काठमाडौं- दोस्रो संविधानसभा निर्वाचन २०७०का बेला सिरहा–५ बाट उम्मेदवारी घोषणा गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए, ‘मधेशसँग मेरो लभ परेको छ। मेरो यो मायामा कहिल्यै कमी आउने छैन।’ त्यो निर्वाचनमा काठमाडौं-१० मा पराजित हुँदा मधेशी जनताले प्रचण्डलाई जिताएर पठाए पनि। तर, त्यसयता प्रचण्डमाथि मधेशलाई उपेक्षा गरेको आरोप लागिरहेको छ। प्रचण्ड माथिको त्यो आरोप स्वभाविक पनि छ। किनकी सिरहाबाट निर्वाचित भएको चार वर्षमै उनले निर्वाचन क्षेत्र परिवर्तन गरे र २०७४ को निर्वाचनमा उनी चितवन-३ बाट निर्वाचित भए। तर, प्रचण्ड भने मधेशलाई उपेक्षा गरेको आरोप स्वीकार गर्न तयार छैनन्। बरु मधेशसँग आफ्नो ‘डिप लभ’ ब्रेकअप नभएको दोहोर्याइरहन्छन्।
पछिल्लो पटक गत मंसिरमा पनि उनले मधेशसँग आफ्नो ‘डिप लभ’ जारी रहेको बताएका थिए। ‘मधेशी जनतासँग गरेको लभ ब्रेकअप भएको छैन, तपाईंहरू मसँग ब्रेकअप गर्न खोजेको हो र? हो भने मैले बुझ्ने गरी भन्नुहोला,’ उनले भनेका थिए। राजनीतिका चतुर खेलाडी मानिने प्रचण्ड मधेशी मधेशी जनतालाई फकाउन ‘डिप लभ’ परेको बताइरहन्छन् र ब्रेकअप नभएको भनेर ढाडस दिइरहन्छन्। मंसिरमै उनले भनेका थिए, ‘मधेशी जनतासँग भेट हुन्छ भनेर प्रमुख अतिथि आएको छु। परासीमा घण्टौं बसेको छु। यो जीवित सत्यले तपाईंलाई ब्रेकअप गर्न लागेको जस्तो लाग्छ?’
त्यसो त प्रचण्डले मधेशलाई माओवादीले युद्ध ताकादेखि नै प्राथमिकतामा राख्दै आएको दाबी पनि गर्ने गरेका छन्। माओवादी–मधेश सम्बन्धलाई स्मरण गर्दा उनी कहिले धनुषामा पहिलो पटक आफूलाई बम बनाउन सिकाएको बताउँछन्, त कहिले मधेशीकै प्रतिनिधित्व गरेर संसद्सम्म पुगेको सुनाउँछन्।
यद्यपि प्रचण्डले ‘डिप लभ’को कार्ड मधेशमा माओवादीको शक्ति थप कमजोर हुन नदिनका लागि प्रयोग गरेको बुझ्न कठिन भने छैन। किनकी हरेक निर्वाचनमा माओवादी मधेशमा कमजोर देखिँदै आएको छ। पहिलो संविधानसभामा माओवादी पहिलो शक्तिकारुपमा उदाएको थियो। तर, मधेशमा भने माओवादी पहिलो बन्न सकेको थिएन। शान्ति प्रक्रियापछि भएको मधेश आन्दोलनबाट उदाएका मधेशी दल नै पहिलो शक्ति बनेका थिए। दोस्रो स्थानमा माओवादी, तेस्रोमा कांग्रेस र एमाले चौथो शक्ति बनेका थिए। तर, दोस्रो संविधानसभाको निर्वाचनसम्म आइपुग्दा मधेशवादी दल र माओवादी कमजोर बन्दा कांग्रेस र एमाले बलियो बनेका थिए।
२०७४ सालको स्थानीय तहको निर्वाचनको परिणाम हेर्ने हो भने माओवादी मधेशमा थप कमजोर बनेर चौथो दल बनेको थियो। कांग्रेसले ४० स्थानीय तह जितेर पहिलो दल हुँदा तत्कालीन संघीय समाजवादी फोरमले २६, तत्कालीन राजपाले २५ तह जितेका थिए। २१ स्थानीय तह जितेको माओवादी केन्द्र चौथो बन्दा १८ तह जितको एमाले पाँचौ दल बन्न पुगेको थियो।
