काठमाडौं- वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका अध्यक्ष विश्वभक्त दुलाल आहुतीले आफूलाई दुई वर्ष पहिले नै नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पार्टी एकताको प्रस्ताव राखेको बताएका छन्।
पार्टीको राष्ट्रिय भेलाअन्तर्गत प्रारम्भ सत्रलाई सम्बोधन गर्दै आहुतीले विप्लवकै अघि रोष्टममा उभिएर अब चाँडै दुई पार्टीसहित अन्य दलहरुको एकता र वैकल्पिक शक्ति निर्माण हुने खुलासा गरेका हुन्। उनले भने, ‘प्रतिबन्धपछिको भेटमा विप्लव कमरेडले मलाई पार्टी एकता गरेर अघि बढौँ भन्नुभएको थियो। एकता हुँदैन भने बरु रणनीतिक संयुक्त मोर्चा गरेर अघि बढौँ पनि भन्नुभयो, त्यो पनि नभएमा कार्यगत समूह बनाऔँ भन्ने जोड थियो।’
विप्लवको प्रस्तावमा आफूले पनि सकारात्मक टिप्पणी दिएको उनले जानकारी दिए। उनले थप्दै भने, ‘मैले पनि हुन्छ भनेँ। हाम्रा कार्यकर्ताहरुले तपाईंका कार्यकर्तासँग संगत गरेर दुई-चार लाठी खाए, दुई-चार दिन जेल गए भने पनि म त्यसलाई प्रशिक्षण सम्झनेछु, भन्याथेँ।’
आहुतीले विप्लवलाई व्यंग्य गर्दै कम्युनिष्टमा वर्षौसम्म महासचिव बनेर नेतृत्व गर्दा पनि पदको भोको रहनु खासै उचित नहुने पनि बताए। उनले भने, ‘सामूहिक नेतृत्व भनेको ६० वर्षसम्म आफै महासचिव बनिरहने भन्या हो र?’
साँच्चिकै कम्युनिष्ट बन्ने हो भने नयाँ-नयाँ मान्छेलाई नेतृत्व गर्न दिनुपर्ने आहुतीको भनाइ थियो। उनले थप्दै भने, ‘आफैँले मात्र नेतृत्व गर्ने भोक जाग्यो भने कम्युनिष्ट बनिँदैन, सय किलोको माला लगाउने नक्कली कम्युनिष्ट बनिन्छ।’
आहुतीले यस्तो कटाक्ष गरिरहँदा सामुन्नेमा बसेका विप्लव भने मुसुमुसु हाँसिरहेका थिए। आहुतीले अझै थपे, ‘पार्टीमा बराबर योगदान दिनेहरुमा कोही आदरणीय बने, कोही श्रदेय बने र कोही कमरेड मात्रै बनिरहे। मलाई त अचम्म लाग्छ भन्या, अंकगणितमा १ हुँदैन थियो भने बिजगणित कहाँबाट आउथ्यो र?’
प्रकाण्डले आफूलाई कहिलेकाहीँ ‘नेता’ भनेर जिस्काउने गरेको पनि आहुतीले विप्लवलाई सुनाए। उनले भने, ‘तपाईंकै सहयोद्धा प्रकाण्डजी पनि वास्तवमा बेचैनी हुनुहुँदोरहेछ। कहिलेकाहीँ जिस्काउनुहुन्छ, हामी त सर्वहारा थियौँ, तर हामी पनि नेता नै बन्यौँ, है?’
विज्ञान प्रविधिको युगमा पुरानै राजनीतिक संस्कारले देशलाई झनपछि धकेल्न सक्ने आहुतीको तर्क छ। सामाजवादी अर्थतन्त्र, समाजवादी संस्कृति र समाजवादी सत्ताको अभ्यासले मात्र अब मुलुकले नयाँ अनुहार फेर्ने उनको विचार थियो। उनले भने, ‘हिजो एउटा खेत खन्न १० जना मान्छे चाहिन्थ्यो। तर हलो जुवा बनेपछि दुई जनाले मात्रै पनि खेत जोत्न सक्ने भए। अहिले खेत जोत्नकै लागि ट्याक्टर आएको छ, एउटा मान्छेले जति खेत पनि जोत्न सक्छ। प्रविधिले उत्पादन शक्तिलाई सुरक्षित राखेको छ, तर सुरक्षित शक्तिबाट हामीले नयाँ अभ्यास सुरु गर्नसक्नुपर्छ। यही नै हो बैज्ञानिक समाजवादको एउटा आयाम।’
केन्द्रीय सत्ता जित्दैमा समाजवादी स्थापित नहुने पनि उनले स्पष्ट पारे। ‘पूँजी सबै पुँजिपतिहरुसँग छ, हामीसँग त नारा मात्रै भयो’, उनले भने, ‘पूँजीपतिहरु एकीकृत हुन्छन् भनेर लेनिनले कहिल्यै सोचेका थिएनन् होला।’
प्रचण्ड नेतृत्वको १० वर्षे शसस्त्र संघर्षमा ‘जात व्यवस्था’ मुख्य एजेण्डा रहे पनि अझैँ परिवर्तन हुन नसकेको आहुतीको दाबी छ। नेतृत्वकर्ताहरु सत्तामा आसिन भए पनि जात व्यवस्थाको जड अझै कम नभएको उनले बताए। उनले भने, ‘सानो तथा ठूलो जहाँ भए पनि अब नेतृत्वमा दलितको उपस्थिति हुनैपर्छ, नत्र हामीले चाहेको व्यवस्था स्थापित हुन अझै सय वर्ष लाग्छ।’
पार्टी एकता नभए संयुक्त मोर्चा, त्यो पनि नभए कार्यगत एकता
विप्लवले नेपाललाई ‘पश्चिम बंगाल’ बन्न नदिने बताएका छन्। भूमण्डलीकृत साम्राज्यवादीहरु डलर बोकेर एमसीसी सम्झौताको माध्यमबाट नेपाल छिर्न लागेको पनि उनले बताए।
साम्राज्यवादीहरुले देशलाई उपनिवेशतर्फ धकेल्न खोजेको भन्दै उनले प्रश्न गरे, ‘नेपाललाई गोमन सर्पहरुले बेर्न खोज्दैछन्, तर निर्णायक नेतृत्वहरुलाई निदाएर बस्न लाज लाग्दैन?’
