काठमाडौं- सावित्रा भण्डारी नेपाली फुटबलको चिरपरिचित नाम हो। नेपाली फुटबलमा उनको योगदानलाई एउटै उदाहरण काफी हुन्छ। नेपालमा साग गेम्स हुँदै थियो। सागमा नेपाली सिनियर महिला टिमले २०७६ मंसिर १९ गते पोखरा रंगशालामा माल्दिभ्सविरुद्ध खेलिरहेको थियो। त्यो खेलमा उनले गोल गरिन्। अन्तर्राष्ट्रिय खेलमा त्यो उनको ३८औं गोल हो। अनु लामाले बनाएको ३५ गोलको रेकर्डलाई तोडिसकेकी सावित्रा नेपालको सर्वकालिन सर्वाधिक गोलकर्ता हुन्।
उनले त्यो कोशेढुंगा पार गर्न ३४ खेलमात्र खेलेकी छन्। नेपाली महिला फुटबल खेलाडीमा सर्वाधिक गोल गर्ने रेकर्ड उनकै नाममा कायम छ। सायद मैदानमा उनको त्यस्तै आक्रामक उपस्थितिले होला उनी यो दशककै उत्कृष्ट महिला खेलाडी बनेकी छन्। नेपाल खेलकुद पत्रकार मञ्चले गएको मंगलबार उनलाई दशकको उत्कृष्ट खेलाडीको रुपमा सम्मान गर्यो।
‘मैले दशक अवार्ड पाएको छु। यसले पनि खेल्नका लागि मलाई प्रोत्साहन दिन्छ नै। अझै धेरै गर्न बाँकी नै छ। खेल करिअर धेरै बाँकी छ। त्यसमा अझै माथि पुग्नु छ,’ सावित्राले नेपाल समयसँगको कुराकानीमा भनिन्।
त्यसो त उनलाई दक्षिण एसियाकै सर्वाधिक उत्कृष्ट फरवार्डको रुपमा पनि बुझ्ने गरिएको छ। उनको खेल हेर्ने कसैले पनि त्यो अड्कल गर्न सक्छ। प्रतिद्वन्द्वी जोकेहि होस्– उनको प्रवेग, स्पिड, ड्रिबलिङ र अट्याक हैरान पार्ने खालका नै हुन्छन्। गत वर्षको पहिलो लिगमा उनले अझै खुलेर खेलिन्। भलै चोटका कारण त्यो लिग उनलाई घाटाको वर्ष भयो तर सावित्राले महिला लिगमा जमेर प्रदर्शन गरेकी थिइन्।
सावित्राले पहिलो खेलमै चन्द्रपुरविरुद्ध ह्याट्रिक गरिन्। त्यस्तै विराटनगरमाथि एपीएफले जित निकाल्दा सावित्रा एक्लैले चार गोल गरेकी थिइन्। त्यति मात्र होइन तीन पटकको लिग विजेता नेपाल पुलिसविरुद्ध सावित्राले ह्याट्रिक गरिन्।
जति लिग अघि बढ्दै गयो उनको गोल गर्ने क्षमता बढ्दै जाँदै थियो। एकदिन त यस्तो भयो कि सातदोबाटोको एन्फा कम्प्लेक्समा अघिल्लो वर्षको माघ १९ गते खेल थियो एपीएफ र चौदण्डीगढीको। त्यो खेलमा सावित्रा एक्लैले १२ गोल गरिन्। राष्ट्रिय प्रतियोगितामा एक्लैले १२ गोल, यो चानचुने प्रदर्शन पनि त थिएन।
सायद इतिहासकै दुर्लभ गोलसंख्या थियो त्यो। त्यसपछि अर्को खेलमा पनि उनले चौदण्डीगढीविरुद्ध आठ गोल गरेकी थिइन्। लिग चलिरहेको थियो। सावित्रा अझै धेरै चलिरहेकी थिइन्। ०७७ फागुन तीन गते भने सावित्राको लागि कालो दिन सावित भयो। पुलिसविरुद्धको खेलमा उनी घाइते भइन्। खेलको ७९औं मिनेटमा गोल प्रहार गरेर ल्यान्डिङ गर्ने क्रममा ल्यान्डिङ नमिलेपछि उनी लड्न पुगिन्।
