शनिबार, वैशाख ६, २०८२

नेपाली फुटसलका 'मेस्सी' अर्थात् सुमित

सुमित खेलमा जति आक्रामक र छरिता छन्। गफगाफमा चाहिँ केही नरम छन्। उनी लामो प्रश्नको उत्तर पनि एक वाक्यमै टुंग्याइदिन्छन्।
 |  शनिबार, वैशाख ३, २०७९
nespernesper

विनय सापकोटा

विनय सापकोटा

शनिबार, वैशाख ३, २०७९

vianetvianet

बिश्केक (किर्गिस्थान)– राष्ट्रिय फुटसल टिमका सबै सदस्यले मेस्सी भनेर बोलाउँछन् उनलाई। साथी–सर्कलमा रहने हो भने उनको वास्तविक नाम थाहा पाउनै सकिन्न। उनलाई वास्तविक नामले सम्बोधन गर्ने सायदै कोहि होलान। त्यसैले पोखराका सुमित श्रेष्ठ नेपाली राष्ट्रिय फुटसल टिममा ‘मेस्सी’ नामले नै चर्चित छन्।

triton college

‘मेस्सी भनेर बोलाउँदा राम्रो लाग्छ। टिममा यस्तै पहिचान छ। टोलतिर पनि यहि नामले नै सबैले चिन्छन्,’ नेपाल समयसँगको कुराकानीमा सुमितले सुनाए्। उनको नाम पनि खेल हेरेर नै राखिएको हो। ‘यो नाम दाइहरुले राखिदिएको हो। लेफ्टी खेल्ने भएर मेस्सी राखेको भन्नुहुन्छ दाइहरु। सानो पनि थिएँ। अनि छिटो खेल्ने, बल धेरै खोस्ने भएकाले मेस्सी नाम राखिदिनु भएको रहेछ। अहिले आफैंलाई मनपर्छ,’ उनले भने।

स्पेनिस क्लब बार्सिलोना र अर्जेन्टिनी प्लेमेकर लियोनेल मेस्सीका फ्यान मात्र होइनन् सुमित। उनको खेल उत्तिकै रोचक र आक्रामक छ। विगत केहि वर्षयता फुटसलमा करियर खोज्दै गरेका सुमितले आफ्नो खेलका लागि कम समय खर्चिएका छैनन्। फुटसल बाहेक केही गरेका छैनन् उनले। पढाइ पनि एसईईपछि अगाढि बढाउन सकेनन्। तर अब फेरि पढ्ने विचार छ।

खेलाडी बन्छु भन्ने भावना सुमितलाई बच्चैदेखि पलाएछ। तर ठ्याक्कै कहिलेदेखि पलायो उनलाई याद छैन। तर उनलाई लाग्छ जब उनी व्यावसायिक फुटसल खेलाडी बन्नेतर्फ लागे त्यतिबेला नेपाली राष्ट्रिय टिमले अन्तर्राष्ट्रिय मञ्चमा डेब्यु गर्दै थियो। ‘११–१२ वर्ष उमेरको आसपासमा फुटसल सुरु गरेँ,’ उनी भन्छन्।

उनले फुटसल सुरु गरेको समय भनेको सन् २०१७ तिरको समय त हो। नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय फुटसल प्रतियोगिता खेलेको वर्ष। ‘पहिले फाट्टफुट्ट फुटसल खेल्ने हो नि ! पछि चाहिँ खेल्ने क्रम बढ्दै गयो। मलाई त्यसरी पहिलो पटक फुटसल खेलेको चाहिँ खासै याद छैन। तर क्लासमेटसँग एकपटक हामी चोककै फुटसल कोर्टमा गएको थिएँ। त्यो चाहिँ याद छ,’ उनले भने, ‘साथीहरु थिए, पोखराका।’

National life insurance

सुमित खेलमा जति आक्रामक, छरिता छन्। गफगाफमा चाहिँ केहि नरम छन्। उनी लामो प्रश्नहरुको उत्तर पनि एक वाक्यमै टुंग्याइदिन्छन्। तर, सहयोगी भने धेरै। टिममा कान्छो भएर पो हो कि कसैलाई केहि चाहियो नाम फुत्किहाल्छ– मेस्सी। अनि मेस्सी टिममा सबैका प्यारा पनि त छन्।

