चीनका विदेशमन्त्री काठमाडौंमा
चीनका विदेशमन्त्री वाङ यी दुई दिने नेपाल भ्रमणका लागि काठमाडौं आइपुगेका छन्।
वाङ नेतृत्वको टोली आज साँझ ५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका हुन्। नयाँ दिल्लीबाट काठमाडौं आएका वाङलाई विमानस्थलमा परराष्ट्रमन्त्री नारायण खड्काले स्वागत गरेका थियो। विमानस्थलबाट उनी सिधै बत्तिीसपुतलीस्थित होटल द्वारिकाज पुगेका थिए।
होटलबाट चिनियाँ दूतावास पुगेर वाङले ब्रिफिङ लिएका थिए। आजका लागि वाङको कुनै औपचारिक भेटघाट तय नभएको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।
भ्रमणको दोस्रो दिन शनिबार भने बिहान साढे ६ बजे विदेशमन्त्री वाङ शिवपुरी हाइकिङ जाने कार्यक्रम तय भएको छ। त्यसपछि उनको टोलीले परराष्ट्रमन्त्री नारायण खड्कासँग सिंहदरबारमा भेटघाट गर्नेछ। त्यसक्रममा विभिन्न सहमति तथा समझदारीपत्रमा हस्ताक्षर हुने कार्यक्रम छ।
यसपछि प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नेछन्। काठमाडौं ओर्लिएको तेस्रो दिन आइतबार बिहान वाङले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा भेट गर्ने तालिका छ। राष्ट्रपतिपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालसँग भेट्ने कार्यक्रम तय भएको छ। पूर्वप्रधानमन्त्रीद्वयसँगको भेट नक्सालस्थित होटेल मेरियटमा तय भएको बताइएको छ। त्यस शनिबार नै वाङ स्वदेश फर्कने कार्यतालिका छ।
ओलीलाई नेपालले लगाए ज्ञानेन्द्रसँग साँठगाँठ गरेको आरोप
सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी ओली पूर्वराजा ज्ञानेन्द्र शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाएका छन्।
अध्यक्ष नेपालले आसन्न स्थानीय तहको निर्वाचनमा दक्षिणपन्थीहरूसँग साँठगाँठका लागि ओली पूर्वराजा शाहको निवासमा सुटुक्क जाने गरेको आरोप लगाएका हुन्।
अखिल नेपाल महिला संघ (समाजवादी)ले शुक्रबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले ओली दक्षिणपन्थी भएको दावी गर्दै दक्षिणपन्थी शक्ति राप्रपासँग पनि चुनावमा मिलेर जाने प्रयास गरिरहेको तर्क गरेका थिए। आफूहरु भने वामपन्थी, लोकतान्त्रिक शक्ति भएकाले कांग्रेसलगायतका शक्तिहरुसँग चुनावी तालमेल गरेर अघि बढ्ने उनको भनाइ छ।
अध्यक्ष नेपालले सत्तारुढ गठबन्धनसँग मिलेर चुनावमा जाने अडान लिएको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवा र पत्नी आरजु देउवाप्रति आभार व्यक्त गरेका थिए।
नेपालले आफ्नै शक्तिको भरमा चुनाव जित्नेगरी तयारी गर्न पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए। एमाले परित्याग गरेर आफ्नो पार्टीमा प्रवेश गर्नेहरुको लहर नै चलेको दावीसमेत गरे।
कांग्रेसमा असन्तुष्टि
दुईवटा भ्रातृ संस्थाका अध्यक्ष चयनप्रति असन्तुष्टि बढेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेता शेखर कोइरालासँग छलफल गरेका छन्। कोइराला र देउवाबीच बिहान ९ बजे 'वान टु वान' वार्ता भएको हो।
शेखर उपसभापति धनराज गुरूङ, महामन्त्री गगन थापा, नेताहरू चन्द्र भण्डारी र मिनेन्द्र रिजाललाई लिएर बालुवाटार जाने तयारीमा थिए। तर उनलाई उनकै समूहका नेताहरूले 'वान टु वान' गर्न सुझाव दिएको शेखरका स्वकीय सचिव दिनेशचन्द्र थपलियाले बताए।
भेटमा शेखरले देउवासँग भ्रातृ संस्थाको नेतृत्व चयन गर्दा सल्लाह नगरेकोमा असन्तुष्टि व्यक्त गरेका थिए। देउवाले भने शेखर समूहले भ्रातृ संस्थाका समानान्तर समिति बनाउने समाचार बाहिरिएको भन्दै चासो राखेका थिए। जवाफमा कोइरालाले ‘एकलौटी गर्ने हो भने सडकमा जानुपर्ने र समानान्तर समिति बनाउने कुरा साथीहरूले गरेको’ बताएका थिए। देउवालाई पार्टीभित्रका असन्तुष्टि सम्बोधन गर्न र सबैका कुरा सुन्न सुझाव दिएका थिए।
चौधौं महाधिवेशनपछि कोइराला र देउवाको यो दोस्रो भेट हो। गत मंसिर अन्तिममा भएको महाधिवेशनमा कोइराला देउवासँग सभापतिमा पराजित भएका थिए।
उता नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले भने जिल्ला सभापतिहरूको भेला बोलाएर संस्थापन इतर समूहको नेता आफू नै भएको दाबी गरेका छन्। संस्थापन इतरको भेलामा पौडेललाई बोलाउन छोडिएपछि उनले जिल्ला सभापतिहरूको बैठक बोलाएका हुन्।
