मंगलबार, असोज १, २०८१

स्थानीय चुनावअघि 'प्रचण्ड अत्यास'

उनले थप्दै भनेका थिए, 'कांग्रेसले चिढ्याउन खोज्यो भने एमालेसँग पनि तालमेल नहोला भन्न सकिन्न। अहिले नै यसबारे छलफल त भएको छैन। तर राजनीतिमा असम्भव केही हुँदैन।'
 |  बिहीबार, चैत १७, २०७८
nespernesper

दिलीप कुँवर

दिलीप कुँवर

बिहीबार, चैत १७, २०७८

काठमाडौं- स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै राजनीतिक दलका नेताहरूको व्यस्तता बढेको छ। र, उनीहरूले धपेडीपूर्ण देश दौडाहा जारी राखेका छन्। तीनै नेता मध्येका एक हुन्, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'। 

triton college

भ्रमणका बेला प्रचण्डले दिएका अभिव्यक्तिलाई हेर्ने, सुन्ने हो भने उनी राजनीतिको अत्यासपूर्ण विरोधाभासमा रुमल्लिएका छन्। निरन्तर क्षयीकरण हुँदै गएको पार्टी संगठनलाई बचाउने चुनौती त प्रचण्डका सामुन्ने छँदैछ, त्यो बाहेक ओर्लदोँ चुनावी परिणामको ग्राफलाई स्थिर बनाउनुपर्ने बाध्यता पनि छ। किनकि राजनीतिमा 'शक्ति'प्रधान हुन्छ। शक्ति कमजोर बन्न थालेपछि राजनीतिक दलको आन्तरिक जीवनका अवयव पनि कमजोर बन्न पुग्छन्। राजनीतिक दलले आर्जन गर्ने शक्ति जनमतमा निर्भर हुन्छ।

पछिल्लो एक दशकको माओवादीको राजनीतिक जीवनलाई हेर्ने हो भने उसको जनमत खस्किएको छ, संगठन धर्मराएको छ। सोहीकारण निर्वाचनको सम्मुखमा प्रचण्डमा छटपटी बढेको देखिन्छ र त्यही छटपटाहटको प्रतिविम्बन उनका भाषणमा देखिएको भनाइ राजनीतिक विश्लेषकहरूको छ। 

प्रचण्डले देश दौडाहका क्रममा हरेक ठाउँ फरक-फरक अभिव्यक्ति दिएका छन्। त्यसक्रममा उनले नछुटाउने एउटा वाक्य हो- आफ्नै खुट्टामा उभिएर चुनाव लड्छौं। तर, उनको त्यो तर्क त्यतिमै टुंगिँदैन। र जोड्छन्- चुनावी गठबन्धनको विषय। आफ्नै बुँतामा चुनाव लड्ने तर्कसहित गठबन्धनको कुरा जोड्नुले उनले उनी कति विरोधाभासपूर्ण अभिव्यक्ति दिन्छन् भन्ने कुरा प्रष्ट हुन्छ। नेपाली राजनीतिमा चतुर खेलाडी मानिने प्रचण्डले देश दौडाहाका क्रममा जनतामा आशा जगाउने कुनै 'करिश्मा'को मोडल प्रस्तुत गर्न भने सकेका छैनन्। 

त्यसो त चुनावलक्षित अभियानका क्रममा देशभर पुग्दा उनी कार्यकर्ताको मनोबल बढाउन यत्नशील छन्। सँगै, पार्टी कमजोर भएको सांकेतिक स्वीकारोक्तिसहित गठबन्धनको कुरा गर्छन्। प्रमुख प्रतिपक्षी नेकपा एमालेलाई व्यंग्य गर्छन् र माओवादीले हारे संघीय लोकतान्त्रिक गणतन्त्र नै खतरामा पर्ने दावीसहित कार्यकर्ता र जनतामा भय सिर्जना गर्ने प्रयत्न गर्छन्। 

