सोमबार, वैशाख १५, २०८२

अठहत्तर वर्षमा कलेज पढ्दै गरेकी आमाको कथा

रत्नकुमारी बानेश्वर बहुमुखी क्याम्पसमा कक्षा ११ मा पढ्दैछिन्, जहाँ पढ्ने अधिकांश विद्यार्थीको उमेर १६ वर्ष आसपासको हुन्छ। उनी भने ७८ वर्षको उमेरमा युवा विद्यार्थीकै जोश लिएर क्याम्पस गइरहेकी छिन्।
 |  शनिबार, चैत १२, २०७८
nespernesper

रञ्जिता उप्रेती

रञ्जिता उप्रेती

शनिबार, चैत १२, २०७८

vianetvianet

राज्यले रत्नकुमारी सुनुवारलाई वृद्ध भत्ताको कार्ड थमाइदिएको छ। तर उनले भने विद्यार्थी परिचयपत्र रोजेकी छन्। ७८ वर्षको उमेरमा पनि उनलाई बानेश्वर क्याम्पस आसपास लौरो टेक्दै झोलामा कापीकिताब बोकेर हिँडिरहेको देख्न सकिन्छ। फरिया, लुङ्गी र कुर्थामा कलेज पुग्ने उनलाई बाटोमा धेरैले फर्कीफर्की हेर्ने गर्छन्।

triton college

रत्नकुमारी बानेश्वर बहुमुखी क्याम्पसमा कक्षा ११ मा पढ्दैछिन्, जहाँ पढ्ने अधिकांश विद्यार्थीको उमेर १६ वर्ष आसपासको हुन्छ। उनी भने ७८ वर्षको उमेरमा युवा विद्यार्थीकै जोश लिएर क्याम्पस गइरहेकी छिन्। ५४ वर्षमा पहिलोपटक अक्षर चिन्न पाएकी उनी अहिले औपचारिक पढाइ पूरा गर्ने अठोटका साथ पूरा समय पढाइलाई दिइरहेकी छिन्।

‘बूढापाकाले कालो अक्षर भैँसी बराबर भनेको सुनेको थिएँ,’ उनी भन्छिन्, ‘अक्षर नजाने संसार नजानिने रहेछ। ढिलै भए पनि पढ्नुपर्ने रहेछ भन्ने सोचेर स्कुल जान थालेँ।’

२०२० सालमा विवाह गरेकी उनका तीन छोरा र एक छोरी भए। दर्जनजति नातिनातिना छन्। भूपू सैनिक श्रीमान् अहिले घरमै रिटायर्ड लाइफ बिताइरहेका छन्।

२०५४ सालमा छोराछोरी सबैको विवाह भइसकेपछि गृहस्थीबाट उनलाई केही फुर्सद मिल्यो। फुर्सदको उपयोग गर्दै उनले थापाथली नजिकै प्रौढ शिक्षा पढाइ हुने ठाउँमा आफ्नो नाम दर्ता गराइन्। पाँच दशकसम्म अक्षर नचिनेकी उनलाई वर्णमाला चिन्नलाई ६ महिना लाग्यो। कोटेश्वरमा २०५७ सालमा घर किनेपछि नजिकैको महिला क्लबमा थप ६ वर्षसम्म अध्ययन गरिन्। 

National life insurance


‘त्यहाँ पढ्नबाट बञ्चित महिला तथा बालबालिकालाई पढाउँथे। मजस्तै धेरै महिलाहरु त्यो क्लबमा पढ्न आउँथे,’ रत्नकुमारी भन्छिन्, ‘एउटा हामी सँगै पढ्ने साथीले त ‘म’ अक्षर लेख्न नजानेकै भएर पढ्न आउनै छाडिन्।’

त्यसपछि पनि उनले पढाइलाई निरन्तरता दिइरहिन्। तीनकुनेको प्रेरणा महिला माध्यमिक विद्यालयबाट उनले २०७८ मा एसईई उत्तीर्ण गरिन्। एसईईको रिजल्ट आएको दिन उनलाई जीवनकै सर्वाधिक खुसी मिलेको थियो।

उमेरसँगै देखिएको जटिलता

उमेरले झण्डै आठ दशक पूरा गरेकी रत्नकुमारी सुनुवारलाई पढ्न सजिलो भने छैन। वुद्ध अवस्थासँगै देखिने दिर्घकालीन रोगबाट उनी पनि टाढा रहन सकिनन्। मधुमेह र उच्च रक्तचापका औषधी नियमित रुपमा खानुपर्छ।

