांसद खगराज अधिकारीले उठेर विरोध गरेपछि सभामुख अग्नि सापकोटाले समय दिएका थिए।  प्रमुख सचेतक विशाल भट्टराईले प्रमुख विपक्षी दलका नेतामाथि भएको टिप्पणी गलत भएकाले रेकर्डबाट हटाउन माग गरेका थिए। 

corrent noodles
Metro Mart

एमालेको विरोधपछि १५ मिनेटका लागि स्थगित भएर पुनः बसेको बैठकमा पनि एमालेले विरोध जनाएपछि सभा सभामुख अग्निप्रसाद सापकोटाले मन्त्री बडूका असंसदीय शब्द अभिलेखबाट हटाउन रुलिङ गरेका थिए। दोस्रो बैठकको क्रममा सभामुख सापकोटाले एमालेको माग बमोजिम बोल्ने क्रममा प्रयोग गरेका असंसदीय शब्द अभिलेखबाट हटाउन रुलिङ गरेका हुन्। 

सभामुखको रुलिङपछि संसद बैठक सञ्चालन भएको छ। सांसदहरुले सरकारले प्रस्तुत गरेको आव २०७९/८० को नीति तथा कार्यक्रमको सम्बन्धमा छलफल भइरहेको छ। 

निजगढ विमानस्थलका कुरा
नेकपा(एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुखद् भएको बताएका छन्। 

शुक्रबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अध्यक्ष नेपालले निजगढ विमानस्थल बनाउन रोक लगाउनु दुखद भएको बताएका हुन्। लामो समयको अध्ययनपश्चात निजगढमा विमानस्थल बनाउनु उपयुक्त हुने निष्कर्षका साथ काम भएको भन्दै त्यसरी रोकिनु गलत भएको बताए। विमानस्थल निर्माणमा अर्बौ रुपैया खर्च भइसकेको र जग्गा समेत अधिग्रहण भइसकेको अवस्थामा काम रोकिनु दुखद भएको उनको भनाई छ। 

अध्यक्ष नेपालले विमानस्थल निर्माण रोक्ने सर्वोच्च अदालतको फैसलामा पुनर्विचार हुनुपर्ने उल्लेख गरे।  सरकार र राजनीतिक दलहरुले पनि यस विषयलाई गम्भीरताका साथ लिनुपर्ने उनले भनाइ छ। निजगढमा विमानस्थल बनाउनु सबै हिसाबले उपयुक्त भएको उनले उल्लेख गरे।

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का सांसद राजेन्द्र महतोले काठमाडौं महानरगमा विजयी  स्वतन्त्र उम्मेदवार बालेन्द्र साह परिवर्तनको संकेत भएको उल्लेख गरे। प्रतिनिधि सभाको बैठकमा जनताले परिवर्तन खाजेको भएपनि राजनीतिक दलहरुले पूरा गर्न नसकेको उल्लेख गरे। 

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद राजेन्द्र लिङदेनले सरकारले ल्याएको नीति तथा कार्यक्रम मन्त्री र सत्तापक्षका सांसदहरुको चुनावलक्षित कार्यक्रम मात्रै भएको आरोप लगाए। नीति तथा कार्यक्रममा रासायनिक मल किन्न नपाएका किसानले अर्को वर्ष पाउने सुनिश्चितता नभएको जिकिर गरे। शैक्षिक सत्र शुरु भइसक्दासमेत विद्यार्थीले पाठ्यपुस्तक नपाएको गुनासो गर्दै नीति तथा कार्यक्रममा अर्को वर्ष समयमै पाठ्यपुस्तक पाउने नीति नसमेटिनु दुःखद् भएको उल्लेख गरे। 

सांसद लिङदेनले देशको अहिलेको नीति तथा कार्यक्रम निर्वाचनमुखी कार्यक्रमको संज्ञा दिनुभयो ।

बालेन्द्रको विजय
काठमाडौं महानगरपालिकको प्रमुखमा बालेन्द्र साह विजयी भएका छन्। शुक्रवार राष्ट्रिय सभागृहमा काठमाडौं महानगरपालिकाको मत परिणाम सार्वजनिक गर्दै आयोगले महानगरको प्रमुखमा बालेन्द्र साह विजयी भएको औपचारिक घोषणा गरेको हो। घोषणापछि बोल्दै नवनिर्वाचति मेयर साहले काठमाडौंलाई अबको ५ वर्षमा विश्वकै सुन्दर सहर बनाउने घोषणा गरे। 

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित साहले ६१ हजार ७६७ मत प्राप्त गरेकाछन। त्यस्तै उहाँकी प्रतिद्वन्दी गठबन्धनबाट नेपाली काँग्रेसकी उम्मेदवार सिर्जन सिंहले ३८ हजार ३४१, नेकपा एमालेका उम्मेदवार स्थापितले ३८ हजार ११७ मत प्राप्त गरे।

