विस्केक (किर्गिस्तान)- एएफसी फुटसल कप छनोटअन्तर्गत दक्षिण र केन्द्रीय एसियाली जोनको छनोट अप्रिल १० तारिखदेखि १२ तारिखसम्म किर्गिस्तानमा हुँदैछ। उक्त छनोटमा नेपालले पनि आफ्नो दाबेदारी मज्जाले प्रस्तुत गर्ने तयारीका साथ विस्केक आइपुगेको छ।
तयारीका लागि ३२ दिनको समय पाएको नेपाली टिम अप्रिल ६ तारिखमा विस्केक पुगेर सोही दिनबाट अभ्यास पनि सुरु गरिसकेको छ।
पहिलो दिनको अभ्यासपछि नेपाली टिमले बिहीबार स्थानीय क्लबसँग अभ्यास खेल सम्पन्न गर्यो। भलै नेपाली टिमले ३-१ को हार बेहोरेको छ। त्यसपछि टिमले धेरै कुरा सिकेको पनि छ।
नेपालले बिहीबार बिहान स्थानीय किर्गिस्तानको लिगमा चौथो स्थानमा रहेको र्दोइसँग खेल्नुअघि आफ्नो खेलाडी जाँच्ने अवसर पाएको थिएन। त्यसैले प्रशिक्षक गौरव बस्नेतलाई आफ्नो खेलाडी र आफूले सिकाएको कुरा कस्तो अवस्थामा छ जाँच्नु थियो। गौरवले एक घण्टाको खेलमा खेलाडीको परीक्षणसँगै खेलको अवस्था जाँच गरेको बताएका छन्।
‘यो खेल हाम्रो लागि उपलब्धि मूलक भयो। किनभने अहिलेसम्म हामीले मैत्रीपूर्ण खेल खेलेको थिएन। पछिल्लो समय हामीले २०१९ पछि यो नै पहिलो पटक खेलेको हो। त्यसैले टिमको अवस्था जाँच गर्नुपर्ने थियो,’ र्दोइसँग ३-१ को हारपछि मुख्य प्रशिक्षक गौरव बस्नेत भन्छन्, ‘टिमको क्वालिटीमा पनि सहयोग गर्छ जस्तो लागेको छ।’
त्यसो त, नेपाली टिमका विजय श्रेष्ठले गोल गर्दै नेपाललाई सुरुआति अग्रता नदिलाएका होइनन्। तर, नेपालले अग्रता जोगाउन सकेन। त्यसको कारण के होला त? जवाफमा प्रशिक्षक भन्छन्, ‘हामीले २०१७ र २०१९ मा अन्तर्राष्ट्रिय खेल खेल्दा डिफेन्सिभ एप्रोचमा खेल्ने गरिरहेका थियौं। तर, अब यसरी हुँदैन एट्याकिङ खेल्नुपर्छ भनेर फर्मेसन नै परिवर्तन गरेको छु।’
नेपालसँग प्रतिस्पर्धा गर्ने बाँकी तीन टिम अफगानिस्तान, उज्ज्वेकिस्तान र ताजकिस्तान हुन्। यी सबै टिम प्रतियोगिताको लागि विकस्केक आइपुगेका छन्। अब नेपालले पहिलो खेल १० तारिखमा उज्ज्वेकिस्तानसँग खेल्नेछ।
उनले आफ्नो प्रतिद्वन्द्वी पनि निकै राम्रो भएको कारण आफ्नो क्लबले हार बेहोरेको बताएका छन्।
नेपालले खेलेको दर्दोइ क्लब किर्गिस्तानको लिगमा चौथो स्थानमा रहेको क्लब हो। किर्गिस्तान फुटबल युनियनका प्रतियोगिता विभागका सदस्य अजिजले शीर्ष तीन क्लबका खेलाडी राष्ट्रिय टिममा रहेका कारण चौथो क्लबलाई नेपालसँग मैत्रीपूर्ण खेल्नका लागि व्यवस्था मिलाएका थिए।
अजिजका अनुसार दर्दोइले लिगलिडर मोरसलाई जारी लिगमा दुई पटक हराइसकेको छ। किर्गिस्तानमा फुटसल लिग मार्चदेखि अक्टोबरसम्म चल्छ। आठ टिम सम्मिलित लिगमा दुई होम खेल हुन्छ भने दुई अबे खेल हुन्छ। यसरी एक टिमले हरेक टिमसँग चार पटक प्रतिस्पर्धा गर्नुपर्नेछ।
त्यसमाथि, दर्दोई किर्गिस्तानको धनाढ्यहरूले सञ्चालन गरेको कारण यो क्लबमा धेरै तलब पाइने विश्वासका कारण विदेशी खेलाडी आउने गरेको अजित बताउँछन्। तर, दर्दोइसँग सबै जुनियर खेलाडी छन्।
‘किर्गिस्तानको राम्रो क्लब रहेछ। त्यसमाथि इरान र ब्राजिलका खेलाडी पनि रहेछन्। त्यति हुँदाहुँदै अट्याकिङ शैलीमा हामीले खेलेका छौं,’ प्रशिक्षक बस्नेतले भने, ‘पहिलो पटक अट्याकिङ खेल्दा केही ल्याक भइहाल्छ। हामी यो खेललाई एनालाईज गर्नेछौं।’
‘म्याट र पार्केटिङमा पनि केही फरक हुन्छ। त्यसले मुभमेन्टलाई असर गर्छ,’ उनी थप्छन्, ‘अब हामीले अब के गर्ने भन्नेमा जोड दिनुपर्छ। यसले क्वालिफायर पनि ससहयोग गर्नेछ।’
