मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • काठमाडौंको मतपत्रमा ५६ लहर, त्रिदेशीय सिरिजमा नेपाल च्याम्पियन [२०७८-१२-२१]

काठमाडौंको मतपत्रमा ५६ लहर, त्रिदेशीय सिरिजमा नेपाल च्याम्पियन [२०७८-१२-२१]

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ दलीय गठबन्धनलाई केटाकेटीको खेलको संज्ञा दिएका छन्। सोमबार प्रगतिशील इन्जिनियर्स एसोसिएसन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन अदालतले बनाइदिएको आरोप लगाएका हुन्।
 |  सोमबार, चैत २१, २०७८

नेपाल समय

नेपाल समय

सोमबार, चैत २१, २०७८

मतादाता निर्देशिका जारी

निर्वाचन आयोग नेपालले स्थानीय तह निर्वाचन २०७९ लाई व्यवस्थित र प्रभावकारी बनाउन निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका २०७८ स्वीकृत गरेको छ।

सोमबार आयोगमा भएको नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले स्थानीय तह निर्वाचन २०७९ लाई व्यवस्थित र प्रभावकारी तरिकाले सम्पन्न गर्न आवश्यक पर्ने निर्वाचन तथा मतदाता शिक्षा निर्देशिका २०७८ स्वीकृत गरी कार्यान्वयनमा ल्याएको जानकारी दिए। प्रवक्ताका अनुसार आयोगले निर्वाचन तालिम व्यवस्थापन तथा सञ्चालन निर्देशिका २०७८, मतदान निर्देशिका २०७८ र मतगणना निर्देशिका २०७८ आयोगबाट स्वीकृत गरी कार्यान्वयनमा ल्याएको हो । 

स्थानीय तह निर्वाचनका लागि कुल २३ लहर समूहका ७७ प्रकारका १ करोड ९४ लाख थान मतपत्र छपाइ हुने र सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको हुने र सबैभन्दा बढी ५६ लहरको मतपत्र काठमाडौंको हुनेछन्। 

प्रवक्ता पौडेलले निर्वाचन कार्यालयका एजेन्सी शाखा र आर्थिक प्रशासन शाखाका कर्मचारीहरु सहभागी रहेको निर्वाचन सामग्री तथा आर्थिक व्यवस्थापन सम्बन्धी प्रदेशस्तरीय प्रशिक्षण विराटनगर, धुलिखेल, बुटवल र नेपालगञ्जमा सम्पन्न भएको जानकारी दिए। 

ओली-नेपालका कुरा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ५ दलीय गठबन्धनलाई केटाकेटीको खेलको संज्ञा दिएका छन्। सोमबार प्रगतिशील इन्जिनियर्स एसोसिएसन नेपालको कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धन अदालतले बनाइदिएको आरोप लगाएका हुन्। 

‘पाँच दलीय गठबन्धन भन्नुहुन्छ नि, यो दुई दिनको केटाकेटीको खेल हो। अदालतले ल्याएर जोडजाड गरिदिएको पुतली हो। टालाटुली बटुली कति राम्री पुतली भनेजस्तो यी टालाटुली बटुलेका पुतलीहरु राम्रा पनि छैनन्। टाला पनि मिलाएर बनाउन जानेको छैन,’ ओलीले भने। 

ओलीले यो गठबन्धन अस्थायी भएको बताए। स्थायी कुरा जनादेश भएको र आगामी निर्वाचनपछि त्यसको टुंगो लाग्ने बताए। अध्यक्ष ओलीले तत्कालीन नेकपा कब्जा गर्न नसकेपछि प्रचण्ड र माधव नेपाल प्रतिगमनको विरोध गर्ने भन्दै प्रतिक्रियावादीको पछि लागेको टिप्पणी गरेका थिए। तत्कालीन नेकपामा प्रचण्ड–माधव समूहले सरकार र पार्टीविरुद्ध सकेजति बल लगाएको उनको भनाइ छ। 

प्रचण्डको चर्को आलोचना गरेका ओलीले मानिसहरुले नबुझेर वामपन्थीभन्दा प्रचण्ड मात्र सम्झिने गरेको भन्दै उनले आफू असली कम्युनिस्ट भएको दाबी गरेका थिए। 

उता नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले केपा एमाले अध्यक्ष केपी ओली सबैका लागि घाँडो भएको टिप्पणी गरेका छन्। सोमबार विराटनगर विमानस्थलमा पत्रकारसँग उनले यस्तो बताएका हुन्। 

आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मिल्नेसम्म गठबन्धन हुने उनको भनाइ छ। 

पूर्वप्रधानमन्त्री समेत रहेका नेता नेपालले भारत भ्रमणका क्रममा प्रधानमन्त्री शेरबहादुर देउवा भाजपाको पार्टी कार्यालय जानु ठिक नभएको उनको भनाइ थियो। 

एमबीबीएस प्रवेश परीक्षामा कसरी खडा भए नक्कली परीक्षार्थी?

