काठमाडौं– स्थानीय निर्वाचन नजिकिँदै जाँदा दलहरूले तयारी तीव्र बनाउँदैछन्। चुनावी तालमेल, उम्मेदवार चयन, घोषणापत्र लेखनमा दलहरू व्यस्त छन्। दलहरूको शीर्ष नेतृत्व भने चुनावी माहोल तयार पार्न गाउँ–गाउँ गइरहेको छ।
साना दलहरू पनि चुनाव तयारीमा जुटेका छन्। अहिलेसम्म ७९ दलले स्थानीय निर्वाचनका लागि निर्वाचन आयोगमा निवेदन दिएका छिन्। तीमध्ये अधिकांशले चुनाव चिन्ह पाइसकेका छन् भने केहीले पक्रिया नपुर्याएका कारण दलगत चुनाव चिन्ह पाएका छैनन्। यद्यपि चुनाव चिन्ह नपाए पनि दलका उम्मेदवारले पनि स्वतन्त्रको हैसियतमा व्यक्तिगत चुनाव चिन्ह पाउने निर्वाचन आयोगले जनाएको छ।
राष्ट्रिय राजनीतिमा सक्रिय राप्रपा नेपाल, विवेकशील साझा, नेमकिपा, जनमोर्चा, नेमपा मालेलगायत साना दलहरूको स्थानीय निर्वाचन तयारी तीव्र बनाएका छन्। कस्तो छ उनीहरूको तयारी?
राष्ट्रिय जनमोर्चा
बागलुङ, पर्वत, पोखरा, डोटीमा बलियो मानिएको राष्ट्रिय जनमोर्चाको चुनाव चिन्ह गिलास हो। त्यही चुनाव चिन्ह लिएर देशका कुन–कुन ठाउँमा उम्मेदवारी दिनेबारे पार्टीभित्र छलफल भइरहेको अध्यक्ष चित्रबहादुर केसी बताउँछन्। ‘हाम्रो पार्टीको पकड भएका स्थानमा नै बढी केन्द्रीत हुनेछौं। यसबाहेक काठमाडौं, चितवनजस्ता प्रमुख सहरमा पनि उम्मेदवारी दिनेबारे छलफल जारी छ,’ अध्यक्ष केसीले भने। २०७४ को स्थानीय निर्वाचनमा जनमोर्चाले ३ मेयर, ४ उपमेयर र ३३ वडाध्यक्ष जित्न सफल भएको थियो।
नेमकिपा
भक्तपुरलाई केन्द्र बनाएर राजनीति गरिरहेको नेपाल मजदुर किसान पार्टी (नेमकिपा) ले २०४७ पछिका स्थानीय निर्वाचनमा निरन्तर सहभागिता जनाउँदै आएको छ। २०७४ को निर्वाचनमा भक्तपुर नगरपालिकामा जित हासिल गरेको नेमकिपाले त्यहाँ उत्कृष्ट काम गरेकाले पुरस्कृतसमेत भइसकेको छ।
भक्तपुर, काभ्रे, काठमाडौं, रुपन्देहीलगायत जिल्लामा नेमकिपाको पकड छ। तिनै स्थानमा केन्द्रीत भई उम्मेदवारी घोषणा गर्ने नेमकिपाका नेता एवं भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले बताए। २०७४ को स्थानीय निर्वाचनमा नेमकिपाले १ मेयर, एक उपमेयर र २२ वडाध्यक्ष जितेको थियो। नेमकिपाको चुनाव चिन्ह मादल हो।
विवेकशील साझा
२०७४ सालको स्थानीय निर्वाचनमा तत्कालीन विवेकशील पार्टी र साझा पार्टीका उम्मेदवारले काठमाडौं, पोखराजस्ता सहरमा अप्रत्यासित मत ल्याएका थिए। पछि दुवै पार्टीले एकीकरण गरेर ‘विवेकशील साझा’ नाम राखे। उक्त पार्टी अहिले रविन्द्र मिश्र पक्ष र मिलन पाण्डे पक्षको विवादमा फसेको छ।
