मंगलबार, असार ९, २०८३

जसले मेयर बन्न लोकसेवा पास गरेको पाँच महिनामै जागिर छाडे

 |  आइतबार, वैशाख २५, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, वैशाख २५, २०७९

काठमाडौं– लोकसेवा परीक्षा उत्तीर्ण गरेर पदमा नियुक्त भएको चार महिना २४ दिनमै राजीनामा दिए कञ्चनराज गिरीले। विद्युत प्राधिकरणको अधिकृत तहको लोभलाग्दो जागिर छाडेका गिरीलाई धेरैले ‘दिमाग छैन?’ भन्दै हकारे। तैपनि उनी आफ्नो निर्णयबाट पछाडि हटेनन्। जागिर छाडेर आफू जन्मे–हुर्केको बनेपा नगरको नेतृत्व लिन स्वतन्त्र उम्मेदवारी दिए।

National life

२१ औं पटकसम्म असफल भएर २२ औं पटकमा लोकसेवा परीक्षा पास गरेका कञ्चनराजको संकल्पमा प्रश्न गर्ने ठाउँ छैन। कुनै लहडमा आएर उनले राजीनामा गरेका होइनन्। स्थानीय चुनावमा प्रतिस्पर्धा गर्ने हिम्मतका साथ राजीनामा गरेका हुन्।

शालीन स्वाभावका कञ्चनराजलाई सरकारी कर्मचारीको लामो अनुभव नभए पनि त्यसभित्र मौलाइरहेको भ्रष्ट प्रवृत्तिबारे राम्ररी थाहा छ। उनी आफैं भ्रष्टाचारतन्त्रका भुक्तभोगी हुन्। सरकारी जागिरलाई सेवाभन्दा पनि कमाउधन्दाको रुपमा लिनेहरू देखेपछि उनी त्यसका कठोर आलोचक बने। फलतः उनले जागिरको मोह गरेनन्।

‘जनताको सेवा गर्ने कामलाई पैसा कमाउने मेलो बनाएपछि देश कहाँ बन्छ? त्यसले त समग्र राज्य संयन्त्र नै ध्वस्त बनाउँछ,’ गिरी भन्छन्। जागिर छाडेर चुनाव लड्न आएका उनीसँग कसैलाई दिने पैसा त के, आफ्नो प्रचारपसारका लागि पनि पर्याप्त रकम छैन। पार्टीगत राजनीतिमा पैसाको खेल चल्ने कुरा उनले बुझेका छन्। तर आफूलाई त्यस कुराले कुनै फरक नपार्ने बताउँछन् उनी।

‘निर्वाचन जितेमा बनेपा नगर बनाएरै छोड्छु। हारेँ भने एउटा सन्देश जानेमा विश्वस्त छु,’ गिरी भन्छन्, ‘जनताले कदापि सरकारसँग अपनत्वको महसुस गर्न पाएका छैनन्। यसबाट वितृष्णा भएकाले नै मैले उम्मेदवारी दिएको हुँ। आफ्नै घरगाउँको सेवा गर्न आएको हुँ।’

Shivam cement
२१ औं पटकसम्म असफल भएर २२ औं पटकमा लोकसेवा परीक्षा पास गरेका कञ्चनराजको संकल्पमा प्रश्न गर्ने ठाउँ छैन। कुनै लहडमा आएर उनले राजीनामा गरेका होइनन्। स्थानीय चुनावमा प्रतिस्पर्धा गर्ने हिम्मतका साथ राजीनामा गरेका हुन्।

२०४३ साल जेठ ३१ गते बनेपाको नालामा जन्मिएका हुन् गिरी। विद्यालय शिक्षा बनेपाबाटै पूरा गरेका उनले बायोटेक्नोलोजीमा स्नातकोत्तर (एमएससी) गरेका छन्। त्यसपछि उच्च अध्ययनका लागि विदेश जाने सोच बनाए। त्यहाँ पनि उनलाई छात्रवृत्ति मिलेन। 

यसैबीच आठ वर्ष निजामति कर्मचारी अस्पतालमा प्रशासन सहायक पदमा काम गर्दै लोकसेवाको परीक्षा दिन थाले। ३५ वर्ष पुग्नै लाग्दा विद्युत् प्राधिकरणको अधिकृतमा नाम निस्कियो उनको। तर त्यही जागिर पनि चार महिनामा नै छाडेर अहिले निर्वाचनमा होमिएका छन् उनी।  बनेपा नगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका उनले ‘पुतली’ चुनाव चिन्ह पाएका छन्।

