बुटवल- नेपाली कांग्रेसले शनिबार बुटवलमा चुनावी सभा गर्ने भएको छ। बिहान १० बजे बुटवलको देवीनगर चौपारीमा आयोजना हुने चुनावी सभामा प्रधानमन्त्री समेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतका नेताहरु सम्बोधन गर्ने गरी कार्यक्रमको तयारी गरिएको छ। गठबन्धनका उम्मेद्वारलाई उत्साहित बनाउन चुनावीसभा गर्न लागिएको नेपाली कांग्रेस क्षेत्र नं. २ का क्षेत्रीय सचिव प्रजापाल गिरीले बताए।
पाँच दलीय गठबन्धनले आयोजना गरेको यो कार्यक्रममा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा सहित पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, काँग्रेस नेता रामचन्द्र पौडेल पनि कार्यक्रममा सहभागी हुने गिरीले बताए।
त्यसैगरि महामन्त्री गगनकुमार थापा, केन्द्रीय सदस्य तथा गृहमन्त्री बालकृष्ण खाँण, माओवादी केन्द्रका स्थायी कमिटि सदस्य तथा लुम्बिनी प्रदेश ईञ्चार्ज चक्रपाणी खनाल बलदेव, राष्ट्रिय जनमोर्चाका लुम्बिनी प्रदेश प्रमुख बोमबहादुर खत्री, जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य नवराज सुवेदी लगायतका नेताहरुले सम्बोधन गर्नेछन्।