मंगलबार, असोज ६, २०८३
  • गृहपृष्ठ
  • भिडियो
  • चुनावमा तालमेल गर्ने कांग्रेसको निर्णय, जिल्लाको आदेशविरुद्ध उच्च पुगे पल शाह [२०७८-१२-१५]

चुनावमा तालमेल गर्ने कांग्रेसको निर्णय, जिल्लाको आदेशविरुद्ध उच्च पुगे पल शाह [२०७८-१२-१५]

सरकारले नेपाल र जनवादी गणतन्त्र चीनबीच शून्य भन्सार तथा कोटारहित (ड्यूटी फ्री कोटा फ्री) सुविधासम्बन्धी एलओई स्वीकृत गरेको छ। चैत १४ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।
 |  मंगलबार, चैत १५, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १५, २०७८

चीनसँग कोटारहित र शून्य भन्सार सुविधासम्बन्धी एलओई स्वीकृत

सरकारले नेपाल र जनवादी गणतन्त्र चीनबीच शून्य भन्सार तथा कोटारहित (ड्यूटी फ्री कोटा फ्री) सुविधासम्बन्धी एलओई स्वीकृत गरेको छ। चैत १४ गते सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् नेपाल सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले सरकारले चीनले प्रस्ताव गरेको आर्थिक तथा प्राविधिक सहायता सम्झौता अन्तर्गत प्राप्त हुने अनुदान सहायता र सीमा वारपार रेलमार्ग सम्भाव्यता अध्ययन सम्बन्धी प्रविधि सहायता स्वीकार गर्ने निर्णय पनि भएको जानकारी दिए। 

त्यस्तै सरकारले कतारमा मार्च २६ र २७ मा सम्पन्न हुने दोहा फोरमको २०औँ संस्करणको सम्मेलनमा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल नेतृत्वको टोलीको भ्रमणमा समर्थन गर्ने निर्णयसमेत गरेको छ। 

यस्तै सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायको आगामी चैत्र १८ देखि २७ गते सम्मको भारत भ्रमण स्वीकृत गरेको छ। मन्त्रिपरिषद्ले जापानका लागि नेपालका पूर्व राजदूत केदारभक्त माथेमालाई जापान सरकारबाट प्रदान गरिने ‘द अर्डर अफ जापान, द अर्डर अफ राइजिङ सन गोल्ड एन्ड सिल्भर स्टार’ सम्मान ग्रहण गर्न स्वीकृति समेत दिएको छ। 

यस्तै कपिलवस्तुको तिलौराकोट क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषणा गर्ने, दूरसञ्चार प्राधिकरणको सदस्य नियुक्तिको लागि सिफारिस गर्न सिफारिस समिति समेत गठन गर्ने निर्णय भएको प्रवक्ता कार्कीले जानकारी दिए। 

दुई देशसँग सम्बन्ध विस्तार

नेपालले थप दुई देशसँग कूटनीतिक सम्बन्ध विस्तार गरेको छ। यससँगै नेपालको १७५ देशसँग कूटनीतिक सम्बन्ध स्थापना भएको छ। 

सोमबार नेपालको परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता सेवा लम्सालले गणतन्त्र पलाउ र दक्षिण सुडान कूटनीतिक सम्बन्ध कायम गरिएको जानकारी दिएकी हुन्। 

परराष्ट्र मन्त्रालयले नेपालबाट बाहिर पुगेका पुरातात्विक महत्वका ७९ वटा सम्पदाहरु स्वदेश फर्काएको पनि जनाएको छ। जसमध्ये तिब्बतबाट २८, कलकत्ताबाट १३, बेलायतबाट १९, अमेरिकाबाट १७, अष्ट्रियाबाट १ र जर्मनीबाट १ थान सम्पदा नेपाल फिर्ता ल्याइएको परराष्ट्र मन्त्रालयकी प्रवक्ता लम्सालले जानकारी दिइन्। 

यसका साथै नेपालको परराष्ट्र मन्त्रालय र दक्षिण अफ्रिकाको परराष्ट्र मन्त्रालयबीच द्विपक्षीय परामर्श संयन्त्रको स्थापना गर्ने सम्झौतामा दुई देशका परराष्ट्र सचिवको स्तरमा हस्ताक्षर भएको पनि उनले उल्लेख गरिन्। नेपाल र बंगलादेशका परराष्ट्र सचिव स्तरीय तेस्रो बैठक आगामी अप्रिल ११ देखि १३ सम्म पोखरामा हुने पनि उनले जानकारी दिइन्।

