आइतबार, भदौ २३, २०८१

nespernesper

माओवादी अड्डामा कांग्रेस उम्मेदवारको ‘क्याटवाक’

दुवै रुकुम, रोल्पा, जाजरकोट र कैलालीका स्थानीय तहमा पनि माओवादीले बढी पेलेको कांग्रेसको अनुभव छ। माओवादीको प्रभाव क्षेत्र मानिने यी जिल्लाका स्थानीय तहमा एमालेसँग मिलेर उसलाई पराजयको स्वाद चखाउने कांग्रेसको रणनीति छ।
 |  सोमबार, वैशाख १२, २०७९

दिलीप कुँवर

दिलीप कुँवर

सोमबार, वैशाख १२, २०७९

काठमाडौं- १० वर्षे सशस्त्र माओवादी द्वन्द्वदेखि रोल्पाले 'माओवादीको आधार इलाका' परिचय बनाएको छ। पछिल्लो समयका चुनावमा माओवादी केन्द्रका नेताहरू विजयी हुँदै आएका पनि छन्।  योसँगै रोल्पाले अर्को पनि परिचय बनाएको छ, अपवादको। विशेषगरी चुनावका बेला रोल्पा अपवाद बनेर चर्चामा पनि आउने गरेको छ। ०७० सालको निर्वाचन बहिष्कार गरेर रोल्पाको थवाङ अपवाद बनेर चर्चा आएको थियो। ०७४ को चुनावमा पनि थवाङले प्रत्यक्ष रूपमा सहभागीता जनाएन। बरू स्वतन्त्र उम्मेदवारलाई सहयोग गरेको थियो। 

triton college

तर यसपटकको निर्वाचनमा भने अपवादको त्यो कारण मत्थर भइसकेको छ। अधिकांश थवाङीले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई समर्थन गर्छन्। यसपाली थवाङ स्वतन्त्र रुपमा वा आवश्यक तालमेल सहित चुनावमा सहभागी हुने भएको छ।

रोल्पालाई चर्चामा ल्याउने थवाङ यसपाली शान्त छ। बरु यसपाली रोल्पालाई चर्चामा ल्याउने कारण बनेको छ, सत्ताधारी गठबन्धनको आपसी खटपट। आइतबार बुटवलमा बसेको कांग्रेस प्रदेश कमिटीले रोल्पा कांग्रेसलाई गठबन्धनबाटै बाहिरिन निर्देशन दिएको थियो। यसअनुसार कांग्रेसले गडबन्धन तोडेर मनोनयन दर्ता गराएको छ। यसले माओवादी नेता वर्षमान पुन अनन्त, ओनसरी घर्ती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी सोनाम र प्रदेशसभा सदस्य दीपेन्द्र पुन सिजललाई 'झट्का' लागेको छ। 

गठबन्धन 'कोल्याप्स'को असर र कारण

गठबन्धन ‘ब्रेकअप’ले पूर्वसभामुख कृष्णबहादुर महरालाई पनि असहज बनाएको छ। ०७४ सालको निर्वाचनमा रोल्पा नगरपालिकाको मेयरमा महराका ज्वाइँसमेत रहेका पुरण क्षेत्री विजयी भएका थिए। क्षेत्रीले निकटतम प्रतिद्वन्द्वी बनेका कांग्रेसका उम्मेदवार लेखनाथ आचार्यलाई करिब ३ हजार मतान्तरले पराजित गरेका थिए। 

रोल्पा गठबन्धनबाट कांग्रेस 'आउट' भएपछि अब पुनः कांग्रेस र माओवादीबीच नै मुख्य प्रतिस्पर्धा हुने भएको छ। माओवादीले कांग्रेससँग गठबन्धन कायम गर्न नसक्नु उसको ठूलो बिडम्बना बनेको कांग्रेसका स्थानीय नेताको टिप्पणी छ। तर माओवादी नेताहरु भने यो कुरालाई स्वीकार गर्दैनन्।  

Metro Mart
vianet

कांग्रेसले गठबन्धन भाड्ने प्रयास गरेको आरोप माओवादी जिल्ला अध्यक्ष सुरेन्द्र घर्तीले लगाए। एमालेसँग आन्तरिक तालमेल गरेर माओवादीलाई कमजोर तुल्याउनकै लागि रोल्पा कांग्रेसले अनावश्यक दम्भ देखाएको घर्तीको आरोप छ। 

