बुधबार, वैशाख २६, २०८१

विराटनगरको मेयरमा कोइराला र थापाको टक्कर, कसका के एजेन्डा?

उम्मेदवारी दर्तादेखि मौन अवधि सुरु हुन लाग्दासम्म दुवै उम्मेदवारले चुनावी गतिविधि तीव्र बनाएका छन्। दुवै पक्षका नेताहरुले आफ्नो पक्षमा माहोल राम्रो बनेका बताएका छन्।
 |  मंगलबार, वैशाख २७, २०७९

नेत्र पी अधिकारी

नेत्र पी अधिकारी

मंगलबार, वैशाख २७, २०७९

विराटनगर– ०७४ सालको स्थानीय निर्वाचनमा त्रिपक्षीय प्रतिष्पर्धा भएको विराटनगरमा यसपटक सत्ता गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच कडा प्रतिष्पर्धा हुने भएको छ। अघिल्लो पटक पराजय भोगेको एमाले यसपटक जितको खोजीमा छ भने नेपाली कांग्रेस जितलाई निरन्तरता दिन चाहन्छ। संयुक्त गठबन्धनका तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका नागेश कोइराला र नेकपा एमालेबाट उम्मेदवारी दिएका सागर थापाबीच तीव्र प्रतिष्पर्धा हुने स्पष्ट देखिएको छ। 

triton college

उम्मेदवारी दर्तादेखि मौन अवधि सुरु हुन लाग्दासम्म दुवै उम्मेदवारले चुनावी गतिविधि तीव्र बनाएका छन्। दुवै पक्षका नेताहरुले आफ्नो पक्षमा माहोल राम्रो बनेका बताएका छन्। नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिकाका निवर्तमान मेयर भीम पराजुलीले ०७४ मा कांग्रेस एक्लैले विराटनगरको मेयर, उपमेयर सहित धेरै वडा जित्न सफल भएको बताउँदै अहिले गठबन्धन भएकाले जित्न कुनै गाह्रो नहुने दाबी गरे। उनले भने, ‘अहिले गठबन्धन भएकाले विराटनगरमा समस्या हुँदैन।’ 

पराजुलीले यसो भनिरहँदा विराटनगर महानगरमा आफ्नो नेतृत्व स्थापित हुनेमा कांग्रेस ढुक्क बनिहाल्ने अवस्था भने देखिँदैन। गठबन्धनभित्रको असन्तुष्टि कायमै रहेकाले माओवादी केन्द्रको सहयोेग कस्तो हुनेमा स्पष्ट देखिएको छैन। विराटनगरमा ०७४ मा आफ्नो पार्टीले जितेको वडा समेत कांग्रेसले नछाडेपछि माओवादी चिढिएको छ। गठबन्धनका सार्वजनिक कार्यक्रममा नेताहरुले खुलेर असन्तुष्टि जाहेर गरिरहेकै अवस्था छ। गठबन्धनको निर्णय भएकाले निर्णय अनुसार नै पार्टी चल्ने माओवादी केन्द्रका नेता भोगेन्द्र यादव बताउँछन्। 

विराटनगरमा उपमेयरको भाग पाएको जनता समाजवादी पार्टी भने ०७४ मा जितेका ६ वटा वडामा कांग्रेसको उम्मेदवारी परे पनि उसले खासै असहज मानेको देखिँदैन। जसपाको सम्पूर्ण ध्यान उपमेयरको उम्मेदवारमा केन्द्रित छ। पार्टी अध्यक्ष उपेन्द्र यादव नै विराटनगरमा बसेर गठबन्धनका उम्मेदवार जिताउन लागिपरेका छन्। पार्टी एक ढिक्का जस्तो देखिए पनि ०७४ को निर्वाचनमा मेयरमा तेश्रो मत ल्याएका जसपाका नेता उमेश यादव स्वतन्त्रबाट उम्मेदवार बनेका छन्। नेता यादवको उम्मेदवारी जसपाका लागि टाउको दुखाइको विषय बनेको छ। यादवले जसपाको राम्रै मत काट्ने आकलन गरिएको छ। ०७४ मा १४ हजार ९५८ मत ल्याएका यादवले यसपटक सोही हाराहारीमा मत ल्याउने धेरैको आकलन छ। तर, जसपाका नेताहरु यादवले अघिल्लो निर्वाचनमा जस्तो मत ल्याउन नसक्ने र यादवको असरमा जसपा सामान्य हुने प्रतिक्रिया दिन्छन्।

