शुक्रबार, जेठ ४, २०८१
  • गृहपृष्ठ
  • खेलकुद
  • एन्फा निर्वाचन २०७९ : कर्माका प्रतिबद्धता र पंकजको विरोधको नापजाँच

एन्फा निर्वाचन २०७९ : कर्माका प्रतिबद्धता र पंकजको विरोधको नापजाँच

एन्फा चुनावमा ८७ मत हुन्छ, जसअनुसार ४५ जिल्ला पर्छन्। तर सिन्धुली र भक्तपुरले यो निर्वाचनमा भोट हाल्न पाउने छैनन्। निर्वाचनमा १४ ए डिभिजन क्लब, ११ बी डिभिजन क्लब, ९ सी डिभिजन क्लब र राष्ट्रिय लिगमा छनोट भएका चार क्लबले पनि मताधिकार पाएका छन्।
 |  बिहीबार, जेठ १२, २०७९

विनय सापकोटा

विनय सापकोटा

बिहीबार, जेठ १२, २०७९

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा)को इतिहासमा २०७५ वैशाख २२ गते पहिलो पटक पूर्ण निर्वाचन भयो। त्यही निर्वाचनमा प्रतिस्पर्धी मणि कुँवरलाई हराउँदै कर्माछिरिङ शेर्पा अध्यक्षमा निर्वाचित भए। कर्मा ६३ मत पाएर विजयी हुँदा कुँवरले १२ मत पाएका थिए।

triton college

त्यसो त निर्वाचनको प्रक्रियामा चित्त नबुझाएर मणिले आफ्नो नाम फिर्ता लिइसकेका थिए। तर, त्यतिबेला उम्मेदवारी फिर्ता लिने समय सकिइसकेको थियो। त्यसैले त्यो प्रक्रिया पूर्ण निर्वाचनको भयो। निर्वाचनमा उपाध्यक्षमा उम्मेदवारी दिएका पंकजविक्रम नेम्वाङ ६१ मत, वीरबहादुर खड्का ३९, कृष्णबहादुर थापा ५२ र उपेन्द्रमान सिंह ५८ मत ल्याएर विजयी भए।

‘चेन्ज एन्फा’ को नाराका लिएर अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएकाहरु निर्वाचन सकिएपछि आयोजित पत्रकार सम्मेलनमा कर्मासँगै थिए। तर समय उही रहेन। कर्माको दायाँ र बायाँ रहेका यी तीनै उपाध्यक्ष आज कर्माको साथमा छैनन्। त्यति मात्र होइन, उनीहरु नै कर्माको विरुद्धमा छन्।

अब अर्को निर्वाचन आगामी असार ६ गते हुँदैछ। निर्वाचनका लागि पंकजले आफ्नै प्यानल तयार गरिसकेका छन्। अर्थात् कर्मासँगै निर्वाचित भएर आएका सदस्यहरु र परिवर्तनको आवाजमा साथ मिलाएकाहरुको नयाँ प्यानल अब ६ गतेको निर्वाचनमा कर्माको प्यानलविरुद्ध लड्दैछ।

एन्फा चुनावमा ८७ मत हुन्छ, जसअनुसार ४५ जिल्ला पर्छन्। तर सिन्धुली र भक्तपुरले यो निर्वाचनमा भोट हाल्न पाउने छैनन्। निर्वाचनमा १४ ए डिभिजन क्लब, ११ बी डिभिजन क्लब, ९ सी डिभिजन क्लब र राष्ट्रिय लिगमा छनोट भएका चार क्लबले पनि मताधिकार पाएका छन्। त्यस्तै महिला संघ, खेलाडी संघ, प्रशिक्षक संघ र रेफ्री संघका एक–एक प्रतिनिधिले चुनावमा मताधिकार प्रयोग गर्न पाउने व्यवस्था छ।

corrent noodles
Metro Mart

अहिले दुवै प्यानलले यो गणित गरिसकेका छन्। आफ्नो भागमा कति मत छ, दुवैलाई हेक्का छ। गएको सोमबार उम्मेदवारी घोषणा गर्ने कार्यक्रममा महासचिव इन्द्रमान तुलाधरले भने, ‘हामीले ५४ जना साथीहरुको हस्ताक्षर संकलन गरिसकेका छौं।’ उनले त्यहाँ कसैलाई पनि जबरजस्ती नगरेको बताएका छन्। पंकज पक्षमा रहेका किरण राईले तुलाधरको यो गणनालाई हावादारी भएको बताएका छन्। ‘चुनावमा देखिइहाल्छ कि कसको कति मत हो भन्ने। हामी यसरी हावादारी कुरा गर्दैनौं,’ राईले नेपाल समयसँगको कुराकानीमा भने। यता प्रदेश नम्बर १ का सबै जिल्लाले पंकजलाई भोट हाल्ने भनेर विज्ञप्ति नै जारी गरिसकेका छन्।

