बिहीबार, वैशाख २०, २०८१
  • गृहपृष्ठ
  • राजनीति
  • 'क्षति मूल्यांकन'का लागि चिनियाँ विदेशमन्त्रीको दक्षिण एसिया फन्को

'क्षति मूल्यांकन'का लागि चिनियाँ विदेशमन्त्रीको दक्षिण एसिया फन्को

युक्रेन संकटको समयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपको भ्रमण गरेर नाटोमा आवद्ध मुलुकहरुलाई रुसविरुद्ध गोलबद्ध हुन पहल गरिरहँदा चिनियाँ विदेशमन्त्रीले भने दक्षिण एसियाको फन्को लगाएका हुन्।
 |  सोमबार, चैत १४, २०७८

दिलीप प्रकाश कार्की

दिलीप प्रकाश कार्की

सोमबार, चैत १४, २०७८

काठमाडौं- युक्रेनमाथि आक्रमण गरिरहेको रुसलाई कूटनीतिक समर्थन गरेको भन्दै पश्‍चिमा मुलुकहरुले चीनको चर्को आलोचना गरिरहेको समयमा चिनियाँ स्टेट काउन्सिलरसमेत रहेका विदेशमन्त्री वाङ यी भने दक्षिण एसियामा फन्को लगाएर आइतबार स्वदेश फर्किएका छन्। २१ मार्च, २०२२ मा चीनबाट उडेका चिनियाँ विदेशमन्त्री वाङ यी २७ मार्चमा स्वदेश अवतरण गरेका हुन्। 

triton college

यस एक साताको अवधिमा दक्षिण एसियाका चार मुलुकको भ्रमणका क्रममा विभिन्‍न मुलुकका विदेशमन्त्री, राष्ट्र प्रमुख तथा विभिन्‍न राजनीतिक दलका २० जनाको प्रतिनिधिमण्डलसँग औपचारिक भेटवार्ता गरेका छन्। 

युक्रेन संकटको समयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपको भ्रमण गरेर नाटोमा आवद्ध मुलुकहरुलाई रुसविरुद्ध गोलबद्ध हुन पहल गरिरहँदा चिनियाँ विदेशमन्त्रीले भने दक्षिण एसियाको फन्को लगाएका हुन्। चिनियाँ विदेशमन्त्री वाङ यीले पाकिस्तानी उपराष्ट्रपति आरिफ अल्भी, प्रधानमन्त्री इमरान खान, विदेशन्त्री शाह मोहम्मद कुरेशी र सेना प्रमुख कमार जावेद वाजवासँग भेट गरे। त्यसैगरी पाकिस्तानमा नै उनले सोमाली, इजिप्ट, साउदी अरब, जाम्बिया, नाइजेरियाका विदेशमन्त्रीसँग पनि भेट गरेका छन्। त्यसैगरी इस्लामिक सहयोग संगठन (ओआईसी) का महासचिव समेह शोउक्रीसँग पनि भेटवार्ता गरेका थिए। 

मार्च २४ मा अफगानिस्तान पुगेर तालिबान सरकारका उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादर र विदेशमन्त्री आमिर खान मुत्ताकीसँग उनले भेटवार्ता गरेका थिए। मार्च २४ बेलुका नयाँ दिल्ली अवतरण गरेका चिनियाँ विदेशमन्त्रीले भारतीय समकक्षी एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग भेटवार्ता गरेका थिए। मार्च २५ अपरान्ह काठमाडौं ओर्लिएका चिनियाँ विदेशमन्त्रीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, परराष्ट्रमन्त्री डा. नारायण खड्का, सत्ता साझेदार दलका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए।

corrent noodles
Metro Mart
मार्च २२ मा पाकिस्तान भ्रमणका क्रममा पाकिस्तानी प्रधानमन्त्री इमरान खानसँग भेटवार्ता गर्दै चिनियाँ विदेशमन्त्री वाङ यी। तस्बिर स्रोत : काठमाडौंस्थित चिनियाँ दूतावास। 

५७ सदस्य राष्ट्रहरुको साझा संस्था इस्लामिक सहयोग संगठन (ओआईसी) को कार्यक्रमलाई सम्बोधन गर्न पुगेका थिए विदेशमन्त्री यी। इस्लामिक राष्ट्रहरुका विदेशमन्त्रीको सम्मेलनमा चिनियाँ विदेशमन्त्रीलाई बोलाएर चीनमा अल्पसंख्यक उइगर मुस्लिमहरुमाथि भइरहेको मानव अधिकार उल्लंघनका घटनाहरुलाई 'क्लिन चिट' मिलेको टिप्पणीसमेत भइरहेको छ। 