उम्मेदवारी दर्तादेखि मौन अवधि सुरु हुन लाग्दासम्म दुवै उम्मेदवारले चुनावी गतिविधि तीव्र बनाएका छन्। दुवै पक्षका नेताहरुले आफ्नो पक्षमा माहोल राम्रो बनेका बताएका छन्।

जसपामा डा. बाबुराम भट्टराई पक्षका नेता मानिने भूराज राईले केही समयअघि सामाजिक सञ्जालमा हाम्रोलाई भन्दा राम्रोलाई मत दिन आग्रह गरेका थिए। यसले विराटनगरमा जसपा पनि एक भएर चुनावमा सामेल नभएको देखिन्छ। गत फागुनमा भएको राष्ट्रिय सभाको निर्वाचनमा प्रदेश १ बाट जसपाको भागमा परेका उम्मेदवार बाहेक गठबन्धनका अन्य उम्मेदवार विजयी भएका थिए। राष्ट्रिय सभामा जसपाका मात्रै उम्मेदवार पराजित भएको विषयमा छानबिन हुनुपर्ने माग पनि गरिएको थियो। जसपाबाट उम्मेदवारी दिएका हेमराज राई भूराज राईका आफ्नै भाइ हुन्। 

corrent noodles
Metro Mart

सत्ता गठबन्धनभित्रको नेकपा एकीकृत समाजवादीले भने मेयर र उपमेयरमा गठबन्धनका उम्मेदवारलाई मत दिइने बताएको छ। समाजवादीका केन्द्रीय सदस्य महेश रेग्मीले भने, ‘मेयर, उपमेयरमा गठबन्धनका उम्मेदवारलाई मत दिन्छौं, वडाहरुमा आफ्नै उम्मेदवार छन्। गठबन्धनका उम्मेदवार जिताउन हामी लागि परेका छौं।’ 

सत्ता गठबन्धनका विरुद्ध एक्लै उम्मेदवारी दिएको नेकपा एमाले पनि यस पटकको निर्वाचन जित्नेमा ढुक्क छ। अघिल्लो निर्वाचनमा ५ हजार ७१० मतान्तरले पराजित भएको एमाले यसपटक जित्नेमा ढुक्क देखिएको छ। ५ वर्षमा महानगरकोभित्रको संगठन मजबुत बनेको एमालेको निष्कर्ष छ। केन्द्रीय सदस्य विनोद ढकालले महानगरको निर्वाचन एमालेको पक्षमा आउने दावी गरे। उनले भने, ‘यस पटक जित्ने पालो एमालेको हो।’ बितेको ५ वर्ष कांग्रेस नेतृत्वको महानगर सुतेर बसेको उनले बताए। नेता ढकालले भने, ‘महानगरको नेतृत्व सुतेर बस्यो, चटपटाएन, कोल्टे पनि फेरेन।’ एमालेको नेतृत्वले मात्रै महानगरको विकास गर्ने उनको भनाइ छ। 

०७४ को निर्वाचनमा तत्कालिन विजयकुमार गच्छदार नेतृत्वको संघीय फोरम लोकतान्त्रिकसँग तालमेल गरेको एमाले यसपटक एक्लै चुनावी मैदानमा छ। यसपटक पार्टी विभाजन भएको अवस्था छ। पार्टी फुटको डर देखिए  पनि नेताहरु पार्टी विभाजनको असर नपर्ने दाबी गर्छन्। विराटनगरमा पार्टी विभाजनको कुनै असर नभएको एक नेताले दावी गरे। 

वैशाख ३० गते हुन लागेको निर्वाचनका लागि विराटनगरमा १ लाख ३३ हजार १४२ जना मतदाता छन्। अघिल्लो निर्वाचनमा १ लाख १३ हजार ७३१ मतदाता थिए। कांग्रेसका भीम पराजुली २३ हजार ३१ मत ल्याएर विजयी बनेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवारले १७ हजार ३३१ पाएका थिए। संघीय समाजवादीका उम्मेदवारले १४ हजार ९५८ मत हात पारेका थिए। विजयी र निकटतम प्रतिस्पर्धीबीचको मतान्तर ५ हजार ७१० थियो। 

