काठमाडौं– स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा सबै दलहरु चुनावी अभियानमा होमिएका छन्। देशका प्रमुख ठाउँहरुमा शीर्ष नेताहरुको उपस्थितिमा दैनिकजसो चुनावी सभा भइरहेका छन्। आइतबारमात्र प्रमुख पार्टी एमालेले चितवनमा र सत्ता गठबन्धनले पोखरासहित देशका विभिन्न ठाउँमा आमसभा गरे।
भरतपुर र काठमाडौंमा चुनावी सभा गरिसकेको पाँच दलीय गठबन्धनले आज आइतबार पोखरामा सभा गरेको थियो। सभामा प्रमुख दल नेपाली कांग्रेस, नेकपा माओवादी, नेकपा एसबाट प्रमुख नेताहरुले भाषण गरे। पोखरा पुगेर माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रचण्डले मतदातालाई पुनः ‘धम्की’ दिए। यसअघि सत्ता गठबन्धनद्वारा भरतपुरमा आयोजित सभामा उनले आफ्नी छोरी अर्थात् भरतपुरकी मेयर उम्मेदवार रेनु दाहाललाई नजिताए देश अर्को दुर्घटनामा जाने भन्दै मतदातालाई ‘धम्की’ दिएका थिए। सोही आशयको चेतावनी उनले आज पोखरामा पनि दोहोर्याएका हुन्।
मन्तव्यको क्रममा प्रचण्डले गठबन्धनले नजिते देश दुर्घटनामा जाने अभिव्यक्ति दोहोर्याइरहे। यसअघि भरतपुरमा यस्तै अभिव्यक्ति दिएपछि दाहालको चर्को आलोचना भएको थियो। उक्त आलोचनाको बचाउ दाहालले पोखरामा गरे। ‘यसअघि जनता धम्क्याइयो भनेर गलत अर्थ लगाइएको छ। त्यो धम्की थिएन,’ आफूलाई बचाउ गर्दै उनले पुनः उस्तै आशयको अभिव्यक्ति दिए, ‘तर, आज यदि यो गठबन्धन दायाँबायाँ गयो भने देश फेरि राजनीतिक दुर्घटनामा जानसक्छ।’
पोखराको सभामा शीर्ष नेताहरु हतारमा देखिन्थे। आइतबार नै दाङ र धनगढीको कार्यक्रम भ्याउनुपर्ने भन्दै उनीहरुले अन्य सभामा भन्दा छोटो मन्तव्य दिएका थिए। सभामा प्रचण्डले राजावादीको गठबन्धनले चुनाव जिते देशमा राजनीतिक दुर्घटना हुने चेतावनी दिए। प्रचण्डले भने, ‘लोकतन्त्र र संघीयता विरोधीलाई परास्त गर्न यो गठबन्धन जन्मेको हो, अर्को राजावादीको गठबन्धन आएको छ। उनीहरुले जिते देशमा राजनीतिक दुर्घटनाको खतरा छ।’
संविधानको रक्षा, गणतन्त्र र संघीयता पक्षधर भएकाले गठबन्धनको राजनीतिक मुद्दा पनि मिलेको दाबी प्रचण्डले गरे। त्यसैले स्थानीय निर्वाचन अग्रगमन र प्रतिमनबीचको लडाइँ भएको उनले बताए। प्रचण्ड यतिमै रोकिएनन्, मन्तव्यको अन्तिम–अन्तिममा आइपुग्दासम्म उनले ७० वर्षको संघर्षबाट प्राप्त उपलब्धी जोगाउने हो भने गठबन्धनका उम्मेदवारलाई नै मत दिनुपर्ने भन्दै ‘धम्की’ दोहोर्याइरहे।
त्यस्तै, सभामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देश र संविधानको रक्षाको निम्ति पनि गठबन्धनलाई मत दिनुपर्ने बताए देउवाले एमाले अध्यक्ष केपी ओली प्रजातन्त्र र गणतन्त्रको खिलाफमा रहेको आरोप लगाए।
‘पार्लियामेन्टमा विरोध गर्यो भने भंग गर्दिहाल्ने। उनी अर्कैखाले मान्छे हुन्। पार्लियामेन्ट सिस्टम मान्नेवाला होइनन् उनी। पार्लियामेन्टमा विपक्षीले विरोध गर्न पाउँछ नि। हामीले विरोध गरेका थियौँ, विरोध गर्दा संसद् भंग गर्दिने?,’ देउवाले भने।