‘अचेल त मान्छे पनि चिन्न गाह्रो हुन थालिसक्यो। आँखा धमिलो देख्छु। चस्माले पनि काम गर्दैन। डाक्टरले अप्रेसन नै गर्नुपर्छ भनेका छन्,’ उनी गुनासो गर्छिन्, ‘सानो स्वरले बोलेको सुन्न पनि गाह्रो हुन्छ। अचेल कान पनि सुन्न छाडेको छु। अस्ति भर्खरै पेटमा अल्सर भएर उपचार गर्नुपर्यो। चेकअपको लागि समय–समयमा अस्पताल पुग्नुपर्छ।’


खुट्टा सुन्निएर हिँड्न समस्या भएपछि उनलाई कलेज जान समस्या भएको छ। हिँड्न नसक्ने र ट्याक्सी भाडा महँगो भएर बिरामी हुँदा कलेज जान नपाएको उनको गुनासो छ। बिरामी नभइदिएको भए कति धेरै पढ्थेँ जस्तो लाग्छ। लेख्न थाल्दा हात काम्ने भएकाले छिटो लेख्न सक्दिनन् तर पनि कलम देख्नेबित्तिकै लेख्न बसिहाल्छिन् उनी। ‘घरमा सबैजना आफ्नै काममा व्यस्त हुन्छन्। गृहकार्य पनि आफैले गर्नुपर्छ। नजानेको कुरा सोध्नलाई कलेज नै पुग्नुपर्छ। दिनभरि घरमा हुँदा पढेर बस्छु।’   

रत्नकुमारी बानेश्वर बहुमुखी क्याम्पसमा कक्षा ११ मा पढ्दैछिन्, जहाँ पढ्ने अधिकांश विद्यार्थीको उमेर १६ वर्ष आसपासको हुन्छ। उनी भने ७८ वर्षको उमेरमा युवा विद्यार्थीकै जोश लिएर क्याम्पस गइरहेकी छिन्।

घर र समाजको व्यवहार

पढ्न जाँदा यस्तो बुढेसकालमा कस्तो जोश चलेको हो भनेर उनको अगाडि वा नसुन्ने गरी कुरा काट्नेहरुको कमी भएन। छिमेकी महिलाले ‘मर्ने बेलामा हरियो काँक्रो’ भन्दै पढ्नुको अर्थ छैन भनेर पनि जिस्क्याउँथे।

सुरुमा श्रीमानले बुढेसकालमा स्कुल जानु भनेकोे पनि पाकेको धानलाई पानी लगाउनु जस्तै हो, केही काम छैन भनेका थिए। घरमा आराम गरेर बस्नुपर्ने उमेरमा पढ्न गएको कुरा धेरै जनालाई पचेन पनि। ‘काग कराउँदै गर्छ, पिना सुक्दै गर्छ’ भनेजस्तै पढ्न भने कहिल्यै छाडिनन् उनले। 

रत्नकुमारीलाई पढ्न साथ दिनेहरु पनि धेरै छन्। सँगै क्लबमा पढेका साथीहरु उनले पढाइलाई निरन्तरता दिएको देखेर खुसी हुने गर्छन्। छोरा बुहारीहरुले एसईई पास भएको बेला खुसी भएर नयाँ लुगा र गहना दिएको सम्झिन्छिन् उनी।

‘झोला बोकेर टेम्पोमा पढ्न जाँदा उनलाई रमाइलो लाग्छ। सँगै यात्रा गरिरहेका यात्रुले उनलाई टुलुटुलु हेर्ने गर्छन्। जिज्ञासु भएर ‘कता जान लाग्नुभएको आमा?’ भनेर सोध्छन्। अनि उनी मुस्कुराउँदै जवाफ फर्काउँछिन्, ‘स्कुल।’।

उनको जवाफ सुनेपछि यात्रु हेरेको हेर्यै‍ हुन्छन्। ‘सायद अचम्ममा पर्दा हुन्,’ रत्नकुमारीलाई लाग्छ। सबैले ‘पढेर के गनर््ुहुन्छ? आँखा देख्नुहुन्छ? भनेर प्रश्न गर्छन्। उनी पनि ठट्यौली पारामा डाक्टर बन्नुपर्ला भनेर जवाफ दिन्छिन्।

बाल्यकालको सम्झना

रत्नकुमारीलाई लाग्छ, सानैमा पढ्न पाएको भए देश र आफ्नो लागि केही गर्न सकिन्थ्यो कि! ‘पहिला बाह्रखरी पढेका मान्छेलाई पनि शिक्षित मान्ने जमाना थियो,’ उनी सम्झन्छिन् ‘विद्यालय पनि नजिकै नहुने र पढ्नुपर्छ भन्ने चेतना समेत थिएन। कोही विद्यालय गएको देखे पनि ‘पढीलेखी के काम, हलो जोती खानु माम’ भन्ने गर्थे।’  


