सोमबार, मंसिर १०, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

कोभिडपछि नेपथ्यको पहिलो कार्यक्रम नयाँ वर्षका दिन दमकमा

नयाँ भाइरसले सिंगो विश्वलाई दुई वर्षभन्दा बढी बिथोलेपछि अब बिस्तारै परिस्थिति अनुकूल बन्दैगएको संकेत देखिएका छन्।
 |  बिहीबार, चैत २४, २०७८
nespernesper

नेपाल समय

नेपाल समय

बिहीबार, चैत २४, २०७८

काठमाडौं- नयाँ भाइरसले सिंगो विश्वलाई दुई वर्षभन्दा बढी बिथोलेपछि अब बिस्तारै परिस्थिति अनुकूल बन्दैगएको संकेत देखिएका छन्। 

triton college

यसबीचमा मानव जातीले ठूलो क्षति बेहोर्नु पर्‍यो। हामीलाई एकापसमा जोड्ने सारा गतिविधि ठप्प भए। कहालीलाग्दो अवस्थाबाट सामान्यतर्फको यो संक्रमणलाई संगीतमय बनाउने पहलमा नेपथ्य फेरि आफ्ना शुभचिन्तक दर्शक श्रोताहरूको सामुन्ने उभिने तयारीमा जुटेको छ।

र, त्यसको प्रारम्भ हुँदैछ पूर्वको उज्यालो सहर दमकबाट। आगामी वैशाख १ गते अर्थात् नयाँ वर्षको दिनलाई संगीतमय बनाउन चाहने नेपथ्यप्रेमीहरूका निम्ति झापाको फराकिलो मैदानले स्वागत गर्नेभएको छ।

दमकको ‘इँटाभट्टा स्कुल’ अर्थात् सरस्वती माध्यमिक विद्यालयको प्रांगणमा नेपथ्य फेरी एक पटक उभिने भएको छ। यसभन्दा पहिले पनि नेपथ्यले चार हजारभन्दा बढी दर्शकको उपस्थितिमा त्यसै मैदानमा आफूलाई उभ्याएको थियो।

यसरी खुलाआकाशको चौरमा प्रस्तुत हुनुअघि उक्त सहरका अघिल्लो तीनवटा कन्सर्ट सिनेमाहलमा आयोजना गरिएका थिए। पछिल्लो खुला कन्सर्टका निम्ति भने पाँच वटा ट्रकमा काठमाडौंदेखि लोड गरेर आधुनिक मञ्चदेखि प्रकाश ब्यवस्थाहुँदै ध्वनि प्रणालीसमेत त्यहाँ पुर्‍याइएको थियो।

Metro Mart
vianet

‘संगीतप्रेमी दर्शकहरूका निम्ति हामीले यसपाला पनि नेपथ्यलाई उत्तिकै भव्यता पूर्वक उभ्याउने तयारी गरेका छौं,’ ब्यान्डको व्यवस्थापन गर्दै आएको नेपालयका किरणकृष्ण श्रेष्ठ भन्छन्, ‘नेपथ्यप्रेमीलाई नयाँपन महसुस गराउने थप जमर्को पनि हुनेछ।’

भौगोलिक अवस्थिति, राजनीतिक वातावरण र सम्पर्कका आधारमा पछिल्लो समय दमक पूर्वाञ्चलकै अर्को केन्द्रका रूपमा विकास हुँदै गइरहेको छ। पछिल्लो कन्सर्टका बेला पनि धरान, विराटनगर हुँदै इलामसम्मका दर्शकले त्यहाँ उपस्थिति जनाएका थिए। त्यो सहरमा नेपथ्यको यो पाँचौँ प्रस्तुति हुँदैछ।

कोरोना भाइरसले उसको कठोर पन्जा विश्वभर फैलाउनुअघि नेपथ्यले आफूलाई राजधानी काठमाडौंकै भृकुटी मण्डपमा उपस्थित गराएको थियो। २०७६ साल फागुन १७ गतेको त्यो पछिल्लो कन्सर्ट एउटा गाउँले विद्यालयको पुनः निर्माणका लागि आयोजना गरिएको थियो। त्यो नै विश्व महामारीअघि नेपथ्यको अन्तिम प्रस्तुति बन्न पुग्यो।

यसपटक को नेपथ्य कार्यक्रम दुई वर्ष पछिको अन्तराल मा हुँदैछ। ‘यसबीच मैले लगभग सम्पूर्ण समय कास्कीको अनकन्टार डाँडामा रहेको आफ्नो गोठमा कृषक भएर बिताएँ,’ नेपथ्यका अगुवा एवं मुख्य गायक अमृत गुरुङ भन्छन्, ‘जटिल बन्दैगएको कृषि कर्ममा घोत्लिँदै जाँदा विनाश उन्मुख प्रकृति र संकटग्रस्त मानव जीवनबीचको सम्बन्ध अझ खुल्दै गए।’

त्यो ऐकान्तिक अवधिमा संगीतको अभ्यासलाई पनि जारी राखेको उनी सुनाउँछन्।

‘वैज्ञानिकहरूको अथक प्रयासले यसैपाला इतिहासमै सबैभन्दा छिट्टो यो भाइरस विरुद्धको भ्याक्सिन पनि तयार भयो,’ अमृत थप्छन्, ‘अव बिस्तारै हामी सबैले आ–आफ्ना कर्महरूबाट संसारलाई पूर्ववत् अघि बढाउनुपर्ने दायित्व आइपुगेको छ।’

नयाँ वर्षकै दिन दमकमा आयोजना हुने नेपथ्यको कन्सर्ट हाम्रा तितो विगतलाई बिसाएर नयाँ दिनको स्वागत गर्ने जमघटका रूपमा पनि महत्त्वपूर्ण हुने अमृतको विश्वास छ। उनका अनुसार कन्सर्टमा सदा झैँ नेपथ्यका सर्वकालिक हिट गीतहरू प्रस्तुत गर्नुका साथै केही नयाँ प्रस्तुतिको तयारी पनि अघि बढिरहेको छ।

दमकमा यो कन्सर्ट सफल पार्नका निम्ति स्थानीय ‘नेपाली टच’ र ‘ध्रुवतारा स्पोर्टिङ क्लब’ ले तयारी अघि बढाइसकेको छ। ध्रुवतारा स्पोर्टिङ क्लबले आफ्नो स्थापनाको तीस वर्ष मनाउने अवसरका रूपमा पनि यो आयोजनामा अग्रसरता देखाएको हो।

‘दर्शकको सुविधालाई ध्यानमा राखेर हामीले आवश्यक तयारीहरू अपनाएका छौं,’ आयोजक नेपाली टचका राज गोश्वामी भन्छन्।   

यो कन्सर्टको टिकट विक्रीका निम्ति दमकबाहेक काँकडभिट्टा, बिर्तामोड, उर्लाबारी, इटहरी, पथरी, लेटाङ, धरान, विराटनगर, गौरादह र दुधेमा समेत विक्री केन्द्र राखिएका छन्। स्थानीय आयोजकका अनुसार टिकटको मूल्य भने एक हजार रुपैयाँ राखिएको छ । अनलाइन टिकट को निम्ति www.thuprai.com/nepathya  मार्फत व्यवस्था गरिएको छ।

सधैँ झैँ तोकिएकै अवधिमा सुरुहुने यो कन्सर्टका लागि उक्त दिन बेलुकी ठिक पौने पाँच बजे मैदानका ढोका खोलिनेछन्।

प्रकाशित: Apr 07, 2022| 11:25 बिहीबार, चैत २४, २०७८
प्रतिक्रिया दिनुहोस्