आइतबार, भदौ २३, २०८१

nespernesper

घोराहीमा सत्ता गठबन्धन भर्सेस नरुलाल

सबैभन्दा रोचक कुरा- ०७४ सालको निर्वाचनमा चौधरीले पराजित गरेका प्रतिद्वन्द्वी तथा नेपाली कांग्रेसका नेता भूपबहादुर डाँगीले यसपटक सत्ता गठबन्धनबाट उपमेयरको लागि उम्मेदवारी दर्ता गराएका छन्। अघिल्लो निर्वाचनमा एमालेका चौधरीले करिब २२ हजार मतका साथ जित दर्ता गराएका थिए।
 |  बुधबार, वैशाख १४, २०७९

दिलीप कुँवर

दिलीप कुँवर

बुधबार, वैशाख १४, २०७९

काठमाडौं- करिब एक लाख मतदाता रहेको घोराही उपमहानगरपालिकाको निर्वाचनलाई पनि निकै उत्सुकताका साथ हेरिएको छ। प्रदेश निर्वाचन कार्यालय, लुम्बिनी प्रदेशका अनुसार घोराही उपमहानगरपालिकाको मेयरको लागि १५ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने उपमेयरको लागि आठ जनाको उम्मेदवारी दर्ता भएको छ। त्यस्तै १९ वडाध्यक्षको लागि १०८ जनाले उम्मेदवारी दिएका छन्। 

triton college

यसपटक मुख्यतयाः सत्ता गठबन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका नेता हेमराज शर्मा र प्रतिपक्षी एमालेका उम्मेदवार नरुलाल चौधरीबीच प्रतिस्पर्धा हुने देखिएको छ। चौधरी दोस्रो कार्यकाल दोहोर्‍याएका हुन् भने उनलाई टक्कर दिन सत्ता गठबन्धनले माओवादी नेता शर्मालाई अघि सारेको हो। 

सबैभन्दा रोचक कुरा- ०७४ सालको निर्वाचनमा चौधरीले पराजित गरेका प्रतिद्वन्द्वी तथा नेपाली कांग्रेसका नेता भूपबहादुर डाँगीले यसपटक सत्ता गठबन्धनबाट उपमेयरको लागि उम्मेदवारी दर्ता गराएका छन्। अघिल्लो निर्वाचनमा एमालेका चौधरीले करिब २२ हजार मतका साथ जित दर्ता गराएका थिए। त्यतिबेला उनका प्रतिद्वन्द्वी डाँगीले १७ हजार मत पाएका थिए। पाँच हजार मतान्तरले जित निकालेका चौधरीको यसपटक पनि जित आफ्नो पक्षमा हुने दाबी गरेका छन्। 

पहिलो पाँच वर्षे कार्यकालमा आफूले घोराही नगरबासीको जीवनस्तर उकास्‍न सक्दो प्रयास गरेको चौधरीको दाबी छ। पहिलो कार्यकालमा योजना बनेका तर पूरा हुन नसकेका कामहरुलाई आगामी कार्यकालमा आफूले प्राथमिकता दिने उनले बताए। उनले भने, ‘तपाईहरु घोराही नगरमै आएर सोध्‍न सक्नुहुन्छ, नरुलाल चौधरीले के-के गर्यो भनेर? यहाँका जोकोही जनताले पनि तपाईंलाई मेरो कामबारे बेलिविस्तार लाइदिन सक्छन्।’ 

आफूलाई जनताले विश्वास गरेरै दोस्रो कार्यकालको लागि दोहोरिन अनुरोध गरेपछि पार्टीले पनि त्यसमै समर्थन जनाएको उनले भनाई छ। ‘पहिले घोराही भन्‍ने बित्तिकै कांग्रेसीहरुको सहर भन्थे, तपाईंले पनि सुन्‍नुभएको होला’, नेपाल समयसँग कुराकानीमा उनले भने, ‘तर अहिले यहाँ एमालेको पकड छ। यहाँका जनताले एमालेको एजेण्डा र कामलाई मन पराएका छन्।’

Metro Mart
vianet
सबैभन्दा रोचक कुरा- ०७४ सालको निर्वाचनमा चौधरीले पराजित गरेका प्रतिद्वन्द्वी तथा नेपाली कांग्रेसका नेता भूपबहादुर डाँगीले यसपटक सत्ता गठबन्धनबाट उपमेयरको लागि उम्मेदवारी दर्ता गराएका छन्। अघिल्लो निर्वाचनमा एमालेका चौधरीले करिब २२ हजार मतका साथ जित दर्ता गराएका थिए।

