आइतबार, मंसिर १७, २०८०
  • गृहपृष्ठ
  • भिडियो
  • डलरको माग धान्न ९८ अर्ब ऋण र अनुदान लिइँदै, अनलाइनबाटै श्रम स्वीकृति सुरु [२०७९-१-२]

डलरको माग धान्न ९८ अर्ब ऋण र अनुदान लिइँदै, अनलाइनबाटै श्रम स्वीकृति सुरु [२०७९-१-२]

अमेरिकी डलरको सञ्चितिमा आएको चापको जोखिम कम गर्न सरकारले ९७ अर्ब ७१ करोड रुपैयाँ बराबरको वैदेशिक ऋण तथा अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ।
 |  शुक्रबार, वैशाख २, २०७९
averest bankaverest bank

नेपाल समय

नेपाल समय

शुक्रबार, वैशाख २, २०७९

काठमाडौं- शुक्रबारका प्रमुख घटनाक्रमसहित नेपाल समय समाचारका मुख्य शीर्षकहरू: 

sagarmatha cement

-विदेशी मुद्राको सञ्चितिमा चाप परेपछि झन्डै ९८ अर्ब रुपैयाँ ऋण र अनुदान स्वीकार गर्ने सरकारको निर्णय, कर्णाली जलविद्युतलाई २८० रोपनी जग्गा दिन स्वीकृति। विदेशी मुद्राको चाप

-कैलालीका २५ वर्षीया अरुण दासको हत्यामा संलग्न भएको आरोपमा चार जना पक्राउ, लागुऔषधको डोज बढी भएपछि रुखमा बाँधेर हत्या गरेको स्वीकार। अभियुक्त अझै फरार। 

-वैदेशिक रोजगार कार्यालयले संस्थागत श्रम स्वीकृतिमा सुरु गर्‍यो अनलाइन प्रणाली, साताभित्रै व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइन प्रणालीबाटै सुरु हुने जानकारी । अनलाइनबाटै श्रम स्वीकृति 

-स्थानीय चुनावलाई केन्द्रित गरेर सबै पालिकामा प्रतिनिधि पठाउने कांग्रेसको निर्णय, निर्वाचन आचारसंहिता पालनाबारे अनुगमन गर्ने विषयमा पनि छलफल। पालिकामा प्रतिनिधि

-र एएफसी एसियन कप छनोटमा जाने नेपाली फुटबल टोलीको प्रशिक्षण सुरु, आफूहरूको सपना ठूलो भएपनि चुनौतीपूर्ण रहेको मुख्य प्रशिक्षकको भनाइ। नेपालको कठिन यात्रा

डलरमा चाप परेपछि 

अमेरिकी डलरको सञ्चितिमा आएको चापको जोखिम कम गर्न सरकारले ९७ अर्ब ७१ करोड रुपैयाँ बराबरको वैदेशिक ऋण तथा अनुदान स्वीकृत गर्ने निर्णय गरेको छ। 

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न अन्तर्राष्ट्रिय संस्था र सरकारबाट ऋण लिने निर्णय गरेको हो। सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीका अनुसार गत बुधबार सरकारले विश्व बैंकको समूहबाट १५० मिलियन अमेरिकी डलर (१८ अर्ब) सहुलियत ऋण र अमेरिकी अन्तर्राष्ट्रिय सहयोग नियोग (युएसएआइडी) को ६५९ मिलियन बराबरको अमेरिकी डलर (७९ अर्ब ७१ करोड रुपैयाँ) अनुदान स्वीकार गर्ने निर्णय गरेको हो। 

यो निर्णयसँगै डलर सञ्चितिमा आएको चाप कम हुने अपेक्षा गरिएको छ। सरकारले यो रकम चाहेको शीर्षकमा प्रयोग गर्न सक्नेछ। मन्त्रिपरिषद्‍ले गरेको निर्णयसँगै अर्थ मन्त्रालयले सम्बन्धित निकायसँग सम्झौता गर्नेछ। सम्झौतापछि मात्र सो रकम सरकारको खातामा प्राप्त हुनेछ। विदेशी मुद्राको सञ्चितीमा चाप परेपछि विलासी विस्तुको आयातका लागि खोलिने प्रतीतपत्र खोल्ने काम बन्द गर्न राष्ट्र बैंकले मौखिक निर्देशन दिएको थियो। 

