मंगलबार, जेठ ८, २०८१

कुश्मा र फलेवासमा कांग्रेस-एमालेबीच प्रतिष्ठाको लडाइँ

दुई-दुई पटक संसदीय निर्वाचनमा पराजित भएका पर्वतका पुराना वामपन्थी नेता गणेश शर्मा पौडेललाई एमालेले यसपटक कुश्मा नगरपालिकाको मेयर पदमा अघि सारेको छ।
 |  मंगलबार, वैशाख २७, २०७९

निर्भीकजंग रायमाझी

निर्भीकजंग रायमाझी

मंगलबार, वैशाख २७, २०७९

काठमाडौं- दुई-दुई पटक संसदीय निर्वाचनमा पराजित भएका पर्वतका पुराना वामपन्थी नेता गणेश शर्मा पौडेललाई एमालेले यसपटक कुश्मा नगरपालिकाको मेयर पदमा अघि सारेको छ। एमाले केन्द्रीय अनुशासन आयोगको सदस्य पनि भइसकेका पौडेललाई जिताउन एमाले पर्वतले अलिक बढी नै जोडबल गरिरहेको छ। 

triton college

उमेरले झण्डै ८० वर्ष पुग्न लागेकी यी वामपन्थी नेता कुश्मा बजारमा जन्मे हुर्केका र यसअघि नगरप्रमुख भइसकेका कांग्रेसका युवा नेता रामचन्द्र जोशीसँग चुनावी मैदानमा छन्। कांग्रेसका तर्फबाट उम्मेदवार बनेका जोशीको चुनावी दौडाहा पनि कम रफ्तारको देखिँदैन। 

चुनावी अभियानका परिदृश्य पछ्याउने हो भने भौतिक द्वन्द्ववादको वकालत गर्दै कम्युनिस्ट राजनीति गरेका पौडेललाई चुनाव जित्ने रणनीतिकै लागि भजन–कीर्तनमा नाच्नु परिरहेको छ। त्यसैगरी उदारवादी र परम्परागत विचारधाराको प्रतिनिधित्व गर्ने जोशीलाई ससना सीमान्तकृत वस्तिहरूमा पुगेर आफू सहवर्गिय र सामान्य रहेको अभिनय गरिरहनु परेको छ।

चुनावी चटारो र बाध्यताका उपक्रम आफ्ना ठाउँमा होलान्। तर दुवै उम्मेदवारहरूले मौन अवधि सुरु हुनुअघि आफ्नो ‘पोजिसन’ बलियो हुँदै गएकाले आफूले चुनाव जित्ने दाबी गरेका छन्। ‘कुश्मा नगरले खोजेकै जाँगरिलो र सक्रिय युवा प्रतिनिधि हो भन्ने यसअघिकै निर्वाचनमा स्थापित भइसकेको छ’, हाम्रा जिल्ला प्रतिनिधिसँग प्रतिक्रिया दिँदै कांग्रेसका तर्फबाट अघि सरेका मेयर उम्मेदवार जोशीले भने, ‘हामीले जित्ने आधार भनेकै अघिल्लो कार्यकालमा गरिएका काम, समन्वय र त्यसको प्रतिफल हो। हामी ढुक्क छौं, कुश्मामा फेरि रुख फहराइने छ।’

corrent noodles
Metro Mart

अघिल्लो पटक जोशीले एमालेका मेघनाथ सुवेदीसँग स्पर्धा गरेका थिए। सुवेदी अहिलेका एमाले उम्मेदवार गणेश शर्मा पौडेलका राजनीतिक चेला हुन्। साबिकको पिपलटारी गाविसमा अध्यक्षका पदमा जिताएर पौडेलले कुनै बेला सुवेदीलाई वामपन्थी राजनीतिमा मुखर बनाएका थिए। तर, संयोगात्मक चुनौती यस्तो आइपरेको छ कि, अघिल्लो पटक चेला सुवेदीले गुमाएको कुश्मा नगरको नेतृत्व गुरु गणेशले फिर्ता गर्नु छ। ‘गणेश गुरुको राजनीतिक उचाइ र योगदानका आधारले पनि उहाँलाई चुनाव जित्न सहज देखिन्छ,’ घरदैलोमा सहभागी भएका एमाले भातृ संगठन युवा संघका केन्द्रीय लेखा आयोग अध्यक्ष प्रकाश लामिछाने भने, ‘३ दशक बढी शिक्षण पेसामा रहनुभएका कमरेड पौडेलको प्रभाव राम्रो छ। एमाले पर्वत उहाँलाई जिताउन एक ढिक्का छ। र, विशेषतः मोदी पूर्वको कांग्रेसी मत पनि उहाँको पक्षमा जाने निश्चित छ।’   

