सोमबार, असोज ५, २०८३

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, सतर्क रहन आग्रह

 |  सोमबार, असोज ५, २०८३

नेपाल समय

नेपाल समय

सोमबार, असोज ५, २०८३

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले असोज ९ देखि ११ गतेसम्म गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको जनाएको छ।

एक–दुई स्थानमा अति भारी वर्षासमेत हुन सक्ने भएकाले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सतर्क रहन आग्रह गरेको छ। कोशी, मधेश, बागमती र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा पनि भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेको छ। अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्ने जनाइएको छ।

बङ्गालको खाडीमा विकसित न्यूनचापीय क्षेत्र थप शक्तिशाली हुँदै पश्चिम–उत्तरपश्चिमतर्फ सर्ने भएकाले बुधबारदेखि नै कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। भारी वर्षाका कारण बाढी, पहिरो, गेग्रान बहाव तथा तराई र सहरी क्षेत्रमा डुबानको जोखिम रहेको छ।

प्राधिकरणले अत्यावश्यकबाहेक टाढा तथा रातिको यात्रा नगर्न, जोखिमयुक्त सडकमा डोजर, एक्स्काभेटर र लोडर तयारी अवस्थामा राख्न तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई पूर्वसूचनाका आधारमा सुरक्षित स्थानमा सार्न सम्बन्धित निकायलाई आग्रह गरेको छ। खोला, खहरे, नदी किनार र पहिरोको जोखिम भएका क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सतर्क रहन पनि आग्रह गरिएको छ।

वर्षा तथा बाढीसम्बन्धी जानकारीका लागि ११५५, विपद्मा सहयोग माग्न १२३४, नेपाल प्रहरीको १०० र सशस्त्र प्रहरीको १११४ मा सम्पर्क गर्न सकिने प्राधिकरणले जनाएको छ। साथै, मौसम महाशाखा र प्राधिकरणबाट जारी हुने पूर्वानुमान तथा पूर्वसूचनालाई नियमित रूपमा हेर्न आग्रह गरिएको छ।

प्रकाशित: Sep 21, 2026| 19:27 सोमबार, असोज ५, २०८३
प्रतिक्रिया दिनुहोस्