विप्लवले अब आफूहरु वर्गीय धरातलको आधारमा पार्टी एकता गर्ने मुडमा पुगेको पनि बताएका छन्। एमसीसी सम्झौताको कार्यान्वयन रोक्न पार्टी एकता गरेर नयाँ विद्रोह गर्न आवश्यक रहेको उनको भनाइ छ।
आफूले पार्टी एकताको प्रस्ताव गरेको स्वीकार गर्दै विप्लवले अब चाँडै साना ६ दल र दुई मोर्चाको शक्ति एकीकृत हुने पनि जानकारी दिए। उनले भने, ‘संसदले एमसीसी अनुमोदन गरिरहँदा बानेश्वर चोकमा हामीले सँगै रगत बगायौँ। अब कार्यान्वयन रोक्न पार्टी एकता गरेर सँगै अघि जानुपर्छ। पार्टी एकता सम्भव नभएमा संयुक्त मोर्चा वा कार्यगत एकता गरेर भए पनि संयुक्त आन्दोलन सुरु गर्नुपर्छ।’
एमसीसी पास गर्नेहरुलाई जनताले पनि अब गाउँ-गाउँबाट निकाला गर्न पनि उनले सुझाव दिए। आफ्नो पार्टीले नेपाली समाजलाई चार वर्गमा बाँडेर आगामी कार्यदिशा तयार पारेको उनले जानकारी दिएका छन्। वैज्ञानिक समाजवादी पार्टीको राष्टिय भेलाअन्तर्गत प्रारम्भ सत्रमा वक्ताको रुपमा सहभागी भएका विप्लवले भने, ‘हामीले नेपाली समाजलाई समान्त वर्ग, मध्यम वर्ग, श्रमिक वर्ग र विस्थापित वर्गमा बाँडेर क्रान्तिको नयाँ कार्यदिशा तयार गरेका छौँ।’
आफूहरु पनि अब चन्दा उठाएरभन्दा आफैँ पसिना बगाएर पार्टीको आर्थिक व्यवस्थापनमा जुटेको विप्लवले जिकिर गरे। पार्टी एकता गरेर नेपाली कम्युनिष्ट आन्दोलनको बाटोमा सँगै हिँड्न आफूहरु पनि सकारात्मक भएको विप्लवले बताए।
मार्क्स, माओ र लेनिनले सुरु गरेको कम्युनिष्ट आन्दोलन अझै नरोकिएको उनले बताए। 'संसद्वादी र पुँजीवादीहरुलाई कानुनले नै संरक्षण गरेको छ’, उनले भने, ‘तर दलाल साम्राज्यवादीहरुको संसदीय व्यवस्थालाई रोक्न नयाँ विद्रोह गर्नैपर्छ।’
पछिल्लो समय क्रान्तिका गीत, कविता, कथा तथा पुस्तक र नाराहरुमा पनि निराशाको भाव बढी झल्किनु कम्युनिष्टहरुको लागि दु:खद भएको विप्लवको तर्क छ।
‘प्रचण्ड र ओलीलाई पनि कम्युनिष्ट मानिदिनुपर्ने ?’
