सोमबार, असोज १५, २०८०
  • गृहपृष्ठ
  • भिडियो
  • सत्ता गठबन्धन बैठक निष्कर्षविहीन, भारतको असममा चट्याङले १४ जनाको मृत्यु [२०७९-१-५]

सत्ता गठबन्धन बैठक निष्कर्षविहीन, भारतको असममा चट्याङले १४ जनाको मृत्यु [२०७९-१-५]

'महानगर र उपमहानगरका वडासहितको विषयमा सकारात्मक छलफल गरेका छौँ। भोलि निर्णयमा पुग्छौँ। मापदण्डकै वरिपरि रहेर सहमति गर्छौँ,' सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
 |  सोमबार, वैशाख ५, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

सोमबार, वैशाख ५, २०७९

काठमाडौं- सोमबारका प्रमुख घटनाक्रमसहितको नेपाल समय समाचारका प्रमुख शीर्षकहरू:

sagarmatha cement
  • स्थानीय चुनावका लागि ९५ लाख थान मतपत्र छपाईको काम पूरा, आचारसंहिता उल्लघन गर्ने विभिन्न दल र नेताहरूसँग आयोगले माग्यो स्पष्टीकरण। 
  • आसन्न स्थानीय तह निर्वाचनमा दुई गठबन्धनबीच प्रतिस्पर्धा हुने प्रचण्डको भनाइ, भरतपुरको माओवादीले नै पाउनुपर्छ भनेर माओवादीले नभनेको दाबी।
  • चैत मसान्तसम्म उद्योगमा ३३ अर्ब बराबरको विदेशी लगानीको प्रतिबद्धता स्वीकृत, ८ महिनामा २ खर्ब ६६ अर्ब रुपैयाँ बराबर लगानीका उद्योग दर्ता।
  • भारतको आसाममा शुक्रबारदेखि सुरु भएको वर्षासँगै चट्याङ लागेर कम्तीमा १४ जनाको मृत्यु,  भौतिक संरचनामा ठूलो क्षतिका साथै दशौँ हजार नागरिक प्रभावित।
  • र, नवौँ राष्ट्रिय खेलकुद आउन डेढ महिना बाँकी हुँदा तयारीमा जुट्न सदस्य सचिव घिसिङको आह्वान, हतारको प्रतियोगिातमा खेलाडीको छनोट प्रक्रियाबारे अन्योल कायमै। 
    अब समाचार विस्तारमा 
    ९५ लाख थान मतपत्र छापियो

वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तह निर्वाचनका लागि ९५ लाखभन्दा बढी  थान मतपत्रको छपाईको काम पूरा गरेको छ। १ करोड ९४ लाख मतपत्र छपाउनुपर्नेमा हालसम्म ४६ जिल्लाका ९५ लाख २५ हजार थान मतपत्र छापिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए। 

आयोगले निर्वाचनका लागि चाहिने सामग्रीहरु केही नेपाल भित्रिसकेको र केही आउने क्रममा रहेकोसमेत जानकारी दिएको छ। पत्रकार सम्मेलनमा आयोगले आचारसंहिता उल्लंघन गर्ने राजनीतिक दल र नेताहरुसँग जवाफ माग गरिएको पनि जनाएको छ। 

आचारसंहिता उलंघनका विषयमा सोहीको स्पष्टीकरणमध्ये केहीको जवाफ आएको बताउँदै कतिपयको जवाफ आउने क्रममा रहेको आयोगले जनाएको छ। 

गठबन्धन बैठक निष्कर्षविहीन
सत्तारुढ दलहरूको गठबन्धनको बैठक निष्कर्षविहीन भएको छ। बैठक मंगलबार बिहान ११ बजे पुनः बस्ने गरी सकिएको हो। 

'महानगर र उपमहानगरका वडासहितको विषयमा सकारात्मक छलफल गरेका छौँ। भोलि निर्णयमा पुग्छौँ। मापदण्डकै वरिपरि रहेर सहमति गर्छौँ,' सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा प्रविधिमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए। 