बजेटमा निजी क्षेत्रका सुझाव
आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रको समस्या समाधानलाई प्राथमिकता दिनुपर्ने उद्योगी तथा व्यवसायीहरुले बताएका छन्।
शुक्रबार प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले बैठकमा आगामी आर्थिक वर्षको बजेटका सम्बन्धमा निजी क्षेत्रसँग गरेको छलफलमा बोल्दै उद्योगी, व्यवसायीहरुले आगामी आर्थिक वर्षको बजेटले निजी क्षेत्रको विद्यमान समस्या समाधान गर्नुपर्नेमा जोड दिएका हुन्। बैठकमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय समिति सदस्य सन्दीपकुमार अग्रवालले आगामी बजेटमा निर्यात प्रवर्द्धन र आयातलाई प्रतिस्थापन गर्नुपर्ने बताए। उनले सेवा शुल्क खारेज गरी भ्याटलाई १० प्रतिशत कायम गर्नुपर्ने बताए।
नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेन्द्र मल्लले आगामी आर्थिक वर्षको बजेट चुस्त, दुरुस्त बनाउनुपर्ने बताए। उनले करको दायरा बढाउनुपर्ने र सामाजिक सुरक्षा भत्ता कोही व्यक्तिलाई पनि दोहोरो दिनु नहुने उल्लेख गरे।
नेपाल चेम्बर अफ कमर्शका वरिष्ठ उपाध्यक्ष कमलेश अग्रवालले देशमा तरलताको समस्या र विदेशी मुद्रा सञ्चितिको समस्या रहेको औँल्याए। उनले राष्ट्र बैंकको नीतिले निजी क्षेत्र हतोत्साही भएकोसमेत उल्लेख गरेका थिए।
होटल संघ नेपालकी अध्यक्ष सिर्जना राणाले भारतीय पर्यटकहरूलाई २ लाख रुपैयाँसम्म लिएर नेपाल प्रवेश गर्न दिनुपर्ने बताइन्।
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसद मोती दुगडले देशमा आर्थिक संकट घोषणा गर्ने अवस्था आइसकेको बताए।
उनले सरकार निजी क्षेत्रसँग सल्लाह, सुझाव लिएर अगाडि बढ्नुपर्ने बताएका थिए।
दुजाङको पदभार
नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघका सभापति दुजाङ शेर्पाले पदभार ग्रहण गरेका छन्।
शुक्रबार सभापति शेर्पाले नेपाल विद्यार्थी संघको सभापतिको पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गर्दै उनले संगठनलाई ठिक ठाउँमा राख्न आफ्नो ठाउँबाट सकेको सहयोग गर्ने बताए। उनले नेविसंघ अब राजनीतिक मुद्दाहरुमा नभइ शैक्षिक मुद्दाहरुलाई अघि बढाउनतर्फ लाग्ने प्रतिवद्धता जनाएका थिए। सभापति शेर्पाले अब नेविसंघले स्थानीय चुनावलाई लक्षित गरी सदस्यता अभियान चलाउने पनि जानकारी दिए । उनले स्थानीय निर्वाचन सकिएको तीन महिनाभित्र नेविसंघको महाधिवेशन गर्नुपर्ने भएकोले सो समयावधिमै महाधिवेशन गर्ने पनि बताएका छन्।
त्यस्तै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं नेविसंघका निःवर्तमान सभापति राजिव ढुंगानाले स्थानीय निर्वाचनलाई लक्षित गरेर पार्टीलाई जिताउन नेविसंघले अब काम गर्ने बताए। उनले राजनीतिक मुद्दाहरु भन्दा शैक्षिक मुद्दाहरु बोकेर नेविसंघ अब अगाडि बढ्ने बेला भएको बताएका छन्।
नेपालको पराजय
एकदिवसीय क्रिकेटमा रोहित पौडेलले पहिलो पटक शतक प्रहार गरेका छन्। त्रिवि क्रिकेट मैदानमा आफ्नो खेल करिअरमा नै पहिलो पटक रोहितले शतक प्रहार गरेका हुन्।
पपुवा न्युगिनीले दिएको २९३ रनको लक्ष्य पछ्याउने क्रममा रोहितले ७० बलमा शतक लाइन चुमेका हुन्। रोहितले एकदिसीय त्रिकेटमा ज्ञानेन्द्र मल्लले बनाएको रेकर्ड पनि तोडेर आफ्नो रेकर्ड कायम गरे। मल्लले बनाएको ४८० रनको रेकर्ड तोड्दै उनले आफ्नो कीर्तिमान कायम गरेका हुन्।
एकदिवसीय क्रिकेटमा शतक बनाउने रोहित दोस्रो नेपाली खेलाडी बनेका छन्। यसअघि पूर्वकप्तान पारस खड्काले पनि एकदिवसीयमा शतक प्रहार गरेका थिए।
रोहितले अर्धशतकमा पनि मल्लको रेकर्डसँग बराबरी गरिसकेका छन्। पारसले २८ जनवरी २०१९ मा अर्धशतक बनाएका थिए। उक्त खेलमा नेपालले त्यो सबैभन्दा धेरै १५४ रनको लक्ष्य पाएको थियो। त्यसपछि अहिलेसम्म नेपालले पाएको सबैभन्दा धेरै रनको लक्ष्य पनि आजकै हो।
नेपालले जवाफमा पूरा ओभर खेल्दै ९ विकेट गुमाएर २८६ रन मात्र बनाएपछि नेपालले पीएनजीसँग ६ रनको हार व्यहोरेको छ।