युक्रेन संकटको समयमा अमेरिकी राष्ट्रपति जो बाइडेनले युरोपको भ्रमण गरेर नाटोमा आवद्ध मुलुकहरुलाई रुसविरुद्ध गोलबद्ध हुन पहल गरिरहँदा चिनियाँ विदेशमन्त्रीले भने दक्षिण एसियाको फन्को लगाएका हुन्।

पाकिस्तानबाट उनले अफगानिस्तानको 'सरप्राइज भिजिट' गरेका थिए। अन्तर्राष्ट्रिय मान्यता पाउनका लागि तालिबान सरकारले मन्त्रिमण्डल फेरबदलको तयारी गरिरहेको समयमा भएको चिनियाँ विदेशमन्त्रीको भ्रमणलाई अर्थपूर्ण रुपमा हेरिएको छ। सोही दिन सन् २०२० को गलवान घाँटीमा चिनियाँ र भारतीय सुरक्षाकर्मीबीचको झडपका क्रममा २० भारतीय सेनाको हत्यापछि पहिलो पटक चिनियाँ विदेशमन्त्री नयाँ दिल्ली अवतरण गरेका हुन्। भारतमा २४ घण्टा बिताएर तीन दिने भ्रमणका लागि २५ मार्चमा उनी नेपाल ओर्लिएका थिए।

यसअघि जवनरी दोस्रो साता चिनियाँ विदेशमन्त्रीले श्रीलंका र माल्दिभ्स भ्रमण गरेका थिए भने सन् २०२१ को जुलाईमा बंगलादेशका विदेशमन्त्रीलाई आमन्त्रण गर्दै बेइजिङमा भेटवार्ता गरेका थिए। अमेरिकी धुरीमा रहेर पश्‍चिमा मुलुक र चीनबीचको तिक्तता बढ्दै गएको समयमा चीनले एसिया र विशेषगरी दक्षिण एसियाली मुलुकमा आफ्नो प्रभाव विस्तार गर्ने रणनीति अवलम्बन गरिरहेको कूटनीतिज्ञहरुले बताइरहेका छन्। 

मार्च २४ मा चिनियाँ विदेशमन्त्रीले अफगानी सरकारका उपप्रधानमन्त्री मुल्लाह अब्दुल घानी बरादरसँग भेट गर्दै। तस्बिर : चिनियाँ दूतावास। 

प्रतिकूलता महसुस गरेपछि क्षति मूल्यांकनको टुर

एसिया रणनीतिक केन्द्रका निर्देशक समिल लालवानीले चीनले क्षेत्रीय रुपमा प्रतिकूल परिस्थिति बनिरहेको महसुस गरेपछि दक्षिण एसियाको फन्को लगाएको बताएका छन्। उनले भनेका छन्, 'पछिल्लो समय पाकिस्तानमा राजनीतिक कोर्ष परिवर्तनको तयारीमा रहेको समयमा ६५ बिलियन अमेरिकी डलरको चीन-पाकिस्तान आर्थिक करिडोरको काम अवरुद्ध भएको, अन्तर्राष्ट्रिय मान्यताको पर्खाइमा रहेको अफगानिस्तान, सीमा विवादले सम्बन्ध चिसिएको भारत र एमसीसी अनुमोदनपछि नेपालमा बढ्दो पश्‍चिमा प्रभावलगायतका विषयले यस क्षेत्रमा चीनको प्रतिकूल माहोल बनिरहेको  टिप्पणी भइरहेका थिए। यस्तो अवस्थामा क्षति मूल्यांकन गर्नका लागि विदेशमन्त्रीले एक फन्को लगाएको देखिन्छ।' 

 'फेटफुल ट्रेङ्‌गल : हाउ चाइना सेप्ड यूए-इण्डिया रिलेसन ड्युरिङ कोल्ड वार' पुस्तकका लेखकसमेत रहेकी भारतीय कूटनीतिज्ञ तान्बी मन्डनले चीनले दोहोरो विश्‍वव्यापी र क्षेत्रीयरुपमा समस्याको सामना गरिरहेको सन्दर्भमा यो भ्रमण भएको बताएकी छन्। उनले भनेकी छन्, 'पहिलो कुरा रुस-युक्रेन युद्धमा चीनको पोजिसनको विषयले चीनले अहिले चौतर्फी दबाबको महसुस गरिरहेको छ। चीनले रुसलाई कूटनीतिक समर्थन गरिरहेको भन्दै आलोचना भइरहेको छ। अर्कोतर्फ चीनले क्षेत्रीय रुपमा पनि आफ्नो प्रभाव गुमाउँदै गएको महसुस भएपछि वास्तविक वस्तुस्थिति बुझ्‍न दक्षिण एसियाको भ्रमण गरेको देखिन्छ।' 

