काठमाडौं– नेकपा माओवादी केन्द्रका दोस्रो तहका नेताहरुमध्ये सबैभन्दा बढी प्रतिस्पर्धी कोही छन् भने ती हुन् वर्षमान पुन र जनार्दन शर्मा। यी दुई नेताको राजनीतिक विगत खोतल्ने हो र वर्तमानलाई विश्लेषण गर्ने हो भने उनीहरुबीचको प्रतिस्पर्धा पेचिलो बन्दै गइरहेको देखिन्छ। शक्ति आर्जनको प्रतिस्पर्धा गरिरहेका दुई नेता पार्टी राजनीतिमा पनि उत्ति नै प्रतिपर्धी हुन्।
सोही कारण पुन र शर्माबीचको टकराव बेलाबखत सतहमा समेत देखिने गरेको छ। पछिल्लो पटक अर्थमन्त्री शर्मा र पूर्वअर्थमन्त्री पुनको टकराव राष्ट्र बैंकका गभर्नर निलम्बन प्रकरणमा बाहिर आएको छ। सरकारले गत बिहीबार गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको थियो। तालुकदार मन्त्रालयका मन्त्रीका हैसियतमा यस प्रकरणमा शर्मा आलोचनाको शिकार भइरहेका छन्। र, शर्माको आलोचक मध्येका एक हुन् वर्षमान पुन।
गभर्नर निलम्बन भएपछि सञ्चारमाध्यमहरुलाई प्रतिक्रिया दिँदै पुनले शर्माको आलोचना गरेका छन्। ‘गभर्नर निलम्बन प्रकरणको भित्री कुरा त मलाई थाहा छैन। तर, यस्तो बेला गभर्नर हटाउने जस्तो विषय संवेदनशील नै हो। यसमा सरकारले गम्भीरतापूर्वक सोचेकै होला। यद्यपि, यो निर्णय त्यति समय सान्दर्भिक देखिएको छैन,’ अर्थमन्त्री शर्मा र गभर्नर निलम्बनबारे टिप्पणी गर्दै पुनले कान्तिपुरसँग भनेका छन्, ‘भित्र गभर्नरले के–के गरे मलाई थाहा छैन, त्यो सरकारले जाँचबुझ गर्ला। तर, बाहिर यो राम्रो देखिएको छैन। समय सन्दर्भ पनि मिलेको छैन। हामी अहिले नै आर्थिक संकटको बाटोमा छौं भनिरहेका बेला राष्ट्र बैंक नेतृत्वविहीन हुँदा थप समस्या पर्छ। यसबारे पनि प्रधानमन्त्री र अर्थमन्त्रीले सोच्नु भएकै होला।’
तर, पुनको टिप्पणीबारे शर्मा चुप भने बसेनन्। बरु गठबन्धन मन नपरेर पुनले आलोचना गरेको बताइदिए। ‘गभर्नर प्रकरण मेरो व्यक्तिगत कुरा होइन, पार्टीको कुरा हो। हाम्रो पार्टी र अध्यक्षले लिएको नीति गठबन्धन बलियो बनाएर जाने, सहकार्य गरेर अघि बढ्ने हो,’ शर्माले प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ता दिँदै भनेका थिए, ‘त्यही पार्टी नीति अनुसार अघि बढ्दा उहाँ (पुन)लाई त्यो कुरा मन परेन। र यता तिर छिरेर (गभर्नर प्रकरण) गठबन्धनको विरोध गर्ने ठाउँ खोज्नुभएको मात्र हो।’
गभर्नर प्रकरणमा दुई नेताले एकअर्काका विरुद्धमा दिएको यो अभिव्यक्तिले उनीहरुको प्रतिस्पर्धा र टकरावको दृश्य क्लियर गरिदिएको छ। माओवादीले आठौं महाधिवेशन सम्पन्न गरेको तीन महिना पूरा भएको छ। तर, पार्टी पदाधिकारीविहीन छ। यसको मुख्य कारण पुन र शर्माबीचको टकराव नै भएको स्वयं माओवादी केन्द्रका नेताहरुले बताउने गरेका छन्। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुन र शर्माका कारण पदाधिकारी चयन गर्न सकेका छैनन्। दुवै नेताले महासचिव दाबी गरेपछि प्रचण्ड अप्ठ्यारोमा परेका हुन्।
शर्माले पछिल्लो पटक दिएको अन्तर्वार्तामा पुनलाई तिखो प्रहार गरेका छन्। पुनलाई पार्टीको महासचिव बन्न तपाईंले किन रोकेको? भन्ने प्रश्नमा शर्माले भनेका छन्, ‘मैले किन रोक्नु? उहाँलाई मैले हुनुस् पनि भन्या हुँ। हुनुपर्यो नि त, पार्टीको निर्णय मैले रोकेर हुन्छ र?’
