काठमाडौं– जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको गृहनगरमा जसपा र नेकपा एमालेबीच चुनावी तालमेल गर्ने सहमति भएको छ।
मौन अवधि सुरु हुनै लाग्दा मंगलबार गोरखाको पालुङटार नगरपालिकामा जसपा र एमालेबीच चुनावी तालमेल गर्ने सहमति भएको हो। सहमतिअनुसार पालुङटार नगरपालिकाको प्रमुखमा एमालेले जसपालाई र उपप्रमुखमा जसपाले एमालेलाई सघाउने भएका छन्।
यस्तै, उक्त नगरपालिकाको ६, ७ र १० मा एमालेलाई तथा ४ र ५ नम्बर वडामा जसपालाई एकअर्कालाई सघाउने पनि सहमति भएको छ। सहमतिपत्रमा जसपाका तर्फबाट अध्यक्ष यानप्रसाद भट्ट र एमालेका तर्फबाट प्रेम गुरुङले हस्ताक्षर गरेका छन्।
यसअघि यहाँ सत्तारुढ गठबन्धनबीच भागबन्डालाई लिएर विवाद थियो। सुरुमा कांग्रेस र समाजवादीले तालमेल सहमति गरेका थिए। तर सहमति कार्यान्वयन हुन नसकेपछि पालुङटारमा एक्लाएक्लै लड्ने निष्कर्ष सत्तारुढ दलले निकालेका थिए।
समाजवादी एक्लै परेको अवस्थामा बाबुरामकै पहलमा एमालेसँग तालमेल भएको हो। उनी पछिल्लो समय एमालेविरुद्ध आक्रामक नेतामध्ये एक हुन्।