रुपन्देही- कालीगण्डकी गाउँपालिकाको पुर्तिघाटमा नेपाली कांग्रेसका कार्यकर्ताले नेकपा माओवादी केन्द्रका पालिका अध्यक्ष लीलबहादुर केसी (संजय)लाई कुटपिट गरेका छन्।
नेकपा एमालेसँग गठबन्धन गरेपछि माओवादीप्रति असन्तुष्ट हुँदै आएका गुल्मीको कालीगण्डकी गाउँपालिकाका कांग्रेस कार्यकर्ताले केसीमाथि कुटपिट गरेका हुन्। कांग्रेस कार्यकर्ताको कुटपिटबाट केसी घाइते भएका छन्।
केसीको अनुहारमा चोट लागेको छ। उनको गुल्मी जिल्ला अस्पतालमा उपचार भइरहेको छ। पार्टीको समीक्षा बैठक सकेर घरतर्फ फर्कंर्दै गर्दा थापाले एक्कासी बाइकको हेल्मेटले टाउकोमा प्रहार गरेको र आफू बेहोस भएर ढलेको केसीले बताए।
त्यस पश्चात केके गरे आफूलाई केही थाहा नभएको केसीको भनाई छ। कुटपिट गर्ने लिलबहादुर थापा कालिगण्डकी गाउँपालिकाका निवर्तमान अध्यक्ष तथा अहिले अध्यक्ष पदका उम्मेदवार बेदबहादुर थापाका भाइ रहेको माओवादीले जनाएको छ।
उता कांग्रेस गुल्मीका सचिव जगदीश भट्टराइले दुई पक्षबीच सामान्य भनाभन भई धकेल्दा केसीलाई चोट लागेको बताए। दुई पक्ष बसेर समस्याको समाधान खोज्ने गरी आफूहरू लाग्ने उनको भनाइ छ।
कालिगण्डकीमा नेकपा एमाले र माओवादीबीच गठबन्धन छ। नेपाली कांग्रेस र जनमोर्चा गठबन्धन गरेर चुनावी मैदानमा छन्। जिल्ला प्रहरी कार्यालय गुल्मीले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।