त्यसो त शर्माले पार्टीभित्रको माहोल आफ्नो पक्षमा बनाउन आफूखुशी अभिव्यक्ति दिँदै हिँडेको आरोप पुनलाई लगाएका छन्। १० वर्षे लामो सशस्त्र युद्धदेखिका सहयोद्धा शर्मा र पुनबीचको सम्बन्धमा आखिर कहाँ, कहिले र कसरी फाटो आयो त? यसबारे जान्न उनीहरुको राजनीतिक विगतलाई कोट्याउनुपर्छ।
पुन र शर्माको राजनीति यात्रा
पुनको गृहजिल्ला रोल्पा र शर्माको गृह जिल्ला रुकुम छिमेकी जिल्ला हुन्। दुई जिल्लाको भूगोल मात्र जोडिएको छैन, यहाँको राजनीतिक संस्कार पनि प्रत्यक्ष–परोक्ष रुपमा जोडिएको पनि छ।
रुकुममा नेपाल कम्युनिष्ट पार्टी संस्थागत गर्न शर्माका बुबा स्कन्द शर्माले महत्वपूर्ण भूमिका खेलेका थिए। बाल्यकालदेखि नै राजनीतिक संस्कारमा हुर्किएका शर्मालाई राजनीतिक यात्रा सुरु गर्न केही हदसम्म सहज थियो। तर, पुनको जन्म भने राजनीतिक परिवारमा भएको होइन। सामान्य परिवारमै जन्मेका पुनले राजनीतिक संस्कार र बाटो आफैं बनाए।
उमेरलाई आधार मान्ने हो भने शर्मा पुनभन्दा करिब ९ वर्षले जेठा हुन्। तर उनीहरुको राजनीतिक यात्रा भने सँगसँगै सुरु भएको थियो। शर्माले आफ्नो राजनीतिक यात्रा २०३४ सालदेखि सुरु गरे। पुनले पञ्चायती शासनकालमा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियनबाट वाम राजनीतिको यात्रा सुरु गरेका थिए।
०५२ साल फागुन १ गते रोल्पाको होलेरी चौकी आक्रमण गरेर माओवादीले सशस्त्र संघर्षको औपचारिक घोषणा गर्दा पुनको राजनीतिक यात्रा निकै अघि बढिसकेको थियो। त्यति मात्र होइन, उपत्यका (काठमाडौं, भक्तपुर र ललितपुर)मा आन्दोलन परिचालन गर्ने मुख्य नेता पनि थिए, पुन।
शर्माले भने १० वर्षे सशस्त्र संघर्षको बेला अधिकांश समय सेती महाकालीतिरै बिताए। त्यसो त शर्मा ०४८ सालमा तत्कालिन जनमोर्चा नेपालको तर्फबाट सांसदसमेत उठिसकेका थिए। तर, सशस्त्र संघर्ष बेला उनले प्लाटुन, बटालियन कमिसार हँुदै डिभिजन कमाण्डर र डेपुटी कमाण्डर बनेर महत्वपूर्ण भूमिका खेले।
बेला–बेलामा शर्मा र पुनको शैक्षिक योग्यताको विषय पनि चर्चामा आइरहन्छ। शर्मा शिक्षा शास्त्रमा स्नातक उत्तीर्ण हुन् भने पुन कानुनमा। भूमिगत रुपमा माओवादी सेना र संगठनलाई बलियो पार्न पुन र शर्माले नेतृत्व गरे। ०६३ साल मंसिर ५ गते विस्तृत शान्ति सम्झौतापछि माओवादी खुला राजनीतिमा आयो। ०६४ सालको पहिलो संविधानसभाको चुनावमा शर्मा रुकुम क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए। २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट चुनिए।
