काठमाडौं- अर्थविद् स्वर्णिम वाग्लेले कुशासन र सनकको भरमा निर्णय गर्ने प्रवृतिले नेपाली अर्थतन्त्र पनि संकटतर्फ जाने सम्भावना बढेको बताएका छन्। ठूला घटना परिघटनाका कारणले भन्दा पनि कुशासन, नीतिगत कच्चापन, वित्तीय अपारदर्शीताा कारण श्रींलका टाट पल्टिएको भन्दै अर्थविद्हरुले नेपालमाका नेताहरुले समयमा नै सोच्नुपर्ने उनले बताएका हुन्।
'नेपालमा अर्थ मन्त्रालयलगायतका आर्थिक संस्थाको व्यावसायिकतामा क्षयीकरण भएको छ,' आर्थिक पत्रकार समाज (सेजन)ले बुधबार राजधानीमा आयोजना गरेको नेपाली अर्थतन्त्रको आगामी दिशा विषयक अर्थसंवादमा कार्यक्रममा अर्थविद् डा.स्वर्णिम वाग्लेले भने, 'नीतिगत पृष्ठपोषणका संस्थालाई पनि अध्ययन-अनुसन्धान, संयोजन, समन्वयकारी भूमिका केन्द्रित गर्नुपर्नेमा त्यहाँ पनि क्रमशःक्षयीकरण हुँदै गएको छ । शोधकेन्द्रहरू, तथ्यांकविभाग र विश्वविद्यालयहरूदेखि लिएर वित्तआयोग र योजनाआयोगसम्मको भूमिका पनि थप सशक्तहुन सकेको देखिँदैन।’
नेपालमा पनि कुशासन र सनकको भरमा निर्णय हुन थालेकोले श्रीलंका बन्न सकिदैन भन्न नसकिने बताएका छन्। मुलुकमा मौलाउदै गएको कुशासन र हचुवाको भरमा निर्णय गर्ने प्रवृतिले दुर्घटना निम्त्याउन सक्ने उनको दावी थियो। अहिले नेपालको अर्थतन्त्र र सूचकहरुको अवस्था श्रीलंका भन्दा राम्रो रहेपनि कुशासन र हचुवाको भरमा निर्णय गर्ने प्रवृति उस्तै देखिएकाले मुलुक संकटको अवस्थामा जाने जोखिम कायमै रहेको उनको भनाइ छ।
‘श्रीलंकाको अहिलेको समस्या तिर्न नसकिने ऋण र पुर्न नसकिने शोधनान्तर घाटा हो,' उनले भने, 'सो समस्या हामीकहाँ छैन तर, ऋण र शोधनान्तर घाटा दुवैको मामिलामा सामान्य चिन्ताजनक संकेतहरू भने अर्थतन्त्रमा देखिन थालेका छन्। समयमा नै सचेत भएर कदम चालिएन भए श्रीलंकाको अहिलेको अवस्थामा पनि पुग्न सकिन्छ।’
त्यस्तै उनले चालु खर्चलाई हामीले ध्यान दिनुपर्ने बताउँदै २०७४ देखि नेपालको अर्थतन्त्रमा समस्याका संकेतहरु देखिन थालेको दावी गरे ।
महालेखा नियन्त्रक कार्यालयको पछिल्लो प्रतिवेदनअनुसार भूकम्पको समय सन् २०१५ ताका कुल अर्थतन्त्रको आकार (जीडीपी)को अनुपातमा सार्वजनिक ऋण साढे २२ प्रतिशत बराबर मात्रै थियो। अहिले नेपालको सार्वजनिक ऋण जीडीपीको अनुपातमा ४० प्रतिशत कटिसकेको छ,' उनले भने, 'पछिल्ला ६ वर्षमा १७प्रतिशतबिन्दुले ऋणको भार बढ्नु गम्भीर विषय हो।’
चालु आर्थिक वर्षमा मुलुकको आर्थिक वृद्धि केन्द्रीय तथ्यांक विभागले प्रक्षेपण गरेको भन्दा थप बढी हुनसक्ने दाबी सरकारको रहेको छ। पछिल्ला महिनाहरुमा आर्थिक गतिविधि उल्लेख्य रुपमा बढेकाले वार्षिक आर्थिक वृद्धि विभागको प्रक्षेपण भन्दा धेरै हुनसक्ने अर्थ मन्त्रालयका वरिष्ठ आर्थिक सल्लाहकार सुरेन्द्र उप्रेतीले बताए।
यद्यपि अहिलेको बेमौसमी बाढी मूल्यवृद्धि र बाह्य क्षेत्र दबाब चुनौतिकै रुपमा रहेको उनले स्वीकार गरे। कोभिडको कारणले लामो समय आयात ठप्प रहेकाले त्यसपछि खुल्दा एकै पटक आयात उच्च भएकाले बाह्रय क्षेत्र दबाबमा रहेको हुनसक्ने उनको दाबी छ।
कार्यक्रममा ‘तरलता संकट र वित्तीय स्थायित्व’ र ‘अर्थतन्त्रको बाह्य क्षेत्र’ विश्वास गौचन र मनिकलाल श्रेष्ठले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेका थिए।