‘चेन्ज एन्फा’ को नाराका लिएर अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएकाहरु निर्वाचन सकिएपछि आयोजित पत्रकार सम्मेलनमा कर्मासँगै थिए। तर समय उही रहेन। कर्माको दायाँ र बायाँ रहेका यी तीनै उपाध्यक्ष आज कर्माको साथमा छैनन्। त्यति मात्र होइन, उनीहरु नै कर्माको विरुद्धमा छन्।

त्यसबाहेक पनि ए, बी र सी डिभिजन क्लबमा पंकजले धेरैलाई आफ्नो प्रभावमा पार्न सफल भएका छन्। त्यसैको बलमा हुनसक्छ राईले धेरै जित्ने दाबी गरेको पनि। त्यसो त उम्मेदवारी घोषणा पनि दुवै समूहको शक्ति प्रदर्शन नै थियो। त्यसमा रोचक चाहिँ धेरै मानिस दुवै पक्षको घोषणा सभामा उपस्थित भएका थिए। उम्मेदवारी घोषणासँगै दुवै पक्षका आ–आफ्ना योजना र घोषणहरु पनि सुनिएका छन्।

पंकजको मुख्य विमतिचाहिँ कर्माले सबैलाई मिलाएर लैजान नसकेकोमा छ। त्यस्तै, उनले एन्फामा भ्रष्टाचार भएको दाबी सुरुबाटै गरिरहेका छन्। पंकजका लागि निर्वाचनमा आफूलाई स्पष्ट पार्ने र कर्माविरुद्ध लड्न तयार गर्ने दुई विषय नै हुन्। ‘भ्रष्टाचार नभएको भए एन्फामा आर्थिक नाकाबन्दी किन छ?’ नेम्वाङको प्रश्न छ।

यता, कर्माले काम गर्नका लागि एक कार्यकाल मागेका छन्। उनले आफ्ना धेरै योजना पूरा नभएको र काम गर्न बाँकी रहेका कारण अर्को एक कार्यकाल मागेको बताएका छन्। ‘कोभिड महामारीका कारण चार वर्ष पूरा काम गर्न पाइएन। तर महामारीको समयमा पनि गतिविधि नरोकिकन काम गर्यौं,’ उनले उम्मेदवारी घोषणा गर्दै भनेका छन्, ‘मलाई काम गर्नका लागि अझै एक कार्यकाल दिनुहोस्।’ कर्मा पनि पारदर्शिताकै विषयलाई अझै राम्रोसँग लागू गर्नका लागि बाँकी समय खर्चिने बताउँछन्। विगतमा जस्तै एन्फाको यो निर्वाचन नैतिक, भ्रष्टाचार र पारदर्शिताको कुराका कारण चर्चामा छ।

एन्फा अध्यक्षमा निर्वाचित भएपछि कर्माछिरिङले भनेका थिए, ‘फुटबल धान खेती जस्तो होइन, यो चिया खेतीजस्तो हो।’ तर फुटबल चिया हो भने उसले चियाको दायित्व पनि पूरा गर्नुपर्छ। उसले समय आएपछि टुसाउनै पर्छ। धानले जस्तो खेतमा आली लगाउने अनि मात्र बाला हाल्छु भन्न चियाले पाउँदैन। उसले भीर, पाखा, पखेरामा भए पनि टुसाउनै पर्छ।

