गाडीभाडा बढ्यो
लामो दूरीमा चल्ने सार्वजनिक सवारीको भाडादर बढेको छ। सरकारले अन्तर प्रदेश सार्वजनिक सवारीको भाडा १५ प्रतिशतसम्म बढाएको हो।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको मन्त्रीस्तरीय निर्णय अनुसार यात्रुवाहक सवारीको भाडा १० प्रतिशत बढेको यातायात व्यवस्था विभागले जनाएको छ। पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा १३ प्रतिशत र तराईका बाटोमा सञ्चालन हुने मालबाहक सवारीको १५ प्रतिशत भाडा बढेको हो। पछिल्लो पटक इन्धनको मूल्य ५ प्रतिशतसम्म बढेको भन्दै सरकारले भाडा शुल्क बढाएको हो।
गत असार २७ गते भाडा समायोजन भएपछि डिजेलप्रति लिटर १०४ रुपैयाँ रहेको थियो। त्यसपछि डिजेल ३२.६९ प्रतिशतले वृद्धि भएर चैत्र २ गतेसम्म १३८ रुपैयाँ पुगेपछि विभाग अन्तर्गतको भाडा समायोजन समितिले भाडा बढाउन सिफारिस गरेको थियो।
राजधानीमा पेट्रोल अभाव
शनिबार साँझ पेट्रोलियम ढुवानीकर्तासँगको वार्तापछि सरकारका कार्यबाहक प्रधानमन्त्रीसमेत रहेका गृहमन्त्री बालकृष्ण खाणले आपूर्ति सहज बनाउन निर्देशन दिएपनि राजधानीका पेट्रोल पम्प खुलेका छैनन्।
काठमाडौंको नयाँ बानेश्वर, चाबहिल, कोटेश्वरलगायतका अधिकांश स्थानका पेट्रोल पम्पमा सटर लगाइएको छ। कतिपय स्थानमा ‘पेट्रोल छैन’ लेखिएको ब्यानर झुन्ड्याइएको छ। सर्वसाधारण इन्धन पाउने आशमा बन्द पेट्रोल पम्पबाहिर लाइन बसिरहेका छन्।
काठमाडौं जिल्ला प्रशासन कार्यालयका प्रजिअ गोविन्दप्रसाद रिजालले सरकारसँगको वार्तापछि ढुवानीकर्ताले आपूर्ति गरिरेहको दाबी गरे।
उता कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणले अत्यावश्यक वस्तुमा मूल्यवृद्धि नगर्न र बिक्री वितरण प्रभावकारी बनाउन अनुगमन गर्न निर्देशन दिएका थिए। खाणले ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई सर्कुलर जारी गर्दै बजार अनुगमन गर्नसमेत निर्देशन दिएका थिए।
गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले गृहमन्त्री खाणलाई उदृत गर्दै व्यवसायीका समस्या भएमा सरकार संवादमार्फत समाधान गर्न तयार रहेको जानकारी दिए।
सुदूरपश्चिम भर्जिन ल्यान्ड हो : तारा लामा तामाङ
सुदूरपश्चिमका आर्थिक मामिलामन्त्री तारा लामा तामाङले सुदूर पश्चिम प्रदेश पर्यटन विकासका लागि भर्जिन ल्यान्ड भएको दाबी गरेका छन्। नेपाल समयसँग कुराकानी गर्दै मन्त्री तामाङले सुदूरपश्चिम प्रदेशको विकासका लागि बजेटमा प्राथमिकता दिनसमेत माग गरेका छन्।
सुदूरपश्चिम प्रदेश सरकार संघीय सरकारसँग हातेमालो गरेर पर्यटन प्रर्वद्धनका लागि अघि बढ्ने उनको भनाइ छ। भौतिक संरचनालगायतका पूर्वाधार विकास गरी पर्यटन तान्ने आफूहरुको योजना गरेको समेत उनले बताए।
शका ठूला-ठूला आयोजनाहरूमा सुदूरपश्चिम पछाडि पारिएको उनको दाबी छ। ठूला लगानीकर्तालाई सुदूरपश्चिममा लैजान पनि लगानी बोर्ड तथा केन्द्र सरकारसँग छलफल भइरहेको उनले जानकारी दिए।
मन्त्री तामाङसँग गरिएको विस्तृत कुराकानी नेपाल समय (nepalsamaya.com)मा पढ्न, हेर्न र सुन्न सकिनेछ।
ओलीले भने- चुच्चे नक्सा खोई?