Metro Mart
vianet
माओवादी वैचारिक र संगठनात्मक रूपमा स्खलित भएको बुझेका प्रचण्डले सत्यलाई स्वीकार गर्न भने नसकेको कतिपयको बुझाइ छ। विश्लेषक राजेन्द्र महर्जनका अनुसार प्रचण्डले व्यहोर्नुपर्ने हारको जोखिमबारे मूल्यांकन गरेका छन्, सोही कारण 'ब्याटल', लडाइँ भनेर अभिव्यक्ति दिइरहेका छन्।

राजनीतिक विश्लेषक भास्कर गौतम शब्दमा प्रचण्ड आफूलाई बदल्न सिपालु रहेको र गुमेको 'स्पेस रिकभर' गर्न भावुक अभिव्यक्तिसमेत दिन पछि नपर्ने नेता हुन्। 'समय अनुसार आफूलाई बदल्न अरुभन्दा प्रचण्ड अलि सिपालु नै छन्। कुन बेला कसलाई धोका दिन्छन्, त्यो यकिनका साथ भन्न सकिन्न। उनको प्रवृत्ति थाहा हुँदाहुँदै पनि उनीप्रति भर परेका अन्य दलहरू नै आफै मुर्ख हुन्,' गौतम भन्छन्, 'अस्ति भर्खर रोल्पामा पनि प्रचण्डले भावुक अभिव्यक्ति दिएछन्। पछिल्लो समय प्रचण्डले रोल्पा बिर्सेका थिए, जसको कारण रोल्पाली रुष्ट थिए। तर प्रचण्डले त्यही स्पेस रिकभर गर्न भावुक अभिव्यक्ति दिएका हुन्।' 

स्थानीय तहको निर्वाचनका सन्दर्भमा पनि उनले बार्गेनिङ गर्नका लागि स्थान विशेषमा फरक अभिव्यक्ति दिइरहेको बुझाइ गौतमको छ। 'आगामी निर्वाचनमा गठबन्धनभित्र 'बार्गेनिङ'को लागि पार्टीको शक्ति ठूलो देखाउन प्रचण्डले फरकफरक अभिव्यक्ति दिँदै हिँडेका हुन्। माओवादी केन्द्रले आफूहरूलाई कांग्रेसले कमजोर नठानोस् भन्ने उनको रणनीति हो,' उनी भन्छन्, 'त्यसका लागि उनले कांग्रेसलाई डर देखाउन एमालेसँगको सहकार्यको कार्डसमेत फाल्न पछि परेनन्।'

माओवादी वैचारिक र संगठनात्मक रूपमा स्खलित भएको बुझेका प्रचण्डले सत्यलाई स्वीकार गर्न भने नसकेको कतिपयको बुझाइ छ। विश्लेषक राजेन्द्र महर्जनका अनुसार प्रचण्डले व्यहोर्नुपर्ने हारको जोखिमबारे मूल्यांकन गरेका छन्, सोही कारण 'ब्याटल', लडाइँ भनेर अभिव्यक्ति दिइरहेका छन्। 'पार्टी वैचारिक र संगठनात्मक रुपमा स्खलित भएको कुरा प्रचण्डलाई पनि थाहा छ। तर देखाएर स्वीकार मात्र गर्न नसकेको हुन्,' उनले भने, 'अस्ति एक ठाउँमा त झन् गुण्डाहरू आउँछन् भने इँटको जवाफ पत्थरले दिने गरी तयार हुनुपर्छ। यो ब्याटल हो, लडाइँ हो, जित्नैपर्छ भनेर कार्यकर्तालाई भनेछन्। अबको लडाइँ वैचारिक लडाइँ हो, हातपातको होइन। सम्भावित हारबारे उनी जानकार छन्। जसका कारण उनले यस्ता अभिव्यक्ति दिइरहेका छन्।'

कहाँ–के भने? 