काठमाडौं महानगरपालिकाको उपप्रमुखमा नेकपा एमालेकी उम्मेदवार सुनिता डंगोल ६८ हजार ६१२ मत प्राप्त गरी विजयी भइन। औपचारिक घोषणा कार्यक्रममा काठमाडौंका प्रमुख निर्वाचन अधिकृत राजुकुमार खतिवडाले नवनिर्वाचित मेयर साह र उपमेयर डंगोललाई जितको बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।

मेयर बालेनले रात्रिकालीन सुरक्षाका लागि पहिलो चरणमा महानगर क्षेत्रमा १० हजार सिसिटिभी क्यामेरा जडान गर्ने योजना सुनाए। उनले आफ्नो प्रमुख प्राथमिकता शिक्षा र स्वास्थ भएको उल्लेख गरेका छन्। 

(नवनिर्वाचित मेयर साहसँग गरिएको कुराकानीको संवाद नेपाल समयमा पढ्न सकिनेछ)

ऐतिहासिक तरलता सुविधा
नेपाल राष्ट्र बैंकले यो वर्ष ऐतिहासिक बढी तरलता सुविधा प्रवाह गरेको छ। राष्ट्र बैंकले ६२ खर्ब ४२ अर्ब ७२ करोड रुपैयाँ तरलता प्रवाह गरेको छ। 

विभिन्न उपकरणमार्फत ४ खर्ब  ६८ अर्ब ९७ करोड र स्थायी तरलता सुविधा (एसएलएफ)मार्फत ५७ खर्ब ७३ अर्ब ७५ करोड गरी कुल ६२ खर्ब ४२ अर्ब ७२ करोड तरलता प्रवाह गरेको हो। 

राष्ट्र बैंकको बैंक सुपरिभिजन विभागका कार्यकारी निर्देशक देवकुमार ढकालका अनुसार इतिहासमा नै पहिलो पटक नेपाल राष्ट्र बैंकले बजारमा तरलता प्रवाह गरेको हो। बैंक तथा वित्तीय संस्थामा तरलता अभाव भएपछि उनीहरुलाई बचाउन भन्दै राष्ट्र बैंकले यति ठूलो रकम बजारमा पठाएको हो। 

एसएलएफ सुविधा मार्फत प्रदान गरिएको रकम जम्मा एक हप्ताको लागि मात्र हुने र त्यसको व्याज ७ प्रतिशत रहने गरेको छ। रिपो, सोझै खरिद र रिपो बोलकबोल मार्फत बैंक तथा वित्तीय संस्थाले लिएको रकम भने बढीमा १२० दिन र घटीमा ९० दिनको हुन्छ। 

बजारमा तरलता अभावका कारण बैंकहरुले कर्जा प्रवाह नै बन्द गरेका छन् तर निक्षेप–कर्जा रेसियो (सिडि) ९० प्रतिशतमा राख्नका लागि पनि बैंकहरुले राष्ट्र बैंकबाट स्थायी तरलता सुविधा लिएका छन्। 

राष्ट्र बैंकले बैंकहरुबाट चालू आर्थिक वर्षको पहिलो चार महिनामा तरलता प्रशोचन गरेको थियो। त्यसपछि बजारमा तरलता अभाव सुरु हुन थाल्यो। तरलता अभाव भएपछि राष्ट्र बैंकले बजारमा तरलता पठाउनुपरिरहेको छ। 

राष्ट्रिय सभाबाट सरकारको नीति तथा कार्यक्रम पारित
संघीय संसद अन्तर्गतको राष्ट्रिय सभाले सरकारले आगामी आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकले सकरारले आगामी वर्षका लागि प्रश्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो। बैठकमा बोल्दै राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले जेठ १० गते सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रश्तुत गर्नुभइएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे।

राष्ट्रिय सभाको अर्को बैठक जेठ १५ दिउँसो ३ बजे बस्नेछ। 

हदम्याद हटाउने कुरा
बाल यौन दुर्व्यवहारको कसुरमा सजायको लागि उजुरी दिने हदम्याद पूर्ण रुपमा हटाउन माग गर्दै राष्ट्रियसभामा संकल्प प्रस्ताव दर्ता भएको छ।

सबै दल र स्वतन्त्र सांसदको समर्थनमा नेपाली कांग्रेसकी सांसद कमला पन्तले संसद् सचिवालयमा शुक्रबार प्रस्ताव दर्ता गराएकी हुन्।

प्रस्तावकमा कांग्रेस सांसद पन्त र समर्थकहरुमा एमाले सांसद बिमला राई पौड्याल, प्रमिलाकुमारी यादव, बिमला घिमिरे, मदनकुमारी शाह गरिमा, शेखरकुमार सिंह, गंगाकुमारी बेल्वासे र तुलप्रसाद विश्वकर्मा रहेका छन्।

प्रस्तावमा बालबालिकाबाहेक अन्यको हकमा समेत बलात्कार मुद्दामा उजुरी दिने हदम्यादको व्यवस्था पुनरावलोकन र पुनर्विचार गरी आवश्यक संशोधन गर्नुपर्ने माग गरिएको छ।

