काठमाडौं– प्रशिद्ध धार्मिक तीर्थस्थल मुक्तिनाथमा आन्तरिक पर्यटक बढ्न थालेका छन्। कोरोनाको जोखिम कम भएसँगै मुक्तिनाथमा दर्शनार्थीहरुको घुइँचो लाग्न थालेको हो।
नयाँ वर्ष तथा चैते दशैँको अवसरमा स्वदेशी पर्यटकहरुले मुक्तिनाथ क्षेत्र भरिभराउ भएको छ। हरेक वर्ष चैते दशैँ, बडा दशैँ एवं औँशीको अवसरमा मुक्तिनाथ धाममा दर्शन गर्ने भक्तालुहरुको भीड लाग्ने गर्छ। यस वर्ष पनि मुक्तिनाथमा आन्तरिक तथा बाह्य पर्यटकहरुको संख्या बढीरहेको स्थानीय बताउँछन्।
नेपालको मुस्ताङ जिल्लामा पर्ने मुक्तिनाथ धाम भारतको बद्रीनाथ र केदारनाथ जत्तिकै महत्वपूर्ण भए पनि ‘नजिकको तीर्थ हेला’ झैँ भइरहेको स्थानीयको गुनासो छ। अरु सबै क्षेत्रमा गएर धार्मिक कार्यक्रम गरे पनि अन्तिममा मुक्तिनाथ धाममा गएर दर्शन गरेपछि मात्रै मुक्ति मिल्ने विश्वास रहेको छ।
पितृ उद्धारका लागि भक्तजनहरुले सोह्रश्राद्धमा कागबेनीमा पिण्डदान गरेर मुक्तिनाथ मन्दिरको दर्शन गरे पितृहरुको उद्धार भई स्वर्गमा वास पाउने शास्त्रोक्त कथन छ। वैदिक सत्य सनातन हिन्दू तथा बौद्ध धर्मावलम्बीको आस्थाको संगमस्थल मुक्तिनाथलाई भगवान विष्णुको पुण्यभूमि मानिन्छ।
विष्णुको शरीरबाट आएको पसिनाबाट पानीको मूल फुटेको र सोही पानीको १०८ धारा बनेको किंवदन्ती पनि प्रचलित छ। उक्त १०८ धारामा स्नान र मुक्तिनाथको दर्शन गर्नाले पुण्य मिल्ने धार्मिक विश्वास छ। मुक्तिनाथ स्थलमा १८७१ सालमा मन्दिर बनाइएको थियो। यही स्थलमा बौद्ध गुरु पद्मसम्भवले पनि तिब्बत जाने बेला तपस्या गरेको भन्दै यहाँ विभिन्न गुम्बासमेत बनाइएका कारण बौद्ध धर्मावलम्बीले यस स्थललाई पवित्र तीर्थस्थलका रुपमा लिन्छन्। मन्दिरमा व्राह्मण पुजारी तथा झुमाले पनि पूजा गर्छन्।
हिन्दूले भगवान् विष्णुको शिलारूप शालिग्राम विराज भएको विश्वास गर्ने र बौद्ध धर्मावलम्बीले तान्त्रिक सिद्ध गुरु रिञ्पोछेसँग जोडेर यस स्थललाई हेर्ने गरेको पाइन्छ। त्यसैले पनि मुक्तिनाथ धाम पर्यटक र भक्तालुहरुका लागि पवित्र मानिन्छ। मुक्तिनाथ क्षेत्रलाई अझै विश्वस्तरमा प्रचारप्रसार गर्न सके यसको महत्व र महिमा झनै बढ्ने स्थानीय बताउँछन्।