त्यसैगरी, मन्त्रिपरिषद्ले फुटकोर्ट कर्णाली अर्धजलशाययुक्त जलविद्युत आयोजनाको लागि कालिकोट जिल्लाको सान्नी त्रिवेणी गाउँपालिकाको करिब २ सय ८० रोपनी जग्गा प्राप्ति गर्न स्वीकृत दिने निर्णय गरेको छ। 

सशस्त्र प्रहरी बल नेपालको सशस्त्र प्रहरी महानिरिक्षक पदमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसीलाई बढुवा नियुक्ति गर्ने, राष्ट्रिय आवास कम्पनी लिमिटेडको अध्यक्ष रामआधार कापारको राजीनामा स्वीकृत गर्नेलगायत निर्णय भएको मन्त्री कार्कीले जानकारी दिए। 

लागुऔषधको डोज बढी भएपछि हत्या!

कैलालीको जानकी गाउँपालिका वडा नम्बर ९ का २५ वर्षीय अर्जुन दासको हत्यामा संलग्न चार जनालाई प्रहरीले पक्राउ गरेको छ। 

महानगरीय अपराध महाशाखाले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घटनामा संलग्न १० जनामध्ये ४ जनालाई रुपन्देही जिल्लाको बेलहिया सिमानाकाबाट बैशाख १ गते राति पक्राउ गरिएको जानकारी गराएको हो। 

पक्राउ पर्नेहरुमा सोही गाउँपालिका वडा नम्बर ९ का १९ वर्षीय सुमिद साउद, बमबहादुर बोहोरा, दिलिप दास र मनोज भण्डारी रहेका छन्। केही समय भारतको विभिन्न ठाउँमा फरार रहेका उनीहरुलाई कामको खोजी गर्ने क्रममा बेलहिया सिमानाकामा आएको खवर प्रहरीले प्राप्त गरेको थियो। 

महाशाखाले हत्या आरोपमा पक्राउ परेकाहरु लागू औषध सेवनमा संलग्न रहेको पनि जनाएको छ। घटनाका मुख्य आरोपी भनिएका मनोज भण्डारीले लागुऔषधको डोज बढ्दै गएपछि दासलाई रुखमा बाँधेर हत्या गरेको स्वीकार गरेका छन्। उनको बयान लगायत घटनासम्बन्धी विस्तृत विवरण नेपाल समय डटकममा पढ्न, हेर्न र सुन्न सकिनेछ। 

अनलाइन श्रम स्वीकृति

वैदेशिक रोजगार कार्यालय ताहाचलमा शुक्रबारदेखि संस्थागत श्रम स्वीकृति अनलाइन प्रणालीको सुरुवात भएको छ। 

सरकारले अब वैदेशिक रोजगारीमा जाने श्रमिकहरुको संस्थागत श्रम स्वीकृति(पूर्व श्रम स्वीकृति र अन्तिम श्रम स्वीकृति) अनलाइन प्रणाली लागू गरेको हो । शुक्रबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले संस्थागत श्रम स्वीकृति अनलाइन प्रणाली शुभारम्भ गरेका हुन्। 

कार्यक्रममा मन्त्री श्रेष्ठले श्रम स्वीकृति अनलाइन प्रणाली लागू गर्दा मेनपावर कम्पनीहरुले रोगजार गुमेको गुनासो गरेपनि सरकारले श्रमिकको हक हितका बाहेक अरु निर्णय नगर्ने दाबी गरे। 

त्यस्तै, वैदेशिक रोजगार कार्यालय ताहाचलका प्रमुख रमेश अर्यालकाल अनुसार श्रम स्वीकृति अनलाइन प्रणाली लागू भएसँगै सबैले घर कार्यलयबाटै सेवा लिन सक्ने छन्।  संस्थागत श्रम स्वीकृति अनलाइनमार्फत् हुँदा छिटो, छरितो र गुनासोरहित सेवा प्रवाह हुने उनको भनाई छ । 

कार्यालयले एक साताभित्र व्यक्तिगत श्रम स्वीकृति पनि अनलाइन प्रणालीबाट नै गर्ने तयारी भइरहेको जानकारी दिएको छ। 

सबै पालिकामा प्रतिनिधि खटाउँदै कांग्रेस

नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनलाई केन्द्रीत गरेर सबै पालिकाहरुमा प्रतिनिधि पठाउने भएको छ।

शुक्रबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बैठकले सबै पालिकाहरुमा प्रतिनिधि पठाउनका लागि निर्देशन दिने निर्णय गरेको नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले जानकारी दिए। सहमहामन्त्रीहरुलाई प्रदेश तहमा र प्रदेश र केन्द्रीय प्रतिनिधिहरुलाई जिल्लामा पठाइने पनि उनले बताए। 