यसैबीच गृहमन्त्री बालकृष्ण खाँणले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता जघन्य अपराधका घटना हुनै नदिने गरी सरकारले आवश्यक कानुनको तर्जुमा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्। बलात्कारलगायतका जघन्य अपराधका घटना एकपछि अर्को गरी सार्वजनिक भईरहेको बेला गृहमन्त्री खाँणको यस्तो भनाई बाहिर आएको हो। राष्ट्रिय मानव अधिकार आयोगको २२ औं वार्षिकोत्सवको अवसर पारेर शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले बलात्कार, घरेलु हिंसा, एसिड आक्रमणजस्ता घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन सरकारले सुरक्षा संयन्त्रलाई प्रभावकारी ढंगले परिचालन गरिरहेको पनि बताए।

उता राष्ट्रिय मानव अधिकार आयोगले चालु आर्थिक वर्षको बैशाख महिनासम्ममा ११२ वटा मानव अधिकार हनन्का घटनामा उजुरी दर्ता भएको बताएको छ।

राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष टोपबहादुर मगरले चालू आर्थिक वर्षको बैशाख महिनासम्म सो संख्यामा मानव अधिकार हनन्को घटनाको उजुरी आयोगमा आएको जानकारी दिए। 

आयोगको २२ औं वार्षिकोत्सवको अवसर पारेर शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले चालू आर्थिक वर्षमा मात्रै मानव अधिकार हनन्का ३३९ वटा उजुरीको निर्णय गरिएको पनि बताए। 

एन्फामा चुनावी माहोल
नयाँ नेतृत्वसहित २१ सदस्यीय कार्यसमितिका लागि असार ६ गते हुने निर्वाचनका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) मा ५४ जनाको उम्मेदवारी परेको छ।

निर्वाचन समितिका अनुसार अहिलेसम्म अध्यक्षसहित विभिन्न पदमा ५४ जनाको उम्मेदवारी परेको हो। अखिल नेपाल फुटबल संघ (एन्फा) को नयाँ नेतृत्वका लागि मनोनयन दर्ता गराउने अन्तिम बिहीबार दिन थियो। असार ६ गते हुने निर्वाचनले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, चार उपाध्यक्ष, १३ केन्द्रीय सदस्य र दुई महिला सहित २१ जना सदस्यको चयन गर्नेछ। 

अध्यक्षका पदका लागि वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पा र वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्वाङले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन। अध्यक्ष पदकै लागि फ्रेन्ड्स क्लबका राजिव पौडेलले पनि उम्मेदवारी बिहीबार दर्ता गराएका छन्। तीन अध्यक्षका प्रत्यासीले निर्वाचन समितीले तोकेको समयभित्र छुट्टा छुट्टै कार्यक्रम गरेर घोषणा गरेका थिए।

एक वरिष्ठ उपाध्यक्ष पदमा दुई जनाको उम्मेदवारी परेको छ। कर्माछिरिङ शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सरस्वती क्लबका अध्यक्ष शिक्षित पराजुलीले उम्मेदवारी दर्ता गराउँदा पंकजको प्यानलबाट सिन्धुपाल्चोक जिल्ला फुटबल संघबाट वीरबहादुर खड्काले उम्मेदवारी दर्ता गराएका छन्।

यस्तै ४ उपाध्यक्ष पदमा शेर्पा प्यानलबाट कुमार केसी, बिज्ञानराज शर्मा, उपेन्द्रमान सिंह र रत्नकुमार श्रेष्ठले उम्मेदवारी दर्ता गराएका छन् भने पंकजको प्यानलबाट विराटजंग शाही, सुन्दरनरसिंह जोशी, दावा लामा र दीपक खतिवडा गरी कुल ८ उम्मेदवारले मनोनय दर्ता गराएका छन्। 

१३ खुल्ला सदस्यको पद ३६ जनाको उम्मेदवारी परेको छ। यस्तै महिला सदस्यमा विमला पौडेल, सरिता श्रेष्ठ, बिन्द्रा देवन, पेमा डोल्मा लामा, विना नबाछे श्रेष्ठले उम्मेदवारी दिएका छन्।

आगामी ४ वर्षको कार्यकालका लागि हुन लागेको निर्वाचनका लागि  जिल्ला, संघ, क्लबबाट मताधिकार पाएर आएका पदाधिकारीले निर्वाचनमा सहभागिता जनाउँदै छन्। एन्फा केन्द्रीय निर्वाचनका लागि १४ वटा ‘ए’ डिभिजन क्लब, १४ मध्ये ११ ‘बी’ डिभिजन क्लब र १४ मध्ये ९ ‘सी’ डिभिजन क्लब, खेलाडी संघ, प्रशिक्षक संघ, महिला र रेफ्री संघ र राष्ट्रिय लिगका लागि छनोट भएका चार क्लबले मतदान गर्न पाउनेछन्।

प्रकाशित: May 27, 2022| 20:45 शुक्रबार, जेठ १३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।
७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।
भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।