काठमाडौं- जब-जब चुनाव आउँछ, तब चर्चामा आउने गर्छ- रोल्पाको थवाङ।
थवाङ त्यस्तो भूगोल हो, जसले आफ्नो परिचय बनाएको छ- विद्रोही गाउँ। यसअघिका चुनावमा शून्य मत दिएकै कारण थवाङलाई सदाबहादर विद्रोही गाउँकारुपमा लिने गरिन्छ। कहिले चुनाव बहिष्कार गर्ने त कहिले शून्य मत दिने थवाङले आगामी वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा के गर्ला? चासो बढेको छ।
निर्वाचनको मिति नजिकिएसँगै थवाङ गाउँपालिकाको नेतृत्व हत्याउन नयाँ अनुहारहरूले आकांक्षा देखाएका छन्। माओवादी केन्द्रबाट ऋषिकेश बुढा ‘सविन’, विनप्रसाद पुन ‘तार्जन’ र मौसम रोकाले आकांक्षा देखाएका छन्। थवाङमा विप्लव नेतृत्वको नेकपा कांग्रेस, एमाले, जनमोर्चा र राप्रपा पनि सक्रिय छन्। तर, ती दलबाट उम्मेदवार को हुन्छन्? टुंगो लागिसकेको अवस्था भने छैन। यसकारण यो पटकको चुनाव थप रोचक र प्रतिस्पर्धात्मक हुने देखिएको छ।
दलहरु चुनावका लागि तयार भइरहँदा थवाङको मुख्य ठूलो गाउँका जनता भने निर्वाचनमा सहभागी नहुने सम्भावना धेरै देखिन्छ। किनकी उनीहरु चुनावप्रति सकारात्मक छैनन्।
नेताहरुले दिएको आश्वासन केवल आश्वासनमै सीमित रहेकोले यसपटक पनि चुनाव बहिष्कारको नीति लिने सम्भावना धेरै रहेको थवाङका अमित मगर बताउँछन्। तर, स्वतन्त्रबाट कोही राम्रो उम्मेद्वार उठे मत दिएर सहयोग गर्ने सकिने उनको भनाइ छ।
अमितले भने, ‘खासमा हामी त संसदीय व्यवस्था अन्त्य गर्नुपर्छ भनेर लागिरहेका मानिस हौं। हामी चुनावमा सहभागी हुँदैनौं, तर कोही राम्रो उम्मेद्वार उठेमा उसलाई सहयोग गर्न सकिन्छ।’
कुनै बेला सत्तामा पुग्न थवाङलाई स्वीट्जरल्याण्ड बनाउने सपना बाँडेका प्रचण्डले अहिले पुरानो धरातल बिर्सिएको गुनासो थवाङबासी अमितकोे छ।
पाँच वटा वडा रहेको थवाङ गाँउपालिकामा माओवादी केन्द्रका विरबहादुर घर्ती ‘वियोग’ अध्यक्ष छन्। २०७४ को निर्वाचनमा उनले करिब १९ सय मत ल्याएर अध्यक्ष जितेका थिए।
आगामी निर्वाचनमा भने उनी दोहोरिन चाहँदैनन्। तर, पार्टीले फेरि नेतृत्वको लागि प्रस्ताव गरेमा आफूले ‘नो’ भन्ने अवस्था नरहेको उनी सुनाउँछन्। ‘अब नयाँ साथीहरुले नेतृत्व गर्नेछन्, मेरो इच्छा पनि त्यही हो। तर, पार्टीले फेरि मलाई नै जिम्मेवारीसहित प्रस्ताव राख्यो भने म ‘नो’ भन्न सक्दिनँ,’ उनी भन्छन्।
थवाङमा चुनावी अभ्यास
थवाङमा कम्युनिस्ट पार्टीको विजारोपण गर्ने नेता हुन्, स्वर्गीवर्मन बुढा। उनले २०१२ सालमा पहिलो पटक कम्युनिष्ट पार्टीको बिजारोपण गरेका थिए। त्यसयता थवाङले आफ्नो छुट्टै पहिचान बनाइसकेको छ। अब थवाङ कस्तो पहिचान चाहन्छ? यसको जवाफ आगामी स्थानीय तहको निर्वाचनले दिनेछ। जस्तोसुकै राजनीतिक अवस्थामा पनि एकताबद्ध हुने थवाङीबासीको पुरानो संस्कार हो।