देशभक्त जनगणतान्त्रिक मोर्चाका अध्यक्ष सिपी गजुरलले पनि नेपालका कम्युनिष्टहरु कुहिएको अण्डाजस्तो बन्दै गएको बताएका छन्। संसदीय व्यवस्थाको खारेजीको लागि १० वर्षसम्म भूमिगत भएकाहरु अन्ततः संसदीय व्यवस्थामै समाहित हुन जानु हाँस्यास्पद दन्त्य कथामात्र भएको उनको बुझाइ छ। उनले भने, ‘नेपालका कम्युनिष्टहरु कुहिएको अण्डाजस्तै बने। पहिले अण्डा ठिक थियो, समाजले प्रोटिन पाएको थियो। तर अहिले अण्डा कुहिसक्यो, समाजभरी गन्हाएको छ।’
कांग्रेसको संगत गरेर आफूलाई कम्युनिष्ट भन्नेहरु वास्तवमा नक्कली क्रान्तिकारी रहेको पनि गजुरेलले स्पष्ट पारे। नेपाली कम्युनिष्ट आन्दोलनको ७२ वर्षे इतिहासमा आफूले आजसम्म प्रचण्डजस्ता पात्र नभेटेको पनि उनले दाबी गरे। उनले भने, ‘विचार नै नमिल्ने पार्टी कांग्रेससँग गठबन्धन र तालमेल गर्ने, अनि आफूलाई फेरि कम्युनिष्ट भनिरहने ? प्रचण्डजीको प्रवृति यस्तो होला भनेर मैले सोचेकै थिइनँ।’
एमाले अध्यक्ष केपी शर्मा ओलीले पनि आफूलाई कम्युनिष्ट हुँ भन्दै हिँड्नु ‘नाटक’ मात्र रहेको गजुरेलले दाबी गरे। उनले थप्दै भने, ‘हुँदा–हुँदा ओलीजीले पनि म कम्युनिष्ट हुँ भन्दै हिँडिरहनु भएको छ। अब हामीले प्रचण्ड र ओलीजीलाई पनि कम्युनिष्ट मानिदिनुपर्ने ?’
वैज्ञानिक समाजवादीले सुरु गरेको ‘नयाँ संस्कार’
आहुती नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीले अबदेखि कार्यक्रमको ‘उद्घाटन सत्र’लाई ‘प्रारम्भ सत्र’ भन्ने भएको छ। बिहाबारबाट सुरु भएको राष्ट्रिय भेलाको पहिलो दिन पार्टीले सुरु गरेका विभिन्न ‘नयाँ संस्कार’बारे जानकारी दिइएको हो।
अबदेखि वैज्ञानिक समाजवादीका कुनै पनि कार्यक्रमका मञ्चमा कुर्सी तथा सोफाहरु राखिने छैनन्। पार्टीका कार्यकर्ता, नेता र नेतृत्वकर्ता सबैको बसाइ अब सँगै रहने जागृत रायमाझीले जानकारी दिए।
बिहिबार प्रज्ञा भवनमा भएको प्रारम्भ सत्रमा पनि मञ्चमा कुनै कुर्सी, सोफा र माला थिएन। थियो त केवल रोष्टम मात्रै। पार्टी अध्यक्ष आहुती, विप्लव, सिपी गजुरेल, अतिथि खगेन्द्र संग्रौला र आमन्त्रित कविहरु विनोदविक्रम केसी, राजु स्याङतान र सुमिना पनि कार्यकर्तासँगैको कुर्सीमा बसेका थिए।
अबदेखि पार्टीका कार्यक्रममा सभापतिको आसन ग्रहण, प्रमुख अतिथि तथा अतिथिको आसन ग्रहण पनि नहुने रायमाझीले जानकारी दिए। ‘अबदेखि हामी कसैले कसैलाई श्रदेय, आदरणीय, सुप्रिमो र भाइबिहिनि भन्ने छैनौँ’, उनले भने, ‘सबैले सबैलाई कमरेड भनेर सम्बोधन गर्नेछौँ।’
कार्यक्रमको मञ्चलाई पार्टीले अब एक ‘पाठशाला’को रुपमा स्थापित गर्न खोजेको रायमाझीले बताए। पुँजिपति संस्कृतिको अन्त्य गर्न यस्तो संस्कारको शुभारम्भ गरिएको उनले जानकारी दिए।
‘मञ्चमा बसेका नेताहरुले कान कोट्याउँलान्, नाक कोट्याउँलान्, निद्रा लागेपछि हाइ गर्लान्, उनीहरुको यस्ता हर्कतलाई हामीले चुपचाप हेरिदिनुपर्ने?’, उनले थप्दै भने, ‘आजदेखि हामीले मञ्च खारेज गरेका छौँ।’
अबदेखि पार्टीको कार्यक्रममा फूलमाला र खादा पनि प्रयोग नगरिने रायमाझी बताउँछन्। पार्टीले सुरु गरेका नयाँ संस्कारहरुबारे जानकारी दिँदै उनले थपे, ‘हामीले कसैको जन्मोत्सव मनाउने छैनौँ। र कसैको लाशलाई मुठ्ठी कसेर लालसलाम पनि गर्ने छैनौँ। बरु सानो स्मृतिसभा गर्न सकिएला।’ पार्टीले ९० वर्षीय नन्दन अर्यालको नेतृत्वमा प्रभुत्व समितिसमेत गठन गरेको पनि रायमाझीले जानकारी दिए।