वसन्त आएपछि उसले खडेरी पर्यो भनेर बोट मार्न पाउँदैन। तर धानलाई मर्न प्रकृतिले दिएको छ। धान एकपटक फस्टाएन भने अलिक मेहनत गर्दा अर्को साल राम्रो हुन्छ। तर चिया एक साल मासियो वा बिग्रियो भने फेरि त्यस्तो बनाउने वर्षौं लाग्छ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पा लगायत मुख्य पदाधिकारीहरु
अहिलेको नेपाली राष्ट्रिय टिम यस्तै विषम परिस्थितिमा छ। वर्षौंदेखि मेहनत गरेर निकै राम्रो फर्ममा पुगेका खेलाडी राष्ट्रिय टिमबाहिर छन्। होस्टेलको सामान्य कुरा माग गर्दा उनीहरु टिममै छैनन्। यी स्तरका खेलाडी बन्नका लागि अझै कति समय नेपाललाई लाग्ने हो थाहा छैन। तर, कर्माको अध्यक्षतामा रहेको एन्फाले खेलाडी र मुख्य प्रशिक्षक अब्दुल्लाह  अलमुताइरीबीचको यो सामान्य विवाद पनि मिलाउन सकेन। कर्मा आफैं पनि विवाद मिलाउन भन्दा त्यसबाट पन्छिन रुचाउने स्वाभावका देखिन्छन्।

‘नेपालको र्याङकिङ बढाउने, राष्ट्रिय टिम बलियो बनाउने, टिमलाई बलियो बनाउन अन्तर्राष्ट्रिय प्रतियोगितामाा धेरै सहभागी हुने, नेसनल लिगमा फिफा एएफसीको कार्यक्रम र यसका लागि अन्तर्राष्ट्रिय खेलाडी छनोट गर्ने, खेलाडी छनोटका लागि लिग गराउने।’ अध्यक्ष भएपछिको भनाइ थियो कर्माको। तर त्यसरी तयार गरेको टिमलाई छोडेर नयाँ टिम लिएर एसिया कप छनोटमा जानुपर्ने स्थिति नेपालको छ। यता, नेपालको त अहिले सिनियर टिमबाहेक अरु टिम नै छैन। यू १६, यू १८, यू २०, यू २३ को टिम एन्फासँगै नै छैन।

यी प्रतियोगिताअघि खेलाडी छनोट गर्न छनोट प्रतियोगिता नै आवश्यक छ। त्यसरी छानिएका खेलाडीले एक महिना अभ्यास गरेर अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्नुपर्ने बाध्यता छ। अध्यक्ष हुँदै गर्दा कर्माले भनेका राष्ट्रिय टिमलाई बलियो बनाउने कुरालाई यी सबै कुराहरुले देखाउँछ।

त्यस्तै, उनी दुई वटा राष्ट्रिय खेलाडीको टिम बनाउने बताउँथे। तर दुई वटा राष्ट्रिय टिम भनेको कस्तो हो त्यो आजसम्म व्यवहारमा देखिएको छैन। यद्यपि मोरिससविरुद्ध प्रशिक्षक अलमुताइरीले दुई फरक स्क्वाड भने बनाएका थिए। उनले अन्तर्राष्ट्रिय खेलमा होम गेम धेरै गराउने बताएका थिए तर पछिल्ला चार वर्षमा १३ औं दक्षिण एसियाली खेलकुदबाहेक अन्य प्रतियोगिता नै हुन सकेनन्।

एन्फाले अहिलेसम्म ग्रासरुटको फुटबललाई बढावा दिन सकेको छैन। ‘केही क्लबका एकेडेमी स्थापना भएका छन्, जसमा ६ देखि १२ वर्षसम्मका बच्चाहरु सहभागी बन्ने छन्। घर बलियो बनाउनका लागि जग बलियो बनाउनुपर्छ। स्कुल प्रतियोगितालाई पनि यू १४, यू १६ र यू १८ मा खेल गराउने छौं, कर्माले भनेका थिए। तर उनले भनेजसरी फुटबल खेल भएका छैनन्। चार वर्षे कार्यकालमा कर्माले गर्न नसकेका यस्ता धेरै कामहरु छन्।

अहिलेको नेपाली राष्ट्रिय टिम यस्तै विषम परिस्थितिमा छ। वर्षौंदेखि मेहनत गरेर निकै राम्रो फर्ममा पुगेका खेलाडी राष्ट्रिय टिमबाहिर छन्। होस्टेलको सामान्य कुरा माग गर्दा उनीहरु टिममै छैनन्। यी स्तरका खेलाडी बन्नका लागि अझै कति समय नेपाललाई लाग्ने हो थाहा छैन। तर, कर्माको अध्यक्षतामा रहेको एन्फाले खेलाडी र मुख्य प्रशिक्षक अब्दुल्लाह  अलमुताइरीबीचको यो सामान्य विवाद पनि मिलाउन सकेन।