यस्तै प्रधानमन्त्री शेरबहादुर देउवाले चैत्र १८, १९ र २० गते छिमेकी देश भारतको भ्रमण गर्न लागेको समेत उनले जानकारी दिइन्। उनले मार्च २५ देखि २७ सम्म चीनका विदेशमन्त्री वाङ यी ले नेपालमा गर्नुभएको भ्रमणका क्रममा ९ वटा विषयमा सम्झौता भएको जानकारी दिइन्। 

चुनावमा तालमेल गर्ने कांग्रेसको निर्णय

नेपाली कांग्रेसको शेखर कोइराला समूहले पार्टी सभापति शेरबहादुर देउवा चरम गुटबन्दीमा लागेको निष्कर्ष निकालेको छ। उक्त समूहको तरुण–विद्यार्थी भेलाले यस्तो निष्कर्ष निकालेको हो। 

सभापति शेरबहादुर देउवाले एकलौटी ढंगले नेविसंघ र तरुण दलको नेतृत्व चयन गरेपछि शेखर समूहले भेला बोलाएको हो। सभापति देउवाले गत बुधबार नेविसंघको अध्यक्षमा दुजाङ शेर्पा र तरुण दलको अध्यक्षमा विद्वान गुरुङलाई मनोनित गरेका थिए। 

यद्यपि फागुन ३ को कांग्रेस बैठकले भ्रातृ संस्थाको तदर्थ समितिको नेतृत्व चयन गर्ने अधिकार सभापति देउवालाई दिएको थियो। देउवाले सबैको सल्लाहमा भ्रातृ संस्थाको नेतृत्व चयन गर्ने बताएका थिए। तर, सल्लाह नै नगरी एकलौटी ढंगले नेतृत्व चयन गरेपछि शेखर समूह आक्रोशित बनेको हो।

उता सानेपामा जारी केन्द्रीय समिति बैठकले चुनावी तालमेलबारे निर्णय गरेको महामन्त्री विश्वप्रकाश शर्माले जानकारी दिए। स्थानीय निर्वाचनमा स्थानीय आवश्यकताअनुसार गठबन्धनमा रहेका राजनीतिक दलहरुसँग तालमेल गर्ने निर्णय गरेको नेता रामचन्द्र पौडेलले जानकारी दिए।

बैठकले पार्टी उपसभापति पूर्णबहादुर खड्काको संयोजकत्वमा निर्वाचन परिचालन समितिसमेत गठन गरेको छ। त्यस्तै डा. प्रकाशशरण महतको संयोजकत्वमा निर्वाचन प्रचारप्रसार समिति बनाइएको छ। 

अनुशासन समित र संसदीय समिति भने गठन नभएको र प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा भारत भ्रमणबाट फर्केपछि गठन हुने प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। देउवा शुक्रबार भारत भ्रमणमा जाने तय भएको छ।

गठबन्धनको मोडालिटी तयार गर्न आजै कांग्रेसका शीर्ष नेताहरु छलफलमा जुटेका थिए। कांग्रेसले गठबन्धनको सट्टा चुनावी तालमेल शब्द प्रयोग गरेर मध्यमार्गी बाटो खोज्ने तयारी गरेको छ। 

केन्द्रीय समिति बैठकमा शेखर कोइराला समूहले गठबन्धन गर्न नहुने अडान लिएपछि चुनावी गठबन्धनको सट्टा स्थानीय आवश्यकताअनुसार चुनावी तालमेल शब्द राखेर मध्यमार्गी बाटोबाट निर्णय गर्न लागिएको हो।

१४ घण्टासम्म लोडसेडिङ

एक सातादेखिको लोडसेडिङका कारण पूर्व क्षेत्रका उद्योगको उत्पादनमा ६० प्रतिशतभन्दा बढी गिरावट आएको छ। पछिल्लो एक सातायता दैनिक औद्योगिक फिडरमा १२ देखि १४ घण्टासम्म लोडसेडिङ भएका कारण उत्पादनमा व्यापक गिरावट आएको उद्योगीहरुले गुनासो गरेका हुन्। 

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ (सीएनआई) ले मंगलबार विराटनगरमा पत्रकार सम्मेलन गरी लोडसेडिङका कारण उद्योगले ६० प्रतिशत उत्पादन कटौती गरिएको बताए। 

मोरङ व्यापार संघका अध्यक्ष नवीन रिजालले १४ घण्टा लोडसेडिङ हुँदा ८ घण्टामात्र उत्पादन गर्न सकिने भएकाले उत्पादन कटौती भएको बताए। प्राधिकरणले १ मेगावाटभन्दा कमका उद्योगमा लोडसेडिङ नगर्ने जनाए पनि सबै उद्योगको लाइन काटिरहेको उनको भनाइ छ। 

उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेलले प्राधिकरणले राति ८ देखि १२ बजेसम्म चार घण्टाको अवधिका लागिमात्र भारतसित भारु २० रुपैयाँमा विद्युत खरिद गरिरहेको देखाएर उद्योगमा लाइन काटिएको आरोप लगाए। ‘चार घण्टा महँगोमा खरिद गरेको उदाहरण देखाएर १२ देखि १४ घण्टासम्म उद्योगमा लाइन काट्नु कतिको जायज हो?’ उनको प्रश्न थियो। 

अध्यक्ष प्याकुरेलले प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ विगत तीन दिनदेखि उद्योगीको सम्पर्कमा आउन नचाहेको आरोप लगाए। गत सातामात्रै नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले जुनसुकै मूल्यमा भए पनि उद्योग व्यवसाय क्षेत्रलाई विद्युत उपलब्ध गराउने, लोडसेडिङ नगर्ने प्रतिबद्धता गरेका थिए। 

सीएनआई प्रदेश १ का अध्यक्ष भीम घिमिरेले प्राधिकरणले अहिलेसम्म उद्योगीलाई लोडसेडिङको तालिकासमेत नदिएको आरोप लगाए। नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश १ ले पनि विद्युत आपूर्तिलाई तत्काल सहज बनाउन माग गरेको छ। 

न्यायाधीशमा श्रेष्ठ अनुमोदित

संसदीय सुनुवाई समितिले सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित तीलप्रसाद श्रेष्ठको नाम अनुमोदन गरेको छ। मंगलबार सिंहदरवारमा बसेको समितिको बैठकले न्याय परिषदबाट प्रस्तावित सर्वोच्च अदालतका न्यायाधीश श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको हो । योग्य, क्षमतावान र अनुभवी रहेको कुरा सुनवाईको क्रममा पुष्टि भएपछि उनलाई सर्वोच्च अदालतको न्यायाधीश पदका लागि गरिएको सिफारिस सर्वसम्मतिले अनुमोदन गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै श्रेष्ठले सर्वोच्च अदालतमा जनताले ढुंगा हान्ने अवस्था आउन नदिने गरी आफूले काम गर्ने दाबी गरे। न्याय सेवालाई छिटो, छरितो र पारदर्शी बनाउन आफू केन्द्रित हुने पनि उनको भनाइ छ। 

श्रेष्ठलाई गत फागुन २७ गते बसेको न्यायपरिषद बैठकले सर्वोच्च अदालतको न्यायाधीशका लागि सिफारिस गरेको थियो।

दुई दिने बिदा दिने प्रस्ताव

इन्धन खपत घटाउन नेपाल आयल निगमले साताको दुई दिन सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ। निगमले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई शनिबार र आइतबार सार्वजनिक बिदासहित १० बुँदे प्रस्ताव पठाएको हो। 

बिदाका दिन सवारीसाधनको प्रयोग कम भई इन्धन खपत घट्ने विश्वास निगमको छ। निजी र सरकारी सवारीसाधनमा जोरबिजोर प्रणाली लागू गर्न पनि निगमले प्रस्ताव गरेको छ। 

इन्धनमा लाग्दै आएको भन्सार शुल्क, मूल्य अभिवृद्धि कर र पूर्वाधार शुल्कलगायत गरी प्रतिलिटर १५ रुपैयाँ घटाउन पनि निगमले माग गरेको छ।

पेट्रोल र डिजलबाट चल्ने सवारीसाधनको आयातलाई निरुत्साहित गर्न विद्युतीय सवारीसाधनमा प्रोत्साहन गर्ने, खाना पकाउने एलपी ग्यासको प्रयोग नगरी विद्युतीय चुलो प्रयोग गर्न सरकारबाटै सार्वजनिक आह्वानको प्रस्ताव गर्ने प्रस्ताव पनि निगमको छ।

सुनको मूल्य घट्यो 

मंगलबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला १३ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजोको तुलनामा सुनको मूल्य १३ सय रुपैयाँले घटेको जानकारी दिएको हो। 

सोमबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५०० रुपैयाँ थियो। यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँ कायम भएको थियो। तोलामा १३ सय रुपैयाँको गिरावट आएको छ।

प्रतितोला १३ सय रुपैयाँ घटेसँगै आज छापावाल सुनको मूल्य प्रतितोला ९९ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य ९८ हजार ७०० रुपैयाँ छ। यसैगरी, आज सुनको मूल्य घटेको दिन चाँदीको मूल्य पनि घटेको महासंघले जनाएको छ। 

