मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • महानगरमा तालमेलको टुंगो केन्द्रबाटै, पीएनजीलाई हराउँदै नेपाल फाइनलमा [२०७८-१२-१७]

महानगरमा तालमेलको टुंगो केन्द्रबाटै, पीएनजीलाई हराउँदै नेपाल फाइनलमा [२०७८-१२-१७]

बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले आगामी स्थानीय तहको निर्वाचनमा मिलेर जाने निर्णय गरेको हो।
 |  बिहीबार, चैत १७, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, चैत १७, २०७८

महानगरमा तालमेलको टुंगो केन्द्रबाटै

बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ गठबन्धनको बैठकले आगामी स्थानीय तहको निर्वाचनमा मिलेर जाने निर्णय गरेको हो। बैठकको निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन एक ठाउँमा खडा रहने बताए। गठबन्धनमा सहभागी दलहरुका प्रदेश स्तरीय प्रमुख, जिल्लास्तरीय प्रमुख र गाउँपालिकाका प्रमुखहरुको एउटा संयन्त्र बनाएर गठबन्धनको तालमेलमा सहभागी बन्ने मन्त्री कार्कीको भनाई छ। 

बैठकमा सहभागी नेताले प्रधानमन्त्री शेरबहादुर देउवालाई भारत भम्रणका लागि शुभकामना समेत दिएका छन्। प्रधानमन्त्री देउवाले नेपाल र भारतको बीचमा सरकार–सरकारको मात्रै नभइ जनता– जनताको स्तरमा पनि सम्बन्ध भएकोले यी सम्बन्धलाई प्रगाढ बनाउने, विकसित गर्ने र दुई देश बीचमा देखिएका समस्याहरुको हल गर्न उच्चस्तरको राजनीतिक र कूटनीतिक पहल गर्ने बताए।

बैठकमा सहभागी नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालका अनुसार महानगरमा हुने तालमेल केन्द्रीय तहबाटै टुंगो लगाउने छ। अन्य तहको तालमेलका लागि संयन्त्र बनाउने निर्णय समेत बैठकले गरेको उनले जानकारी दिए। 

प्रधानमन्त्री देउवाले तालमेलमा देखिने अप्ठयाराको समाधान खोज्दै भएपनि पार्टी गठबन्धन गर्ने बताएका छन्। रिपोर्टर्स क्लबले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले तालमेलका लागि अन्य पार्टीका नेताबाट सहयोग मिलेको भन्दै आफ्नो पार्टी कुनै पनि अवस्थामा गठबन्धनको विपक्षमा नरहेको उनले दाबी गरेका हुन्। 

प्रधानमन्त्री देउवाले प्रविधिको विकाससँगै पछिल्लो समय मिथ्या र भ्रामक समाचार र सूचना पनि बढ्न थालेको प्रति दुःख व्यक्त  गरेका थिए। 

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी निर्वाचनमा गठबन्धनमा रहेका दलहरु मिलेर जाने बताएका थिए। माओवादी केन्द्रले देशमा आउने प्रत्येक राजनीतिक संकटलाई मोचन गर्न भूमिका खेलेको भएपनि त्यस अनुसार सबैले स्वीकार गर्न नसकेको दुखेसो उनको छ। पछिल्लो समय माओवादी केन्द्रप्रति जनताको आकर्षण बढेको उनको दाबी छ। 

प्रधानमन्त्रीको भारत भ्रमणका एजेन्डाबारे मन्त्रालय नै बेखबर

तीन दिने भारत निस्कन लागेका प्रधानमन्त्री शेरबहादुर देउवाको भ्रमणका एजेन्डाबारे सरोकारवाला मन्त्रालयहरू नै कुहिरोका काग बनेका छन्। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा शुक्रबार भारत भ्रमणमा निस्कन लागेका देउवाको भ्रमणमा के-कस्ता एजेन्डा निर्धारण गर्ने विषयमा सम्बन्धित मन्त्रालय बेखबर बनेका हुन्। 