अहिलेको निर्वाचनमा कुल मतदाताको संख्या १ लाख ३३ हजार १४२ छ। अर्थात् १९ हजार ४११ जना मतदाता विराटनगरमा थपिएका छन्। 

विराटगरको मेयरका लागि २ जना स्वतन्त्रसहित १३ जना उम्मेदवार छन्। नेकपा मालेबाट उम्मेदवारी दिएका देवी पौडेलले वैशाख २४ गते उम्मेदवारी फिर्ता लिएका छन्। उनले एमाले उम्मेदवारलाई समर्थन गरेका  छन्।  

विराटनगर बनाउने भिजन मसँग छः नागेश कोइराला 


विराटनगर महानगरको मेयरमा तपाईंको उम्मेदवारी किन? 

मैले धेरै ठूला योजना अघि सारेको छैन। महानगरवासीका साना–साना समस्या समाधान गर्ने योजनाहरू छन्। पहिलो त भ्रष्टाचार नियन्त्रण गर्ने एजेण्डा हो मेरो। यदि भ्रष्टाचार मात्रै नगर्ने हो भने धेरै कुरा सुधार हुन्छ। तपाईं हेर्न सक्नुहुन्छ भ्रष्टाचार नियन्त्रण गर्दा त्यो ठाउँको कसरी विकास हुन्छ र जनताले कसरी सुविधा पाउँछन् भन्ने उदाहरण भारतको नयाँ दिल्लीलाई लिन सकिन्छ। भ्रष्टाचार मात्रै नहुने हो भने विराटनगर मात्रै होइन मुलुकको आर्थिक विकासले निकै फड्को मार्ने थियो। भ्रष्टाचार नहुँदा कसरी विकास हुन्छ भन्ने म विराटनगरबाट देखाउन चाहन्छु। 

महानगरवासीका लागि मेट्रोसिटी अस्पताल बनाउनेछु। महानगरका विभिन्न स्थानमा महिला र अपाङ्गमैत्री शौचालय निर्माण, ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बिमा, ३० युनिट मात्रै विद्युत खपत गर्नेका लागि महसुलमा छुट, ज्येष्ठ र अपाङ्गहरूका लागि निःशुल्क एम्बुलेन्स सेवा, ठाउँ–ठाउँमा सुविधासम्पन्न पार्क, सामुदायिक विद्यालयको गुणस्तरीय वृद्धि, खानेपानी समस्या समाधान र डुबान समस्या समाधानका लागि केसलिया र सिंघिया खोलामा तटबन्धन निर्माण गरी दुवैतर्फ सडक निर्माण गरेर विराटनगर बजार क्षेत्रको सवारी चापलाई कम गर्ने योजना छ। यसबाहेक करको दायरा बढाउने र दर घटाउने एजेण्डा पनि छन् मसित। स्वास्थ्य, शिक्षा, खेलकुद, उद्योग व्यवसाय सबै क्षेत्रका एजेण्डाहरू छन्। 

योजना धेरै सुनाउनु भयो। श्रोतको व्यवस्थापन कसरी हुन्छ?

महानगरको स्रोतबाट यी सबै पूरा गर्न कठिन छ। प्रदेश र संघीय सरकारबाट बजेट ल्याउनुपर्छ। दातृ निकायहरू पनि विराटनगरमा लगानी गर्न चाहन्छन्। उनीहरूलाई कसरी आकर्षित गर्न सकिन्छ त्यसतर्फ ध्यान दिनुपर्छ। यसभन्दा अगाडि पनि एडीवीको पैसाबाट विराटनगरमा ढलसहितको सडक बनेको छ। अब बाँकी सडक पूर्वाधारसहित अन्य क्षेत्रको विकासका लागि एडीवी, जाइका, ईयूलगायतका दातृ निकायबाट सहयोग ल्याउन सकिन्छ। 

अर्कोतर्फ विराटनगरमा जन्मिएर विदेशमा कर्म गरिरहेका विराटनगरलाई माया गर्ने थुप्रै हुनुहुन्छ। उहाँहरूलाई पनि विराटनगरसँग जोड्न सकिन्छ। कोशी कोभिड अस्पताल बनाउँदा यहाँका उद्योगी व्यवसायीहरूले मन फुकाएर सहयोग गर्नुभएको कुरा त तपाईंहरूकै मिडियाहरूमा पनि आएको थियो। विराटनगर बनाउने भिजन सहित दृढ इच्छाशक्ति छ। 

भ्रष्टाचार शून्यमा झार्न सम्भव देख्नुहुन्छ? 