त्यतिबेला शर्माले मतदान गर्ने मतदान केन्द्र आफ्नो निर्वाचन क्षेत्रमा नपर्ने भएको भन्दै अर्कैलाई मतदानसमेत गरेका थिए। पुन भने पहिलो संविधानसभाको चुनावमा प्रत्यक्षतर्फ ललितपुरको क्षेत्र नम्बर १ बाट विजयी भएका थिए। दोस्रो संविधानसभाको चुनावमा भने उनले मोरङको क्षेत्र ९ मा कांग्रेसका उम्मेदवार डिगबहादुर लिम्बूलाई पराजित गरेरका थिए। त्यस्तै, ०७४ को संविधानसभाको चुनावमा उनी रोल्पाबाट विजयी बने।
शक्ति आर्जनको होडबाजी
पुन र शर्माबीचको एउटा समान विषेशता भनेको उनीहरुले पाएको अवसर हो। दुवै जना अर्थमन्त्री र ऊर्जामन्त्री बनिसकेका छन्। ०६७ सालमा तत्कालिन प्रधानमन्त्री झलनाथ खनाल नेतृत्वको मन्त्रिपरिषद्मा पुन शान्ति तथा पुनर्निर्माणमन्त्री बनेका थिए। तर उनले त्यतिबेला ४ महिनाभन्दा बढी काम गर्न पाएनन्।
२०६८ सालमा फेरि पुन अर्थमन्त्री बनेर दोस्रो पटक सरकारमा गएका थिए। त्यो बेला माओवादीकै नेता बाबुराम भट्टराई प्रधानमन्त्री थिए। पुन एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री बनेका थिए।
शर्मा पनि पटक–पटक मन्त्री बनिसकेका छन्। २०७३ मा आफ्नै पार्टी अध्यक्ष प्रचण्ड नेतृत्वको सरकारमा शर्मा ऊर्जामन्त्री बनेका थिए। कांग्रेस सभापति शेरबहादुर नेतृत्वको सरकारमा भने शर्मा दुई पटक मन्त्री बनेका छन्। ०७४ सालमा गृहमन्त्री बनेका शर्मा अहिले अर्थमन्त्री छन्।
अर्थमन्त्रीमा को सफल?
दुवै नेताले अर्थ मन्त्रालयको बागडोर सम्हालेका छन्। तर, अर्थमन्त्रीमा शर्माभन्दा पुन नै सफल अर्थमन्त्री रहेको अर्थविद्हरु बताउँछन्। पुन कानुनको विद्यार्थी भएको कारणले पनि शर्माभन्दा उनी थोरबहुत सफल अर्थमन्त्री रहेको अर्थविद् प्रा.डा. विश्वम्भर प्याकु¥याल बताउँछन्। शर्माले जस्तो विना आधार पुनले गर्नै नसकिने कुरा गर्दै नहिँडेको उनको तर्क छ। उनले भने, ‘शर्मा प्रचार–प्रसार र चर्चामा रमाउने नेता हुन्। तर, पुन त्यस्तो महत्वाकांक्षी देखिँदैनन्। उनी परिपक्व नेता हुन्। शर्माले झैं सस्तो तर्क गरेर कहिल्यै हिँडेनन्।’
स्वदेशी तथा विदेशी लगानीकर्ताले गरेको लगानी राष्ट्रीयकरण नगर्न पुनले अघि सारेको प्रस्ताव कार्यान्वयनमा ल्याउनुपर्ने पनि प्याकु¥यालको तर्क छ। उनले थपे, ‘पुनले स्वदेशी तथा विदेशी लगानीकर्ताले गरेको लगानी राष्ट्रीयकरण नगर्ने भने। तर, बाबुरामको सरकार ढल्नासाथ काम पूरा गर्न नपाउँदै उनी पनि बाहिरिए। उनले अगाडि बढाएका प्राथमिकता प्राप्त क्षेत्रहरु कार्यान्वयनमा ल्याउनुपर्छ।’