प्रधानमन्त्रीको भारत भ्रमणका विषयमा कुनै एजेन्डा तय भइनसकेको परराष्ट्र मन्त्रालयको भनाइ छ। मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधानमन्त्रीको भ्रमणमा द्विपक्षीय हितका विषयमा कुराकानी हुने बताइन्। नेपाल समयसँग कुराकानी गर्दै प्रवक्ता लम्साले अहिलेसम्म यसै विषयमा सम्झौता गर्ने भन्ने तय नभएको बताइन्। 

व्यापारघाटाका कारण देशको बाह्य क्षेत्र इतिहासकै कमजोर अवस्थामा रहेको र त्यसको प्रभाव आन्तरिक अर्थतन्त्रमा पनि नराम्रोसँग परिरहेको छ। अर्थ मन्त्रालयबाट सचिव मधुकुमार मरासिनी पनि भ्रमण टोलीमा रहने तय भएपनि भ्रमणमा केकस्ता विषय उठान गर्ने भन्ने विषयमा अर्थ मन्त्रालयमा कुनै छलफल नभएको मन्त्रालय स्रोतले बताएको छ। 

प्रधानमन्त्री देउवाले आफैंले सम्हालेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले पनि एजेन्डाका विषयमा छलफल गरेको छैन। प्रधानमन्त्रीको भ्रमणका विषयमा छलफल नभएको मन्त्रालयले जानकारी दिएको छ। 

२०७२ को भूकम्पपछि नेपालले आयोजना गरेको लगानी सम्मेलनका क्रममा भारतले प्रतिबद्धता गरेको साढे ७६ अर्ब सहुलियतपूर्ण ऋणमध्ये नेपालमा एक रुपैयाँ पनि आएको छैन। यससम्बन्धी विस्तृत समाचार नेपाल समयमा पढ्न सक्नुहुनेछ। 

'चुनावमा मनी र मसल प्रयोग भए लोकतन्त्र खतरामा'

निर्वाचन आयोगले स्थानीय तहसँग सम्बन्धित कानून तथा कार्यविधिको व्यवस्थालाई व्यवस्थित बनाउन स्थानीय तह निर्वाचन निर्देशिका २०७९ जारी गरेको छ। 

निर्वाचन आयोगले बिहीबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिइएको हो। आयोगले निर्वाचनमा उम्मेदवारले आफ्नो मनोनयन प्रक्रिया दर्ता गर्दा स्व घोषणा गर्नुपर्ने व्यवस्था समेत गरेको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए। 

स्थानीय तह निर्वाचन २०७९ को व्यवस्थापन र सञ्चालनलाई लैङ्गिक तथा समावेशी बनाइ महिला तथा समावेशी समूहका व्यक्तिहरुलाई निर्वाचन प्रक्रियामा बढी भन्दा बढी सहभागिता र प्रतिनिधित्व गराउने सम्बन्धमा राजनीतिक दलहरुलाई १७ बुँदे निर्देशन दिइएको जानकारी दिए।

आम मतदातालाई सूचना उपलब्ध गराउने उद्देश्यले आयोग परिसरमा कल सेन्टरको स्थापना गरिएको छ। कल सेन्टर सञ्चालन भएको पहिलो दिन ३१० कल र दोस्रो दिन २६१ कलहरुबाट मतदाताहरुको जिज्ञासा समाधान गरिएको छ । यसको लागि ११०२ नम्बरको टोल फ्रि नम्बर हामीले व्यवस्था गरिएको छ। 

मतदाता नामावली, निर्वाचन आचारसंहिता, मतदाता शिक्षा लगायतका विषयहरुमा आम मतदाताहरुबाट जिज्ञासा आउने गरेका छन्। 

यसैबीच प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जनताको मत, अभिमत पैसा र पदले खरिदविक्री गर्न सकिदैन भन्ने मान्यताको आधारमा निर्वाचनमा खर्चको सीमा तोक्ने काम आयोगले गरेको बताएका थिए। राजनीतिक दलहरुले निर्वाचन खर्च महंगो भयो भनेर आफैं भन्ने तर त्यसको सीमा तोक्दा विरोध गर्न नमिल्ने तर्क पनि उनले गरे। 'मनी र मसलले लोकतन्त्रलाई खतरामा पार्ने उनको भनाइ छ। 