‘०७४ सालको निर्वाचनलाई फर्केर हेर्ने हो भने रोल्पामा कांग्रेसको हैसियत के हो, आफैँ थाहा हुन्छ,' नेपाल समयसँग कुराकानी गर्दै उनले भने, ‘हुँदा–हुँदा उनीहरुले हामीलाई अप्रत्यक्ष रुपमा ४५ प्रतिशत हिस्सा दिएर ५५ प्रतिशत आफैँ कब्जा गर्न खोजे। जुन हाम्रो लागि कुनै पनि हालतमा स्वीकार्य छैन।’ 

त्यसो त नेता घर्ती आफैँ पनि रोल्पा नगरपालिका प्रमुख उम्मेदवार हुन्। यसअघि नगरपालिका मेयर क्षेत्री दोस्रो कार्यकालको लागि पनि दोहोरिने चर्चा थियो। तर पार्टीले यसपटक घर्तीलाई अघि सारेको हो। 

रोल्पा कांग्रेसले भने माओवादीको अभिव्यक्तिको खण्डन गर्दै आफ्नै शक्तिको आधारमै आफूहरुले हिस्सा खोजेको बताएको छ। साताअघि आफूहरुले समग्र पालिका र वडामा आधा हिस्सा नपाए गठबन्धन नगर्नेबारे विज्ञप्ति नै निकालेर माओवादीलाई जानकारी दिएको जिल्ला सभापति किशोर आचार्यले जानकारी दिए। 

आचार्यका अनुसार रोल्पाका १० वटा पालिकामध्ये ५ वटामा प्रमुख र ५ वटामा उपप्रमुखमा कांग्रेसको दावी थियो। जिल्लाका ७२ वडामध्ये ३६ वटामा एक सदस्यसहित अध्यक्ष र ३६ वटामा ३ वटा सदस्य पाउनु पर्ने कांग्रेसको अडान थियो। 

‘०७४ सालको निर्वाचनलाई फर्केर हेर्ने हो भने रोल्पामा कांग्रेसको हैसियत के हो, आफैँ थाहा हुन्छ,' नेपाल समयसँग कुराकानी गर्दै उनले भने, ‘हुँदा–हुँदा उनीहरुले हामीलाई अप्रत्यक्ष रुपमा ४५ प्रतिशत हिस्सा दिएर ५५ प्रतिशत आफैँ कब्जा गर्न खोजे। जुन हाम्रो लागि कुनै पनि हालतमा स्वीकार्य छैन।’ 

‘समग्र जिल्लाभरमा माओवादीका भोटर हाम्रो भन्दा ४/५हजारले मात्रै बढी हो। तर हामी आफ्नो शक्तिमा ढुक्क छौँ,’ आचार्यले भने। कमजोर बन्दै गएको पार्टीलाई पुरानो विरासतकै आधारमा मात्र आफूहरूले ‘सेफ’ गर्न नसक्ने आचार्यको तर्क छ।

‘०७४ को निर्वाचनमा हाम्रो हैसियत के थियो, त्यसले अर्थ राख्दैन। बरु यो बीचमा कांग्रेसको शक्ति विस्तार भएको छ। यसले अर्थ राख्छ’, उनले थपे, ‘हामीले कुनै दम्भ देखाएका होइनौँ, जिल्लामा पार्टीको शक्ति अनुसार नै हिस्सा मागेका थियौँ। उहाँहरुले मान्नु भएन। हाम्रो के दोष?’ 

शीर्षको प्रयास विफल
रोल्पामा गठबन्धन टिकाएर चुनावमा जान माओवादी केन्द्र र कांग्रेसका शीर्ष नेताले प्रयास गरेका थिए। वर्षमान पुन र लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले गठबन्धनलाई कायमै राख्न कांग्रेस रोल्पाका पूर्वसभापतिसमेत रहका प्रदेश सभापति अमरसिंह पुनसँग सहमतिको वातावरण बनाउन निकै प्रयास गरेका थिए। तर रोल्पाका कांग्रेस नै अडानबाट पछि नहट्ने र बरु एक्लै प्रतिस्पर्धी बन्ने भएपछि प्रदेश सभापति पुन नै अफ्ठ्यारोमा परेका थिए। 