पहिलेका बालबालिका विद्यालय जाँदैनथे। कहिले लेक र कहिले बेँशीमा मेलापात गर्नमै व्यस्त हुने गर्थे। लेकमा कोदो, आलु, मकै रोप्न पर्थ्यो भने धान, लसुन, प्याज, गहुँ, जौ आदि बेँशीमा रोप्ने गरिन्थ्यो। बिहानको खाना खाएर दिनभरि गोठाला गएर साँझमा घाँस र गाईवस्तु सहित घर फर्कने गर्थे।

‘पहिला विद्यालय नजिक नहुँदा गाउँमा पढ्नुपर्छ भन्ने चेतना नै थिएन,’ उनी भन्छिन्, ‘हुनेखानेहरु एकदिनको बाटो हिँडेर पढ्न जान्थे। पढेलेखेका मानिसहरु औलाले गन्न सकिने हुन्थे।’ बाल्यकालमा बुबाले तमसुक, चिठी लेखेको देख्दा उनलाई पनि लेख्न रहर लाग्थ्यो। बुबाले तितेपातीको रस र हाँडीको मोसोलाई कचौरोमा मिसाएर मालिङ्गो (निगालो) को सिन्काले नेपाली कागजमा लेखेको उनले अहिले पनि बिर्सिएकी छैनन्।  

कलिलै उमेरमा पनि नपढ्ने धेरै बालबालिका छन्। सानोमा पढ्न नपाउने र पछि उमेरले गर्दा पढ्न लजाउनेहरुलाई आफू प्रेरणाको स्रोत भएको रत्नकुमारी बताउँछिन्। उनलाई महिलाहरुले समय त्यत्तिकै खेर फाल्नुभन्दा ज्ञानगुनका कुरा सिक्न सदुपयोग गरे हुन्थ्यो जस्तो लाग्छ। समाजका विकृति र विसङ्गति हटाउनको लागि पनि मानिसहरु शिक्षित हुन जरुरी छ।

विद्यालयमा सधै माया र सम्मान पाएर पनि उनलाई थप पढ्ने हौसला मिल्यो। शिक्षकहरु आफूभन्दा उमेरले साना भएपनि ज्ञानले ठूला रहेको रत्न कुमारी मान्छिन्। त्यही भएर उनी शिक्षकहरुलाई धेरै सम्मान गर्छिन। केही बन्न र पैसा कमाउनकै लागि पढ्नुपर्छ भन्ने गलत धारणा मानिसहरुमा रहेको उनको बुझाइ छ।

उनलाई पढ्न नपाएका साना बच्चाहरुलाई भेला गरेर साँझ बिहान पढाउने रहर छ। ‘केही जागिर खान नसके पनि घरमा पढेर बस्छु,’ उनी भन्छिन् ‘मर्नु भन्दा अघिल्लो दिनसम्म पनि पढेरै मर्न पाए हुन्थ्यो।’  

विद्यालय जान थालेपछि अनुशासनको बानी बसेको अनुभव गर्छिन् उनी। पहिले जस्तो चाँडो रिस पनि उठ्दैन रे अहिले त। सोचेर, विचार पुर्याएर मात्र कुरा गर्ने भएकी छिन्। भन्छिन्, ‘बोल्ने शैली र भाषा पनि सभ्य भएका छ अहिले त।’

नपढेका आमालाई निकै समस्या हुने गरेको उनको अनुभव छ। सन्तानले होमवर्क गरेका छन् कि छैनन् पनि थाहा हुँदैनथ्यो। बच्चाले पढ्न जानेनन् भने पनि सिकाउन सकिँदैनथ्यो। सन्तानलाई स्याहार्दै दिन बित्थ्यो। त्यसैले उनी उमेरमा पढ्न नपाए पनि अहिले कलेज जान पाउँदा औधी खुशी छिन्। ‘पढ्न जान्ने मान्छे कहिल्यै पनि एक्लो हुनुपर्दैन। कुरा गर्ने साथी कोही नभए पनि किताबले एक्लो महशुस हुन दिँदैन,’ त्यसैले त जीवनको उत्तरार्धमा किताब पढ्न थालेकी हुन् उनी। 


प्रकाशित: Mar 26, 2022| 07:43 शनिबार, चैत १२, २०७८
प्रतिक्रिया दिनुहोस्