नेपालमा पनि फुटसलको टिम हुन्छ र भन्ने प्रश्न केहि वर्षअघि सम्म पनि मानिसहरुमा थियो। अनि मानिसहरु फुटसल भन्नेबित्तिकै फुटबल नै सम्झने गर्छन्। सुमितमा पनि त्यहि प्रभाव थियो।  चर्चा धेरै भएकाले फुटबलर बन्न पो उनले बल खेल्ने गर्थे। उनी एउटा कुरामा चाहिँ स्पष्ट थिए। त्यो कुरा हो खेलाडी नै बन्ने।

एकदमै खेलाडी नै हुन्छु भनेर खेल्न थालेको हो? ‘हो,’ उनी अगाडि भन्छन् ‘मेरो सुरुबाटै लक्ष्य खेलाडी बन्ने नै थियो। त्यो बाहेकको त सोच नै आएन।’ तर समयले उनलाई फुटसलको खेलाडी बनायो।

नयाँ खेलाडीका लागि फुटसलमा अन्तर्राष्ट्रिय मञ्च कत्तिको खुल्ला होला त? अनि यसले निरन्तरता पाउला कि नपाउला? धेरै प्रश्नहरु जिवितै थिए। तर सुमितले खेल्न छाडेनन्। घरमा पनि उनको जिद्दीलाई सबैले प्रोत्साहन गरेको उनलाई याद छ।


भन्छन्, ‘पढाइ कक्षा १० सम्म पुगेको छ। खेल र पढाइ सँगसँगै थियो। खेल्नमा धेरै समय दिनुपर्थ्यो। घरबाट खेल्नका लागि स्विकृति पाएको थिएँ। पढ्ने र खेल्ने बराबरी नै थियो। अहिले पढ्न पाएको छैन तर अघि पढ्ने विचारमा छु।’

उनले अहिले पढ्न छोडेका छन् तर पढ्ने विचार मरेको छैन। ‘दुई वर्षअघि एसईई दिएको हो। बिचमा ब्रेक भयो। कारण केहि थिएन। फुटसलमा अलि व्यस्त भइयो,’ उनले भने। बलसँग साइनो लाग्ने उनीसँग दुई कुरा छन् फुटसल र फुटबल।

के फरक होला त फुटसल र फुटबलमा। नेपाली मेस्सीको जवाफ छ, ‘धेरै फरक छ। फुटसल क्विक एन्ड फास्ट हुन्छ। फुटबलमा मजाले बल खेलाएर दौडाउन मिल्छ। कुल भएर खेल्न सकिन्छ।’

एनएफएलबाट राष्ट्रिय टिमसम्म...

पोखरामा फुटसलको माहोल निकै राम्रो छ। तर एनएफएल (नेपाल फुटसल लिग) हुनुअघि त्यहाँको फुटसलबारे चर्चा शून्य थियो। त्यति मात्र होइन, काठमाडौंबाहेकको ठाउँमा फुटसल खेलाडी नै हुँदैनन भन्ने चलन थियो। त्यो पोखराले नै त हो त्यो धारणा गलत सावित गरिरिदिएको।

‘हाम्रो क्लब छ नि – स्पोर्टस क्यासल। पोरखाको चर्चित क्लब। यो क्लब दुईवर्षअघि सुरु भएको हो,’ उनले भने, ‘त्यो सुरु हुने बेलामा म पनि आबद्ध भएको हो। त्यो हिसाबले म त क्लबको सुरुआतको खेलाडी नै हो।’

उनलाई स्पोर्टस कासलमा पुर्याउने किशोर दाइ हुन्। किशोर र सुमितको घर एकै टोलमा पर्छ। ‘दाइले गर्दा नै फुटसलमा लागेको हो। इश्वर दाइले नै हामीलाई सुरुमा अभ्यास गराउनु भयो। दाइ स्पोर्टस क्यासल फुटसलको साहु पनि हुन्। त्यो फुटसल सुरु भएपछि म खेल्न जान्थेँ,’ उनले भने।

