काठमाडौं- नेपाली खेलकुदमा चिरपरिचित नाम हो- केश विष्ट। नेपालमा १३औं एसियाली खेलकुद सुरु हुनुअघि विष्ट राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव थिए। उनले राखेप छोडेको चार महिनापछि नेपालले १३ औं साग आयोजना गर्यो। विष्टको पालमा नेपालले दक्षिण एसियाली खेलकुद आयोजना गर्न नसकेको भन्दै उनको आलोचना समेत भएको थियो। तर, उनी पूर्वका केही जिल्लामा भने लोकप्रिय छन्।
विष्टले राखेपको चार वर्षे कार्यकाल पूरा अवधि काम गर्ने केही सदस्य सचिवममध्येमा पर्छन्। उनले त्यो समयमा दुई राष्ट्रिय प्रतियोगितासमेत आयोजना गरे। अर्को महत्वपूर्ण कुरा एकै सदस्य सचिवले दुई राष्ट्रिय प्रतियोगिता आयोजना गर्न पाउने कमै सदस्य सचिव पनि हुन् विष्ट।
राखेपबाट खेलकुल क्षेत्रमा शान र मान पाएका विष्ट अहिले इटहरी उपमहानगरपालिकाको उपमेयर पदका उम्मेदवार छन्। नेकपा एकीकृत समाजवादी पार्टीबाट उनी उमयेरको उम्मेदवार बनेका हुन्। सत्तारुढ गठबन्धनबाट इटहरीको मेयर पदका उम्मेदवारका लागि कांग्रेसका हेमकर्ण पौडेल मैदानमा छन्।
खेल क्षेत्रमा काम गरेको अनुभवका आधारमा उनको एउटा सपना छ- इटहरीलाई खेलकुदको सहरको रुपमा विकसित गर्ने। फेरि खेलकुदका कुनै जिम्मेवारीमा देख्न पाइएला कि? भन्ने प्रश्नमा विष्ट भन्छन्, ‘अहिले पनि म नेपाली खेलकुद महासंघको त अध्यक्ष नै हो। जहाँ रहे पनि मैले खेलकुदलाई सँगै लिएर काम गर्ने नै हो। जीवनभरी खेल क्षेत्रको सेवा गर्छु। उपमहानगरमा आएपछि पनि म यसका काम गर्ने नै छु। म त इटहरीलाई खेलकुदको सहर बनाउनुपर्छ भन्ने अवधारणा बोकेर हिँडेको मान्छे हुँ।’
त्यसो त इटहरीका लागि उनका आफ्नै योजना पनि छन्। उनले इटहरीलाई पाँच वर्षभित्र नै महानगरमा रुपान्तरणको गर्ने चित्र बनाएका छन्। भन्छन्, ‘इटहरी धेरै सम्भावना बोकेको सहर हो। यसलाई पाँच वर्षभित्र नै महानगरका रुपान्तरण गर्ने कोशिस गर्नेछौं। इटहरीलाई अन्तर्राष्ट्रियस्तरमै अनुशासित, सुरक्षित, रोजगारले भरिपूर्ण भएको, भेदभावविहीन र सफा सहरको रुपमा विकास गर्ने हाम्रो लक्ष्य रहेको छ।’
खेलकुदमा आउनुअघि उनी एमालेका एक सामान्य नेताको हैसियतमा थिए। तर, खेलबाटै उनले नाम कमाए। उनले नेपालमा सातौं र आठौं खेलकुद गराएका थिए। २०७७ मा हुनुपर्ने नवौं राष्ट्रिय खेलकुद अहिलेसम्म भएको छैन। त्यस हिसाबले हेर्ने हो भने विष्ट राखेपमा केही सफल पनि मानिन्छन्।
विशेषतः इटहरीको रंगशलाको निर्माणका लागि उनले खेलेको भूमिकाको अहिले पनि प्रशंसा हुने गर्छ। जब विष्ट पूर्वाञ्चल खेलकुद परिषद्मा थिए, उनले इटहरीमा रंगशाला बनाउनका लागि जग्गा खोज्ने काममा सहजिकरण गरेका थिए।
इटहरी धेरै सम्भावना बोकेको सहर हो। यसलाई पाँच वर्षभित्र नै महानगरका रुपान्तरण गर्ने कोशिस गर्नेछौं। इटहरीलाई अन्तर्राष्ट्रियस्तरमै अनुशासित, सुरक्षित, रोजगारले भरिपूर्ण भएको, भेदभावविहीन र सफा सहरको रुपमा विकास गर्ने हाम्रो लक्ष्य रहेको छ।