कुश्मामा कांगेसले माओवादीसँगको गठबन्धनको अगुवाइ गरेको हुनाले उपमेयरमा राजनीतिसँगै सामाजिक कार्यमा सक्रिय रहेका माओवादी केन्द्रका युवा नेता शंकर गिरीलाई उपमेयर उम्मेदवार तय गरेको छ। एमालेले भने यसअघि लामो समय काठमाडौं बसेकी र पछिल्ला दिनमा पर्वत फर्केर रेसोर्ट व्यवसाय गरिरहेकी पाङकी स्वस्थानी रिजाललाई उपमेयरमा अघि सारेको छ। अखिल नेपाल महिला संघमा पनि सक्रिय रहेकी रिजालका लागि व्यक्तिगत प्रभाव भन्दा पनि सांगठनिक विरासतको मत विजयको आधार बन्न सक्ने विश्लेषण जानकारहरूको छ। ‘सक्रियता र प्रतिबद्धताका हिसाबले रिजालभन्दा शंकर गिरी अगाडि छन् तर उनी माओवादी केन्द्रका भएकाले उनको संगठन जिल्लामा अति कमजोर छ। शंकरले जित्न कांग्रेसको मत शतप्रतिशत उनको पक्षमा जाने अवस्था हुनुपर्छ। त्यसैले उपमेयर यस्तै परिणाम आउँछ भन्न गाह्रो छ’, पर्वतको राजनीतिलाई नजिकबाट हेरिरहेका एक अनुभवी पत्रकाले भने, ‘उपमेयरमा मत क्रस भएन भने मेयर र उपमेयर एउटै प्यानलले जित्छ।’

केन्द्रबाट पाँचदलीय गठबन्धन भने पनि कुश्मा नगरपालिकामा कांग्रेस र माओवादीको मात्र गठबन्धन बनेको छ। राप्रपा, जनमोर्चा लगायत साना दलहरूले आ–आफ्ना उम्मेदवार उठाए पनि उनीहरू भिडन्तको अग्रभागमा छैनन्। 

विश्वकै दोस्रो अग्लो बन्जी जम्प, अग्ला झोलुङ्गे पुलहरू, पुरानो बजार र कालीगण्डकी क्षेत्रले गर्दा पर्वत विशेष मानिन्छ। ती सबैको केन्द्र कुश्मा नगर बन्दै आएको छ। त्यसैले पनि कुश्मा नगरप्रमुख पद जिल्ला राजनीतिको आकर्षण मात्र होइन उम्मेदवारहरूका लागि मोहको विषय बनेको हो।

वैशाख १० गते मेयर रामचन्द्र जोशी र उपमेयर सीता काफ्लेले कुश्मा नगरपालिकाको पाँच वर्षे उपलब्धि सार्वजनिक गरेका थिए। उनीहरूले आफ्नो कार्यकालमा पर्यटन, संस्कृति संरक्षण र भौतिक विकासमा उल्लेख्य उपलब्धि हासिल भएको दलिल पेस गरे। यद्यपि नगर विकासमा लापरबाही गरेको, कालीगण्डकी नदी दोहनको आरोप लाग्दै आएको छ। उम्मेदवारी घोषणपछि जोशीले भनेका छन्, ‘मेरो कुनै व्यक्तिगत स्वार्थ छैन। पाँच वर्षमा कुश्मामा विकासको जग बसाएँ। अब पूर्णता दिन्छु।’