एमालेबाटै घोराही उपमहानगरको उपमेयरमा हुमा डिसीले उम्मेदवारी दर्ता गराएकी छन्। उपमहानगरमा रहेका १९ वडामा पनि एमालेले एकलौटी उम्मेदवारी दर्ता गरेको छ। ०७४ सालको निर्वाचनमा एमालेले १० वडामा जित निकालेको थियो। यसपटक झन् एमालेका मतदाताको संख्या बढेको कारण १५ वडामै आफूहरुको जीत निश्चित भएको उपमेयर उम्मेदवार डिसीले बताइन्। 

उनले भनिन्, ‘माओवादी र कांग्रेसको गठबन्धनले हामीलाई कुनै फरक पार्दैन। यहाँका जनताले माओवादी र कांग्रेसको हैसियत र काम थाहा पाइसकेका छन्।’ 

समग्र घोराहीमा एमाले एक्लैले गठबन्धनलाई सजिलै पराजित गर्न सक्ने डिसीको ठोकुवा छ। त्यसो त, सत्ता गठबन्धनबाट मेयरको लागि उम्मेद्वारी दर्ता गराएका हेमराज शर्माले पनि आफूहरुको जित निश्‍चित भएको दाबी गरेका छन्। कांग्रेस, माओवादी र समाजवादीका मतदाताहरुको संख्या एमालेभन्दा दोब्बर रहेको कारण आफूहरुको जित पक्का रहेको शर्माको तर्क छ। उनले भने, ‘एमालेले अघिल्लो चुनावको मतान्तर सम्झेर हौसिएको मात्र हो, ४-५ वर्षसम्ममा धेरै परिवर्तन भइसकेको छ।’ 

१९ वडामध्ये अधिकांश वडाहरुमा सत्ता गठबन्धनकै उम्मेदवारले जित्‍ने पनि शर्माले जिकिर गरे। उनले थपे, ‘हामीले गम्भीर छलफल र अध्ययन गरेर वडाहरुमा उम्मेदवार बनाएका हौँ, त्यहाँका मतदाताहरुको मनसायलाई आधार मान्‍ने हो भने एमालेले २-४ वडाबाहेक अरु जित्‍न सक्दैन।’ 

सत्ता गठबन्धनबाटै उपमेयरको उम्मेदवारी दर्ता गराएका भूपबहादुर डाँगीले पनि आफूहरुको जितको आधार प्रशस्त भएको दाबी गरेका छन्। घोराहीमा रहेका मतदाताहरुको संख्याको तुलनामा ६० प्रतिशत मत आफूहरुकै पक्षमा खस्‍ने उनले जिकिर गरे। 

को हुन् चौधरी ? 

०२४ साल वैशाख ३ गते घोराही–२ रामपुरमा जन्मिएका नरुलाल चौधरी घरका कान्छो छोरा हुन्। उनका ६ जना दिदिबहिनी छन्। उनले दुई वर्ष शिक्षण पेशाको अनुभव छ भने र दुई वर्ष रेडियो नेपालमा जागिर समेत खाए। कुनैबेला उनी रेडियो नेपालमा थारु भाषामा समाचार पढ्थे।

तर, राजनीतिमै होमिने सोचका साथ एमालेको राजनीति सुरु गरेका उनी ०५४ सालमा तत्कालीन रामपुर गाविसको अध्यक्षमा निर्वाचित भए। त्यसयता उनी एमालेको वडा, गाउँ, क्षेत्रका विभिन्‍न पदहरुमा रहेर काम गर्दै दाङको अध्यक्षसमेत बनिसकेका छन्। 

स्‍नातकोत्तरसम्मको अध्ययन गरेका चौधरीकै नेतृत्वमा रामपुरका विकट ठाउँहरुमा समेत दर्जनौं स्कूल, खानेपानी, सिंचाई, अस्पतालहरु निर्माण भएका छन्। रामपुरलाई कृषिको पकेट क्षेत्र घोषणा गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेका चौधरीले पूर्वाधार विकासमा उल्लेखनीय योगदान दिए। 

वास्तवमा थारुको भावना बुझ्‍न सफल बने, उनी। चौधरीकै काम र नेतृत्वको कारण जिल्लामा अहिले एमालेको शक्ति पनि राम्रै गरी विस्तार भइरहेको छ। 

को हुन् शर्मा ? 

कुनै बेला वैद्यलाई पछ्याउन पुगेका शर्मा हाल माओवादी केन्द्रका केन्द्रीय सदस्य हुन्। गढवा-३ धैरेनीमा जन्मिएका शर्मा १३ वर्षको उमेरमै राजनीतिमा होमिएका थिए। ०४४ सालतिर कक्षा ७ मा पढ्दै गर्दा उनी तत्कालीन अखिल क्रान्तिकारी विद्यार्थीमा आवद्ध भएका थिए। 