उनलाई स्ट्रेचारमा राखेर मैदान बाहिर ल्याइएको थियो। चोटको टेस्ट गरेपछि थाहा भयो उनको घुँडाको एन्टेरियर क्रुसिएट लिगामेन्ट(एसीएल) च्यातिएको रहेछ। खेलाडीलाई यो चोटले लामो समय मैदानबाट बाहिर राख्ने गर्छ। उनी कति महिना बाहिर रहने टुंगो थिएन। त्यो समयमा नै त्यस्तै चोटको कतारमा उपचार गराइरहेका थिए विमल घर्ती मगर। दुई महिनाअघि उनलाई एन्फा मैदानमा त्यहि प्रकारको चोट लागेको थियो।
लिगको सर्वाधिक उत्कृष्ट फरवार्डको पुरस्कार लिन जाँदा पनि उनी सहजै हिँड्न सक्ने अवस्थामा थिइनन्। त्यो जितसँगै एपीफका खेलाडीले लिगको उपाधि नै सावित्राको स्वास्थ्यलाभको लागि समर्पित गरेका थिए।
अखिल नेपाल फुबटल संघ (एन्फा) सँग आफूलाई पनि कतारको अस्पेटर अस्पतालमा उपचार गराउन फरवार्ड सावित्राले आग्रह गरेकी थिइन्। कतारी फुटबल संघसँगको सम्झौता अनुसार हरेक वर्ष एन्फाले दुई खेलाडीलाई त्यहाँ निःशुल्क उपचार गराउन पठाउन सक्छ।
त्यो सम्झौता अनुसार सन् २०२१ मा विमलले उपचार गराइरहेका थिए। यता सावित्राले चाहिँ महिला लिगको दुई खेल गुमाइन्। मैदान बाहिर रहँदा पीडा त हुन्छ नै, यद्यपि वैशाखी टेकेर उनी लिगको अन्तिम खेल हेर्न त्रिपुरेश्वरको दशरथ रंगशालामा पुगेकी थिइन्।
लिगको सर्वाधिक उत्कृष्ट फरवार्डको पुरस्कार लिन जाँदा पनि उनी सहजै हिँड्न सक्ने अवस्थामा थिइनन्। त्यो जितसँगै एपीफका खेलाडीले लिगको उपाधि नै सावित्राको स्वास्थ्यलाभको लागि समर्पित गरेका थिए।
‘पहिले त गन्द्राङगुन्द्रुङमा पनि गोल गरिन्थ्यो, यो लिगमा चाहिँ धेरै राम्रा गोल भएका छन्,’ अवार्ड जितेपछि सावित्राले भनेकी थिइन्, ‘अहिले खेलको स्तर वृद्धि भएको पाएकी छु। नेपाली महिला खेलाडीले पनि मोडर्न फुटबल खेल्न थालेका छन्। नयाँ खेलाडी पनि ट्यालेन्टेड छन्। मेरो टिमको सहयोगले गर्दा म बेस्ट भएँ।’
घुँडाको शल्यक्रिया र साढे छ महिनाको रिहाबपछि नेपाली राष्ट्रिय महिला टिमकी स्ट्राइकर सावित्रा भण्डारी माघ २५ गते मंगलबार कतारबाट स्वदेश फर्किइन्। खेलाडीहरुलाई लाग्ने ठूलो चोटका रुपमा ब्याख्या गरिने एसीएलको चोटको उनको उपचार भएको थियो।
‘चोटले गुमाएको एक वर्ष धेरै कठिन भयो। चोट लागेपछिको पाँच महिना यत्तिकै बाहिर नै बसियो। त्यसपछि सर्जरी भयो। सर्जरीपछिको दुई महिना रिकभरी सेसनमा र अभ्यासले गर्दा सुधार आएको छ,’ सावित्राले भनिन्, ‘नभए त गाह्रो नै हुन्छ।’