घरदैलो गरिरहेका एमालेका गणेश पौडेलले भने अहिलेका मेयर रामचन्द्र जोशीले सिन्कासमेत नभाँचेको आरोप लगाउँदै आएका छन्। ‘अघिल्लोपटक नेतृत्वमा आउनेले घोषणापत्र त ठूलो देखिने बनाए तर काम गरेनन्। म दिन दुगुना रात चौगुणा हुने गरी नगर विकासको काम गर्छु’, पौडेलले चुनावी सभामा दोहोर्याउँदै भन्ने गरेका छन्।

अघिल्लो स्थानीय निर्वाचनको आधारमा कुश्मा नगरको मतभार हेर्दा त्यो बेला विजयी भएका कांग्रेसका रामचन्द्र जोशीले ८ हजार ५७ मत प्राप्त गरेका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एमालेका मेघनाथ सुवेदीले ७ हजार २३९ मत प्राप्त गरेका थिए। अहिले गठबन्धनबाट उपमेयर उम्मेदवार माओवादीका शंकर गिरीले १ हजार १६३ मत प्राप्त गरेका थिए।

अघिल्लो निर्वाचनको हिसावमा भन्दा मतभार कुश्मामा अहिले पनि कांग्रेसको पक्षमा देखिन्छ। तर पछिल्लो पाँच वर्षमा थपिएका मत र उम्मेदवारको प्रभावका कारण कुश्मा नगरको यो निर्वाचन यसैले जित्छ भन्ने ठोकुवा गर्न सकिने अवस्था छैन।कुश्मा नगरपालिकामा ३१ हजारभन्दा बढी मतदाता छन्। 

अघिल्लो पटकको चुनावी नतिजा भने कुश्मासँगै जोडिएको छिमेकी नगरपालिका फलेवासको भने अवस्था फरक छ। फलेवासमा एमाले बलियो देखिन्छ। २०७४ मा फलेवासमा एमालेले एक्लै मेयर उपमेयर जितेको थियो। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको संस्थागत क्षमता मूल्याङ्कनमा गण्डकी प्रदेशका ८१ वटा स्थानीय तह मध्ये फलेवास उत्कृष्ट भएको थियो। तिनै उपलब्धीलाई मुद्धा बनाउँदै वर्तमान मेयर पदमपाणि शर्मा र उपमेयर मञ्जु अधिकारी नै एमालेबाट पुनः उम्मेदवार बनेका छन्।

कांग्रेसले पनि २०७४ कै उम्मेदवार गंगाधर तिवारीलाई उम्मेदवार बनाएको छ। माओवादी द्वन्द्वपीडित रहेका गंगाधर कांग्रेस नेता हरिदत्त तिवारी (दिवंगत)का पुत्र हुन्। यसपटक भने गंगाधरलाई माओवादीकै पनि समर्थन छ। उनीसँगै माओवादी केन्द्रकी शोभा क्षेत्री उपमेयरको उम्मेदवार रहेकी छन्। 

२०७४ मा एमालेका पदमपाणी शर्माले ६ हजार १०३ मत ल्याउँदा कांग्रेसका गंगाधर तिवारीले ५ हजार ७५५ मत ल्याए। माओवादीका मोति शर्मा रेग्मीले ४ सय १४ मात्र ल्याएका थिए। ‘कुश्मामा हामी पहिल्यै पनि बलियो हो र यसपटक फलेवास पनि हाम्रै पोल्टामा पर्छ। गठबन्धनको गणित त छँदैछ त्यसैमा पनि हाम्रा उम्मेदवारको प्रभाव अझै सघन बनेको छ’, पर्वतबाट कांग्रेस महाधिवेशन प्रतिनिधी युवा नेता डा केदार सुवेदीले भने, ‘पर्वतमा थपिएका मतदाताहरूमा पनि हामी कमजोर छैनौं।’

 फलेवास नगरमा २३ हजारभन्दा बढि मतदाता छन्।

प्रकाशित: May 10, 2022| 14:10 मंगलबार, वैशाख २७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...