रित्तो खल्ती, दृढसंकल्प

कञ्चनराज भन्छन्, ‘म कसैलाई किन्न आएको हैन। कसैसँग केही माग्न आएको होइन। विश्वास र संकल्पको लागि भोटमात्र माग्छु।’

यही एजेन्डा लिएर उनी अहिले बनेपाको गाउँबस्ती घुमिरहेका छिन्। धरैले वृद्धवृद्धाले उनको शीरमा हात राखेर आशीर्वाद दिएका छन्। धेरै युवाले उनको साहसी कदमको खुलेर तारिफ गरेका छन्। त्यही आशीर्वाद, शुभेच्छाले नै उनलाई दरिलो र आत्मविश्वासी बनाएको उनी स्वीकार्छन्। 

२१ औं पटकसम्म असफल भएर २२ औं पटकमा लोकसेवा परीक्षा पास गरेका कञ्चनराजले कसैको लहडमा होइन, स्थानीय चुनावमा प्रतिस्पर्धा गर्नकै लागि अधिकृतको जागिर छाडिदिए।  

गिरीका अनुसार बनेपा नगर प्राचीन कला, संस्कृति र कृषियोग्य भूमिले भरिएको सुन्दर ठाउँ हो। यस सांस्कृतिक नगरको उचित व्यवस्थापन नहुँदा यहाँको ब्राण्डिङ हुन नसकेको उनको ठहर छ। अहिले बनेपाको मेयर बन्न तम्सेकाहरू सपनाजस्तो लाग्ने स्मार्ट सिटीका कुरा गरिहरहेका छन्। बनेपालाई देशकै उत्कृष्ट नगर बनाउने भनिरहेका छन्। कञ्चनराजका अनुसार ठूलाठूला सपनाभन्दा माटो सुहाउँदो सानै काम गर्न सक्ने नेतृत्व आजको आवश्यकता हो। आफ्नो भूगोलको जनताका आवश्यकता नबुझी गरिने काम प्रभावकारी हुँदैन। त्यस्ता महत्त्वाकांक्षी योजनाका विरोधी हुन् उनी। बनेपा बदल्ने अठोटलाई उनले बुँदागत रुपमा यसरी उल्लेख गरेका छन्ः

–ससाना कुरामा ध्यान दिएर व्यवस्थापनलाई सुदृढीकरण गर्ने। 

–पर्यावरणलाई मुख्य प्राथमिकतामा राख्ने। फोहोरको व्यवस्थापन, सार्वजनिक स्थलको सदुपयोग, ढल प्रशोधन प्लान्टको काम गर्ने।

–जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्ति, गर्भवती महिलालाई घरदैलोमा निःशुल्क स्वास्थ परीक्षण तथा प्रत्येक नगरबासीको स्वास्थ बिमा। 

–बनेपाको ऐतिहासिक लायकु दरबारमा संग्रहालय निर्माणका साथै जात्रा, पर्व, ऐतिहासिक र धार्मिक सम्पदाहरूको संरक्षण र संवद्र्धन।

–बनेपाको प्रकृति, परम्परा र धार्मिक महत्त्व बोकेका स्थलको ब्राण्डिङ गरी पर्यटन विकास। 

–परदर्शी नगर बैठक। 

–पुण्यमाता डुबान क्षेत्रको समस्या समाधानका लागि उचित अध्ययन र दिगो समाधान। 

कञ्चनराजको मतदातासँग पनि कुनै गुनासो छैन। ‘दलतन्त्रले गिजोलेको समाजमा सामान्यजन दलकै प्रभावमा रहने’ उनी बताउँछन्। तर आफ्नो सन्तानको भविष्य अन्धकार बनाउने राजनीतिलाई समर्थन गर्ने कि विकासप्रेमी जनताको सेवकलाई समर्थन गर्ने त्यो कुरा जनताले बुझुन् भन्ने चाहना छ उनको। एमाले, कांग्रेस वा माओवादीको साँघुरो घेरामा बस्नुलाई आफ्नो खुट्टामा आफैं बन्चरो हान्नु मान्छन् उनी। यसैले  घरदैलोमा जाँदा उनले नगरबासीलाई भन्ने गरेका छन्– ‘यसपटक आफैंलाई एकपटक निर्मम प्रश्न गरेरमात्र मतदान गर्नुहोला!’


प्रकाशित: May 08, 2022| 16:30 आइतबार, वैशाख २५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...