पुन निकटका एक नेताले भने, ‘माओवादीकै शीर्ष नेताहरुले केही दिनदेखि अमरसिंह पुनलाई सहमतिको वातावरण बनाएर मात्र अघि जान प्रस्ताव गर्नु भइरहेको थियो। उता फेरि रोल्पाका साथीहरुले पनि पुनजीलाई माओवादीको कुरा सुनेर भावुक नहुन दबाब दिइरहेका थिए। वास्तवमा पुनजीलाई पनि अप्ठेरो  थियो। अन्ततः उहाँले जिल्लाकै साथीहरुको लागि टाउको हल्लाउन बाध्य हुनुभयो। तर वास्तवमा भन्ने हो भने चाहिँ पुनजी पनि गठबन्धन कायम राखेरै अघि बढ्ने मनशायमा हुनुहुन्थ्यो।’ 

गायिकादेखि स्वतन्त्रसम्मको उम्मेदवारी
मुख्य तीन ठूला दल (एमाले, कांग्रेस र माआवादी)ले रोल्पाका सबै स्थानीय तहमा आफ्ना उम्मेदवाकरको मनोनयन गराएका छन्। गायिका राधिका हमाल त्रिवेणी गाउँपालिकाको अध्यक्ष पदका लागि कांग्रेस उम्मेदवार बनेकी छन्। हमाल गीतसंगीतका साथै राजनीतिमा पनि सक्रिय रहँदै आएकी छन्। 

थवाङ गाउँपालिकाको अध्यक्ष पदमा दर्जित रोका मगरले स्वतन्त्र उम्मेदवारी दिएका छन्। थवाङमा एकताको लागि निकै प्रयास गरे पनि सम्भव नदेखिएपछि आफूले स्वतन्त्र उम्मेदवारी दर्ता दिएको रोकाले जानकारी दिए। 

माओवादीले रोल्पा नगरपालिका प्रमुखमा सुरेन्द्र घर्ती र उपप्रमुखमा गीता आचार्यलाई अघि सारेको छ। नगरपालिकामा आफूहरुको जित सुनिश्चित रहेकोसमेत घर्तीको ठोकुवा छ। 

‘नगरमा हाम्रो नै जित हुन्छ भन्नेमा शंका छैन। १८ हजार मध्ये १४ हजार मत खस्ने अनुमान छ। अघिल्लो चुनावमा पनि माओवादीले ३ हजार मतान्तरले कांग्रेसलाई पराजित गरेको थियो। अहिले झन् ठूलो अन्तरले हामी पराजित गछौँ। एमालेको त झन् के कुरा गर्नु, उसले ल्याएकै मत नै ४/५ सय त हो,' उनले भने।  

सुनिलस्मृति गाउँपालिका अध्यक्षमा माओवादीले मनिराम बुढाथोकी र उपाध्यक्षमा कुमारी थापालाई अघि सारेको छ। लुंग्री गाउँपालिकामा अध्यक्षमा भरत थापा, सुनछहरी गाउँपालिका  अध्यक्षमा धनबहादुर पुन तथा उपाध्यक्षमा ननकला घर्ती, परिवर्तन गाउँपालिकामा अध्यक्षमा शुकबहादुर बुढामगर, उपाध्यक्षमा कलादेवी खत्रेनी, माडी गाउँपालिका अध्यक्षमा अमरसिंह घर्तीमगर,  उपाध्यक्षमा जयपुरी घर्ती छन्। 

यस्तै, गंगादेव गाउँपालिका अध्यक्षमा वीरबहादुर खत्री, त्रिवेणी गाउँपालिका अध्यक्षमा रेशम पुन तथा उपाध्यक्षमा भागीसरा खत्री उम्मेदवार छन्। रुन्टीगढीमा अध्यक्षमा गोविन्द पुनमगर र उपाध्यक्षमा कौसिला जिसी घर्तीलाई उम्मेदवार बनाइएको छ। 

000

कांग्रेसले रोल्पा नगरपालिका प्रमुखमा शेरबहादुर थापालाई अघि सारेको छ। गंगादेव गाउँपालिका अध्यक्षमा पार्टीका जिल्ला उपसभापति हरिबहादुर पुनलाई उम्मेदवार बनाएको छ। उपाध्यक्षमा अमृता केसी वली छिन्।

