काठमाडौं- गृह मन्त्रालयले प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) विश्वराज पोखरेललाई महानरीक्षकका लागि प्रस्ताव गरेको छ। मन्त्रालयले एआइजीको एक नम्बर वरियतामा रहेका पोखरेललाई आइजिपीका लागि मन्त्रालयमा प्रस्ताव गर्ने निर्णय भएको गृहमन्त्रालय श्रोतले भन्यो।
आइजिपी दौडका लागि एआइजी पोखरेलसँगै सहकुल थापा, धिरजप्रताप सिंह र रवीन्द्र धानुक प्रतिस्पर्धामा छन्। तर, मन्त्रालयले थापाभन्दा एक वर्ष, सिंह र धानुकभन्दा डेढ वर्षअघि एआइजी भएका पोखरेललाई नै आइजिपी नियुक्त गर्न प्रस्ताव गरेको हो।
यद्यपि प्रधानमन्त्री शेरबहादुर देउवा भने केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेका पोखरेलभन्दा तेस्रो नम्बर वरीयतामा रहेका धिरजप्रताप सिंहलाई आइजिपी बनाउन चाहिरहेका छन्। तर, आइतबार बिहान बसेको सत्ता गठबन्धनको बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाले स्थानीय चुनावको सम्मुखमा वरियता मिचेर आइजिपी नियुक्त गर्दा हितकारी नहुने सुझाव राखेपछि देउवा हच्किएका छन्।
‘यद्यपि प्रधानमन्त्री देउवा अहिले परामर्शमै हुनुहुन्छ,’ बालुवाटार श्रोतले भन्यो। यता प्रधानमन्त्री देउवाले सिंहलाई आइजिपी बनाएको खन्डमा पोखरेललाई पदमा रहिरहन नैतिक संकट हुने देखिएको छ।
‘जसलाई पोखरेलले एआइजीको फुली लगाइदिए, उनैलाई आइजिपी मानेर सेल्युट गर्न पोखरेललाई नैतिक संकट छ,’ प्रहरीका एक उच्च अधिकारीले भने, ‘तर फुली लगाइदिएकै दिन उहाँहरुबीचको द्वन्द्वचाँही छर्लङ्ग भएको हो। एआइजीको फुली लाउँदै गर्दा जब धिरज सा’बले आफूभन्दा डेढ वर्षअघि एआइजी भएका पोखरेललाई सलाम ठोक्नुभएन, त्यहीबेला उहाँहरूको आइजिपी प्रतिस्पर्धा कति हदसम्मको थियो, देखिएको हो।’