काठमाडौं- नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समितिको बिहीबार बसेको बैठकले विभिन्न तीनवटा निर्णयहरु गरेको छ। पार्टीका उपसभापतिसमेत रहेका समितिका संयोजक पूर्णबहादुर खड्काको संयोजकत्वमा बिहीबार बसेको बैठकले प्रदेशलगायत विभिन्न तहका सभापतिहरुको संयोजकत्वमा स्थानीय तह निर्वाचन परिचालन समिति अविलम्ब गठन गर्ने निर्णय गरेको छ।
त्यसैगरी विभिन्न तहमा विधानमा गरिएको व्यवस्था बमोजिम संसदीय समिति, कार्य सम्पादन समिति, अनुशासन समिति गठन गर्न बाँकी रहेको भए अविलम्ब गठन गर्न बैठकले निर्देशन गर्ने निर्णय गरेको छ।
त्यस्तै आवश्यक जिम्मेवारी बाँडफाँट गरेर दृढ एकताका साथ निर्वाचन परिचालन अभियानमा सम्पूर्ण समय क्रियाशील हुने निर्णय गरेको पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
बैठकमा पार्टी प्रवक्ता डा. प्रकाशशरण महत, नेताहरु सुरेन्द्रराज पाण्डे, शंकर भण्डारी, सीता गुरुङ, चिनकाजी श्रेष्ठ, लक्ष्मी परियार, योगेन्द्र चौधरी, सञ्जयकुमार गौतम, मधु आचार्य, जितजंग बस्नेत, नैनसिंह महर, दिलमान पाख्रिन, रामहरि खतिवडा, अञ्जनी श्रेष्ठ, रंगमती शाही, मञ्जुकुमारी यादव, सरस्वती अर्याल तिवारी, प्रतिमा गौतम, कुन्दनराज काफ्ले, हरिशरण नेपाली, नानु बास्तोला, जीवन रानाले आ-आफ्नो धारणा व्यक्त गरेका थिए।