अहिले उनको ग्राउन्ड रिहाब लगभग सकिएको छ। अब उनलाई एक्सपोजरको आवश्यकता छ र आवश्यक छ आत्मविश्वास पनि। एपीएफका प्रशिक्षक जनकसिंह थारुका अनुसार उनले एक महिनाबाट मैदानमा बलसँगै रिहाब गरिरहेकी छन्।
‘रिहाबपछि बलसँगै उनको अभ्यास भएको एक महिनाभन्दा धेरै भएको छ। कतारबाट फर्किएको भोलिपल्टबाटै उनी बलसँग अभ्यास गरिरहेकी छन्। त्यो दिनबाटै साथीहरुसँग पनि खेलिरहेकी छन्,’ जनकले भने, ‘अब खेल्दैछिन्, यो उनको कमब्याक हो।’
शारीरिक रुपमा हेर्ने हो भने सावित्रा ९० मिनेट खेल्ने भइसकेकी छन्। तर एपीएफले उनलाई एकैपटक पूरा समय भने खेलाउने छैन। उनलाई विस्तारै खेलमा फर्काउने जनकको योजना छ। जनले भने, ‘९० मिनेट नै खेल्ने क्षमता भए पनि रिस्क चाहिँ लिँदैनौ। उनलाई विस्तारै खेलमा भिजाउँछौं। त्यसैले दोस्रो हाफमा उनलाई मैदानमा उतार्नेछौं। त्यसपछि हेरेर हामीले कसरी खेलाउने निर्णय गर्नेछौं।’
जनकले सावित्राको अभ्यास हेरिरहेका छन्। उनको ‘विथ बल एक्सन’ पहिलेको जस्तै सशक्त छ। ‘अभ्यासको खेलहरु हेर्दा त लाग्छ उनी पहिलेजस्तै भइसकेकी छन्। खेल र अभ्यासमा केहि फरक हुन्छ। अब खेलमा पनि हेरौँ,’ प्रशिक्षकले भने। शारीरिक रुपमा त उनी ठिक भइसकेकी छन्। तर चोटपछि कतिपय खेलाडीले मैदानमा आफ्नो सय प्रतिसत दिन सक्दैनन्।
‘मैदानमा खेल्दा एउटा भावना हुन्छ। त्यसले मलाई कमजोर भएर खेल्न चाहिँ दिँदैन। मैदानमा पसेपछि आफ्नो पूरा शक्ति लगाएर खेल्ने हो। गेम इन्टेन्सन अनुसार खेल्नुपर्छ। म यसरी खेल्छु वा आएको बल खेल्छु भन्न मिल्दैन। इन्साइड द फिल्ड पहिलेकै रिदमले खेल्छु भन्ने लागेको छ,’
नेपालकै उदाहरण हेर्ने हो भने चोटले अनि त्यसको उपचारपछि पनि करिअर गुमाएर धेरै खलाडी छन्। कतिले कमब्याक पनि गरे। यस विषयलाई नजिकबाट नियालेका प्रशिक्षक जनक भन्छन्, ‘उनको आत्मबल कायम राख्नका लागि मोटिभेसनका प्रयासहरु गरिरहेका छौं। तर पनि पाँच दश प्रतिशत त डर हुन्छ नै। हामी त्यो डर हटाउने कोसिसमा छौं। र, तर एकैपटक रिस्क चाहिँ लिनु हुँदैन। ’
सावित्राको योजना पनि त्यहि नै छ। उनी खेलमा नआत्तिकन पुनरामगन गर्ने सोचमा छिन्। बिहीबारबाट सुरु हुने महिला लिगमा एपीएफले अर्को विभागीय क्लब आर्मीको सामना गर्नेछ। ‘अब उत्साहित त छु नै। मेरो फिक्स भएको छ वा छैन त्यो प्रशिक्षकलाई थाहा हुन्छ। उहाँले अब कसरी खेलाउनु हुन्छ। म चाहिँ खेल्न उत्साहि छु,’ सावित्राले भनिन्, ‘म नहुँदा पनि एपीएफको टिम धेरै राम्रो छ।’