पोखरा महानगरका विषयमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) र नेपाली कांग्रेसले दाबी नछोड्दा सहमति जुट्न नसकेको बताइएको छ।  

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड निकट स्रोतका अनुसार पोखरामा दुवै दलले आफ्नो दाबी नछोड्दा सोमबार सहमति हुन नसकेको हो। बैठकमा पाँचवटै दलका नेताहरूले आ–आफ्नो पार्टीको दाबी पेस गरेका थिए। तर पोखराका विषयमा भने कांग्रेस र नेकपा एसबीच कुरा मिल्न बाँकी रहेको बालुवाटार स्रोतले जानकारी दिएको छ। 

प्रचण्ड निकट स्रोतका अनुसार भरतपुर माओवादीलाई दिने लगभग सहमति छ। काठमाडौं, विराटनगर र ललितपुर कांग्रेसले पाउने र जसपालाई वीरगञ्ज दिने लगभग सहमति भएको छ। 

छलफलमा प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरू र कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह निर्वाचन तयारी समितिका सदस्यहरू सहभागी थिए।

दुई गठबन्धनबीच प्रतिस्पर्धा
सत्तारुढ नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले आसन्न स्थानीय तह निर्वाचनमा दुई गठबन्धनबीच प्रतिस्पर्धा हुने बताएका छन्। रोल ...

सोमबार नेकपा(माओवादी केन्द्र)को केन्द्रीय प्रचार तथा प्रकाशन विभागले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले आसन्न स्थानीय तह निर्वाचनमा दुई गठबन्धनका बिचमा प्रतिस्पर्धा हुने बताएका हुन्। उनले एउटा गठबन्धन राजावादीहरुसँग सम्बन्धित गठबन्धन र अर्को गणतन्त्र, संविधान र राष्ट्रियताको रक्षा गर्न खोज्नेहरुका बिचमा गठबन्धन हुने बताएका छन्। 

अध्यक्ष दाहालले नगरपालिका र गाउँपालिकाको सन्दर्भमा भने तल्ला कमिटीहरुलाई नै अधिकार दिइएको पनि बताएका छन्।। गठबन्धनका साझा उम्मेदवार तय गर्दा कतिपय असन्तुष्टिहरु आउनु सामान्य रहेको भन्दै उनले पार्टी र गठबन्धनले संस्थागत निर्णय गरेपछि सबै पार्टी पंक्ति संस्थागत निर्णयको पक्षमा उभिने बताए। 

उनले भरतपुर महानगरपालिका आफूहरुलाई नै चाहिन्छ भनेर दाबी नगरेको बताए।  गठबन्धनमा महानगरपालिका भागबन्डा लगाउँदा आफुहरुलाई जुन दिएपनि स्वीकार्य हुने उनले बताएका छन्। यद्यपी सबैको मनमा माओवादीलाई भरतपुर दिनु उचित हुन्छ भन्ने लागेको अध्यक्ष दाहालको भनाइ छ। 

प्रचण्डले देशभरका ६ महानगरमध्ये तीन कांग्रेसले राखेर बाँकी माओवादी, एकीकृत समाजवादी र जसपालाई एक–एक  दिने तयारी रहेको उनले सुनाए। कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगर महानगर लिने सम्भावना छ भने माओवादीले भरतपुर महानगर दाबी गरेको छ। एकीकृत समाजवादीले पोखरा महानगर पाउनुपर्ने बताएको छ भने जसपाले वीरगञ्ज मागेको छ।

प्रचण्डलाई ५३ सिट दिलाएँ : ओली
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सिद्धिन लागेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफूले संसदमा ५३ सिट दिलाएको दाबी  गरेका छन्। पार्टी कार्यक्रमका लागि सोमबार सोलुखुम्बु पुगेका ओलीले यस्तो बताएका हुन्। 