२०१५ सालको चुनावमा थवाङीहरुले सबै भोट नेपाल कम्युनिस्ट पार्टीका खगुलाल गुरुङलाई दिएका थिए। २०३६ सालमा शतप्रतिशत मत बहुदललाई खसालेका थवाङीहरुले ०३८ सालमा भने रित्तो मतपेटिका फिर्ता गरेका थिए।
२०४८ सालको आम निर्वाचनमा थवाङीवासीले सबै मत जनमोर्चाका तत्कालीन नेता कृष्णबहादुर महरालाई दिए। २०५१ मा थवाङमा जम्मा ४ मत मात्रै खसेको थियो भने २०५४ सालको स्थानीय चुनावमा मतदान नै हुन सकेन। सोही कारण सदरमुकाम लिवाङबाटै अध्यक्ष र उपाध्यक्ष घोषणा गरिएको थियो।
०५६ सालको चुनावमा झन् थवाङमा रोचक घटना भयो। चुनाव गराउन हेलिकप्टरमार्फत थवाङ पुगेका २ जना कर्मचारीले आफैं दुई मत दिएका थिए। स्थानीयको मत भने शून्य।
०६४ सालको पहिलो संविधानसभाको चुनावमा थवावासीले सबै भोट प्रचण्डलाई दिएका थिए। ०७० सालको दोस्रो संविधानसभाको चुनाव थवाङवासीले बहिष्कार गरिदिए। ०७४ सालको चुनावमा भने थवाङवासीले स्वतन्त्र उम्मेद्वारलाई मत दिएका थिए।
थवाङको मुख्य ठूलोगाउँ वडा १ र २ मा पर्छ। वडा नम्बर १ मा स्वतन्त्र उम्मेदवार फर्कबहादुर बुढा अध्यक्षमा निर्वाचित भएका थिए। उनको ०७६ असारमा निधन भयो। त्यसपछि भएको उपनिर्वाचनमा स्वतन्त्र उम्मेदवार जनकबहादुर बुढा निर्वाचित भएका थिए। वडा नम्बर २ मा भने नेकपा माओवादीका उम्मेदवार वसन्त रोका निर्वाचित भएका थिए। ०७४ सालमै भएको प्रदेश र प्रतिनिधिसभाको निर्वाचन भने थवाङवासीले बहिस्कार गरेका थिए।
माओवादीसँगको असन्तुष्टि
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले थवाङबाटै पहिलो पटक सत्तासम्मको ‘रियल फेस स्र्टाट’ गरेका थिए। २०६४ सालको पहिलो संविधानसभाको चुनावमा थवाङवासीले सबै भोट प्रचण्डलाई दिएका थिए। रोल्पा–२ र काठमाडौं १० बाट चुनाव लडेका प्रचण्डले रोल्पा छाडिदिए। र उपनिर्वाचन भयो। त्यसयता थवाङ माओवादीसँग पनि रिसाएका छन्। थवाङको विद्रोही चेतलाई नेतृत्व सन्तोष बुढाले गरिरहेका छन्।
वर्ग सघंर्ष र मुक्तीको लागी भन्दै यहाँका सयौं मानिसले बलिदान दिए, तर खै त हामीलाई देखाइएको सपनाको आकार?
कुनै बेला सत्तामा पुग्न थवाङलाई स्वीट्जरल्याण्ड बनाउने सपना बाँडेका प्रचण्डले अहिले पुरानो धरातल बिर्सिएको गुनासो थवाङवासी अमितकोे छ।
चुनावको समयमा मात्र थवाङतिर आँखा तेर्साउने नेता र राजधानीसँग आफूहरु आजित भइसकेको अमित बताउँछन्।
उनी प्रश्न गर्छन्, ‘वर्ग सघंर्ष र मुक्तीको लागी भन्दै यहाँका सयौं मानिसले बलिदान दिए, तर खै त हामीलाई देखाइएको सपनाको आकार?’