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संविधानमा उल्लेखित नेपालको नक्सा भारतस्थित नेपाली दूतावासमा नभएको भन्दै आपत्ति जनाएका छन्।
प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमण गएकै बेला त्यहाँको नेपाली दुतावासमा संविधानले व्यवस्था गरेको चुच्चे नक्सा हटाएर बुच्चे नक्सा राखेको आरोप समेत ओलीले लगाए। नेपाल बुद्धिजीवि परिषदको १० औं राष्ट्रिय अधिवेशनमा आईतबार सम्बोधन गर्दै उनले देशको नक्सा नै गायव बनाउने भन्दा राष्ट्रिय लज्जाको विषय अरु केही नहुने टिप्पणी गरे।
ओलीले आफ्नै पार्टीको सरकार हटाएर कांग्रेसको पछिपछि लागेको भन्दै प्रचण्ड र माधव नेपालहरुलाई कटाक्ष पनि गरेका थिए।
ओलीले वर्तमान सरकारले मुलुकको अर्थतन्त्र समेत ध्वस्त बनाएको समेत आरोप लगाएका थिए।
तीनदिने भ्रमण गरी स्वदेश फर्कंदै प्रधानमन्त्री देउवा
प्रधानमन्त्री शेरबहादुर देउवाले वाराणसीस्थित काशी विश्वनाथ मन्दिरमा पूजाअर्चना गरेका छन्।
प्रधानमन्त्री देउवाले पत्नी डा. आरजु राणा देउवाका साथ पूजाअर्चना गरेका हुन्। पूजामा परराष्ट्र मन्त्री डा.नारायण खड्का र भारतीय राजदूत विनयमोहन क्वात्रालगायत सहभागी थिए। भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पनि पूजामा सहभागी भए।
नयाँ दिल्लीबाट आइतबार बनारस पुगेका प्रधानमन्त्री देउवालाई लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गर्न उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ पुगेका थिए।
प्रधानमन्त्री देउवाले वाराणसीकै समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पनि पूजाअर्चना गरे। देउवाले ललिताघाटमा निर्माण गरिने वृद्धाश्रमको शिलान्यास पनि गरेका छन्। नेपाल सरकारले वृद्धाश्रमका निम्ति १ करोड रुपैयाँ विनियोजन गरेको छ।
यसैबीच, प्रधानमन्त्री देउवाको सम्मानमा मुख्यमन्त्री आदित्यनाथले आज दिवाभोजको आयोजना गरेका छन्। प्रधानमन्त्री देउवा र उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथबीच पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श समेत भएको थियो।
देउवा शुक्रबार तीनदिने भारत भ्रमणका लागि प्रस्थान गरेका थिए। भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतीय समकक्षी नरेन्द्र मोदीलगायतसँग भेट गरेका थिए। देउवा शुक्रबारै स्वदेश फर्कंदै छन्।
नेपाल-ओलीको मुद्दा सर्यो
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको माधवकुमार नेपालसहितका १४ जना सांसदविरुद्धको मुद्दा हेर्न नमिल्नेमा परेको छ।
न्याधीशद्वय अनिलकुमार सिन्हा र नहकुल सुवेदीको संयुक्त इजलासमा तोकिएको उक्त मुद्दा हेर्न नमिल्नेमा परेको हो। न्यायाधीश सुवेदीले यसअघि सोमप्रसाद पाण्डेसँग सम्बन्धित मुद्दामा आफूले आदेश दिएको र उक्त मुद्दामा पाण्डे प्रतिवादी रहेकाले हेर्न नमिल्ने जानकारी गराएका छन्।
अध्यक्ष ओलीले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीको दर्ता प्रक्रिया रद्द गर्न र १४ जना सांसदलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए।
मुद्दाबारे कानुनमन्त्री
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले न्याय माग्न अदालत पुगेका पीडितले निश्चित समयअवधिभित्र न्याय पाइसक्ने कानुनी व्यवस्था हुनुपर्ने बताएका छन्।
