काठमाडौं- सत्तारूढ गठबन्धनले आज चितवनको भरतपुरमा चुनावी सभा गर्ने भएको छ।
सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहितका शीर्ष नेताले सम्बोधन गर्ने भएका छन्।
सभामा सहभागी हुन प्रधानमन्त्री देउवा र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल बुधबार नै चितवन पुगिसकेका छन्।
भरतपुर महानगरपालिकाको मेयरमा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी रेणु दाहाल र उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारी उम्मेदवार छन्।
भरतपुरमा कांग्रेसका पुराना नेता जगन्नाथ पौडेलले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्। एमालेको तर्फबाट विजय सुवेदी प्रतिस्पर्धामा छन्।