थवाङवासीलाई भर्याङ बनाएर बारम्बार सत्तामा पुगेपनि राजनीतिक चेपुवामा आफूहरुलाई पारिएकोमा अमित असन्तुष्ट छन्।
‘आफ्ना छोरा–छोरी, दाई–भाई, श्रीमान–श्रीमती र सन्तान नभनी जनताले गोला बारुद खेलाए’, उनले भने, ‘अझै प्रत्येक घरमा खानेपानी आउछ, नजिकै स्वास्थ्य चौकी हुन्छ, नजिकै विद्यालय हुन्छ, सबैले रोजगार पाउँछन्, कोही कहिल्यै भोकले अकालमै मर्नु पर्दैन भन्ने कुरा गर्थे, खै कहाँ गयो त्यो प्रतिबद्धता र आश्वासन ?’
प्रचण्डसँग रुष्ट बनेका थवाङबासीले एक समय मोहन बैद्य ‘किरण’लाई समेत पछ्याए। तर, वैद्यसँगको आस्था समेत थवाङले टुटाइसकेको छ। र अहिले थबाङले नेत्र विक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई पछ्याइरहेको छ।
उसो त नेपाल कम्युनिष्ट पार्टीले पनि आफ्नो पछिल्लो महाधिवेशनको उद्घाटन सत्र काठमाडौंमा गरेर बन्दसत्र भने थवाङमै सम्पन्न गरेको थियो।
थवाङसँग जोडिएको रोल्पाको तीतो यथार्थ
१० वर्षे शसस्त्र युद्धताका बेला थवाङसहित रोल्पाका १ हजार २७ जनाले ज्यान गुमाए । १ सय ६ जना अझै वेपत्ता छन् । ७ सय ७४ जना घाइते अपाङ्ग छन्। २ सय ५० जना अझै उपचारकै क्रममा छन्। २ सय ४१ जना वालवालिका टुहुरा बने । १ हजार ९ सय ८४ जना अपहरणमा परे त ५ हजार ३ सय ३८ जनाको सम्पत्ति लुटियो।
४ सय २१ परिवारको भौतिक संरचना ध्वस्त भए भने २ सय ८७ हिरासतमा बसे । दुवै पक्षको यातनाबाट ४ हजार ७१ जना विस्थापित भएका थिए।
शान्ति प्रक्रियापछि माओवादीले बारम्बार सरकारको नेतृत्व गरिसकेको छ। तर, द्वन्द्वपीडितको घाउमा मलम लगाउने कुनै पहल नगरेको थवाङीहरुको गुनासो छ।
स्थानीय शान्ति समितिको तथ्यांकलाई आधार मान्ने हो भने १५ हजार ४ सय २६ जना पीडितले राहतका लागि निवेदन दिएका थिए। तर राज्यले मृतक, वेपत्ता र केहीलाई थोरै रकम दिएर पन्छाएको थियो। जसका कारण रोल्पाका द्वन्द पिडित असन्तुष्ट छन्।
थबाङको जीवन्तताका आधार
थबाङका केही अनौठा विषेशताहरु छन्, जसले थबाङलाई थबाङ नै बनाइरहेको छ। थबाङको एउटा विषेशता के हो भने गाउँमा कच्ची मोटरबाटो पुगेपनि भित्री गाउँमा भने चार पाङ्ग्रे सवारी साधन चलाउन पाइँदैन। त्यो थवाङबासीहरुले बनाएको नियम हो। यसरी भित्री गाउँमा सवारी साधन चल्न नदिनुको मुख्य कारण हो–थबाङको पहिचानलाई जिवन्त राखेका ढुङ्गा छापिएका गल्लीको संरक्षण्। थबाङको भित्री गाउँमा ढुंगा मात्र बिछ्याइएका गल्लीहरु छन्, जसले थबाङलाई कुनै सहरका कालोपत्रे गरिएका सडकहरु भन्दा कम देखाउँदैन। ती गल्लीहरुमा बिछ्याइएका ढुंगा खलबलिने खतराका कारण सवारी साधन चलाउन रोक लगाइएको स्थानीयको भनाइ छ।
त्यस्तै थवाङको अर्को विषेशता भनेको थबाबासीको नाम हो। थबाङमा मगर सामुदायको बसोबास छ। थबाङवासीहरूको वास्तविक नाम थाहा पाउन, न उनीहरूको नागरिकता हेर्नुपर्छ, न त कुनै परिचय पत्र नै। त्यहाँ सबैले एक अर्कालाई बोलाउँदा प्रयोग हुने साझा शब्द हो–‘कमरेड’।