काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवा चितवन झरेसँगै निजी गाडीमा सवार भएका छन्। नेपाली कांग्रेसका सभापति देउवा पार्टीको कामका लागि आएकाले भरतपुर विमानस्थलबाट आफू बसेको होटलसम्म निजी गाडीमा पुगेका हुन्।
प्रधानमन्त्री देउवा चितवन आउनुअघि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा बिहीबार सत्ता गठबन्धनले गर्न लागेको सभामा प्रधानमन्त्रीले आचारसंहिता उल्लंघन गरेर आउन लागेको भन्दै उजुरी परेको थियो। तर, देउवाले भने निर्वाचन आयोगसँग सहमति लिएर पार्टी सभापति भएकोले प्रचारमा जाने र सबै खर्च पार्टीले गर्ने भन्दै पार्टीका सभाहरुलाई सम्बोधन गर्न देउवा देश दौडाहामा निस्किएका हुन्।
कांग्रेस केन्द्रीय सदस्य उमेश श्रेष्ठको बा३च २०४० नंको ल्याण्डक्रुजर गाडीमा देउवा होटल पुगेका हुन्।
श्रेष्ठले निर्वाचन आचारसंहिता पालना गर्दै पार्टी सभापतिसमेत रहेका देउवा झण्डाबिना आफ्नो गाडीमा सवार भएको बताए। उनले भने, 'यहाँ रहँदा सभापतिज्यू निजी गाडीमा हिँडडुल गर्नुहुन्छ।'
श्रेष्ठका अनुसार देउवा यहाँ रहँदा पार्टीको व्यवस्थापनमा बस्नेछन्। उनले थपे, 'सबै खर्च पार्टीले गर्नेछ।' सभापति देउवा र उनको समूहको होटल सिराइचुलीका मुख्य सञ्चालक श्रेष्ठ नै हुन्।
पार्टी सभापति देउवा बुधबार विराटनगरबाट नेपाली सेनाको एनए ०६२ कलसाइन रहेको जहाजबाट चितवन ओर्लिएका थिए। उनका प्रेस सल्लाहकार गोविन्द परियारका अनुसार सेनाको उक्त जहाज नेपाली कांग्रेसले भाडामा ल्याएको हो। उनले भने, 'निर्वाचन आयोगसँग अनुमति लिएर पार्टीले भाडामा जहाज ल्याएको हो।'
जिल्लामा सत्ता गठबन्धनले गर्न लागेको जनसभालाई सम्बोधन गर्न देउवा चितवन पुगेका हुन्। उनीसँगै पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि चितवन पुगेका छन्। सभालाई नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा (एकीकृत माजवादी) का अध्यक्ष माधवकुमार नेपालसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ।
भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेतृ रेनु दाहाल प्रमुख पदमा उम्मेदवार छन्। त्यस्तै उपप्रमुख पदमा नेपाली कांग्रेसबाट चित्रसेन अधिकारी उम्मेदवार बनेका छन्।