नेपालसँग प्रतिस्पर्धा गर्ने बाँकी तीन टिम अफगानिस्तान, उज्ज्वेकिस्तान र ताजकिस्तान हुन्। यी सबै टिम प्रतियोगिताको लागि विकस्केक आइपुगेका छन्। अब नेपालले पहिलो खेल १० तारिखमा उज्ज्वेकिस्तानसँग खेल्नेछ। ‘उज्ज्वेकिस्तान यो क्षेत्रको पावर हाउस हो। हामीले तयारी नगरेको भए, त्यो खेल थप अन्योलमा खेल्नुपर्ने हुन्थ्यो,’ प्रशिक्षकले खेलबारे भने।
प्रशिक्षक बस्नेत टिमप्रति जति प्रतिबद्ध छन्, खेलाडी पनि खेलप्रति उति नै जिम्मेवार देखिन्छन्। नेपाललाई एएफसी एसिया कपमा पुर्याउने सपना बोकेर किर्गिस्तान आइपुगेका खेलाडीहरूमा सपना साकार बनाउन गरिरहेको मेहेनेत उस्तै राम्रो छ। त्यसमा सहयोग गरिरहेका छन्, फिजियो आदर्श सिंहले। सिंहलाई चाहिँ खेलाडीको डाइट, वर्कआउट देखि सुत्ने समयसम्म मिलाउने चिन्ता छ।
यसमा सबैको लक्ष्य छ प्रतिस्पर्धामा नेपाल बलियो देखियोस्। प्रशिक्षक गौरवको लक्ष्य पनि त यही नै छ, कि राम्रो र प्रतिस्पर्धात्मक खेल पस्किन सकौं। जसले नेपाली टिम बलियो भएको विश्वास दिलाउन सकोस्। त्यसैकारण उनले सिकेका सबै फर्मुला खेलाडीको दिलदिमागमा घुसाउने काम निरन्तर गरिरहन्छन्।
एसिया कप फुटसलमा कसरी टिम छनोट हुन्छन्?
प्रतियोगिताको छनोट चरणमा ३१ टिमले सहभागिता जनाएका छन्। त्यसमध्ये १६ देशका राष्ट्रिय फुटसल टिम फाइनल प्रतियोगितामा समावेश हुनेछन्। कुवेतमा सेप्टेम्बर २५ देखि अक्टोबरको ५ तारिखसम्म आयोजना हुने प्रतियोगिताका लागि कुवेत भने आयोजकका हिसाबले छनोट भइसकेको छ। त्यसैले ऊ छनोट चरणमा भने समावेश छैन। अब छनोट पार गरेका १५ देशले प्रतियोगिता खेल्न पाउनेछन्।
प्रतियोगितामा समावेश भएका ३१ टिमको छनोट तीन ठाउँमा भइरहेको छ। एसियन र ओसियाना क्षेत्र(इस्ट जोन)को छनोट थाइल्यान्डले आयोजना गरेको छ। इस्ट जोनअन्तर्गत समान ३–३ देशको दुई समूह रहेका छन्। समूह ए मा जापान, चीन र मंगोलिया छन् भने समूह बी मा चाइनिज ताइपेई, दक्षिण कोरिया र हङकङ रहेका छन्। जहाँबाट तीन टिम छनोट हुनेछन्।
त्यस्तै ओसियाना अन्तर्गतको छनोट अहिले चलिरहेको छ। ओसियानामा म्यानमार, इन्डोनेसिया, थाइल्यान्ड र भियतनाममध्येबाट तीन देशले एसिया कपमा स्थान बनाउनेछन्। यी टिमले समूह चरण खेलिसकेर सेमिफाइनल र फाइनलका लागि प्रतिस्पर्धा गर्न लागेका छन्। छनोटको समूह चरणमा सम्मिलित बाँकी चार टिम भने बाहिरिइसकेका छन्।
दक्षिण एसिया र केन्द्रीय एसियाको छनोट भने किर्गिस्तानमा हुन लागेको हो। यो क्षेत्रमा भने ४–४ देशको दुई समूह रहेका छन्। नेपाल समूह बिमा रहेको छ। नेपालको समूहमा उज्ज्वेकिस्तान, ताजकिस्तान र अफगानिस्तान छन्। त्यस्तै समूह ए मा इरान, किर्गिस्तान, तुर्किमेनिस्तान र मालदिभ्स छन्।
यी दुई समूहमा सिंगल राउन्ड रोबिन शैलीमा खेल हुनेछ र शीर्षस्थान पाउने दुई टिमले भने एसिया कप खेल्नेछन्। दुई समूहबाट चार टिम एसिया कपमा पुग्नेछ।
वेस्ट(पश्चिम) जोनबाट सबैभन्दा धेरै पाँच देश छनोट हुनेछ। पश्चिम जोनमा समूह ए मा चार टिम छन् भने समूह बिमा तीन देश रहेका छन्। युएईमा भइरहेको छनोटमा दुवै समूहका शीर्षस्थानको दुई टिम एसिया कपमा पुग्नेछन् भने दुवै समूहमा तेस्रो भएका दुई टिमले प्ले अफ खेल्नेछन्। प्लेअफको विजेताले एसिया कपमा स्थान बनाउने छ।
अहिलेसम्म समूह बी बाट युएईले प्ले अफ खेल्ने निश्चित भएको छ भने बहराइन र इरान एसिया कपमा छनोट भइसकेका छन्। समूह ए को छनोट अहिले जारी छ। समूह ए मा लेबनान, साउदी अरेबिया, ओमन र प्यालेस्टाइन क्रमशः पहिलो देखि चौथौँ स्थानमा रहेको छ।