कार्यक्रममा बोल्दै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले चुनवामा मितव्ययिता अपनाउन राजनीतिक दल र उम्मेदवारहरुलाई आग्रह गरे। 

सरकार उदासीन बनेको आरोप

उद्योगी व्यवसायीहरुले मुलुकको अर्थतन्त्रमा देखिएको समस्या समाधान गर्न सरकार उदासिन बनेको आरोप लगाएका छन्।

काठमाडौंमा एक कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसिआइ) का उपाध्यक्ष दिनेश श्रेष्ठले केही महिनायता वित्तीय प्रणालीमा देखिएको तरलताको समस्या समाधान गर्न सरकार उदासिन बनेको आरोप लगाएका हुन। उनले लोडसेडिङ, बढ्दो बैंकको व्याज र तरलताको समस्या छिटो भन्दा छिटो हल नभए व्यवसायीहरु विस्थापित हुनुपर्ने अवस्था आउन लागेको चेतावनी समेत दिएका छन। 

व्यवसायीहरूले उद्योग, कलकारखानामा पछिल्लो साता बिजुली कटौती भएको गुनासो गरी रहेका छन्। उनीहरुले केही दिनदेखि दैनिक १४ घण्टा भन्दा बढी समय अघोषित रूपमा लोडसेडिङ भइरहेको गुनासो गर्दै आएका छन्।

प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक घिसिङले एक साता अघि पत्रकार सम्मेलन नै गरी भारतबाट महँगोमा बिजुली किन्दा ३५ दिनमै करिब ८ अर्ब रुपैयाँ बराबर घाटा हुने प्रक्षेपण रहेको बताएका थिए। यता भारतबाट महँगोमा बिजुली किन्दा प्राधिकरणलाई दैनिक २२ देखि २३ करोड रुपैयाँ बराबर घाटा ब्यहोर्नु पर्ने प्राधिकरणको अनुमान छ। 

गाउँपालिका अध्यक्ष नै अख्तियारको फन्दामा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रामेछापको लिखु तामाकोसी गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर खड्का र तत्कालीन प्रशासकीय अधिकृतहरु राजुप्रसाद न्यौपाने, टंकप्रसाद चौलागाईंसहित २७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

अध्यक्ष खड्काविरुद्ध ४ करोड २१ लाख ७०६ रुपैयाँ बिगो मागदाबी गरिएको छ भने तत्कालीन प्रशासकीय अधिकृत न्यौपानेविरुद्ध १ करोड १२ लाख ८२ हजार १७८ र  तत्कालीन लेखापाल दुर्गाबहादुर डिम्दोङ तामाङविरुद्ध १ करोड २६ लाख ७५ हजार रुपैयाँ मागदाबी गरिएको छ।

गाउँपालिकाको वडा नम्बर ४ बिजुलीकोट, वडा नम्बर ५ नागदह र वडा नम्बर १ दुरागाउँमा विद्युतीकरण गर्न उपकरण किन्दा खरिद समिति नबनाई आफूअनुकूल उपभोक्ता समिति गठन गरेर आर्थिक वर्ष २०७४/०७५ र ०७५/०७६ मा अनियमितता गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ। खरिद गर्दा ४ करोड २१ लाख ७०६ रुपैयाँ अनियमितता भएको अख्तियारको अनुसन्धानबाट खुलेको छ।

बढुवाविरुद्ध रिट

डीआईजीबाट एआईजीमा बढुवा भएका तीन जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ।

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले एआईजीमा बढुवा भएका बसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुकलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन्। 

बिहीबार बिहानको मन्त्रिपरिषद् बैठकले उनीहरूलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो। 

उता सरकारको उक्त निर्णयविरुद्ध तीन डीआईजी भने सर्वोच्च पुगेका छन्। डीआईजीहरू घनश्याम अर्याल, ईश्वरबाबु कार्की र प्रकाशजंग कार्कीले सर्वोच्चमा रिट दायर गरेका हुन्। वरिष्ठता मिच्दै कनिष्ठलाई एआईजीमा बढुवा गरिएकाले सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश माग गर्दै उनीहरू सर्वोच्च पुगेका हुन्। 

