काठमाडौं- सरकारले निर्वाचनको सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मीको मृत्यु भएमा उनीहरूका परिवारलाई २० लाख रूपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचनको सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको हो।
निर्वाचन सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग) तथा म्यादी प्रहरीको मृत्यु भएमा निजको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराइने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो।
निर्वाचन सुरक्षामा खटिएका सुरक्षाकर्मी घाइते भएमा उपचार खर्च सरकारले नै व्यहोर्ने जनाएको छ। त्यस्तै हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवान सरह रासन भत्ता दिने निर्णय गरिएको छ।
बैठकले निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी (नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभाग तथा म्यादी प्रहरी)को उपचारमा लागेको खर्च पनि सरकारले व्यहोर्ने निर्णय गरेको छ ।