काठमाडौं– दुई दिनअघि मात्रै भरतपुरमा हँसिया हथौडा चिह्नमा भोट नहाले देश दुर्घटनामा जाने धम्की दिएका माओवादी अध्यक्ष प्रचण्डले आज फेरि अर्को धम्की दिएका छन्।
पाँच दलीय सत्ता गठबन्धनले पोखरामा आयोजना गरेको चुनावी सभामा उनले राजावादीको गठबन्धनले चुनाव जिते देशमा राजनीतिक दुर्घटना हुने चेतावनी दिएका हुन्।
आफूले यसबारे बोल्दा मतदाता धम्क्याएको भनेर आलोचना भएको गुनासो पनि प्रचण्डले पोखे। ‘लोकतन्त्र र संघीयता विरोधीलाई परास्त गर्न यो गठबन्धन जन्मेको हो, अर्को राजावादीको गठबन्धन आएको छ। उनीहरुले जिते देशमा राजनीतिक दुर्घटनाको खतरा छ,’ प्रचण्डले भने।
संविधानको रक्षा, गणतन्त्र र संघीयता पक्षधर भएकाले गठबन्धनको राजनीतिक मुद्दा पनि मिलेको प्रचण्डको दाबी छ। राजावादी शक्ति परास्त गर्न नसके देशमा राजनीतिक दुर्घटना हुने कुरा बताउँदा आफूलाई मतदाता धम्क्याएको आरोप आएको उनले दोहोर्याए। ‘मैले यो कुरा गर्दा जनता धम्क्यायो, हामीले नजिते देशमा दुर्घटना हुन्छ भनेर अर्थ लगाइएको छ। फेरि भन्न चाहन्छु, यो गठबन्धन दायाँबायाँ भयो भने देश राजनीतिक दुर्घटनामा जान सक्छ,’ प्रचण्डले भने।
स्थानीय निर्वाचन अग्रगमन र प्रतिमनबीचको लडाइँ भएको उनले बताए। ‘निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँको रुपमा आएको छ। हामी शान्ति, परिवर्तन र संविधानका पक्षधर एकातिर र उपलब्धि उल्ट्याउन चाहने सामन्ती–प्रतिक्रियावादी तत्व अर्कोतिर छ,’ उनले भने। गठबन्धन गर्दा सबै दललाई फाइदा पुगेको दाबी प्रचण्डले गरे।
सभामा प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिलेको सत्ता गठबन्धन सबैभन्दा बढी आवश्यक कांग्रेसका लागि भएको बताए। गठबन्धन बन्नुअघि कांग्रेसको अवस्था कस्तो थियो भनेर पनि उनले प्रश्न गरे। देउवाले भने, ‘गठबन्धन बन्नुअघि हाम्रो कस्तो अवस्था थियो? आज कांग्रेस एकीकृत रुपमा सरकारमा छ। त्यसकारण गठबन्धनका पार्टीका सबै दलहरुमा कुनै शंका उपशंका गर्नै हुँदैन।’
उनले कुनै हालतमा गठबन्धन जोगाउनैपर्नेमा जोड दिए। ‘हाम्रो कर्तव्य नै कुनै पनि हालमा गठबन्धन बचाउनु छ। गठबन्धन सबैभन्दा धेरै आवश्यक कांग्रेसका लागि छ,’ दोहोर्याए। देउवाले एमाले अध्यक्ष केपी ओली प्रजातन्त्र र गणतन्त्रको खिलाफमा रहेको आरोप लगाए। भने, ‘पार्लियामेन्टमा विरोध गर्यो भने भंग गर्दिहाल्ने। उनी अर्कैखाले मान्छे हुन्। पार्लियामेन्ट सिस्टम मान्नेवाला होइनन् उनी। पार्लियामेन्टमा विपक्षीले विरोध गर्न पाउँछ नि। हामीले विरोध गरेका थियौँ, विरोध गर्दा संसद् भंग गर्दिने?’