२०५५ सालमा सरकारले १५ लाख लागतमा १५ बिगाहा १५ धुर जग्गा किनेर रंगशालाको काम सुरु गरेको थियो। तर, ३७ करोडभन्दा धेरै खर्च भइसक्दा पनि रंगशाला २०७५ सालसम्म बन्न सकेको थिएन। त्यतिबेला विष्ट राखेको सदस्य सचिव बनेको तीन वर्ष बितिसकेको थियो। विष्टको गाउँघरमै उनले काम गर्दैनन् भन्ने भावना सुरु भएको थियो। त्यसपछि २०७६ को वैशाखमा रंगशालाको शिल्यान्यास भयो। यद्यपि काम भने मंसिर पुसबाट मात्र सुरु भएको हो। त्यतिबेला राखेपमा सदस्य सचिवकारुपमा उनको कार्यकाल सकिइसकेको थियो।
उनले लामो समय राखेप हाँके पनि आफ्नो कार्यकालको अन्तिम समयमा मात्र रंगशाला शिलान्यास गरेका थिए। त्यसमाथि रंगशालामा काम उनको पालामा अघि बढेन। तर, उनले धेरै खेलकुदका योजना भने इटहरीमा पुर्याएका छन्।
‘हरेक वडामा हरेक आयु वर्गका मानिसलाई खेलकुद र व्यायामतर्फ आकर्षित गर्नका लागि आवश्यक भौतिक संरचना निर्माण गरिने छ,’ समाजवादीले घोषणा पत्रमा लेखेको छ,' बालबालिका र युवाहरुको शारीरिक र मानसिक विकासका लागि खेलकुद गतिविधिमा संलग्न हुने वातावरण सिर्जना गरिने छ। हरेक वडामा साना खेल मैदान, योग केन्द्र र हरेक पालिकामा फुटबल, क्रिकेटलगायतका खेल खेल्न सकिने ठूला खेल मैदानमा निर्माण गरिने र बालबालिका तथा युवाहरुको स्वास्थ्य सुगठनको विशेष ध्यान दिइने छ।’
घोषणापत्रका अनुसार समाजवादीले खेलकुदलाई स्वास्थ्य सुधारको माध्यम बनाएको छ। समाजवादी पार्टीमा खेलकुद विभाग प्रमुख पनि विष्ट नै हुन्। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई स्थानीयस्तरमा योग्यताअुसारको जागिरको पहल गर्ने समाजवादीको घोषणा छ।
उसो त यसअघि पनि काठमाडौंका मेयर भइसकेका केशव स्थापितले पनि राजनीतिमा प्रवेश गर्न खेलकुदलाई खुड्कीलो बनाएका थिए। स्थापित चाहिँ २०५१ सालतिरमा राखेको सदस्य सचिव बनेका थिए।
सरकारको एउटा परिषद् चलाएको अनुभवका आधारमा उनले मेयर दाबी गर्न पनि सक्थे। यो बारेमा पार्टी र गठबन्धनभित्र छलफल भएन? जवाफमा विष्ट भन्छन्, ‘होइन, हामी त पार्टीको कार्यकर्ता। पार्टीले जहाँ जिम्मेवारी दियो त्यहाँ नै काम गर्ने हो। सदस्य सचिवको जिम्मेवारी दिँदा पनि त्यहाँ गरेको हो। अहिले पार्टीले यहाँ पठाएको छ। जहाँ जाने त्यहीँ काम गर्ने त हो।’
के उपमेयरमा लड्ने उनको आफ्नै इच्छा थियो? उनको जवाफ छ, ‘मैले चाहिँ सकभर नउठौं भन्ने खोजेको थिएँ। तर मैले पार्टीको निर्णय पालना गरेर उठ्नु पर्ने भयो। मैले नियमपूर्वक काम गर्ने हो।’
उनले इटहरीको रंगशालालाई लिएर पनि केही काम गरेका छन्। त्यहाँका केही काम बाँकी रहेका छन्। पछिल्लो समय मलेसियन कम्पनीले प्यारापिटको काम सकेपछि १२ खेल खेल्न मिल्ने गरी बनाइएको रंगशालामा थप काम गर्नुपर्ने भएकाले त्यो काम गर्ने विष्टको योजना छ। ‘रंगशालामा अझै केही काम अधुरा छन्। त्यसलाई पूरा गर्न बाँकी नै छ। त्यही कुरालाई अवलम्बन गर्दै यसलाई नै खेलकुलको सहर बनाउनुपर्छ भन्ने अवधारण बोकेर हिँडिरहेका छु,’ उनले भने।