रिट दायर गर्ने डीआईजीहरूले यसअघि बढुवा विरुद्धको सुनुवाइ समितिमा उजुरी गरेका थिए। समितिले नियमसंगत नै देखिएको ठहर गरेपछि बिहीबार बिहानको मन्त्रिपरिषद् बैठकले तीनजना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।

बाइडेन-जेलेन्सकी फोनवार्ता

अमेरिकाका राष्ट्रपति जो बाइडेन र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच फोन वार्ता भएको छ। 

रुसको आक्रमणमा परेको युक्रेनले रुससँग लड्नका लागि आफूहरुलाई सहयोग आवश्यक परिरहेकोले सहयोग गर्न सबैलाई आह्वान गर्दै आएको छ।

बाइडेन र जेलेन्स्कीबीचमा पनि युक्रेनलाई आवश्यक परेको सहयोग र अमेरिकाले गर्न सक्ने सहयोगका बारेमा कुराकानी भएको छ ।

“हामीले प्रतिरक्षाका लागि आवश्यक पर्ने सहयोगका बारेमा कुराकानी गरेका छौँ, चाँडै नै नयाँ प्याकेज लागू हुने विश्वास लिएका छौं, त्यस्तो प्याकेज आर्थिक तथा मानवीय सहायता सम्बन्धी हुनेछ,” जेलेन्स्कीले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्। 

राष्ट्रपति बाइडेनसँगको कुराकानीपछि उनले सन्तोष व्यक्त गर्दै युक्रेनलाई कुटनीतिका, आर्थिक र भौतिक सहयोग बढ्ने आशा लागेको जानकारी दिए। 

अमेरिकी राष्ट्रपति बाइडेन र युक्रेनी राष्ट्रपति जेलेन्स्कीबीच झण्डै एक घण्टा कुराकानी भएको अधिकारीहरूले जनाएका छन् ।

अमेरिकी राष्ट्रपतिको कार्यालयले पनि युक्रेनी राष्ट्रपतिसँग फोन वार्ता भएको पुष्टि गर्दै सैन्य, आर्थिक र मानवीयता सम्बन्धी सहयोग प्रदानका बारेमा कुराकानी भएको जनाएको छ।

अमेरिकाले युक्रेनमाथि आक्रमण गरेर रुसले गल्ती गरेकाले तत्काल आक्रमण रोक्न माग गर्दै आएको छ ।

नेपाल फाइनलमा

त्रिवि क्रिकेट मैदानमा जारी त्रिदेशीय टी २० शृंखलामा लगातार तेस्रो जित निकाल्दै नेपाल फाइनलमा पुगेको छ।

पाहुना टिम पीएनजीले पाएको २०४ रनको लक्ष्यलाई १६६ रनमा रोकेर नेपालले जित निकालेको हो।नेपालले ७ विकेट गुमाएर २०३ रन बनाएको थियो। जवाफमा पीएनजीले पूरा ओभर खेल्दै ६ विकेट गुमाएर १६६ रन मात्र जोड्न सक्यो। 

पीएनजीका चार्ल्स अमिनीले सर्वाधिक ६१ रन बनाए भने टोनी उराले पनि ४३ रनको पारी खेले। सेसे बाउले २५ रन र नोर्मन वाउनाले १७ रन बनाउनुबाहेक अन्य खेलाडीले सम्झनलायक प्रदर्शन गरेनन्।

पीएनजीविरुद्ध नेपालका करण केसीले ५ विकेट गिराए। त्यस्तै अभिनास बोहरा र सोमपाल कामीले समान २,२ विकेट गिराए। करणले आज टी २० आईमा ५० विकेट पूरा गरेका छन्। उनले नेपालको ५०औं खेलमा आफ्नो ५० विकेट पनि पूरा गरेका हुन्।

प्रकाशित: Mar 31, 2022| 19:10 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।