चैत ३ गते रुपन्देही पुगेर प्रचण्डले सत्तारुढ गठबन्धनको नेतृत्वकर्ता नेपाली कांग्रेसका विषयमा अनपेक्षित अभिव्यक्ति दिए। उनले भनेका थिए, 'कांग्रेसलाई हामीले नै सत्तामा पुर्‍याएका हौँ, तर कांग्रेसकै केही अतिवादी नेताहरुले हामीलाई नै लखेट्न खोजेको देखियो।' 

स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्न नहुने पक्षधर कांग्रेस नेतालाई उनले घुमाउरो भाषामा प्रहार गरेका थिए। उनले थप्दै भनेका थिए, 'कांग्रेसले चिढ्याउन खोज्यो भने एमालेसँग पनि तालमेल नहोला भन्न सकिन्न। अहिले नै यसबारे छलफल त भएको छैन। तर राजनीतिमा असम्भव केही हुँदैन।' 

'एमालेसँग पनि तालमेल हुन सक्छ' भनेर प्रचण्डले गठबन्धनका अन्य दलहरुलाई घुर्की मात्र लगाएको विश्लेषक गौतमले बताए। 'प्रतिगमनको बाटो हिँडेको आरोप लगाएर सम्बन्ध विच्छेद गरेको एमालेसँग कुन अनुहारले तालमेल गर्लान् र?', नेपाल समयसँगको कुराकानीमा गौतमले भने, 'प्रचण्डले गठबन्धनभित्रका अन्य दलहरुलाई डराउन मात्र खोजेका हुन्।' 

त्यसको दुई दिनपछि (चैत ५) सिन्धुली पुगेर उनले भेडा र सिंह मिसिन नहुने बताएका थिए। 'सिंह र भेडाको कथाजस्तो हामी भेडासँग हिँड्दा–हिँड्दा भ्या–भ्या गर्न थाल्यौँ, अब सिंहजस्तै गर्जिन जरुरी छ,' उनले भनेका थिए। आगामी निर्वाचनमा  निर्वाचनमा माओवादी केन्द्र आफ्नै खुट्टामा उभिएर निर्वाचन लड्ने दाबी उनको थियो। 

माओवादी केन्द्रले फेरि एकपटक पुरानो युद्धकालीन शैलीझैँ आगामी निर्वाचनमा भाग लिने प्रचण्डको संकेत थियो। उनको भनाइ थियो, 'हिजो हामी जसरी रेकी, पेट्रोल, आइएन्टी टिम बनाएर सेनासँग युद्ध लडेका थियौँ, जनताका घरघरमा गएर उनीहरूलाई हलो जोत्न भारी बोक्न सघाउँथ्यौँ, जनताले पिरमर्का बुझ्ने पार्टी नै माओवादी हो भन्ने बुझ्थे। अहिले त्यो फेरि बुझाउन जरुरी छ।' 

प्रचण्ड स्थानीय तहको निर्वाचनमा केन्द्रबाटै गठबन्धनको निर्णय गर्ने र स्थानीय तहको संख्या बाँडफाँड गर्ने रणनीतिमा थिए। उनले चितवनमा दिएको अभिव्यक्तिले पनि त्यही कुराको पुष्टि गर्छ। 

सिन्धुलीमा एक्लै निर्वाचन लड्ने अभिव्यक्ति दिएको भोलिपल्ट पोखरा पुगेर उनले बोलि फेरिदिए। चैत ६ गते उनले स्थानीय निर्वाचनमा तालमेल गर्न नहुने मत राख्ने कांग्रेस नेताहरू माथि प्रहार मात्रै गरेनन्, विकल्प खोज्ने चेतावनी समेत दिन भ्याए। खासगरी कांग्रेस उपसभापति धनराज गुरूङले विराटनगरमा कांग्रेसलाई हात्ती र माओवादीलगायतका दललाई चमेराको संज्ञा दिँदै गठबन्धन गर्न नहुने अभिव्यक्ति दिएको प्रति उनको आपत्ति थियो। 