यता, एन्फाको क्यालेन्डरमा भएको राष्ट्रिय लिग आयोजना हुन सकेको छैन भने एन्फा प्रेसिडेन्ट लिगको पनि औचित्य पुष्टि हुन सकेको छैन। यो लिग त झारो टार्ने प्रतियोगितामा मात्र सीमित छ। तर टेक्निकल सेन्टर बनाउने, महिलाका प्रतियोगिताका साथै रेफ्री र प्रशिक्षण कोर्समा भने पछिल्लो चार वर्षमा धेरै काम भएका छन्। कर्मा भन्छन्, ‘क्यापासिटी बिल्डिङअन्तर्गत प्रशिक्षण र रेफ्रीका कोर्सहरु गरेका छौं। हामी संघमा आउँदा कुनै नीतिगत स्पष्टता थिएन। तर हामीले फुटबल संघलाई बलियो बनाउने, संस्थागत, सामूहिक र विकेन्द्रिकरण गर्ने लगायतका काम गर्यौं।’

तर कर्मालाई थाहा छ, एन्फामा काम गर्नका लागि सजिलो छैन। भ्रष्टाचारको जरोले जकडिएको छ एन्फा। त्यसैले त अध्यक्ष आफ्नै साथीहरुसँग पनि रिसाउँछन्। सार्वजनिक मञ्चमै आफ्नो टिमलाई सजग पनि गराउँछन्। उम्मेदवारी घोषणा गर्दा पनि उनी एकफेर आक्रोशित बने, ‘एन्फामा त कस्तो भयो भने टेन्डर हालेर पारदर्शिता गर्न थाल्यो कि साथीहरु रिसाइहाल्नु हुन्छ। काम गर्न गाह्रो छ। रिसाए पनि काम त गर्नुपर्यो। अब त हामी सबै अनलाइनबाट सञ्चालन गर्ने हो।’

फिफाले क्यासलेस सिस्टम बनाएर सबै इलेक्ट्रोनिक कारोबार गर्न पनि एन्फालाई सुझाव दिएको छ। अब त्यो काम सुरु गर्ने कर्माको लक्ष्य छ। यता, खेलाडी विवादको विषयमा एन्फाले बोल्ड डिसिजन लिन नसकेको भन्दै पंकज नेम्वाङरुले विरोध गरिरहेका छन्। उम्मेदवारी घोषणा गर्ने क्रममा अहिलेका उपाध्यक्ष वीरबहादुरले सबैसामु भने, ‘राष्ट्रिय टिमबाट निकालिएका १० खेलाडीले त हामीलाई चुनेका छन्।’ त्यसो त कर्माले मुख्य प्रशिक्षक अब्दुल्लाहलाई पूर्ण समर्थन र विश्वास गरेका छन्।

त्यसरी फुटबलको विकास नहुने पंकज पक्षको तर्क छ। ‘खेलाडी र प्रशिक्षकको विवाद मिलाउन नसकेपछि नै कर्मा छिरिङ फेल भइसक्नु भएको छ। अब उहाँबाट नेपाली फुटबल अघि बढ्न सक्दैन। उहाँले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने हो। दिनुहुन्छ होला भनेको त फेरि अध्यक्षमा उम्मेदवारी दिने भनेको सुन्दैछु,’ उपाध्यक्षका उम्मेदवार किरण राईले भने।

फ्रेन्ड्स क्लबका पूर्वअध्यक्षको उम्मेदवारी 

फ्रेन्ड्स क्लबका पूर्वअध्यक्ष राजीव पौडेलले पनि एन्फा अध्यक्षमा उम्मेदवारी दिने घोषणा गरेका छन्। अहिले उनी एन्फाको मार्केटिङ एन्ड एजुकेसन समितिका प्रमुख छन्। अहिलेका वरिष्ठ उपाध्यक्ष र अध्यक्षले आ–आफ्नो प्यानल बनाएर चुनावमा भिडिरहेको समयमा आफ्नो उम्मेदवारीले फरक तरंग ल्याउने पौडेलले दाबी गरेका छन्। उनले भने, ‘मेरो यो घोषणाले वैचारिक बहस सुरु हुनेछ। अहिले एन्फामा गुट र उपगुट छ, त्यसले नेपाली फुटबललाई कहिले पनि फाइदा गर्दैन। आउने पुस्ताका लागि यो उम्मेदवारीले मुद्दा दिनेछ। साथै मेरो योजना फुटबल विकासमा रहेको छ।’