आफूले प्रचण्डलाई ठूलो गुन लगाएपनि उनले कम्युनिस्ट आन्दोलन विभाजन गर्न खोजेको ओलीको आरोप छ। कार्यक्रमलाई सम्बोधन गर्दै उनले पार्टीका साथीहरूले नमान्दा–नमान्दै पनि २०७४ को चुनावमा प्रचण्डसँग चुनावी तालमेल गरेर उनलाई गुन लगाइदिएको ओलीको टिप्पणी छ। 

 ‘प्रचण्ड सिद्धिन लागेका थिए, सिद्धिन लागेका प्रचण्डलाई ५३ सिट मैले दिलाएँ। पार्टीमा साथीहरूले त मानेका थिएनन्,' ओलीको भनाइ थियो, 'तपाईं सर्प घरभित्र राख्दै हुनुहुन्छ, कतिखेर डस्छ भन्दै थिए। मलाई दाँत फुकाउन आउँछ चिन्ता नगर्नु भनेको थिएँ, साथीहरूले भन्दाभन्दै डसे।’

फरक प्रसंगमा ओलीले महँगोमा बिजुली किनेर नेपालीको ढाड भाँच्ने एक जना कर्मचारीलाई माओवादीले चुनावी प्रचारमा फोटो राखेर हिँडेको भन्दै व्यंग्यसमेत गरेका छन्। 

भारतले घटायो पेट्रोलको मूल्य
भारतीय आयल कर्पोरेसन (आईओसी)ले पेट्रोलको मूल्य घटाएर पेट्रोलियम पदार्थको नयाँ मूल्यसूची पठाएको छ।

अप्रिल १६ (शनिबार) पठाएको मूल्यसूची अनुसार पेट्रोलको मूल्य प्रतिलिटर ४ रुपैयाँ ७९ पैसा घटेको छ।

डिजेल र हवाई इन्धनको मूल्य भने बढेको नेपाल आयल निगमले जनाएको छ। नयाँ मूल्य र हालको खपत तथा मूल्य अनुसार विश्लेषण गर्दा निगमलाई अबको १५ दिनमा करिब ४ अर्ब ६९ करोड नोक्सान हुने देखिएको निगमको भनाइ छ।

आईओसीले महिनाको दुईपल्ट (१ र १६ तारिखमा) नयाँ मूल्यसूची पठाउँछ र नेपाल आयल निगमले स्वचालित मूल्य समायोजन प्रणालीअनुसार स्थानीय बजारमा इन्धनको मूल्य निर्धारण गर्छ।

उद्योगमा लगानी
उद्योग विभागका महानिर्देशक रामचन्द्र तिवारीले चालु आर्थिक वर्षको चैत मसान्तसम्म उद्योगमा ३३ अर्ब बराबरको विदेशी लगानीको प्रतिवद्धता स्वीकृत भएको बताएका छन्। 

महानिर्देशक तिवारीले चालु आर्थिक वर्ष २०७८/०७९ को चैत मसान्तसम्म विदेशी लगानीसँग सम्बन्धित १५५ वटा विभिन्न परियोजनाहरु प्रश्ताव भएर विदेशी लगानी स्वीकृत भइसकेको बताएका हन्। उद्योग विभागले चालु आर्थिक वर्षको चैत मसान्तसम्म २ खर्ब ६६ अर्ब रुपैयाँ बराबरको कुल प्रश्तावित विदेशी तथा स्वदेशी लगानीको उद्योग दर्ता गरेको छ। गत आर्थिक वर्षमा सोही अवधिमा विदेशी तथा स्वदेशी लगानीमा १ खर्ब ३९ अर्ब रुपैयाँ बराबरको विदेशी तथा स्वदेशी लगानीका उद्योग दर्ता भएको विभागले बताएको छ। महानिर्देशक तिवारीले उद्योगहरुले उत्पादन क्षमता बढाउने, पूँजी वृद्धि गर्ने, स्थानान्तरण गर्ने लगायतका उद्योग प्रशासनसँग सम्बन्धित कामहरु पनि उद्योग विभागमा वृद्धि भइरहेको बताएका छन्। 