'एक जना गुरुङ छन् नि (धनराज गुरुङ), हात्तीको कानमा चमेरा कि के भनेका छन्, यस्तै भाषा के, बडो सुन्नै गाह्रो। त्यसै गर्छन् भने त हामीले विकल्प खोज्नुपर्ने बाध्यता आउँछ तर अहिले हामीले त्यता सोचेका छैनौँ। आगामी निर्वाचनमा अहिलेकै यो गठबन्धनलाई लिएर जाने हो,' उनले भनेका थिए। 

चैत १० गते चितवन पुगेका उनले तीनै तहको चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने दाबी गरे। उनले चितवनका कांग्रेसले भनेर केही नहुने केन्द्रबाटै गठबन्धनको निर्णय गराउने दाबी गरेका थिए। 

'चितवन कांग्रेसले भनेर केही हुँदैन, केन्द्रबाटै तालमेल मिलाउँछौँ,' उनले भनेका थिए। 

गत सोमबार रोल्पामा भने प्रचण्डले जनताको भावनाअनुसार आगामी निर्वाचनको मोडालिटी तयार गरिने बताएका थिए। सदरमुकाम लिवाङमा आयोजना गरिएको पार्टीको आमसभालाई सम्बोधन गर्दै उनले भनेका थिए, 'तपाईहरु जे चाहनुहुन्छ, हामीले पनि त्यसै गर्ने हो। आगामी निर्वाचनमा कसरी जाने भनेर बरु हामीलाई सुझाउनुहोस्।' 

१० वर्षे सशस्त्र संघर्षको बेला आफूले रोल्पामै 'ग्रान्ड डिजाइन' गरेको स्मरण गर्दै उनले भने, 'म दुखमा पर्दा सधैँ रोल्पा आउथे, यहाँ मलाई नयाँ ऊर्जा आउथ्यो। यहीबाटै मैले ठूला निर्णय गरेँ।'

आफ्नै अध्यक्षका अभिव्यक्तिबारे के भन्छन् माओवादी नेताहरु? 

आफ्नै अध्यक्ष प्रचण्डले स्थान विशेष दिएको अभिव्यक्तिलाई माओवादी नेताहरुले 'रिस्क' लिने मुडका रूपमा बुझेका छन्। माओवादी सांसद महेश महरा। विभिन्न ठाउँमा पार्टीको सामर्थ्य थाहा पाउन प्रचण्डले त्यहाँको वस्तुस्थिति अनुकुल अभिव्यक्ति दिँदै आएको बताउँछन्। 'प्रचण्ड कमरेडले दिएको फरक–फरक अभिव्यक्तिलाई उहाँ विचलित रुपमा बुझ्नु आफैंमा गलत हो। पार्टीको सामर्थ्य बुझ्न उहाँले प्रयोग गर्नुभएको टुल्स हो,' उनी भन्छन्। 

प्रदेश र स्थानीय तहमा पार्टीको शक्ति थाहा पाउन र रणनीति बनाउन ठाउँ विशेष अभिव्यक्ति दिएको अर्का सांसद् जीवन बुढाको बुझाइ छ। 'अध्यक्ष कमरेडले प्रदेश र स्थानीय तहसम्मै पुगेर पार्टीको अवस्था अध्ययन गर्छु। त्यसपछि बल्ल तालमेलको बारेमा घनीभूत छलफल गरौं भन्नुभएको छ। पार्टीको अवस्था बुझ्नका लागि नै उहाँले फरक अभिव्यक्ति दिनुभएको हो,' उनी भन्छन्। 

अनि प्रचण्डले सोचे जस्तो नहुने भयो..