यसैगरी सुनीलस्मृति गाउँपालिकाको अध्यक्षमा पूर्व वडाध्यक्ष गञ्ज क्षेत्रीलाई उम्मेदवार बनाइएको छ भने उपाध्यक्षमा महाधिवेशन प्रतिनिधि तेजकुमारी विष्ट उम्मेदवार छन्। रुन्टिगढी, लुङ्ग्री र थबाङमा क्रमशः  जनक पुन, जनक खड्का, खरिलाल डाँगी उम्मेदवार बनेका छन्।  उपाध्यक्षहरुमा क्रमशः सरिता केसी, मुन्नीदेवी रोका क्षेत्री, बरमाया घर्ती र सोनी बुढाथोकी उम्मेदवार छन्। 

सुनछहरीमा भने कांग्रेसले विप्लवका उम्मेदवारलाई अध्यक्षमा सहयोग गर्ने भएको छ। रमाइलो के छ भने यो पालिकामा एमालेले पनि विप्लवकै उम्मेदवारलाई समर्थन जनाएको छ।

त्यसैगरी परिवर्तन गाउँपालिकामा विश्वकुमार चन्दलाई अध्यक्ष र सपना घर्तीलाई उपाध्यक्षको उम्मेदवार बनाएको छ। त्रिवेणी गाउँपालिकामा राधिका हमाल अध्यक्ष र लेखमणि डाँगीलाई उपाध्यक्षको उम्मेदवार बनाएको हो।

000

एमालेले रोल्पा नगरपालिका प्रमुखमा घनश्याम आचार्य तथा कृष्णीकुमारी गौतमलाई अघि सारेको छ। यस्तै रुन्टीगढीको प्रमुखमा एमालेका बालाराम बुढाले आफूले पाएको टिकट सहकर्मी याम दसौंदीलाई दिएका छन्। यो पालिकाको उपप्रमुखमा हस्तमाली बाठा उम्मेदवार बनेकी छिन्। त्रिवेणी प्रमुखमा कर्ण बाठा तथा उपप्रमुखमा जानकी बुढा, माडी प्रमुखमा विजय घर्ती तथा उपप्रमुखमा अमृता कुमारी घर्तीलाई एमालले अघि सारेको छ।

त्यसैगरी, एमालेले गंगादेवको प्रमुखमा रोशनकुमार वली र उपप्रमुखमा निर्मला कुमारी वली, परिवर्तनको प्रमुखमा गंगाराम बुढा तथा उपप्रमुखमा सपना रोक्का, लुंग्री प्रमुखमा विरबहादुर खत्री र उपप्रमुखमा जुकमति बस्नेत र सुनिलस्मृति प्रमुखमा खिमचन्द्र पुन तथा उपप्रमुखमा तारा सेनलाई अघि सारेको छ। 

थवाङ गाउँपालिकाको प्रमुखमा रवीन्द्र रोका र उपप्रमुखमा शान्ति घर्तीलाई उम्मेदवार बनाउने टुंगो लागेको छ।

रुकुममा पनि गठबन्धन विभाजित
माओवादी नेता तथा हालका अर्थमन्त्री जनार्दन शर्माको गृहजिल्ला पूर्वी रुकुममा पनि गठबन्धन विभाजित भएको छ। आफूहरुले एमालेसँग चुनावी तालमेल गर्न आन्तरिक अभ्याससमेत सुरु गरिसकेको कांग्रेस पूर्वी रुकुमका सभापति केशरमान रोकाले जानकारी दिए। यद्यपि सोमबार तीनै दलले छुट्टाछुट्टै मनोनयन दर्ता गराएका छन्। 

आफ्नो शक्ति कमजोर बन्दै गएको थाहा हुँदाहुँदै पनि माओवादीले अझै रुकुममा दम्भ देखाउन नछाडेको रोकाको टिप्पणी छ। ‘पहिले माओवादी हावी थियो भन्दैमा अहिले पनि अवस्था उस्तै हो भनेर सम्झनु मुर्खता मात्रै हो,' रोकाले थपे, ‘कांग्रेसले आफ्नो शक्तिको आधारमा हिस्सा खोज्दा पनि माओवादीलाई मान्य भएन। एमालेसँग तालमेल गरेर जान सकिन्छ। यसबारे छलफल पनि भइरहेको छ।’ 