पार्टीका उपसभापति तथा स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिका संयोजक पूर्णबहादुर खड्काको अध्यक्षतामा बसेको समितिको बैठकमा चुनावी सभालाई व्यवस्थित बनाउने, आचारसंहिता पालना भए/नभएको अनुगमन गर्ने सम्बन्धमा पनि छलफल भएको उनले बताए।

एमालेले बहुमत प्राप्त गर्छ : ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावमा एमालेले बहुमत प्राप्त गर्ने र ५ वर्षसम्म सरकार चलाउने दाबी गरेका छन्। 

शुक्रबार लमजुङको घलेगाउँ पुगेका ओलीले त्यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै एमालेप्रति जनताको आकर्षण बढेकाले आगामी निर्वाचनमा एमाले पहिलो पार्टी बन्ने दाबी गरे। घलेगाउँलाई ‘सुखी गाउँ’ घोषणा गर्न त्यहाँ पुगेका ओलीले सुखी नेपाली समृद्ध नेपालको परिकल्पना कार्यान्वयन घलेगाउँबाट सुरु भएको पनि बताए। 

यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा के गर्नुपर्छ भनेर जनता जानकार रहेको उनको भनाइ छ। ओलीले घलेगाउँलाई स्मार्ट भिलेज बनाउनका लागि आवश्यक पर्ने सहयोग गर्ने प्रतिबद्धता पनि जनाए। 

परिवर्तनविरोधीका विरुद्ध जनता एकजुट : प्रचण्ड

नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक परिवर्तन उल्ट्याउन खोज्नेहरुका विरुद्धमा सम्पूर्ण जनता एकजुट हुने प्रक्रिया अघि बढेको बताएका छन्। 

शुक्रबार विभिन्न पार्टी परित्याग गरी माओवादी केन्द्रमा प्रवेश गर्नेहरुलाई पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रमका बिच स्वागत गर्दै अध्यक्ष दाहालले राजनीतिक परिवर्तनलाई उल्ट्याउन खोज्नेहरुका विरुद्धमा देशभरका सम्पूर्ण जनता एकजुट हुने प्रक्रिया अघि बढेको बताएका हुन्। गत वर्ष गणतन्त्र नै उल्ट्याउने षड्यन्त्र भएको भन्दै उहाँले माओवादीले लडेर स्थापित गरेको अधिकार र पहिचानलाई उल्ट्याउन नदिने बताए। 

उनले देशलाई सामाजिक न्यायसहितको समतामूलक बनाउने अभियान माओवादीको रहेको पनि बताए। 

मिथिलामा जुडशील

मिथिला क्षेत्रमा प्रकृति पूजाको रुपमा मनाइने जुडशिल पर्व शुक्रबार हर्षोल्लासका साथ मनाइएको छ। 

पर्वको अवसरमा बिहानै घर र बस्तीका मान्यजन (जेष्ठ नागरिक) ले आफूभन्दा कान्छोलाई शिरमा जलसिँचन गरी आशिर्वाद दिने चलन छ। आ–आफनो घर आँगनमा रहेको पोखरी र इनारहरुको सफाईको साथै हिलो खेलेर मनोरञ्जन गर्ने गर्दछन्। सूर्यको तापबाट ब्याकुल मानव जीवनलाई शीतलता प्रदान गर्ने विश्वासका साथ यो पर्व मनाइन्छ। 

जुडशीतलको दिन कृषिमा आधारित तथा गाउँघरमा उत्पादित अन्न, फलफूल तरकारी र दूधदहीको परिकार खाने चलन छ । 

रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै पनि आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ। 

प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान

संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि सिफारिस भएका २० जना राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ। 

सरकारले नियुक्तिका लागि सिफारिस गरेपछि समितले छानबिन गर्नका लागि उजुरी दिन आह्वान गरेको हो। 

१० दिनको समय दिएर सरकारले सिफारिस गरेर पठाएको २० जना राजदुतहरुमाथि उजुरी आह्वान गर्ने निर्णय बैठकले गरेको समितिका सभापति लक्ष्मण लाल कर्णले जानकारी दिए। 