पोखराको सभामा शीर्ष नेताहरु हतारमा देखिन्थे। आइतबार नै दाङ र धनगढीको कार्यक्रम भ्याउनुपर्ने भन्दै उनीहरुले अन्य सभामा भन्दा छोटो मन्तव्य दिएका थिए।
देउवाको आक्रोश विपक्षी दलतर्फमात्र थिएन। आफ्नै दलभित्रका कार्यकर्तातिर पनि उनको आक्रोश सोझियो। गठबन्धनको विरोध गर्नेतर्फ लक्षित गर्दै अहिलेको सत्ता गठबन्धन सबैभन्दा बढी आवश्यक कांग्रेसकै लागि भएको बताए। गठबन्धन बन्नुअघि कांग्रेसको अवस्थाबारे सचेत गराउँदै उनले प्रश्न गरे, ‘गठबन्धन बन्नुअघि हाम्रो कस्तो अवस्था थियो? आज कांग्रेस एकीकृत रुपमा सरकारमा छ। त्यसकारण गठबन्धनका पार्टीका सबै दलहरुमा कुनै शंका उपशंका गर्नै हुँदैन।’
यदि गठबन्धनको विरुद्ध कोही लागे कारबाही गर्नेसम्मको चेतावनी देउवाले पोखरामा पनि दोहोर्याए। गठबन्धनबाहेक अरुले जितेमा नेपालको संविधान र लोकतन्त्र नै खतरामा पर्ने त्रास देखाउँदै देउवाले कुनै हालतमा गठबन्धनलाई जिताउनुपर्ने तर्क गरे।
त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल पनि ओलीविरुद्ध खनिए। दाङ र धनगढीमा हुने अर्को कार्यक्रममा सहभागी हुन जान हतारिएका नेपालले पोखरामा उपलब्ध समय केपी ओलीको आलोचना गर्नमै बिताए। गठबन्धनले हारे व्यवस्था संकटमा पर्ने आशय व्यक्त गर्दै नेपालले भने, ‘देशमा अहिले दुईवटा गठबन्धन छ– एउटा प्रगतिशील गठबन्धन र अर्को प्रतिगामीको गठबन्धन। संविधान र लोकतन्त्र रक्षाको लागि पनि प्रगतिशील गठबन्धनले जित्न आवश्यक छ।’
प्रायजसो सभा–समारोहमा एकअर्का विरुद्ध गालीगलौचमा उत्रिने नेताहरुले आइतबारको सभामा पनि यो क्रम छोडेनन्। पोखराको कार्यक्रममा नेपालले ओलीलाई ‘बयलगाढा प्रवर्तक’को उपनाम दिए। ‘नेपालमा गणतन्त्र ल्याउनु बयलगाढामा अमेरिका जानुजस्तै हो’ भन्ने ओलीको पुरानो अभिव्यक्ति सम्झँदै नेपालले आफूहरु अग्रगमनको पक्षधर भएको दाबी गरिरहे।
‘उनलाई गणतन्त्रको माया छैन। बयलगाढाका प्रवर्तकले कुन मुखले आफूलाई देखाउँछन्? त्यस्ता व्यक्तिले अगुवाइ गरेको पार्टी वा गठबन्धन गतिलो हुने कुरै छैन,’ नेपालले भने, ‘त्यसैले त्यो दक्षिणपन्थी प्रतिगामीको गठबन्धनको विरुद्ध यो गठबन्धन कायम गरेर सही निर्णय गरेका छौँ। देश र संविधान जोगाउन पनि यसको आवश्यक छ।’
एकातिर संविधान रक्षाको लागि गठबन्धन आवश्यक रहेको आशयको अभिव्यक्ति आइरहँदा गठबन्धनमै रहेको जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादव र सङ्घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई भने सत्ता गठबन्धनका आमसभाहरुमा खासै देखिएका छैनन्। सत्ता गठबन्धनले आज पोखरामासहित चितवनको भरतपुर, काठमाडौंको शान्ति बाटिकादेखि मधेश प्रदेशको जनकपुरमा संयुक्त चुनावी सभा गरिसकेको छ।