काठमाडौं- प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चितवन पुगेका छन्। विराटनगरको कार्यक्रम सकेर उनी नेपाली सेनाको हेलिकोप्टरमार्फत् भरतपुर विमानस्थलमा ओर्लिएका हुन्।
पाँचदलीय गठबन्धनले बिहीबार बिहान भरतपुरस्थित केन्द्रीय बस टर्मिनलमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्न सभापति देउवा चितवन पुगेका हुन्।
भरतपुरसहित चितवनका सबै पालिकामा माहोल बढाउन गठबन्धनले चुनावी आमसभा गर्न लागेको हो। आमसभा केन्द्रिय बस टर्मिनल भरतपुरको चौरमा हुनेछ।
चुनावी माहोल तयार गर्न देउवा भरतपुर पुगे पनि भरतपुरमा नेपाली कांग्रेसले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालकी छोरी रेणुलाई मेयरमा कांग्रेसले समर्थन गर्ने निर्णय गरेको छ। असन्तुष्ट स्थानीय नेताले भने गठबन्धनविरुद्ध बागी उम्मेदवारी खडा गरेका छन्। नेपाली कांग्रेसबाट जगन्नाथ पौडेल बागी उम्मेदवार छन्।