पौडेलको भने आफ्नो टिम छैन। टिमबाहेक एन्फामा काम गर्न धेरै गाह्रो छ। त्यो पौडेललाई थाहा छ। तर एन्फामा गुट–उपगुट बनाउनु हुन्ने भन्ने विषयलाई उठाउँदै उनी चुनावमा होमिएका छन्। आज (बिहीबार) उम्मेदवारी दर्ता गर्ने दिन सकिँदैछ। एन्फाका लगभग सबैजसो उम्मेदवारले उम्मेदवारी दर्ता गरिसकेका छन्। 

एकता, सुशासन र पारदर्शिताका लागि मेरो उम्मेदवारीः नेम्वाङ

हिजो हामी सुन्दर नारा ‘परिवर्तनका लागि सामूहिकता, पारदर्शिता र विकेन्द्रीकरण हाम्रो प्रतिबद्धता’ लिएर एन्फामा निर्वाचित भयौँ। तर निर्वाचित भएको केही समयमै हाम्रो एकता बिथोलियो। हामी कार्यसमिति, क्लब र जिल्लामा एककता हुनुपर्छ, एकतामै बल छ भन्ने। र, हामीले एकताले नै नेपाली फुटबलको विकास गर्न सकिन्छ भनेका छौं। तर एन्फा नेतृत्वले हामी चार उपाध्यक्षलाई चारतिर, १२ सदस्यालाई बाह्रतिर गरेर क्लबमा र जिल्लामा फुटाउ र राज गर भनेजसरी काम गर्यो।

हामीले बारम्बार भन्यौँ। भनि नै रह्यौँ। तर उहाँ (कर्माछिरिङ शेर्पा)ले मान्नु भएन। हामीले आर्थिक नियमावली बनायौँ। बनाएकै दिनबाट नियमावली विरुद्ध कामकारबाही पो गर्न थाल्यौँ। हामीले सुझाव दिए पनि त्यस्ता काम दोहोरिँदै गयो। अझैसम्म दोहोरिरहेको छ।

आर्थिक अनियमितता यति चरममा पुग्यो कि फिफाले मानिस पठाएर अडिट गरिसकेको छ। अहिले एन्फामा आर्थिक नाकाबन्दी लागेको छ। हामीले एक लाख खर्च गर्न पनि फिफालाई कागज बनाएर पठाएर अनुमति लिनुपर्ने हुन्छ। उहाँ भन्नुहुन्छ– फिफाले कडाइ गरेको राम्रो। तर फिफाले कडाइ गर्ने अवस्था किन आयो?

नरेन दाइको पालासम्म फिफाले त्यस्तो कडाइ किन गरेन? आर्थिक प्रतिबन्ध किन लगाएन? हामी आउनेबित्तिकै आर्थिक प्रतिबन्ध किन लगायो? एन्फामा नीतिगत र आर्थिक भ्रष्टाचार भएको छ। अनि फिफाले प्रतिबन्ध लगाएको हो।

झन्डै तीन करोड रुपैयाँ एक कम्पनीले लगिसकेको छ। त्यो एन्फालाई आउने फन्डबाट काटिँदैछ। हिजो हामीले पारदर्शिता भनेका थियाँै। भ्रष्टाचारमा शून्य सहनशिलता भनेको हो तर ठिक विपरीत काम भइरहेको छ।

नेपाली फुटबललाई अघि बढाउन मैले उम्मेदवारी दिएको हो। क्लब र एन्फामा बस्ने साथीहरुको सल्लाह सुझावमा हामीले उम्मेदवारी घोषणा गरेका हौं। 

फुटबल घर चलाउने माध्यम बन्नुहुन्नः शेर्पा

कोभिड महामारीका कारण चार वर्ष पूरा काम गर्न पाइएन। तर महामारीको समयमा पनि गतिविधि नरोकिकन काम गर्यौं। लिगलाई निरन्तरता दियौं। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरु आफैं आयोजना गर्यौँ र सहभागिता गरायौं।

