काठमाडौं– गत शुक्रबार बिहान १० बजेतिर स्याङ्जाको वालिङ-१४ सिख्रेका दानबहादुर कुँवर (३१) घरमा खाना पकाउने सुरसार गर्दै थिए। त्यति नै बेला उनले आफ्नो घरनजिकैको कच्ची सडकबाट गाडीको हर्न सुने र बाहिर निस्केर हेरे– ग २ च ३०२६ नम्बरको डबल क्याब पिकअप रहेछ।
ड्राइभरले लगातार हर्न बजाइरहेका थिए। दानबहादुरले बुझिहाले कि वालिङबाट आफ्नो आस्था निकटका उम्मेदवारले गाडी पठाएका रहेछन्, मतदान केन्द्रसम्म पुर्याउन। गाडीका ड्राइभरले लगातार हर्न बजाउँदै चाँडो गाडीमा बस्न संकेत गरेपछि दानबहादुरको परिवार खाना नै नखाई मतदान दिन हिँड्यो।
दानबहादुरकी श्रीमती जमुना कुँवर (२६) दुई जिउकी थिइन्। उनको सुत्केरी हुन केही हप्ता मात्र बाँकी थियो। र पनि उनी मत दिनको लागि वालिङ जान तयार भइन्। दानबहादुरले जमुनाको हातमा पाँच सय रुपैयाँ थमाइदिँदै भने, ‘कतै चाउमिन खानु, भोको नबस है।’
भोट हाल्नको लागि सिख्रेबाट वालिङ जाने स्थानीयको संख्या ठूलो थियो। तर, गाडीको अधिकतम क्षमता भनेको २४–२५ जना मात्र। एकछिनमै गाउँका सबै मतदाता जम्मा भए। उनीहरुले निर्णय गरे– महिला, बच्चा र वृद्धवृद्धालाई गाडीमा पठाउने, युवाहरु चाहिँ हिँडेरै जाने।
सोहीअनुरुप दानबहादुरकी श्रीमती, छोरा अनिश (३), आमा पोटकुमारी (४४) र भान्जा पर्ने एक बच्चा गाडीमा बसे। गाउँका अन्य महिला, बच्चा र ज्येष्ठ नागरिक पनि गाडीमा चढे। अन्त्यमा गाडीबाट २७ जना जाने भए भने अरु हिँडेरै जाने भए।
त्यो दिन सम्झँदै दानबहादुरले नेपाल समयसँग भने, ‘गाउँबाट गाडी हिँड्दा लगभग १०ः१० जति भएको थियो। मेरो परिवारका कसैले खाना खाएका थिएनौं। बाहिर केही खानु भनेर मैले बूढीलाई पाँच सय रुप्पें दिएको थिएँ।’
गाडी हिँडेको करिब १०–१२ मिनेटपछि दानबहादुरको मोबाइलमा फोन आयो। फोन गर्नेले भने, ‘हे भगवान् ! कस्तो दशा लाग्यो नि। यहाँ गाडी पल्टेको छ, छिट्टै आउनुस्।’
दानबहादुरकी श्रीमती जमुना कुँवर (२६) दुई जिउकी थिइन्। उनको सुत्केरी हुन केही हप्ता मात्र बाँकी थियो। र पनि उनी मत दिनको लागि वालिङ जान तयार भइन्। दानबहादुरले जमुनाको हातमा पाँच सय रुपैयाँ थमाइदिँदै भने, ‘कतै चाउमिन खानु, भोको नबस है।’
फोन कलले दानबहादुर आत्तिए। त्यसपछि उनी र उनीसँगै हिँडिरहेका साथीहरु दौडेर घटनास्थल पुगे। गाडी पल्टेको रहेछ, पञ्चमुलकोलामा।
चुनावी रौनकमा उत्सव मनाइरहेका त्यहाँका स्थानीय १० मिनेटपछिको घटनाले स्तब्ध भए। एकाएक गाउँ शान्त बन्यो, शोकमा डुब्यो।
दानबहादुरकी श्रीमती, आमा र भान्जाले घटनास्थलमै ज्यान गुमाए। ‘१० मिनेटपछि त्यस्तो हुन्छ भन्ने थाहा पाएको भए कसले चढाउँथ्यो र गाडीमा? मेरो बूढीको पेटमा त झन् बच्चा थियो,’ दानबहादुर भक्कानिन्छन्। घटनास्थलमा उनीहरुसहित गाउँका अन्य ७ जनाले पनि ज्यान गुमाए। केहीले उपचारको लागि पोखरा लैजाँदै गर्दा बाटोमै प्राण त्यागे। देश चुनावी उत्सवमा उत्साहित भइरहँदा सिख्रे गाउँलाई भने शोक पर्यो।
त्यसदिनको दुर्घटनामा दानबहादुरको परिवारसहित माया पुन (६३), प्रविण कुँवर (९), कुलदिप कुँवर (५०), डेमकुमारी कुँवर (५०), हरिकला कुँवर (८६), टेककला कुँवर (५०), भिमकला कुँवर (७०), मुवाकुमारी कुँवर (७०), जानुका कुँवर (४३), ज्ञानदली कुँवर (४२), मिना कुँवर (५०) र फूलदेवी कुँवरले ज्यान गुमाए।
बेलमाया कुँवर, चालक भुलबहादुर कुँवर, गौमती थापा, ज्ञानमाया कुँवर, सरस्वती कुँवर, कविता कुँवर, अनिश कुँवर, कुशल कुँवर, ज्यामकली कुँवर, कौशल कुँवर र सीता कुँवरको अहिले पोखरामा उपचार भइरहेको छ।
दुर्घटनामा ज्यान गुमाएका परिवारलाई पार्टीले काजक्रिया खर्चबापत एक लाख रकम दिने बताएको दानबहादुरले जानकारी दिए। उनले भने, ‘प्रत्येक मृतकका परिवारलाई काजक्रियाको खर्च एक लाख दिन्छौं भनेका छन्। खै त्यो पनि दिन्छन् कि दिन्नन् थाहा छैन?’
दानबहादुरका ३ वर्षीय छोरा अनिशको पोखरामा उपचार भइरहेको छ। अनिशको पढाइका लागि पार्टीले केही व्यवस्था गरिदिओस् भन्ने चाहना दानबहादुरको छ। ‘पैसाले अब मेरो परिवार फिर्ता त ल्याउन सक्दैन। तर, मेरो छोराको पढाइ र हुर्काइमा हामीले विश्वास गरेको पार्टीले हेरिदियो भने थोरै भए पनि राहत मिल्थ्यो,’ दानबहादुरले भने।