महानिर्देशक तिवारीले हालसम्म उद्योग विभागमा दर्ता भएका उद्योगहरुमध्ये ५९ प्रतिशत इनर्जी बेशमा रहेको र लगभग २२ प्रतिशत उद्योग म्यानुफ्याक्चरिङ क्षेत्रमा रहेको बताए। उनले विदेशी लगानीका उद्योगहरुमा पनि एक तिहाई उद्योगहरु सर्भिस सेक्टरमा र म्यानुफ्याक्चरिङ क्षेत्रमा करिव २३ प्रतिशतमात्र रहेको बताए। महानिर्देशक तिवारीले उत्पादनमुलक उद्योगहरुको हिस्सा अपेक्षाकृत रुपमा उद्योगको संरचनाभित्र बढाउन नसकेको पनि बताएका छन्। 

महानिर्देशक तिवारीले उद्योग संरचनालाई बलियो बनाउन बनाइएको एकलबिन्दु सेवाकेन्द्रबाट अपेक्षाकृतरुपमा सेवा प्रवाह गर्न नसकेको बताएका छन्। 

एटीएम मेसिन बनाउन गृहमन्त्रीको निर्देशन
गृहमन्त्री बालकृष्ण खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको बिग्रिएका एटीएम मेसिन बनाउन निर्देशन दिएका छन्। 

एटीएम मेसिन बिग्रिएपछि यात्रुहरुले सास्ती खेप्नुपरेको समाचार प्रकाशन भएपछि गृहमन्त्रीले विमानस्थललगायत सम्बन्धित निकायका पदाधिकारीलाई बोलाएर यस्तो निर्देशन दिएका हुन्।

मन्त्रालयका प्रवक्ता फणीन्द्रमणि पोखरेलका  अनुसार अध्यागमन विभागका महानिर्देशक नारायणप्रसाद भट्टराई, अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाही, नागरिक उड्डयन प्राधिकरण, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक प्रेमनाथ ठाकुर, विमानस्थलका प्राविधिक सुरक्षा प्रमुख टेकनाथ सिटौला तथा कर्पोरेट प्रमुख महेन्द्र खनाललाई बोलाएर गृहमन्त्रीले उक्त निर्देशन दिएका हुन्। 

मन्त्रीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएका समस्याबारे जानकारी लिँदै तत्काल सुधार्न निर्देशन दिएको प्रवक्ता पोखरेलले जानकारी दिए। 

तत्काल अन्तर्राष्ट्रिय विमानस्थलमा एक्स–रे मेसिन जडान गरेर उपलब्ध गराउने सेवालाई सहज बनाउन पनि उनले निर्देशन दिएको प्रवक्ता पोखरेलले जानकारी दिएका छन्। 

मंगलबार गभर्नरको मुद्दा
नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारीको रिट निवेदन सर्वोच्च अदालतमा दर्ता भएको छ। 

आफूविरुद्ध गरिएको कारबाही प्रक्रिया खारेज गरी काममा फर्काउन अन्तरिम आदेश माग गर्दै अधिकारीले आइतबार सर्वोच्च अदालतमा रिट दर्ता गराएका हुन्। 

सर्वोच्च अदालत प्रशासनले रिट निवेदन अध्ययन गरेर आज दर्ता गरेको हो। रिटमाथि सुनुवाइका लागि भोलि मंगलबारलाई पेसी तोकिएको छ। सरकारले प्रतिशोध साँधेर गैरकानुनी रुपमा आफूमाथि कारबाही प्रक्रिया सुरु गरेकाले खारेज गरेर काममा फर्काउन अधिकारीको माग छ। साथै आफूमाथि छानबिन गर्न गठित समिति पनि खारेज हुनुपर्ने उनको माग छ।