त्यसपछि राजन गुरुङ, ओम गुरुङ दाइ स्पोर्टस क्यासलमा आए अनि त क्लब जमिहाल्यो। तर रमाइलोमात्रै कहाँ छ र फुटसलमा। अहिले पनि फुटसल खेलेर व्यस्त हुन पाएको छैन। पछिल्लो पटक सुमितले नेपालमा लिग खेले। त्यसपछि प्रतियोगिता भएनन्। ‘पोखरामा प्रतियोगिता हुनै मुश्किल छ। त्यसैले उनीहरुले घरेलु प्रतियोगिता खेल्न पाएका छैनन्,’ उनले भने, ‘लिग विजेता भएपछि उनीहरुको टिम नकआउट प्रतियोगिता खेल्न काठमाडौं पुगेको छैन।’

यसैबीच सुमितले लिगबाट राष्ट्रिय टिमको यात्रा आरम्भ गरेका छन्। ‘यसपटक मलाई पहिलो पटक कल आएको हो। धेरै खुसी लाग्यो। बन्द प्रशिक्षणबाट विभिन्न चरणको छनोट हुँदै पहिलो पटक राष्ट्रिय टिममा पुग्न सफल भएँ। राम्रो गर्छु भन्ने भावना छ।’

नेसनलमा कल आएपछि उनले बाबु ओम प्रसाद नेवार र आमा विष्णु देवी पुनः लगायत सबैलाई सुनाए राष्ट्रिय टिमका लागि जाँदैछु भनेर। सबै खुसी भए। सुमितले पहिलो खेल (उज्वेकिस्तानविरुद्ध) को दिन विहान आमालाई फोन गरेर र आफ्नो डेब्यु हुनसक्ने कुरा सुनाए।

सुमितलाई खेलिरहन प्रेरणा दिने आफ्नै दाइ सुदिप श्रेष्ठ पनि हुन्। सुदिप इन्जिनियर हुन्। दाइले उनलाई फुटसल र फुटबल खेल्नका लागि बुट र अन्य सामग्रि पनि किनिदिन्थे। तर अहिले र सुमित आफैं किन्न सक्ने भएका छन्। अनि उनलाई खेलमा प्रेरणा दिइरहने अर्का चाहिँ इश्वर दाइ हुन्।


जीवनमा फुटसल रहला ?
सुमितले फुटसलबाहेक अरु काम गरेका छैनन्। बाँकी समयमा पनि खेल्ने, खेल्ने समयमा पनि खेल्ने उनको बानी नै भइसक्यो। उनलाई त्यसैले थप व्यस्त हुन मन छ। यसकारण फुटबलमा लाग्न सकियो भने व्यस्त भइन्छ कि भन्ने उनको सोचाइ छ।

तर लिगपछि प्रतियोगिता खेल्न उनले पाएनन्। त्यसैले होला फुटसलमा उनले भविष्य सुरक्षित चाहिँ देखेका छैनन्। अब फुटबलमा लाग्ने सुमितको विचार छ।

उनको जस्तै विचार छ धेरै फुटसल खेलाडीहरुको। फुटसल खेल्ने समय नमिलेर फुटबलमा लाग्नु परेको अनुभव पनि धेरै खेलाडीको छ। ‘अहिले त लिग भयो, राम्रो हो। यो भइरह्यो भने त ठिकै हो। तर भएन भने चाहिँ गाह्रो छ,’ उनी भन्छन्, ‘म फुटसलभन्दा धेरै फुटबल नै खेल्छु। मैले खप्तड गोल्डकप, आहा रारा गोल्डकप खेलिसकेको छु।’

उनी अगाडि भन्छन्, ‘ती दुई प्रतियोगिताबाहेक अरु खेलेको छैन। तर एनएसएल खेल्न इच्छुक छु। भयो भने त्यो खेल्ने हो।’ कुन क्लबबाट खेल्न पाउलान् त्यो फरक हुरा हो। तर उनलाई खेल्ने इच्छा भने छ।

उनी भन्छन्, ‘फुटसलमा खेल भइरह्यो भने यो नै खेलिरहन्छु। निरन्तर चाहिँ हुनुपर्यो भन्ने हो। भएन भने फुटबलमा लाग्छु। विकासको लागि एन्फाले फुटबल जसरी नै फुटसलमा पनि ध्यान दियोस् भन्ने लाग्छ फुटसल खेलाडीलाई।’


