काठमाडौं- वामदेव गौतम नेकपा (एकीकृत समाजवादी)मा खुलेका छन्। एकीकृत समाजवादीका लागि निर्वाचन गीत लेखेर आफ्नो धार प्रष्ट पारेका हुन्। एमाले उपाध्यक्षबाट राजीनामा दिएपछि उनी कुनै पनि राजनीतिक दलमा खुलेका थिएनन्।
गौतमको शब्द रहेको चुनावी गीत मंगलबार सार्वजनिक गरिएको छ। गीतमा 'कलम हो है चुनाव चिह्न छाप लगाउने, समाजवाद निर्माण गर्न जनता जगाउने' लगायतका शब्द छन्। गौतमका शब्दमा कृष्ण केसी र जुना श्रीष मगरको स्वर रहेको छ। संगीत केसीले भरेका छन्। गीतमा संविधानको उल्लंघनले राज्य नचल्ने र प्रतिगामी हर्कतले देश नबन्ने कुरा लेखिएको छ।
एकीकृत समाजवादीले युट्युबमार्फत सार्वजनिक गरेको गीतको भिडियोमा पनि गौतम देखिएका छन्। बामदेवकी श्रीमती तुल्सी थापा एमालेबाट प्रतिनिधिसभा सदस्य छन्। नेकपा विभाजन भएपछि नै उनी कुनै पनि पक्षमा खुलेका थिएनन्।
एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले उक्त गीत सामाजिक सञ्जाल फेसबुकमा राख्दै 'कमरेड वामदेव गौतमले रचना गर्नुभएको 'कलममा भोट हाल्न' अपील गरिएको गीत' भनेका छन्।