चिकित्सा शिक्षामा स्नातक अध्ययनका लागि लिइने प्रवेश परीक्षामा नक्कली परीक्षार्थी सहभागी हुने गरेको पाइएको छ। 

चिकित्सा शिक्षा आयोगले लिइरहेको प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बनेर अरुको नाममा परीक्षा दिनेसहित ५ जना पक्राउ परेपछि यस्तो रहस्य खुलासा भएको हो। पक्राउ परेकामध्ये तीन जना किस्ट मेडिकल कलेजका विद्यार्थी छन्। यसका साथै एमबीबीएस परीक्षामा नक्कली परीक्षार्थी हुन भारतबाट समेत आउने गरेको पाइएको छ। 

पक्राउ पर्नेमा किस्टमा एमबीबीएस अध्ययनरत २६ वर्षीय राम आशिष यादव, २२ वर्षीय विद्यार्थी अमर पण्डित र २२ वर्षीय रामनाथ चौधरी छन्। यसका साथै, भारत बिहार औरगंबाद, रफिगञ्जका २४ वर्षीय इस्तियाख अहमदले महोत्तरीको सम्सीका २३ वर्षीय सन्नीकुमार साहको नामबाट परीक्षा दिएपछि दुवै  जना पक्राउ परेका छन्। महानगरीय अपराध महाशाखाका अनुसार बाँकी तीन जना फरार छन्। 

नक्कली परीक्षार्थीले मोटो रकम लिएर प्रवेश परीक्षा दिने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धाले देखाएको  छ । 

परीक्षा दिन उनीहरूले नागरिकतासमेत कीर्ते गरेको पाइएको प्रहरीले जनाएको छ। सक्कली परीक्षार्थीको प्रवेशपत्र र नागरिकतामा भएको फोटो उप्काएर नक्कली परीक्षार्थीको फोटो टाँस गरी स्ट्याम्प समेत हानेर हुबहु बनाउने प्रयास गरिएको प्रहरीले जनाएको छ।

यसरी सरकारी तथा सार्वजनिक कागजात कीर्ते गरेकाले उनीहरुविरुद्ध सार्वजनिक लिखत सम्बन्धीको कसूरमा मुद्दा दायर गरिने प्रहरीले जानकारी दिएको छ। 

(डाक्टर बन्न हिँडेका विद्यार्थी कसरी नक्कली परीक्षार्थी बन्न पुगे? परीक्षा दिने र दिलाउनेबीच कस्तो सम्बन्ध थियो लगायतका विषयमा विस्तृत सामग्री नेपाल समयमा पढ्न सकिने छ।)

चितवनका सबै पालिकामा चुनावी तालमेल

सत्तारुढ गठबन्धनमा रहेका पाँच दलले आगामी स्थानीय तहको चुनावमा चितवनका सबै पालिकामा तालमेल गर्ने भएका छन्। 

सोमबार कांग्रेसका चितवन सभापति राजेश्वर खनालको अध्यक्षतामा बसेको गठबन्धनको बैठकले तालमेलको  निर्णय गरेको हो। 

चितवनका अन्य पालिकामा खासै विवाद नभए पनि भरतपुर महानगरपालिकामा भने कांग्रेस र माओवादी केन्द्र दुवैले दाबी गरेका छन्। भरतपुर माओवादी अध्यक्ष प्रचण्डको निर्वाचन क्षेत्र पनि हो। भरतपुरमा उनले छोरी रेणुलाई पुनः उम्मेदवार बनाउने तयारीमा छन्।

यसअघिको स्थानीय चुनावमा चितवनका ७ मध्ये भरतपुर महानगरसहित माडी नगरपालिकामा माओवादीले जितेको थियो। भरतपुरमा कांग्रेसको समर्थनमा रेणु मेयर बनेकी छन्। ४ वटा नगरपालिकामा एमालेले जितेको थियो भने इच्छाकामना गाउँपालिकामा कांग्रेसले जितेको थियो।

ऊर्जा मन्त्रालयकै गुनासो

ऊर्जा, जलस्रोत तथा सिचांई मन्त्रालयका प्रवक्ता तथा सह–सचिव मधुप्रसाद भेटुवालले मन्त्रालयले नेपाल विद्युत प्राधिकरणलाई नीजि क्षेत्रसँग पीपीए गर्न नरोकेको बताएका छन्।  

सोमबार काठमाडौंको भृकुटीमण्डपमा जारी रहेको ‘हिमालयन हाइड्रो एक्स्पो, २०२२’मा बोल्दै प्रवक्ता भेटवालले नीजि क्षेत्रलाई विद्युत उत्पादन गर्नको लागि पीपीए गर्ने काम ऊर्जा मन्त्रालयको नभएर विद्युत प्राधिकरणको भएकोसमेत स्पष्ट पारेका हुन्। विद्यूत खपत नहुँदा प्राधिकरणले नीजि क्षेत्रलाई पीपीएको पैसा दिन नसक्ने उनको भनाइ छ। 