जीवनमा एउटा धारमा लागेपछि बाँकी धेरै कुराहरु छुट्दै जान्छन्। तर सुमित थोरै भाग्यमानीमा पर्छन् कि उनले फुटसललाई जीवनको मूल बाटो बनाए पनि त्यसका कारण गुमाउनु परेको जीवनको कुनै क्षेत्र छैन। बरु उनले आफ्नो पहिचान फुटसलबाटै बनाएका छन्।

फुटसलमा लागेर मन कहिल्यै दुखेको छैन। बरु हाँसोका फोहराहरु छुटेका छन्, ओठमा मुस्कान आएको छ। उनले कहिल्यै नविर्सिने क्षण भनेको चाहिँ फुटसल लिगको उपाधि जितेको बेला हो।

०७८ सालको दशैं सबैको घरघरमा भित्रिसकेको थियो। पोखरा चाहिँ फुटसल लिगको रोमाञ्चमा थियो। फाइनलमा पुगेका थिए स्पोर्टस क्यासल र शंखमूल। सुमितको टिमले घरेलु समर्थकमाझ शंखमूललाई हराएर उपाधि जित्यो। अन्तर्राष्ट्रिय मापदण्डअनुसारको फुटसल कोर्टमा पहिलो पटक भएको घरेलु लिगमा उपाधि जितेको ऐतिहासिक पल थियो त्यो। जसमा सुमितको टिमले उपाधि जितेको थियो। र, टिमका सर्वाधिक गोलकर्ता थिए सुमित। उपाधिको श्रेय उनलाई नै धेरै जान्छ।

‘त्यतिबेला एकदमै खुसी लाग्यो नि! मेहनत अनुसारको रिजल्ट पाइयो भन्ने लागेको थियो,’ उनी भन्छन्, ‘लिगमा मैले एकदमै धेरै समय पाएको थिएँ। त्यसैले धेरै गोल गरे हुँला। आफ्नो धेरै गोलमा उपाधि जित्नुको मजा धेरै हुनेरहेछ।’
‘तिमी गोल गर्न सक्छौं, मलाई विश्वास छ। हार्नु हुँदैन’ भन्ने हिसाबले विष्णुले जोश भरिदिन्थे। उनी जोसिन्थे। खेल रोमाञ्चक बन्थ्यो। उनी बललाई जालि चुमाइदिन्थे। यसरी नै उनले लिगमा १३ गोल पुर्याए।

उनलाई अहिले सिनियर टिमका विजय श्रेष्ठ जस्तै शान्त खेलाडी हुन मन लाग्छ। विदेशी खेलाडीहरुमा चाहिँ उनलाई पोर्चुगलका रिकार्डिन्हो अनि फुटबलका चाहिँ मेस्सी।

उनलाई प्रशिक्षक गौरव बस्नेतले खेलमा धेरै जिम्मेवारी दिने गरेका छन्– विपक्षीबाट बल  खोस्ने उनको मुख्य जिम्मेवारी हो। विपक्षीलाई छक्याउने, सके आफैँ बल चार्ज गर्ने नभए पास दिने। उनलाई प्रशिक्षकले यसै भनेर मैदान पठाउने गरेका छन्।

स्कोरिङका लागि पनि प्रशिक्षकले राम्रो मोटिभेसन दिएका थिए। त्यो मोटिभेसनलाई उनले माल्दिभ्सविरुद्धको खेलमा गोलमा परिवर्तत गरिदिए। ‘पहिलो गोल गरेपछि गोल गर्ला खुसी लागेको थियो। धेरै अवसर खेर गइरहेको थियो। तर त्यो एउटा प्रयासमा गोल भएर खुसी लाग्यो। हामीले आठ गोलको सामना गरिसकेका थियौँ। एक गोल भए पनि फर्काउन सकियो,’ उनले भने। उनले त्यो गोलको सेलिब्रेसन पनि मेस्सीकै शैलीमा गरेका थिए।

तर उनले एसियाली छनोटको तेस्रो तथा अन्तिम खेलमा गोल गरे। ‘पहिले वा दोस्रो खेलमा गोल निस्किएका भए। कन्फिडेन्स नै राम्रो हुन्थ्यो होला,’ नेपाल फर्किएपछिको कुराकानीमा सुमितले भने।

प्रकाशित: Apr 16, 2022| 15:36 शनिबार, वैशाख ३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।
चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।
जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।
बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।