काठमाडौं- अघिल्लो स्थानीय निर्वाचनका बेला काठमाडौं महानगर मेयरमा चर्चाको सूचीमा थिए सुसन वैद्य। त्यतिबेला उनी ३६ वर्षका थिए। कांग्रेसभित्र उनको स्थान काठमाडौं जिल्ला समिति सदस्यको थियो। ५०को मध्यदशकमा थापाथली इञ्जिनियरिङ क्याम्पसमा नेपाल विद्यार्थी संघको उपाध्यक्ष भएका सुसन ०६५ सालमा काठमाडौं नेविसंघको नेतृत्वमा झिनो मतान्तरले पराजित भएका थिए।
अघिल्लो स्थानीय निर्वाचनमा कांग्रेसका तर्फबाट मेयर पदमा टिकट नपाए पनि पार्टी पंक्तिमा उनको सक्रियता र काठमाडौंको 'सम्पदा बचाऊ अभियान'मा उनी खरो उत्रिए। पेसाले आर्किटेक्ट इञ्जिनियर सुसन खुलामञ्चदेखि कमलपोखरीसम्म जोडिएका अभियानमा अग्रपंक्तिमा रहे।
कांग्रेस महानगर समितिको सचिव रहेका उनी अहिले पनि आसन्न स्थानीय निर्वाचनअघि काठमाडौं मेयरको दाबेदार सूचीमा छन्। मेयरमा उनको दाबी र दृष्टिको अर्थ सान्दर्भिक होला भनेर नेपाल समयले यही सेरोफेरोमा ४० वर्षीय सुसनसँग लामो कुराकानी गरेको छ। प्रस्तुत छ कुराकानीको सम्पादित रुपः-
काठमाडौं महानगर मेयरका लागि कांग्रेसबाट झन्डै एक दर्जन आकांक्षी छन्। यो सूचीमा तपाईं पनि हुनुहुन्छ। अरुभन्दा आफूलाई कसरी अलग र बलियो पाउनुहुन्छ?
मेयरका सबै आकांक्षीहरूप्रति मेरो सम्मानभाव छ। उहाँहरू सबैले पार्टी पंक्तिमा योगदान गर्नुभएको छ। मभन्दा सिनियर कार्यकर्ता तथा नेताहरू जो काठमाडौं मेयरमा उम्मेदवारी दिन चाहनुहुन्छ, उहाँहरूका विषयमा मेरो केही टिप्पणी छैन। तर मैले काठमाडौंको नेतृत्व युवा पुस्ताबाट तय हुनुपर्छ भन्दै आइरहेको छु। यसको खास कारण छ।
राजनीतिक रूपमा मात्र होइन, देशकै सबैभन्दा ठूलो र महत्वपूर्ण महानगरको नेतृत्वसँग काठमाडौंमा बदल्न पर्ने कुरा बदल्ने र जोगाउने मार्गचित्र हुन जरुरी छ। त्यो 'रोडम्याप' कसरी कार्यान्वयन गर्न सकिन्छ भन्ने आयामिक र रणनीतिक योजना अति महत्वपूर्ण पक्ष हो। मेरा आदरणीय नेताहरूले युवाको जोस–जाँगर र योजनालाई मनन गरिदिनुभयो भने महानगरको नेतृत्वको लागि आफूलाई मैले तयार बनाएर राखेको छु भन्ने ठान्दछु।
देशकै राजधानी रहेको काठमाडौंबारे यसअघिका मेयरहरूले अनेकौँ वाचा र योजना सुनाए। तर कार्यान्वयनको पक्ष सधैं विरक्तलाग्दो मात्र देखियो। यसमा तपाईं कसरी अपवाद हुनुहोला र?
म पेसाले आर्किटेक्ट हुँ। सहरलाई हेर्ने मेरो नजरिया अलि अलग छ। सहर भन्ने बित्तिकै हामी फराकिला र चौडा सडक तथा अग्लाअग्ला भवन मात्रै सम्झन्छौं। यो होइन, यो बाहेक पनि सहरभित्र फरक चिजहरू जरुरी हुन्छन्। सबैभन्दा महत्वपूर्ण कुरा त सहरभित्र खुला स्पेस चाहिन्छ। काठमाडौंमा खुला ठाउँ हुनैपर्छ भनेर हामीले निरन्तर वकालत गरिरहेका छौं।
सन् २००८/०९ तिर हामीले 'लिभेबल काठमाडौं' भनेर पनि अभियान चलाएका थियौं। त्यसले काठमाडौं बस्न लायक बनाउन के–के गर्नुपर्छ भनेर प्यारामिटरमा अध्ययन गरेको थियो। इन्जिनियर साथीहरूकै टिम थियो। ६–७ महिना हामीले केही चिजमा अध्ययन गर्यौँ। तर, हामीले वायु प्रदुषण, ठोस फोहोरमैला व्यवस्थापन, ऊर्जा, सार्वजनिक यातायात र खानेपानीजस्ता पक्षहरूमा अध्ययन गरेका थियौं।