हिजो तोलामा १३ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँले घट्दै १३ सय ७० रुपैयाँमा आइपुगेको छ।

उच्च पुगे पल

नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका पल शाहले जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध उच्च अदालत पोखरामा पुनरावदेन गरेका छन्। 

तनहुँ अदालतले पुर्पक्षको लागि थुनामा पठाउन दिएको आदेश बदर गरीपाउँ भन्दै उनका कानुन व्यावसायीले मंगलबार उच्च अदालतमा पुनरावेदन गरेका हुन्। उच्च अदालतका उपरजिष्ट्रार तथा सूचना अधिकारी विष्णुप्रसाद आचार्यले पलको निवेदनमाथि भोलि पहिलो सुनुवाइ जानकारी दिए। 

यही चैत १० गते पललाई जिल्ला अदालत तनहुँका न्यायाधीश हरिशचन्द्र ढुंगानाको इजलासले पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको थियो। सोही मुद्दामा बलात्कार मतियारको अभियोग लागेका पलका म्यानेजर कृष्ण जोशीलाई भने एक लाख धरौटी तिराएर छाड्न आदेश भएको थियो। 

जिल्ला अदालतको थुनछेक आदेशपछि पल अहिले जिल्ला कारागार तनहुँमा राखिएका छन्। 

त्रिदिवसीयमा मलेसियाको जित

कीर्तिपुरको त्रिवि मैदानमा जारी त्रिदेशीय टी-२० सिरिजअन्तर्गत आजको खेलमा मलेसियाले ८ रनको जित निकालेको छ। १८१ रनको लक्ष्यका साथ मैदान उत्रिएको पीएनजीलाई १७२ रनमा रोक्दै मलेसियाले ८ रनको जित निकालेको हो।

पहिले ब्याटिङ गरेको मलेसियाले तीन विकेट गुमाएर पूरा ओभर खेल्दै १८० रन बनाएको थियो। मलेसियाका विरनदिप सिंहले अविजित सर्वाधिक ५९ रन बनाएपछि मलेसियाले प्रतिस्पर्धात्मक लक्ष्य प्रदान गरेको हो। पीएनजीका लागि टोनी उराले ५६ रनको अर्धशतकीय पारी खेले। 

जितसँगै मलेसियाले प्रतियोगितामा दुई अंक जोडेको छ। प्रतियोगितामा नेपालको पनि दुई अंक छ। बुधबारको खेलमा नेपालले मलेसियाको सामना गर्नेछ।

प्रकाशित: Mar 29, 2022| 20:36 मंगलबार, चैत १५, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

स्वास्थ्यका लागि कति निन्द्रा उपयुक्त?

स्वस्थ रहनका लागि कति घण्टा सुत्नुपर्छ? ८ घण्टा, ९ घण्टा या त्यो भन्दा कम? हालै क्याम्ब्रिज विश्वविद्यालय मनोचिकित्सा विभागले गरेको एक अध्ययनअनुसार ३५ वर्षको उमेरपछि...

भृकुटीमण्डपमा रोटीमेला

भृकुटीमण्डपमा रोटीका ५० परिकारको प्रदर्शनी गरिएको छ।

गठबन्धनमा मिलेन भागबन्डा, सन्दीप लामिछाने कालोसूचीमा [२०७९-५-२६]

माओवादी, नेकपा एस, जसपा र कांग्रेसले आफ्नो वास्तविक शक्तिभन्दा बढी सिटमा दाबी गरेका कारण भागबन्डा मिलाउन नसकिएको राष्ट्रिय जनमोर्चाको भनाइ छ।

७५ जिल्ला पुग्यो डेंगु, बिटक्वाइन कारोबारविरुद्ध कडा कानुन [२०७९-५-२०]

सांसदहरूको कार्यकाल लम्ब्याउने गरी ल्याइएको विधेयकप्रति निर्वाचन आयोगको आपत्ति, प्रस्तावले गलत सन्देश प्रवाह हुने भएकाले फिर्ता लिने संकेत।

भदौ २७ देखि डा केसीको अनशन, मन्त्रीमाथि खनिए सिसडोलबासी [२०७९-५-१२]

विद्यालयका कर्मचारीले एक हप्ताको लागि विद्यालय बन्द गर्ने भएका छन्। एक विज्ञप्ति जारी गर्दै पियन–लेखापालले आजबाट १८ गतेसम्म विद्यालय बन्द गर्ने जनाएका छन्।