हामी सबै मिल्यौं भने सक्छौं। त्यसो भएकाले म भ्रष्टाचार गर्दिनँ। मैले भ्रष्टाचार गरिँदा भने अरुले पनि गर्ने आँट गर्दैनन्। यदि भ्रष्टाचार गर्नेलाई दण्डित र राम्रो काम गर्नेलाई पुरस्कृत गर्ने परिपाटीको विकास गरियो भने स्वतः भ्रष्टाचारको अन्त्य हुन्छ। 

तपाईंलाई मत किन दिने? 

म विराटनगरमै जन्मे, हुर्कें बढे, पढें। मलाई यहाँको अगाध माया छ। विराटनगरको धुलोका कण–कणमा मेरो सम्बन्ध छ। त्यसो भएकाले म विराटनगरलाई धेरै माया गर्छु। विराटनगर बनाउने संकल्प लिएर अगाडि बढेको छु। मैले भन्दै आएको छु पाँच वर्षे कार्यावधि पूरा गरेर महानगरबाट बाहिरिँदै गर्दा महानगरवासीले फूल र मालाले भव्यताका साथ विदाइ गर्ने अवस्था सिर्जना गर्छु। 

महानगरबाट प्रवाह हुने सेवालाई सरलीकृत बनाउँदै प्रविधिमैत्री बनाउनेछु। हुने कामलाई तत्कालै गर्ने नहुने काम छ भने कारणसहित सेवाग्राहीलाई जानकारी दिने व्यवस्था मिलाउनेछु। यिनै आधारले गर्दा मेरो उम्मेदवारीले महानगरवासीमा उत्साह जगाएको हुनुपर्छ। 

विराटनगर कसैको विर्ता हैन, यसपटक हामी जित्छौंः सागर थापा

विराटनगरमा तपाईंले जित्ने आधार केके हुन्?

विराटनगरमा २०४३ सालमा तत्कालिन मालेको समर्थनमा जनपक्षीय उम्मेदवार धु्रवनारायण श्रेष्ठले जितेकै हुन्। जतिबेला विराटनगरमा हाम्रो सांगठनिक आधार एकदमै कमजोर थियो। त्यसपछि बहुदलीय व्यवस्थाको स्थापनापछि २०४९ सालको स्थानीय निर्वाचनमा कांग्रेसले धेरै वडाहरुमा बुथ कब्जा गरेर धाँदली गरेपछि नेकपा एमालेले चुनाव बहिस्कार गर्दा पनि सम्मानजनक मत ल्याएको हो। २०५४ सालमा एमालेले केही वडा छाडेर सानदार विजय हासिल गरेको थियो।

२०७४ सालमा कांग्रेसले मेयर र उपमेयर जिते पनि हाम्रो मत सम्मानजनक छ। यो हिसाबले हेर्दा विराटनगर कसैको बिर्ता हैन, अब जित्ने पालो हाम्रो हो। यो परम्परागत कुरा भए पनि यसपटक भने हामी विराटनगरलाई समृद्ध बनाउने, श्रमजीविका सवालहरुलाई उठाउँदै सम्बोधन गर्ने, यहाँ उद्योगी व्यवसायीको हित प्रवर्द्धन गर्दै रोजगारमूलक सहर बनाउने र भ्रष्टाचारमुक्त नगर बनाउँदै गुणस्तरीय सेवा प्रवाह गर्ने हाम्रो एजेन्डा छ त्यसैले पनि हामी चुनाव जित्छौँ। 

 विराटनगरको ऐतिहासिक पहिचान हराउँदै गएको छ। यसलाई पुनर्जीवन दिन तपाईंको प्रयत्न के रहन्छ?