उजुरी दिने व्यक्तिले आफ्नो विवरण खुलाउन नचाहेमा गोप्य राख्नसमेत सकिने उल्लेख गरिएको छ। यसका साथै देशैभरका प्रमुख जिल्ला अधिकारीलाई उजुरी माग गरिएको सम्बन्धी सूचना टाँस गर्नसमेत आग्रह गरेको छ। 

चैत्र २४ गते बिहीबार बसेको मन्त्रिपरिषद बैठकले विष्णुपुकार श्रेष्ठलाई चीन, दानबहादुर तामाङलाई दक्षिण अफ्रिका, शर्मिला पराजुली ढकाललाई स्पेन, बासुदेव मिश्रलाई श्रीलंका, मिलन तुलाधरलाई रुस, कैलाश पोखरेललाई अष्ट्रेलियाका लागि राजदुतमा सिफारिस गर्ने निर्णय गरेको थियो। 

त्यसैगरी डिल्लीराज पौडेललाई मलेशिया, शान्ता रिजाललाई इजरायल, ज्योति प्याकुरेललाई दक्षिण कोरिया, रामसुरज राय यादवलाई डेनमार्क र नवराज सुवेदीलाई साउदी अरव राजदुत सिफारिस गरिएको थियो। घनश्याम भण्डारी, हरिशचन्द्र घिमिरे, डोरनाथ अर्याल, सुशीलकुमार लम्साल, भरतकुमार रेग्मी, निर्मलराज काफ्ले, दुर्गाबहादुर सुवेदी र तीर्थराज वाग्लेको नाम पनि राजदूतका लागि सिफारिस गरिएको थियो।

नेपालको लक्ष्य प्राप्त गर्न चुनौतीपूर्ण : अल्मुताइरी

एएफसी एसियन कप छनोटका लागि नेपाली राष्ट्रिय फुटबल टिम शुक्रबारबाट प्रशिक्षण सुरु गरेको छ। अभ्यास थालनी भए पनि मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले लक्ष्य पूरा गर्न चुनौतीपूर्ण भएको बताएका छन्। 

पहिलो दिनको अभ्यास पछि पत्रकार सम्मेलनमा उत्रिएका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले यस्तो बताएका हुन्। पहिलो दिनको प्रशिक्षणमा डाकिएका २५ खेलाडी मध्ये २३ खेलाडी अभ्यासमा उपस्थित हुँदा कप्तान किरण चेम्जोङ विदेशमा र देबेन्द्र तामाङ पारिवारिक कारणले उपस्थित भएनन्। 

पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक अल्मुताईरीले सपना ठूलो देखेपनि वास्तविकतामा भन्दा नेपाली फुटबलको स्तर धेरै तल रहेको भन्दै यही प्रयासले छनोट हुन नसक्ने बताए। तर प्रशिक्षक अल्मुताईरीले छनोटमा राम्रो गर्ने प्रयास गर्ने बताए।

नेपाली फुटबल टोली आफूले सम्हाल्दा र अहिलेको अवस्थामा धेरै परिवर्तन भएको बताउँदै मुख्य प्रशिक्षक अबदुल्ला अलमुताइरीले दुई महिना पछि कुवेतमा हुने एएफसी एसियन कप छनोटका लागि योग्य नभएको बताएका हुन्।

नेपाली टोलीले दशरथ रंगशालामा जुन ८ देखि १४ सम्म कुवेतमा हुने प्रतियोगिताका लागि तयारी थालेको हो। छनोट प्रतिोगिताका लागि समूह ए मा रहेको नेपालसँगै आयोजक कुवेत, इन्डोनेशिया र जोर्डन रहेका छन्। 

एएफसीले एसियाली २४ टोलीलाई ६ समूहमा विभाजन गरेको छ। जस अन्तर्गत हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ का लागि योग्य हुनेछन्। जस अन्तर्गत नेपालले जुन ८ मा जोर्डनसँग खेल्दै छनोटको सुरुआत गर्नेछ भने दोस्रो खेल नेपालले जुन ११ मा कुवेतसँग खेल्नेछ। यस्तै अन्तिम खेल जुन १४ मा इन्डोनेसियाविरुद्ध खेल्नेछ।

प्रकाशित: Apr 15, 2022| 19:50 शुक्रबार, वैशाख २, २०७९
nepali patronepali patro
प्रतिक्रिया दिनुहोस्

थप समाचार

यसरी तयार हुन्छ रोटे पिङ [भिडियो]

यसरी तयार हुन्छ रोटे पिङ [भिडियो]

रोटे पिङःले गाउँमा रौनक ल्याएको छ।
स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...