आइतबार न्याय प्रशासनसँग सम्बन्धित प्रचलित कानूनमा गर्नुपर्ने आवश्यक सुधारको मस्यौदा पेश गर्न गठित अध्ययन समितिको प्रतिवेदन बुझ्दै मन्त्री बडूले पीडितले निश्चित समयभित्र न्याय पाउने अवस्थाका लागि आवश्यक कानूनी व्यवस्था हुनुपर्ने बताएका हुन्।
मन्त्री बडूले सर्वोच्च अदालतमा मुद्दाको चाप घटाउनका लागि जिल्ला अदालतबाटै हुने कामका लागि उच्च अदालत अथवा सर्वोच्च अदालतमा जानु नहुने बताए। कतिपय विषयमा उच्च अदालतले नै अन्तिम फैसला गर्न सक्ने अधिकार दिएको भएपनि सो अधिकारको उपयोग हुन नसकेको उनको भनाई छ।
नेपालको संविधान अनुसार न्याय सम्पादन प्रक्रियालाई छिटोछरितो, मितव्ययी, सर्वसुलभ, अनुमानयोग्य, निष्पक्ष, प्रभावकारी र जनउत्तरदायी बनाउने उद्देश्यले न्याय प्रशासनसँग सम्बन्धित प्रचलित कानूनमा गर्नुपर्ने आवश्यक सुधारको मस्यौदा पेश गर्न २०७८ चैत २३ गते एक समिति गठन भएको थियो। सो समितिले आइतवार मन्त्रालयमा पुगेर प्रतिवेदन पेश गरेको हो।
पाकिस्तानी संसद भंग
पाकिस्तानका राष्ट्रपति आरिफ अल्वीले प्रधानमन्त्री इमरान खानको सिफारिसमा आइतबार संसद भंग गरेका छन्।
आफ्नो सरकार अल्पमतमा परेपछि प्रधानमन्त्री खानले संसद भंग गर्दै निर्वाचनको मिति तोक्न सिफारिस गरेपछि राष्ट्रपतिले संसद भंग गरेका हुन्।
त्यसअघि राष्ट्रिय सभाका उपसभामुखले प्रधानमन्त्री खानविरुद्धको अविश्वास प्रस्ताव संविधानको धारा ५ विपरीत भएको भन्दै खारेज गरिदिएका थिए।
सूचनामन्त्री फवाद चौधरीले राष्ट्रिय सभाको विघटन भए पनि संविधानको धारा २२४ अन्तर्गत इमरानको सरकारले नै निरन्तरता पाउने बताएका छन्।
निर्वाचन र उपनिर्वाचनसँग सम्बन्धित सो धारामा राष्ट्रिय सभाको विघटनपछि राष्ट्रपतिले प्रधानमन्त्री र विपक्षी दलका नेतासँग परामर्श गरी कामचलाउ प्रधानमन्त्री नियुक्त गर्ने उल्लेख छ। पाकिस्तानमा अब ९० दिनभित्र आम निर्वाचन गर्नु पर्नेछ।
सातौँ पटक अस्ट्रेलिया च्याम्पियन
इंग्ल्यान्डलाई हराउँदै अष्ट्रेलियाले सातौं पटक विश्वकप महिला क्रिकेटको उपाधि जितेको छ।
न्युजिल्यान्डमा आइतबार सम्पन्न भएको विश्वकप फाइनल खेलमा इंग्ल्यान्डलाई हराउँदै अष्ट्रेलियाले कीर्तिमानी सातौं पटक विश्वकपको उपाधि जितेको हो।
३ सय ५७ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ४३ ओभर ४ बलमा २ सय ८५ रन बनाउँदा अलआउट भयो।
यसअघि गत वर्ष अष्ट्रेलियामा नै भएको टी २० विश्पकको उपाधि पनि अष्ट्रेलियाले जितेको थियो। त्यो विश्वकपमा पनि उसले इंग्ल्यान्डलाई नै हराएको थियो।
यसअघि पनि अष्ट्रेलियाले सन् १९७८, १९८२, १९८८ मा लगातार तीन पटक विश्वकप जितेको थियो। त्यस्तै, उसले सन् १९९७, २००५, २०१३ मा पनि विश्वकप जितेको थियो। सन् २०१३ पछि अष्ट्रेलियाले अहिले फेरि विश्वकपको उपाधि जितेको हो।
विश्वकपमा श्रींलका, बंगलादेश, भारत, पाकिस्तान, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अष्ट्रेलिया, दक्षिण अफ्रिका र वेस्ट इंन्डिजको सहभागिता थियो। आठ देश सम्मिलित विश्वकपको शीर्ष चार टिम सेमिफाइनलमा पुगेका थिए। सेमिफाइनलमा पुग्नेमा इंग्ल्यान्ड र अष्ट्रेलियासँगै वेस्ट इन्डिज र दक्षिण अफ्रिका थिए।
पछिल्लो टी–२० विश्वकपको फाइनलमा पुगेको भारत भने पाँचौ स्थानमा रहँदै समूह चरणबाटै बाहिरिएको थियो।