सूचना चुहाएको, असहयोग गरेको भन्दै राष्ट्र बैंक ऐनअनुसार सर्वोच्चका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको संयोजकत्वमा सरकारले छानबिन समिति बनाएपछि गर्भनर अधिकारी स्वतः निलम्बनमा परेका छन्। समितिलाई एक महिनाभित्र प्रतिवेदन बुझाउन भनिएको छ।

घट्यो नेप्से
साताको कारोबार भएको दोस्रो दिन सोमबार पनि नेप्से परिसूचकमा गिरावट आएको छ। सोमबार सेयर बजार मापक नेप्से परिसूचक ४१.७७ अंक घटेर २३४३.८७ विन्दुमा झरेको छ। 

सोमबार कारोबारमा २२९ कम्पनीको ३८ लाख ७६ हजार कित्ता शेयर १ अर्ब ५३ करोड ६ लाख ९२ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ। नेप्से परिसूचक ओरालो लागेपनि कारोबार रकम भने अघिल्लो कारोबारको तुलनामा सामान्य बढेको छ। 

नेप्सेका १३ वटै उपसमूहको परिसूचक ओरालो लागेको छ। जसमध्ये वित्त उपसमूहको परिसूचक सर्वाधिक ३.४४ प्रतिशत घटेको छ। निर्जीवन बीमा, जलविद्युत, लगानी, जीवन बीमा र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढी घटेको छ।

सोमबार नेस्डो समृद्ध लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै, दिव्यश्वरी हाइड्रोपावर र जाल्पा लघुवित्तको शेयरमूल्य बढेको छ। यता, एनआरएन इन्फ्रास्ट्रक्चर, हिमालयन उर्जा विकास कम्पनी घटेको छ।

कारोबार रकमका आधारमा ४ करोड ९६ लाख २६ हजार रुपैयाँ बराबरको शेयर खरिदबिक्री नबिल बैंक शीर्ष स्थानमा रहेको छ। हिमालयन डिष्टिलरीको ४ करोड ९२ लाख रुपैयाँ बराबरको शेयर किनबेच भएको छ।

असममा चट्याङले १४ को मृत्यु
भारतको आसाम राज्यमा चट्याङ लागेर कम्तीमा पनि १४ जनाको ज्यान गएको छ। 

आइतबार आएको भीषण वर्षा र चट्याङमा परेर ती नागरिकको ज्यान गएको आसामको प्राकृतिक प्रकोप व्यवस्थापन विभागले जानकारी दिएको छ।

आसाममा शुक्रबारदेखि व्यापक वर्षा भएको छ। वर्षासँगै हावाहुरी पनि आएको र यहाँका कतिपय भौतिक संरचनामा पनि क्षति पुर्‍याएको थियो।

विभागले दिएको जानकारीअनुसार शुक्रबार आठ जनाको ज्यान गएको थियो भने आइतबार थप छ जनाको ज्यान गएको छ। चट्याङबाट मात्र अरु दर्जनौँ व्यक्ति नागरिक घाइते भएको पनि विभागले जनाएको छ। 

आसाम क्षेत्रमा वर्षासँगै पर्ने चट्याङले समय समयमा नागरिकको ज्यान जाने गरेको छ। शुक्रबारदेखि आइतबारसम्म जारी रहेको वर्षा, हावाहुरीले दशौँ हजार नागरिकका घर भत्काएको तथा अन्य भौतिक संरचनामा क्षति पुगेर प्रभावित भएका छन्। 

हतारमा प्रतियोगिता

सरकारले घोषणा गरेको नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आउन अब डेढ महिना मात्र बाँकी छ। कोरोनाको बहानामा रोकिएको प्रतियोगिता आयोजना हुनु आफैमा राम्रो पक्ष हो। तर हतारमा प्रतियोगिता आयोजना गरिनुले प्रतियोगिता आयोजनामा मात्र सिमिति हुने हो की भन्नेमा कतिपयको संका छ।