उनले नेपालमा बढी भएको विद्युत भारतले सबै खरिद नगरेको र बंगलादेशमा बिक्री गर्नको लागि भारतले अनुमति नदिएको अवस्थाबारे गुनासोसमेत गरेका थिए। 

प्रवक्ता भेटुवालले विद्युत ऐन बन्न नसक्दा नीजि क्षेत्रलाई विद्युत व्यापारको अनुमति दिन नसकिएको बताएका थिए। 

निजी क्षेत्रले उत्पादन गरेको विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोड्ने विषयमा अदालतमा परेका मुद्दाले समस्या सिर्जना भएको उनको भनाई छ। 

बढे पर्यटक

कोभिड–१९ को महामारीपछि गत मार्च महिनामा नेपालमा पर्यटकको संख्या उल्लेख्य मात्रामा वृद्धि भएको छ।

कोभिड–१९ को महामारीका कारण विगत दुई वर्षदेखि सुस्ताएको पर्यटन क्षेत्र पछिल्लो समय पर्यटकहरुको आगमन बढेसँगै बिस्तारै उक्सिन थालेको हो। 

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनञ्जय रेग्मीले समग्रमा नेपालको पर्यटन व्यवसाय ४५ प्रतिशतले रिकभर भएको बताए। 

दैनिक एक सय जना भन्दा ढीलाई ट्रेकिङको लागि इजाजत दिइएको छ ।  पोखरा, धरान, नेपालगञ्ज लगायतका ठुला शहरहरुको अवस्था हेर्दा होटलहरु पहिलेकै अवस्थामा सञ्चालन भइरहेको उनले बताए। 

श्रीलंकाका सबै मन्त्रीको राजीनामा

श्रीलंकामा राष्ट्रपति गोताबाया राजापाक्षे सरकारका सबै मन्त्रीहरूले राजीनामा दिएका छन्। 

गहिरो आर्थिक संकटमा फसेँसँगै श्रीलंकामा बढेका सरकार विरोधी प्रदर्शन रोक्न सरकार विफल भएपछि मन्त्रिपरिषदका २६ सदस्यले आइतबार राती राजीनामा दिएका हुन्।

दक्षिण एसियाली राष्ट्र श्रीलंकाले हाल सबैभन्दा ठूलो आर्थिक संकट व्यहोर्नु परेको छ। श्रीलंकामा अहिले खाद्यान्न, इन्धन र अन्य अत्यावश्यक वस्तुको अभाव छ। 

राष्ट्रपति गोताबाया र प्रधानमन्त्री महिन्दाबाहेक सबै २६ मन्त्रीहरुले गत साँझको बैठकमा राजीनामा पत्र बुझाएको शिक्षामन्त्री दिनेश गुनावार्देनाले जानकारी दिए। 

उता प्रधानमन्त्री राजापाक्षेले मन्त्रिपरिषद्मा फर्किएर काम गर्न सबै मन्त्रीहरूलाई आग्रह गरेका छन्। उता नागरिकहरूले भने सरकारविरोधी प्रदर्शन चर्कांउँदै लगेका छन्। आन्दोलन दमन गर्न सरकारको ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको छ।  

नेपाल च्याम्पियन

नेपाल, पपुवा न्यु गिनी (पीएनजी) र मलेसियाबीचको त्रिदेशीय टी-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेट सिरिजको उपाधि नेपालले जितेको छ। 

सिरिजको अन्तिम खेलमा पपुवा न्यु गिनीलाई हराउँदै नेपालले उपाधि जितेको हो। 

सोमबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा नेपालले ५० रनले पपुवा न्यु गिनीलाई हराएको हो। नेपालले दिएको १ सय ६९ रनको लक्ष्य पछ्याएको पीएनजीले १६ ओभर १ बलमा अलआउट हुँदै १ सय १८ रन मात्र बनाउन सक्यो। यस अघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ६८ रन बनाएको थियो।

नेपालका लागि दिपेन्द्रसिंह ऐरीले ५४ रनको अर्धशतकीय इनिङ खेले। उनले ३८ बलमा अविजित ५ चौका प्रहार गरेका थिए। टी(ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा उनले एक हजार रन पूरा गरेका छन्। 

करण केसीले अविजित रहँदै ३३ रन बनाए। दीपेन्द्र र करणले ५४ रन जोडेका थिए। ओपनर कुशल भुर्तेल र आसिफ शेखले २५ र २९ रनको योगदान गरे। 

नेपालले ११ ओभरमा २ विकेट गुमाएर ८२ रन बनाएको थियो। तर १२औं ओभरमा नेपालले रन नजोडी ३ विकेट गुमाएपछि पीएनजीले पकड जमाएको थियो।

सन्दीप लामिछानेले नेपाली टिमको कप्तानी सम्हालेपछि नेपालले पहिलो पटक उपाधि जितेको हो। नेपालले अपराजित रहँदै सिरिजको उपाधि जितेको हो।


प्रकाशित: Apr 04, 2022| 20:38 सोमबार, चैत २१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।