शुक्रबार, वैशाख ७, २०८१
  • गृहपृष्ठ
  • समाचार
  • १० दिनअघि साथीसँग 'मर्छु होला' भनेकी थिइन्, आज आफ्नै कोठामा मृत भेटिइन्

१० दिनअघि साथीसँग 'मर्छु होला' भनेकी थिइन्, आज आफ्नै कोठामा मृत भेटिइन्

सञ्जु निकटस्थहरुका अनुसार पछिल्लो समय उनी निकै निराश अवस्थाबाट गुज्रिएकी थिइन्। साथीहरुसँग भन्ने गर्थिन्, ‘सरकारले जागिर खोजिदिए हुन्थ्यो।’
 |  मंगलबार, वैशाख २७, २०७९

अनिल यादव

अनिल यादव

मंगलबार, वैशाख २७, २०७९

काठमाडौं– नेपाल प्रहरीकी भारोत्तोलन खेलाडी टीका गुरुङ यतिखेर काठमाडौं महाराजगन्जस्थित नेपाल पुलिस एकेडेमीमा ‘स्ट्यान्डबाइ’ ड्युटीमा छिन्। तर, उनका ओठ, खुट्टाहरु सबै काँपिरहेका छन्। बिहान आफूसँगै खेलेकी खेलाडी सञ्जु चौधरीलाई ललितपुरस्थित लुभुमा आत्महत्या गरेको अवस्थामा देखेर आएपछि उनका आँखा ओभाउन सकेका छैनन्।

triton college

टीकाले जिस्किँदै भनेजस्तो लागेका गम्भीर कुराहरु सम्झनामा आइरहेका छन् अहिले। वैशाख १७ गते अर्थात् १० दिनअघि मात्रै ५५ केजी समूहमा सञ्जु एसियाली खेलकुदका लागि छनोट भएकी थिइन्। त्यसको भोलिपल्टै एकजना साथीको घरमा जमघट राखिएको थियो। जहाँ सञ्जुसँग टीकासहित अन्य साथीहरुले सँगै खाना खाएका थिए। पहिलेभन्दा निकै दुब्लाएकी थिइन् सञ्जु। टीकाका अनुसार उनीभित्र धेरै तनाव भएजस्तो देखिन्थ्यो। ‘कहिले म त मर्छु होला भन्थिन्, कहिले म त अब के गर्ने होला भन्दै चिन्ता पोखिरहेकी थिइन्,’ त्यो जमघट सम्झँदै टीकाले भनिन्, ‘हामी त जिस्केजस्तो लागिरहेको थियो, तर साँच्चिकै पो सुसाइड गरिछिन्।’

बिहान आफूसँगै खेलेकी खेलाडी सञ्जु चौधरीलाई ललितपुरस्थित लुभुमा आत्महत्या गरेको अवस्थामा देखेर आएपछि उनका आँखा ओभाउन सकेका छैनन्।

त्यतिबेला टीका लगायत साथीहरुले ‘के भयो, किन यस्तो कुरा गरेको’ भनेर नखोतलेका होइनन्। तर, ‘पर्सनल म्याटर’ भन्दै उनी खुल्न चाहिनन्। त्यसो त सञ्जु पहिलैदेखि आफ्नो निजी कुरा खासै खोल्न चाहन्थिनन्। ६ महिनाअघि प्रहरीको जागिर छाड्दा पनि उनले त्यसको कारण साथीहरुसँग भन्न चाहिनन्। ‘हामीले खेल सँगै खेल्यौँ, दुःखसुख धेरै सँगै बाँड्यौं,’ ड्युटीमा उभिइरहेकी टीकाले हामीसँग भनिन्, ‘निकै सहयोगी भावनाकी थिइन्। मलाई थाहा नभएका कुराहरु सिकाउँथिन्। उस्तै मिहिनेति थिइन्, राम्रो खेल्थिन्, अरु त के भनुँ...!।’ त्यसपछि उनको गला अवरुद्ध भयो। 

१३ औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेपछि सबैको नजरमा परेकी थिइन्, सञ्जु। क्रिकेट, दौड, लङजम्प हुँदै भारोत्तलनसम्मको यात्रा तय गरेकी थिइन् उनले। बाहिरबाट हेर्दा उनको खेल जीवन सम्भावनामय नै देखिएको थियो। एसियाली खेलकुदमा टप फाइभभित्र पर्ने उनको लक्ष्य थियो। उनका कोच लगायत सहकर्मीहरुलाई उनले त्यो लक्ष्य भेट्छिन् भन्ने भरोसा पनि थियो। 

corrent noodles
Metro Mart

तर, मंगलबार बिहान उनलाई कोठामा सलको पासो लगाएर झुन्डिएको अवस्थामा भेटेपछि सबैको भरोसा टुट्यो। बाँकेको नेपालगन्ज घर भएकी उनी एसियाली खेलकुदको तयारीकै लागि काठमाडौं आएकी थिइन्। उनका भारोत्तोलन कोच सञ्जिव महर्जनकै घरमा डेरा लिएर उनी खेलको तयारी गरिरहेकी थिइन्। यही मेसोमा सोमबार राति प्रशिक्षक महर्जनको घरमा भोज आयोजना भएको थियो। भोज खान नेपाल भारोत्तोलन संघका अध्यक्ष रामकृष्ण श्रेष्ठ, महासचिव पार्थ सारथीसेन गुप्तालगायत पनि अतिथि बनेर पुगेका थिए। सञ्जु पनि त्यही भोजमा सहभागी थिइन्। घरकै सदस्य बनेर अतिथिहरुलाई हाँसीखुसी खानेकुरा बाँडिरहेकी थिइन्। 

