काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशसरण महतले नेकपा एमाले कांग्रेसले ल्याएका नीति तथा कार्यक्रमको ब्याज खाने पार्टी भएको बताएका छन्।
पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता महतले एमाले कांग्रेसले गरेका राम्रा कामलाई पनि आफूले गरेको भन्दै जस लिन खोज्ने पार्टी भएको आरोप लगाएका छन्।
'एमाले अध्यक्ष केपी शर्मा ओली झुटको खेती गर्नु हुन्छ। उहाँले झुटमाथि झुट बोलिरहनु भएको छ। हामीले गरेका राम्रा कामको पनि उहाँले आफूले ब्याज खान खोजिरहनु भएको छ। तर, जनताले सबै कुरा बुझेका छन्,' प्रवक्ता महतले भने।
कांग्रेसले लिएको आर्थिक उदारीकरणको नीतिले जताततै निजी उद्योग फस्टाएको उनको दाबी छ। एमालेसँग कांग्रेसको विरोध गर्ने कुनै आधार नै नभएको महतले बताए।