प्रचण्ड स्थानीय तहको निर्वाचनमा केन्द्रबाटै गठबन्धनको निर्णय गर्ने र स्थानीय तहको संख्या बाँडफाँड गर्ने रणनीतिमा थिए। उनले चितवनमा दिएको अभिव्यक्तिले पनि त्यही कुराको पुष्टि गर्छ। तर, प्रचण्डको रणनीतिक स्वार्थ कांग्रेसमा निहित थियो। कांग्रेसको निर्णयले नै गठबन्धन सन्दर्भमा ठूलो अर्थ राख्थ्यो। 

स्थानीय निर्वाचनका लागि रणनीति बनाउन कांग्रेसले पार्टीमा चार दिनसम्म घनिभूत छलफल गर्‍यो। शुक्रबारबाट सुरु भएर मंगलबार सम्पन्न भएको केन्द्रीय समितिको बैठकमा दुई खालका धारणा व्यक्त भए। एकथरी नेताहरू गठबन्धनका पक्षमा उभिए। अर्का थरी नेताहरू एक्लै लड्नुपर्ने पक्षमा देखिएका थिए। सभापति शेरबहादुर देउवा निकट नेताहरुको जोड गठबन्धन गर्नुपर्छ भन्नेमा थिए। तर, डा. शेखर कोइराला पक्षधर नेताहरू गठबन्धनको विपक्षमा थिए।  

तीन दिनसम्म चलेको बहसपछि कांग्रेसले मध्यमार्गी धार समातेको छ। खासगरी सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले गठबन्धनलाई पनि नचिढ्याउने र पार्टीभित्रको फरक मतलाई पनि सम्बोधन गर्ने गरी मध्यमार्गी निर्णय गराएका छन्। कांग्रेसले स्थानीय अवस्था र आवश्यकताका आधारमा चुनावी तालमेल गर्ने निर्णय गरेको छ। 

'स्थानीय निर्वाचनमा बहुसंख्यक स्थानीय तहमा नेपाली कांग्रेस विजयी हुने बलियो परिस्थिति र आधार बनेको अवस्थालाई अझै सबल र व्यापक बनाउन स्थानीय अवस्था र आवश्यकताअनुरूप गठबन्धनमा रहेका अन्य दलसँग तालमेल गर्न सक्ने नीतिगत निर्णय यो बैठक गर्दछ,' केन्द्रीय समितिको बैठकको निर्णयबारे कांग्रेसले भनेको छ।

कांग्रेसको यो निर्णयले प्रचण्डले भनेजस्तो केन्द्रीय स्तरको गठबन्धन हुने छैन। अब चुनावी तालमेल कहाँ हुने, कहाँ नहुने निर्णय कांग्रेसका सबै तहका समितिहरुले गर्ने निर्णका आधारमा हुनेछ। कांग्रेसको विधानले टिकट वितरणका लागि प्रतिनिधिसभा निर्वाचन क्षेत्र संसदीय समिति, जिल्ला संसदीय समिति, प्रदेश संसदीय समिति र केन्द्रीय संसदीय समिति गरी चार तहका संरचनाको परिकल्पना गरेको छ। सोही कारण चुनावी तालमेल केन्द्र, प्रदेश, जिल्ला, प्रतिनिधिसभा क्षेत्रीय समिति र स्थानीय तहका पार्टी संरचनाको निर्णयका आधारमा हुनेछ। 

यद्यपि प्रचण्डले ठूला सहरमा चुनावी तालमेल केन्द्रबाटै गराउने प्रयास भने छाडेका छैनन्। चितवनको भरतपुर विमानस्थलमा पत्रकारहरुसँग उनले बुधबार भनेका छन्, 'महानगर पालिका र उपमहानगर पालिकालाई सकेसम्म केन्द्रबाटै तालमेल गर्ने भन्ने छलफल चलिरहेकै छ। गठबन्धनको बैठकले टुङ्याउने छ।' 

प्रकाशित: Mar 31, 2022| 10:41 बिहीबार, चैत १७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...