‘भोज खाँदासम्म त्यस्तो संकेत देखाएकी थिइनन्,’ भारोत्तोलन संघका महासचिव गुप्ताले भने, ‘एकाएक बिहानै यस्तो दुखद् खबर आयो। एउटा सम्भावना बोकेर कुशल खेलाडी यसरी गुमाउनुपर्दा हामी सबै स्तब्ध छौं। बाँकी कुराहरु पोस्टमार्टम र अनुसन्धानपछि खुल्दै जाला।’

१३ औं दक्षिण एसियाली खेलकुदमा नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेपछि सबैको नजरमा परेकी थिइन्, सञ्जु। क्रिकेट, दौड, लङजम्प हुँदै भारोत्तलनसम्मको यात्रा तय गरेकी थिइन् उनले। बाहिरबाट हेर्दा उनको खेल जीवन सम्भावनामय नै देखिएको थियो। 

बिहान साढे ६ बजेतिर सञ्जुका घरबेटी महर्जनले नै प्रहरीलाई घटनाको खबर गरेका थिए। लगत्तै नजिकै रहेको लुभु प्रहरीबाट वरिष्ठ सई सन्तोष बरालको कमान्डमा प्रहरी टोली त्यहाँ पुगेको थियो। प्रहरी पुग्दा सञ्जु आफू सूत्ने कोठामा पंखा राख्न बनाइएको हुकमा सलको पासो लगाएर झुन्डिएको अवस्थामा भेटिएकी थिइन्। पोस्टमार्टम रिपोर्ट त आउन बाँकी छ तर प्रहरीको प्रारम्भिक अनुसन्धानमा घटना आत्महत्या नै जस्तो देखिएको छ। ‘त्यस्तो शंकास्पद केही देखिएको छैन,’ महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धविक्रम शाहले भने, ‘भित्रबाट चुकुल लगाइएको अवस्था थियो। सुसाइड नोट पनि भेटिएको छैन। लक गरिएको अवस्थामा दुइटा मोबाइलचाहिँ भेटिएको छ। त्यसलाई फरेन्सिक ल्याबमा पठाएका छौं। हेरौं, त्यसबाट केही खुल्छ कि!’  

सञ्जु निकटस्थहरुका अनुसार पछिल्लो समय उनी निकै निराश अवस्थाबाट गुज्रिएकी थिइन्। साथीहरुसँग भन्ने गर्थिन्, ‘सरकारले जागिर खोजिदिए हुन्थ्यो।’ तीन वर्षअघि अनलाइन खबरसँगको कुराकानीमा पनि उनले भनेकी थिइन्, ‘खेलमा लागेर यस्तै गेम भयो भनेमात्रै त हो हाम्रो जीवन चल्ने। बाँकी समय त कसले हेर्छ र? बरु बिहान बेलुका खेल्थ्यौं। दिउँसो पार्टटाइम जागिर पाए आफ्नो पनि जीवन चल्थ्यो, घरपरिवार पनि खुसी हुन्थे ।’

नेपालमा जुनसुकै खेल होस्, देशका लागि खेल्ने खेलाडीहरु उतिविघ्न खुशी सुनिँदैनन्। धेरैको एउटै गुनासो हुन्छ, ‘यहाँ खेलेर हाम्रो करिअर सुरक्षित हुने अवस्था छैन।’ अधिकांशमा भविष्यको चिन्ता सुनिन्छ नै। धेरैलाई यतिखेर लागेको हुनुपर्छ, सञ्जुले पनि यहीकारण आत्महत्या गरेकी हुन सक्छिन्। 

सञ्जु निकटस्थहरुका अनुसार पछिल्लो समय उनी निकै निराश अवस्थाबाट गुज्रिएकी थिइन्। साथीहरुसँग भन्ने गर्थिन्, ‘सरकारले जागिर खोजिदिए हुन्थ्यो।’

यो त अनुसन्धान भयो भने खुल्न सक्ने कुरा होला। तर, सञ्जु मृत भेटिएकै अघिल्लो दिन अर्थात् सोमबार राति १० बजेपछि उनले राखेको एउटा फेसबुक पोस्ट पनि अर्थपूर्ण छ। राति १० बजेपछि उनले 'मिसिङ यु लभ' लेख्दै पाकिस्तानी वेबसिरिज ‘मेरे हमसफर’को एउटा सानो भिडियो क्लिप राखेकी छिन्। १ मिनेट २३ सेकेन्डको उक्त भिडियोमा टिलपिल भरिएका आँखासहित महिला कलाकारले पुरुष कलाकारसँग भन्छिन्, ‘तिमी मलाई छोड्दैनौ नि?’ परिवारको दबाबमा तिमीले मलाई डिभोर्स त दिँदैनौ नि?’ 

त्यसपछि हिन्दी गीत ‘मै तेनु सम्झावा कि...’ बज्न सुरु हुन्छ। 

त्यसो त यसको तीन दिनअघि शुक्रबार पनि उनले फेसबुकमा एउटा भिडियो सेयर गरेकी थिइन्। भिडियोमा एक वृद्ध जोडीको प्रेम झल्किने दृश्यहरु देखिन्छन्, अनि पृष्ठभूमिमा मन्त्र ब्यान्डको गीत बजिरहेको छः

‘जुनी जुनी तिमीसँगै जिउने, 

सपना मेरो तिमीलाई नै पाउने, 

तर कहाँ पुग्थ्यो र 

सोचेजति सबै...’

त्यसअघिका उनका फेसबुक पोस्टहरुमा भने कुनै पनि यस्ता भावुक स्टाटस तथा भिडियो क्लिपहरु छैनन्। मात्रै उनले राखेका तस्बिरहरु छन्। 

प्रकाशित: May 10, 2022| 15:22 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्