मिति तोकिएपनि जिल्ला, प्रदेश हुँदै खेलाडी छनोटमा अझै रौनक आउन सकेको छैन। यस्तो अवस्थामा प्रतियोगिता आयोजना हुँदा राष्ट्रिय खेलकुदको लक्ष्य प्राप्त गर्न कठिन हुनेमा कतिपयको आशंका छ। 

राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङ अदालतको फैसला पछि कार्यभारमा फर्किएसँगै खेलकुद गतिविधि चलायमान हुने निश्चित भएको छ। नवौँ राष्ट्रिय खेलकुदको मिति युवा तथा खेलकुद मन्त्रीसँगको समन्वयमा मन्त्रिपरिषदबाट सार्वजनिक भइसक्दा खेलकुदको माहोल बन्ने देखिएको हो। मिति तोकिएपछि सदस्य सचिव टंकलाल घिसिङ खेलकुदमा होमिन आह्वान नै गरेका छन्।

प्रतियोगिता जेठ २२ देखि २८ नवौँ राष्ट्रिय खेलकुद हूँदै छ। राष्ट्रिय गौरवको प्रतियोगिता आयोजना गर्दा जिल्ला, प्रदेश हुँदै खेलाडी छनोट हुने प्रावधान छ। तर हतारका आयोजना गरिन लागिएको प्रतियोगिातमा खेलाडीको छनोट प्रक्रिया कस्तो हुने अझै नै अन्योल छ। आयोजना हुने मिति घोषणा भए पनि समय सिमा भने निकै छोटो भएको खेल सरोकारवाको टिप्पणी छ। यद्यपि पटकपटक धकेलिएको प्रतियोगिता हुने सुखद पक्ष भएको हो। आर्थिक लगानीका हिसाबले समेत महत्वकांक्षी रहेको राष्ट्रिय प्रतियोगिता हतारमा गरिँदा बास्तविक खेलाडी ओझेलमा पर्न सक्ने चिन्ता समेत खेल सरोकारवालाहरुको छ।

गौरवकै रुपमा हेरिने राष्ट्रिय प्रतियोगिता आयोजना गर्न भौतिक पूर्वाधार देखी मौसम पनि निकै महत्वपूर्ण हुन्छ। जेठ अन्तिम सातालाई तोकिएको समय वर्षायामको सुरुआत हुँदा हुनेछ। जुन आयोजनाका लागि आयोजकलाई अर्को चुनौति छ। कोरोना महामारीका कारण दुई वर्षदेखि हुन नसकेको राष्ट्रिय प्रतियोगिता सहभागि हुने खेलाडको व्यग्र प्रतीक्षा समाप्त भएको छ। तर प्रस्तावित मिति राष्ट्रिय खेलकुदका लागि कति उपयुक्त थियो भनेर खेलकुद मन्त्रालय र राखेप वस्तुगत समीक्षामा भने चुकेका छन्। जेठको अन्तिम सातादेखि नेपालमा मनसुन सुरु हुन्छ। पोखरा नेपालमै सबैभन्दा धेरै वर्षा हुने स्थान भएको कारणले पनि प्रतियोगितामा प्रत्यक्ष असर पर्न सक्नेछ। राष्ट्रिय खेलकुद गण्डकीमा भने पनि अधिकांश खेल पोखरा र आसपासमा नै हुने छन्।

मौसमका अलावा घोषित मितिमा फुटबल र क्रिकेटको अन्तर्राष्ट्रिय प्रतियोगिता पनि हुँदै छन। क्रिकेट टिमले ओमान र अमेरिकासँग अमेरिकामा त्रिकोणात्मक श्रृंखला खेल्दैछ भने फुटबल टिमले एएफसी एसियन कप छनोट तेस्रो चरणमा कुवेत, जोर्डन र इण्डोनेसियासँग कुवेतमा खल्दैछ।

प्रकाशित: Apr 18, 2022| 20:30 सोमबार, वैशाख ५, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...
भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।
गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।