०५५ मा उनी पहिलो पटक तत्कालीन नेकपा माओवादीको जिल्ला सदस्य बनेका थिए। ०५९ मा जिल्ला सेक्रेटरी हुँदै ०६० सालदेखि ०६६ सालसम्म तत्कालिन नेकपा माओवादी केन्द्रको जिल्ला इञ्चार्ज बनेर नेतृत्व सम्हाले। क्षेत्रिय ब्युरो प्रमुख हुँदै ०६६ सालदेखि उनी पार्टीको केन्द्रीय सदस्य रहँदै आएका छन्। उनले हाल राजनीतिशास्त्रमा स्‍नातकसमेत अध्ययन गरिरहेका छन्। 

एमालेका वडाध्यक्षहरु

घोराहीका १९ वडामा एमालेले सर्वसम्मत रुपमै उम्मेदवार टुंगो लगाएको थियो। जसअनुसार वडा नं १ मा राममणि पाण्डे, २ मा चित्रबहादुर चौधरी, ३ मा रामप्रसाद चौधरी, ४ मा मुनाल घिमिरे, ५ मा विवेक बुढाथोकी, ६ मा विष्णुराम आचार्य, ७ मा खुविराम चौधरी र ८ मा जितेन्द्र शाहलाई उम्मेदवार बनाइएको छ। 

त्यस्तै वडा नं ९ मा मानबहादुर बस्‍नेत, १० मा सुदन केसी, ११ मा कुलबहादुर लामीछाने, १२ मा दोर्ण वहौली, १३ मा केशव गिरी, १४ मा मानसिंह बुढा, १५ मा विष्णु सुवेदी, १६ मा रविन डाँगी, १७ मा रामलोटन चौधरी, १८ मा भरत अर्याल र १९ मा हर्क घर्तीलाई उम्मेदवार बनाइएको हो। 

सत्तागठबन्धनबाटः

सत्तागठबन्धनका प्रमुख तीन दलले विभिन्‍न वडाहरु बाँडफाँट गरेका छन्।  १३ वडा नेपाली कांग्रेसलाई, ४ वडा माओवादी केन्द्रलाई र २ वडा एकीकृत समाजवादीलाई दिने सहमति भएको थियो। सोही अनुसार कांग्रेसले वडा नम्बर २, ३, ५, ६, ७, ८, १०, ११, १३, १५, १६, १८, १९ को अध्यक्षमा आफ्ना उम्मेदवारहरुलाई अघि सारेको छ भने माओवादी केन्द्रले  वडा नम्बर ९, १२, १४, १७ पाएको छ। एकीकृत समाजवादीले पनि वडा नम्बर १ र ४ को अध्यक्ष पाएको छ। 

घोराहीमा खड्का र महरापछि पोखरेलको प्रभाव

एकताका दाङमा कांग्रेसको राम्रो प्रभाव थियो, जतिबेला खुमबहादुर खड्का जीवित थिए। घोराही, तुल्सिपुर र लमहीमा नेता खड्काले आफ्नो राजनीतिको सम्पूर्ण वैँश खन्याएका थिए। तर उनको बिडो थाम्‍न हम्मे-हम्मे नै भयो, पछिल्लो पुस्तालाई। 

दाङको पाँच मध्ये पाँचै क्षेत्रमा संविधानसभाको दोश्रो निर्वाचन जितेको कांग्रेस स्थानीय तह निर्वाचनमा कमजोर देखियो। बरु माओवादी नेता कृष्णबहादुर महराको प्रभाव क्षेत्र बन्दै गयो दाङ। महरा २०६४ सालको पहिलो संविधान सभाको निर्वाचनमा दाङ, ३ बाट निर्वाचित भएका थिए। 

दाङमा जित्ने अवस्था नभएपछि २०७० सालको दोस्रो संविधान सभाको निर्वाचनमा महरा रोल्पा गए। रोल्पा क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्यमा पुनः निर्वाचित भए। २०७४ मा वाम गठनबन्धन भएर जित्‍ने निश्चित भएपछि फेरि दाङ नै फर्किए। दाङ क्षेत्र नम्बर २ मा एमाले नेता शंकर पोखरेल लड्न तयार भएको अवस्थामा महरा नै प्रतिनिधिसभामा उम्मेदवार बन्दै सांसदमा निर्वाचित भएका हुन्। 

तर अहिले दाङमा एमालेले आफ्नो शक्ति बढाउँदै गएको छ। ०७४ को निर्वाचनलाई हेर्ने हो भने पनि यहाँ एमालेको शक्तिलाई सहजै अनुमान लगाउन सकिन्छ। दाङको मुख्य शहर घोराही र तुल्सीपुरमा एमालेले नै जित निकालेको थियो। एमालेले शान्ता चौधरीलाई दाङबाटै उचाइमा पुर्‍यायो। जसको फाइदा अहिले एमालेलाई दाङमै भइरहेको छ। यसको श्रेय नेता शंकर पोखरेललाई नै दिन सकिन्छ।

प्रकाशित: Apr 27, 2022| 17:29 बुधबार, वैशाख १४, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...