काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बीपी कोइरालालाई फाँसी दिनुपर्छ भन्नेहरू गठबन्धनको विरोधमा उत्रिएको आरोप लगाएका छन्। काठमाडौंको शान्तिवाटिकामा शुक्रबार आयोजित गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सभापति देउवाले यस्तो आरोप लगाएका हुन्।
‘हाम्रै पार्टीका केही मान्छेहरूले बखेडा खडा गरेका छन्। हिजो बीपी कोइरालालाई फाँसी दिनुपर्छ भन्ने को हुन्? उनीहरू अहिले गठबन्धनको खिलाफमा छन्। बडा कांग्रेसको समर्थन गर्ने भका छन्। हामीलाई था छैन?’, देउवाले भने।
कांग्रेसको महाधिवेशन र केन्द्रीय समितिले गठबन्धनको पक्षमा निर्णय गरेपनि केही सीमित मान्छेहरू गठबन्धनका विरुद्धमा लागेकोमा देउवाको आक्रोश थियो। उनले काठमाडौंमा महिला उम्मेदवारले मेयरमा हार्न नहुनेसमेत बताए। देशकै राजधानीमा महिलालाई हराउँदा राष्ट्रिय-अन्तर्राष्ट्रिय क्षेत्रमा आलोचना भएकाले महिलालाई हराउन नहने उनको भनाइ छ।
प्रकाशमानको पत्नी हुनु सिर्जनाको पाप नभएको भन्दै देउवाले आमाबुवाले कसैसँग बिहे गर्दिनु गलत नभएको बताएका थिए। कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले महिला उम्मेदवारहरूमाथि नकारात्मक प्रचार भइरहेको भन्दै त्यस्तो प्रचारप्रति आपत्ति जनाए।