उनले थपिन्, ‘व्यक्तिगत रुपमा भन्नुपर्दा म विस्तारै कमब्याक गर्ने योजनामा छु। हेरौँ अब कस्तो हुन्छ। म हतार चाहिँ गर्दिनँ।’ तर सावित्राको आफ्नै पेस (गति) छ। नेपाली फुटबलमा राज गरेकी उनले आफूलाई सावित गर्नुपर्ने पनि छ। त्यसैलै मैदानमा आएको बल मात्र खेलेर नुहेने सावित्राको सोचाइ छ।
चोट लाग्छ भनेर आफूलाई कमजोर सावित हुने गरि नेखेल्ने पनि उनको तर्क छ। ‘मैदानमा खेल्दा एउटा भावना हुन्छ। त्यसले मलाई कमजोर भएर खेल्न चाहिँ दिँदैन। मैदानमा पसेपछि आफ्नो पूरा शक्ति लगाएर खेल्ने हो। गेम इन्टेन्सन अनुसार खेल्नुपर्छ। म यसरी खेल्छु वा आएको बल खेल्छु भन्न मिल्दैन। इन्साइड द फिल्ड पहिलेकै रिदमले खेल्छु भन्ने लागेको छ,’ सावित्राले भनिन्, ‘आउटसाइड द फिल्ड जे पनि सोचिन्छ। तर मैदानमा सोचेको कुरा सबै लागू नहुन पनि सक्छन्।’
त्यसो त नेपालमा महिला खेलाडीले लगातार खेल्न पाउने भनेको यहि महिला लिगमा मात्र हो। महिलाको गोल्डकप पनि खासै हुँदैनन्। अरु बेलामा फुटबल हेरेर चित्त बुझाउनु पर्ने अवस्था छ महिला खेलाडीले।
त्यसैले सावित्रासँगै अहिले विभागीय टिम एपीएफका सबै खेलाडी लिग खेल्न उत्साहित छन्। ‘एक वर्षपछि चाड आएजस्तै भएको छ,’ प्रशिक्षक थारुले भने, ‘महिला लिग धेरै हुँदैन। बाँकी प्रतियोगिता पनि हुँदैनन्। त्यसैले उनीहरु उत्साहित छन्।’
गत साल एपीएफले एक गोल पनि नखाइकन लिग जित्ने लक्ष्य राखेको थियो। त्यो लय र लक्ष्यमा क्लब गइरहेको थियो तर लिगमा उसले एक गोलको सामना चाहिँ गर्यो। क्लबले यो वर्ष भने त्यस्तो लक्ष्य नराखेको प्रशिक्षक थारु बताउँछन्।
‘खेल हो जे पनि हुनसक्छ। गोल नखाऔं भन्ने हाम्रो रणनीति त हुन्छ नै। तर खेल हो गोल खाइन्छ पनि हानिन्छ पनि,’ जनकले चितवनबाट फोनमा भने, ‘तर यो वर्ष गर्मी धेरै भएको ठाउँमा आएका छौं।’
जनकका अनुसार टिमको अभ्यास राम्रो भएको छ। ‘टिमको तयारी र अभ्यास एकदमै राम्रो छ। साढे दुई महिनाबाट तयारी गरिरहेका छौं,’ प्रशिक्षकले भने। यो वर्ष लिग दुई फरक ठाउँमा हुँदैछ। डबल राउन्ड रोबिन शैलिमा हुने खेलको पहिलो लेगको खेल चितवनमा हुनेछ भने दोस्रो लेगको खेल विराटनगरमा हुनेछ।
‘चितवनको गर्मीमा अभ्यास गर्नका लागि एपीएफको टिम केहि दिनअघि नै काठमाडौंबाट आयोजनास्थल चितवन पुगेको थियो। तर उसले त्यहाँ अभ्यास गर्ने राम्रो मैदान पाएको छैन। सानो ठाउँमा मात्र अभ्यास गरिरहेको छ,’ प्रशिक्षक जनकले भने, ‘काठमाडौं भन्दा धेरै गर्मी रहेछ यहाँ। अर्को समस्या के भयो भने मैदान नै पाएको छैन। मैदान नपाएर हामी त्यतिकै सानो मैदानमा अभ्यास गरिरहेका छौं।’