मार्च २५ मा भारतीय समकक्षी एस जयशंकरसँग नयाँ दिल्लीमा भेट गर्दै चिनियाँ विदेशमन्त्री वाङ यी। तस्बिर स्रोत : चिनियाँ दूतावास।

एसिया रणनीतिक केन्द्रका निर्देशक समिल लालवानीले चीनले क्षेत्रीय रुपमा प्रतिकूल परिस्थिति बनिरहेको महसुस गरेपछि दक्षिण एसियाको फन्को लगाएको बताएका छन्।

चिनियाँ सरकारको मुखपत्र ग्लोबल टाइम्सले आफ्नो विदेशमन्त्रीको भ्रमण पश्‍चिमाहरुका लागि अनपेक्षित भएको जनाएको छ। ग्लोबल टाइम्सले समाज विज्ञान चिनियाँ प्रतिष्ठानका अध्यता लु सियाङलाई उदृत गर्दै लेखेको छ, 'विश्‍व एक बृहत् ठाउँ हो। चीनले 'हटस्पट' (युक्रेन)बाहेकका ठाउँहरुलाई बेवास्ता गर्न सक्दैन। चीनले चौतर्फी कूटनीतिलाई अघि बढाउने भएकोले यो भ्रमण भएको हो।' 

युक्रेन मुद्दामा चीनले शान्तिपूर्ण समाधान खोज्‍न आग्रह गरेसँगै क्षेत्रीय रुपमा पनि शान्ति र स्थायित्वका लागि सकेसम्म पहल गर्ने उनले बताएका छन्। उनले थपे, 'चिनियाँ चरित्रको कूटनीति पनि यस्तै हो।' 

'संकटमा चीनले द्वन्द्व भड्काउँदैन, तर शान्तिपूर्ण समाधानको सक्रिय वकालत गर्छ,' उनले थपे, 'हटस्पटभन्दा बाहिर, साझा हितका लागि साझा समुदायमा शान्ति र विकासका लागि विकासोन्मुख देशहरूको विस्तृत दायरासम्म पुग्‍न चीन प्रतिबद्ध छ।'

मार्चको सुरुमा चिनियाँ विदेशमन्त्री वाङ यीले सन् २०२२ मा 'ग्लोबल गभर्नेन्स' एसियाली समयमा प्रवेश गर्ने' बताएको पनि ग्लोबल टाइम्सले जनाएको छ। 

चार एसियाली राष्ट्रका विदेशमन्त्रीलाई बेइजिङको निम्तो 

चिनियाँ विदेशमन्त्री वाङ यी स्वदेश फर्किएलगत्तै चार एसियाली देशका विदेशमन्त्रीहरुलाई बेइजिङ भ्रमणको निम्तो दिएका छन्। चिनियाँ सरकारी समाचार संस्था सिन्ह्वाका अनुसार विदेशमन्त्री वाङले इन्डोनेसिया, थाइल्यान्ड, फिलिपिन्स र म्यानमारका परराष्ट्रमन्त्रीहरुलाई बेइजिङ भ्रमणको निम्तो पठाएका हुन्।

मार्च ३१ देखि अप्रिल ३ सम्म उनीहरुलाई अलग-अलग भ्रमणका लागि निम्तो दिएका हुन्। चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता वाङ वेनबिनले सोमबार विदेशमन्त्री वाङ यीले इण्डोनेसियाका विदेशमन्त्री रेट्‌नो मार्सुदी, थाइल्याण्डका उपप्रधान तथा विदेशमन्त्री डोन फ्रामुडविनाइ, फिलिपिन्सका विदेशमन्त्री तियोदोरो लोक्सिन र म्यानमारका विदेशमन्त्री यू वुन्‍ना मुहाल ल्विनलाई भ्रमणको निम्तो पठाएको जानकारी दिएका हुन्। त्यसैगरी अप्रिल ४ मा पानामाका विदेशमन्त्री इरिका मओनिसले पनि चीनको भ्रमण गर्ने जनाइएको छ।

प्रकाशित: Mar 28, 2022| 19:32 सोमबार, चैत १४, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...