रविन्द्र मिश्रले २०७९ को स्थानीय तह निर्वाचनमा पार्टीबाहिरका योग्य व्यक्तिलाई समेत तराजु चिह्नबाट प्रतिस्पर्धा गराउने जानकारी सामाजिक सञ्जालमार्फत गराएका छन्। त्यसका लागि नेपालभित्र रहेका र विदेशमा रहेका र गाउँमा आएर उम्मेदवार बन्न इच्छुक भए फर्म भर्न आग्रह गरिएको छ।
यता मिलन पाण्डे पक्षले भने विचार मिल्ने समूहसँग मिलेर स्थानीय निर्वानमा जाने तयारी गरेको छ। तराजु चुनाव चिन्ह रविन्द्र मिश्रले दाबी गर्दै आएपछि पाण्डे पक्षले नयाँ समूह र नयाँ चुनाव चिन्ह लिएर स्थानीय निर्वाचनमा जाने बताएको छ। ‘हामी विचार मिल्ने युवाहरूको नयाँ सञ्जाल बनाएर स्थानीय निर्वाचनमा जाने तयारी गर्दैछौं। चुनाव चिन्ह त्यसपछिको कुरा हो,’ पाण्डेले नेपाल समयलाई बताए।
राप्रपा नेपाल
राजेन्द्र लिङ्देन पार्टी अध्यक्ष भएपछि असन्तुष्ट भएका नेता कमल थापाले दुई महिनाअघि देखि आफ्नो नेतृत्वमा राप्रपा नेपाल पुनर्गठन अभियान थालेका छन्। थापाको दलले अहिले नेकपा एमालेसँग गठबन्धनका लागि संवाद गरिरहेको छ। तत्कालीन राप्रपाले जितेका स्थानीय तह आफूलाई दिने सर्तमा राप्रपा नेपालले देशभरि एमालेलाई सघाउने प्रस्ताव राखेको छ। थापाको पार्टीले ७७ वटै जिल्लामा जिल्ला कमिटी बनाए पनि ३० वैशाखको स्थानीय तह निर्वाचनमा बलियो उम्मेदवारी दिने सक्ने अवस्था छैन। राप्रपा नेपालले गाई चुनाव चिन्ह पाउनुपर्ने भन्दै सर्वोच्च अदालतमा दर्ता गरेको छ।
नेकपा संयुक्त
बाम घटक नेकपा संयुक्तले चुनाव चिन्ह पाएको छैन। अध्यक्ष चन्द्रदेव जोशीका अनुसार नेकपा संयुक्तका नेताहरू स्थानीय तहमा स्वतन्त्र उम्मेदवारी दिने तयारीमा छन्। ‘पार्टीले स्थानीय निर्वाचनकै लागि भनेर त्यस्तो बृहत् तयारी गरेको छैन। स्थानीय क्षेत्रमा परिचित भइसकेका नेताहरू नै योपटक चुनावमा उठ्नुहुन्छ। उहाँहरूलाई पार्टीले समर्थन गर्नेमात्र कुरा भएको छ,’ नेता जोशीले नेपाल समयलाई भने।
नेकपा माले
बाम घटक नेकपा मालेले यसपालिको स्थानीय निर्वाचनलाई आफ्नो एजेन्डा लैजाने माध्यम बनाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष सिपी मैनालीले निर्वाचनलाई प्रतिस्पर्धाको रूपमा भन्दा बढी पार्टीको विचार प्रवाह गर्ने माध्यमको रुपमा प्रयोग गर्ने योजना रहेको बताए। ‘केही गाउँपालिकामा हाम्रो पकड राम्रो छ। तिनै गाउँहरूमा बढी केन्द्रित रहन्छौं,’ मैनालीले भने, ‘जित–हारभन्दा पनि लोकतन्त्रको सम्मान गर्दै हामीले निर्वाचनलाई स्वीकार गरेका हौं।’
२०७४ सालको निर्वाचनमा नेकपा मालेले स्वतन्त्र उम्मेदवारीबाट केही सिट वडाध्यक्ष जितेको थियो। मालेको चुनाव चिन्ह हँसिया र तारा हो।