त्यसो त लोडसेडिङ अन्त्यको लागि प्राधिकरणमा कुलमान घिसिङलाई अघि सारेर शर्माले पनि राम्रै चर्चा र प्रशंसा बटुले। तर त्यसको पूर्ववत् वातावरण भने पुनले नै तयार पारिदिएको अर्थविद्हरुको टिप्पणी छ।
...त्यसपछि सुरु भयो टकराव
पछिल्लो समय पुन र शर्माले जसरी एकअर्कालाई कटाक्ष गर्छन्, त्यस्तो अवस्था पहिले थिएन। खासगरी ०६३ को शान्ति सम्झौतापछि दुई नेतामा मनमुटाव र टकराव सुरु भएको माओवादी नेताहरु नै बताउँछन्। भूमिगतबाट खुला राजनीतिमा आएपछि पार्टीभित्रै पनि शर्मा र पुनले राख्ने विभिन्न अडानहरुका कारण पार्टी अध्यक्ष प्रचण्डलाई नै धेरै पटक महत्वपूर्ण निर्णय गर्न सकस परेको माओवादी नेता झक्कुप्रसाद सुवेदी बताउँछन्।
पार्टीमा प्रचण्डपछिको नेतृत्व आफ्नो हातमा पार्न दुवै जनाले अभ्यास गरिरहेको नेता सुवेदीको तर्क छ। उनले भने, ‘पहिले उहाँहरु राम्रो साथी र सहयोद्धा हुनुहुन्थ्यो। अहिले पनि हुनुहुन्छ। तर, पहिलेभन्दा अहिले अलिकति वैचारिक भिन्नता देखिन थालेको छ। व्यक्तिगत सम्बन्ध त राम्रै छ।’
प्रचण्डले शर्माभन्दा अघि पुनलाई उर्जामन्त्री बनाएर सरकारमा सहभागी हुने अवसर दिएका थिए साल०६७ मा। त्यतिबेला पुनभन्दा अघि शर्मा सरकारमा सहभागी हुन चाहन्थे। तर पार्टी अध्यक्षको रोजाइमा पुन परेपछि शर्मामा ‘इगो’ सुरु भएको थियो। दोस्रो पटक पनि प्रचण्डले पुनलाई अर्थमन्त्री बनाएर सरकारमा पठाए। त्यसपछि झन् पुनप्रति शर्माको इगो बढ्दै गएको थियो। शर्माले ०७३ मा मात्रै उर्जामन्त्री बनेर सरकारमा सहभागी हुने अवसर पाएका थिए। जबकि, सोही अवसर नेता पुनले ५ वर्षअघि पाइसकेका थिए। पछिल्लो समय शर्माले प्रचण्डपछिको नेतृत्व आफ्नो हात पार्न र पार्टीभित्र आफ्नो पक्षमा राम्रो माहोल बनाउन गुट चलाउँदै आएको पुनको आरोप छ।
गत भदौमा पनि नेता शर्माले ठमेलस्थित बुद्ध होटलमा सातै प्रदेशमा रहेका आफ्ना पक्षका पत्रकारहरु बोलाएर गोप्य भेला गरेका थिए। शर्माले सातै प्रदेशका करिब ४० जना पत्रकारलाई प्लेन खर्च दिएर बुद्ध होटलमा बोलाएको र देशैभर आफ्नो पक्षमा माहोल बनाइदिन खर्च समेत दिएको एक माओवादी नेता दाबी गर्छन्। उक्त भेलालाई सकभर गोप्य राख्ने प्रयास गरिए पनि माओवादी निकट प्रेस सेन्टरकै एक पदाधिकारीले यसको खण्डन गर्दै सूचना बाहिर ल्याएका थिए।