विराटनगर जुट मिलको स्थापनासँगै विराटनगरको पहिचान औद्योगिक सहरको रुपमा स्थापित भएको हो। यहाँको उद्योग कलकारखानाका कारण विराटनगर आर्थिक रुपले पनि सम्पन्न थियो। तर पछिल्लो समय उद्योगी व्यवसायीहरु पलायन हुने र यहाँका उद्योगहरु धरासयी बन्न थाले। हामी उद्योगलाई पुनर्जीवित गर्दै विराटनगरमा औद्योगिक क्षेत्र बनाउने, उद्योगहरु उद्योग खोल्ने वातावरण बनाउँछौँ। 

त्यसका लागि विराटनगरले  उद्योगी व्यवसायीमैत्री कर प्रणालीको व्यवस्था गर्न हाम्रो प्रयत्न रहन्छ। महानगरभित्र सुविधासम्पन्न औद्योगिक, व्यापारिक प्रदर्शनीस्थल र अन्तर्राष्ट्रिय स्तरको बनाउनेछौं। नेपाल सरकारबाट प्रस्तावित सुख्खा बन्दरगाहा सहितको विशेष आर्थिक एवम् निर्यात प्रवद्र्धन क्षेत्र निर्माण गर्नेछौ। गरिवीको रेखामुनी रहेका घर परिवारलाई लक्षित गरी निःशुल्क विद्युत जडान सहित अनुदानमा विद्युतीय चुल्हो उपलब्ध गराउने छौ। 

विराटनगरमा सुकुम्बासी, डुबानको समस्या छ। यसको समाधानका लागि कस्ता योजना छन्। 

वास्ताविक सुकुम्वासीको पहिचान गरी उनीहरुको घर निर्माणलाई प्राथमिकता दिँदै सबैको घर निर्माण गरिने छ। कुनैपनि सुकुम्बासी परिवार घरबारविहीन हुनेछैन। विराटनगरमा रहेका सुकुम्बासी बस्तीहरुलाई सडक, विद्युत, खानेपानी जस्ता पूर्वाधारले जोड्ने आवश्यक रोजगारी सिर्जना गर्ने योजना ल्याउनेछाै‌। त्यसैगरी वर्षायाम शुरुहुने वित्तिकै हुने डुबान क्षेत्रको पहिचान गरि त्यसलाई ठोस योजना बनाएर अघि बढ्छौं। डुबान मुक्त हुनका लागि ढलहरुको निर्माण र खोलाहरुमा तटबन्ध र त्यस छेउका बस्तिको व्यवस्थापन गरिने छ। 

विराटनगर स्वास्थ्य, शिक्षाको हब पनि हो। यी क्षेत्रको विकासका लागि तपाईंका योजनाहरु के छन्? 

सार्वजनिक विद्यालयलाई स्तरोन्नती गर्दै गुणस्तरीय शिक्षालय बनाउछौँ। निजी विद्यालयसँगको सहकार्यलाई प्रभावकारी बनाउँछौँ। सबै खालका शैक्षिक संस्था खोल्न र त्यसलाई गुणस्तरीय बनाउन हामी ठोस योजनाका साथ अघि बढ्छौँ। समुदायिक विद्यालयमा व्यवस्थित छात्रा शौचालय र निःशुल्क सेनिटरी प्याडको व्यवस्था गर्ने छौँ। 

विराटनगरमा भइरहेका स्वास्थ्य केन्द्र र अस्पतालहरुलाई व्यवस्थित गर्दै मेट्रो अस्पताल निर्माण गर्ने छौँ। स्वास्थ्य विमा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्ने छौँ। निःशुल्क औषधि वितरण कार्यलाई प्रभावकारी बनाउने छौँ। नगरबासीलाई स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध गरी अस्पतालबाट सरल, सहज  र व्यवस्थित स्वास्थ्य सेवा प्रदान गर्नेछौ। यसका लागि संघीय तथा प्रदेश सरकारसँगको समन्वय र अनुदानहरु, दातृ निकायसँगको सहकार्य र आन्तरिक स्रोतहरुको पहिचान र करका नयाँ क्षेत्रहरु खोजि गरि स्रोतको व्यवस्थापन गरिनेछ।

प्रकाशित: May 10, 2022| 16:25 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।