हामी आउँदा आर्थिक नियमावली थिएन र त्यो हामीले बनायौं। संघीय संरचनाका आधारमा विधान संशोधन गर्यौं। खेलाडी दर्ता नियमावली बनायौं। हकहितका लागि काम गर्ने, खेलाडी दर्ता नियमावली बनायौं। अनलाइन दर्ता प्रक्रिया बनायौं। हिजो लाइन लागेर गर्नुपर्थ्यो। अब अनलाइनबाट हुन्छ।

हामीले आफ्नो कार्यकालमा क्लब लाइसेन्सिङ लागू गरेका छौं। यो नेपालमा नयाँ कुरा हो। फिफा र एएफसीबाट दवाव भएपछि क्लबलाई प्रशिक्षण गरेर एएफसी क्लब लाइसेन्स र एन्फा लाइसेन्स सिस्टम बनायौं। अहिले चार क्लबको लाइसेन्स छ। कार्यालय सञ्चालन नियमावली बनायौं। साधारणसभा अनुसार लागू गर्ने काम गरेका छौं। कर्मचारीको वर्गीकरण थिएन। केन्द्रिय संरचना अनुसार एन्फाको केन्द्रिय संरचनामा ८ विभाग बनायौं। कर्माचारीको सेवासुविधा र पद छुट्याउने काम गरिरहेका छौं। 

जिल्लालाई संस्थागत रुपमा सञ्चालन गर्न, विधान कार्यान्वयन गर्न, पारदर्शिता र व्यवस्थित गर्न प्यानमा दर्ता गरायौं, जसमा सबै जिल्लाको सहयोग पनि भयो। म फुटबल छोडेपछि आफ्नो काम गरेर बस्छु । मैले घरको माली र भान्छे फुटबलको पैसा खर्च गरेर राखेको छैन। तर छोडेपछि फुटबलमा टिका–टिप्पणी गर्दिन।

मैले घरको टेलिभिजन पनि एन्फाको पैसाबाट किनेको छैन। फुटबललाई घर चलाउने माध्यम बनाउनु हुन्न भन्ने मेरो भनाइ हो। र, विरोध गरेर फुटबलको विकास हुँदैन। म नेपाललाई विश्वकप जिताउँछु त भन्दिन। त्यसको लागि हामी लायक भएका छैनौं। तर ग्रासरुटको विकास गर्नेछु।

कोको छन् कर्मा र पंकजको प्यानलमा?

कर्मा प्यानलमा अध्यक्षमा कर्माछिरिङ शेर्पा, वरिष्ठ उपाध्यक्ष शिक्षित पराजुली, उपाध्यक्षहरुमा कुमार बहादुर केसी, रत्न कुमार श्रेष्ठ, उपेन्द्र मान सिंह, विज्ञान राज शर्मा छन्।

त्यस्तै, सदस्यहरूमा १२ जनाले उम्मेदवारी दिएका छन्। दिपक थापा, प्रविन यादव, रुपेश अधिकारी, लोकेन्द्र गुरुङ, राम राजा गुरुङ, टिकाराम लामा, प्रदेश सिंह राथोड, भरत गुण थापा, अनिल श्रेष्ठ, रमेश ब्यन्जनकार, मनि राज मिश्र र मनिश जिसी छन्।

त्यस्तै, नेम्वाङको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा वीरबहादुर खड्काले मनोनयन दर्ता गराएका छन्। चार जना उपाध्यक्षमा काठमाडौं जिल्ला फुटबल संघका अध्यक्ष विराटजंग शाही, दावा लामा, सुन्दरनरसिंह जोशी र दीपक खतिवडाले उम्मेदवारी दर्ता गराएका छन। 

सदस्यमा सात जनाले उम्मेदवारी दिएका छन्। उम्मेदवारी दिनेमा प्रविण सुवाल, महेन्द्र क्षेत्री, पुरुषोत्तम थापा, विजय घले, नेपाल कार्की, तपेश्वर राउत, विकास नारायण श्रेष्ठ, भोजराज शाही, रविन्द्र चन्द र अनिल मल्ल छन्।

प्रकाशित: May 26, 2022| 17:39 बिहीबार, जेठ १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।