त्यस्तै पश्चिम रुकुममा पनि कांग्रेसले गठबन्धनबाट बाहिरिएको छ। माओवादी केन्द्रले पेलेर जान खोजेपछि आफूहरुले केन्द्रका नेताहरुलाई समेत चेतावनी दिएको रुकुम पश्चिमका कांग्रेस सभापति प्रेमप्रकाश वलीले जानकारी दिए। गठबन्धनमा आफूहरुले सम्मानजक भाग मागे पनि माओवादीले अनावश्यक तर्क गरेको उनको भनाइ छ। 

उता माओवादीले पश्चिम रुकुमका ६ वटै पालिकामा उम्मेदवार टुंगो लगाइसकेको छ। कांग्रेस, एमाले, एकीकृत समाजवादीलगायतका सबै दल मिले पनि आफूहरुले एक्लै भए पनि चुनाव जित्ने माओवादीको दाबी छ। 

माओवादी केन्द्रले पेलेर जान खोजेपछि आफूहरुले केन्द्रका नेताहरुलाई समेत चेतावनी दिएको रुकुम पश्चिमका कांग्रेस सभापति प्रेमप्रकाश वलीले जानकारी दिए। गठबन्धनमा आफूहरुले सम्मानजक भाग मागे पनि माओवादीले अनावश्यक तर्क गरेको उनको भनाइ छ। 

कांग्रेस सभापति वली भने माओवादीले पुरानै अवस्थालाई आधार मानेर आत्मरतिमा रमाइरहेको बताउँछन्। उनले भने, ‘अहिले अवस्था पहिलेको जस्तो छैन। कांग्रेस र नेकपा एसको शक्ति धेरै विस्तार भइसकेको छ। माओवादीले बढी पेल्न खोज्यो, हामीले आफ्नै तरिकाले सहभागी हुन्छौँ।’

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा बहालवाला प्रधानाध्यापक कांग्रेसबाट गाउँपालिका अध्यक्षको उम्मेदवार बनेका छन्। हिमालय जनता माध्यमिक विद्यालयका प्रअ अमरसिंह खड्कालाई कांग्रेसले त्रिवेणी गाउँपालिका अध्यक्षको उम्मेदवार बनाएको हो। २७ वर्षदेखि अध्यापन गराउँदै आएका खड्काले राजीनामा दिएर उम्मेदवार बनेका हुन्। 

कांग्रेसले बाँफीकोट गाउँपालिकामा अध्यक्षको लागि जनकुमार बाँठा, उपाध्यक्षमा नन्दा केसी र सानीभेरी गाउँपालिका अध्यक्षमा गोरखप्रसाद चन्दलाई  उम्मेदवार बनाएको छ। 

यद्यपि माओवादी केन्द्रले एकलौटी रुपमै चौरजहारी नगरपालिकामा प्रमुखमा पुष्प वादी र उपप्रमुखमा इश्वरी कुमारी शर्मा विएम, आठबीसकोट नगरपालिका प्रमुखमा रवि केसी र उपप्रमुखमा धन कुमारी शाही,  मुसिकोट नगरपालिकामा प्रमुखमा वसन्त शर्मा र उपप्रमुखमा मिलन खड्कालाई उम्मेदवार बनाएको छ। 

त्यस्तै सानीभेरी गाउँपालिका अध्यक्षमा बिर्ख बहादुर विष्ट र उपाध्यक्षमा कमला रोका पुन, त्रिवेणी गाउँपालिका अध्यक्षमा गणेश कुमार केसी र उपाध्यक्षमा राजकुमारी रेउले, बाँफिकोट गाउँपालिका अध्यक्षमा चन्द्रबहादुर केसी र उपाध्यक्षमा तारा बुढा केसी उम्मेदवार छन्। 

दुवै रुकुम, रोल्पा, जाजरकोट र कैलालीका स्थानीय तहमा पनि माओवादीले बढी पेलेको कांग्रेसको अनुभव छ। माओवादीको प्रभाव क्षेत्र मानिने यी जिल्लाका स्थानीय  तहमा एमालेसँग मिलेर उसलाई पराजयको स्वाद चखाउने कांग्रेसको रणनीति छ।

प्रकाशित: Apr 25, 2022| 19:13 सोमबार, वैशाख १२, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...