माओवादी–मधेश सम्बन्धलाई स्मरण गर्दा उनी कहिले धनुषामा पहिलो पटक आफूलाई बम बनाउन सिकाएको बताउँछन्, त कहिले मधेशीकै प्रतिनिधित्व गरेर संसद्सम्म पुगेको सुनाउँछन्।
यो तथ्यांक हेर्ने हो भने मधेशमा माओवादीको जनधार ओरालो यात्रामा छ। सोही कारण प्रचण्ड एकपटक फेरि मधेशी जनतालाई फकाउने तयारीमा छन्। पछिल्ला केही सातायता दौडधुप बढाएका प्रचण्ड चुनाव लक्षित कार्यक्रम लिएर मधेश प्रदेश जाने भएका छन्। दुई दिनका लागि प्रचण्ड मधेश प्रदेश जाने तय भएको उनको सचिवालयले जनाएको छ।
आइतबार गण्डकी प्रदेशमा रहेका प्रचण्ड सोमबार आराम गर्ने र मंगलबार मधेश प्रदेश जाने कार्यक्रम छ। ‘दुई दिनका लागि अध्यक्ष कमरेड मधेश प्रदेश जाने कार्यक्रम तय भएको छ। तर, कार्यक्रमको सेड्यूल बनिसकेको छैन,’ उनको सचिवालयले भन्यो, ‘चुनाव केन्द्रित प्रशिक्षण, भेला र सभाहरुमा उहाँले सम्बोधन गर्ने कार्यक्रम छ।’ धर्मराएको जनधार फर्काउने र कमजोर बनेको पार्टी संगठनलाई बौराउने उद्देश्य बोकेर मधेश झर्न लागेका प्रचण्डले मधेशी जनतालाई यसपटक के उपहार लैजान्छन्? त्यो भने हेर्न बाँकी छ। यद्यपि उनले यसपटक मधेश झर्दा नागरिकता समस्या समाधान गर्ने र मधेशको भावना समेट्ने गरी संविधान संशोधन गर्ने प्रतिबद्धता जनाउन सक्नेछन्।
बढेको छटपटाहट
निर्वाचनको मिति नजिकिएसँगै देश दौडाहलाई तीव्र बनाएका प्रचण्डमा छटपटाहट समेत बढेको छ। उनले हरेक कार्यक्रममा दिइरहेका अभिव्यक्तिले सोही कुराको पुष्टि गर्छन्। उनले हेरक भाषणमा एमालेमाथि प्रहार, सत्ता गठबन्धनकाबीचको सम्भावित चुनावी तालमेलमा आशंका, संगठन कमजोर बनेको सांकेतिक स्वीकारोक्तिसँगै पार्टीका नेता–कार्यकर्तामा उर्जा भर्न ढाडस दिने गरेका छन्। यसले सत्ता गठबन्धनका दलहरुबीच चुनावी तालमेल हुन नसकेको अवस्थामा पार्टीले भोग्नुपर्ने सम्भावित क्षतिको जोखिमका कारण प्रचण्डमा छटपटाहट बढेको देखिन्छ।
उनले आइतबार मात्रै पोखरा पुगेर घुमाउरो भाषामा पार्टी कमजोर बन्दै गएको स्वीकारोक्ति गरेका थिए। पोखरामा पत्रकारसँग भनेका थिए, ‘आगामी निर्वाचनमा गठबन्धन होला र जितौंला भनेर बस्दैनौं। अब दशक अघिजस्तो वातावरण छैन, जनतासँगको सम्बन्ध राम्रो बनाउँदै आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने हो।’
त्यसो त उनले रुगमाङ्गद कटवाल प्रकरणबाट पार्टी विभाजनको शृंखला सुरु भएको बताएका थिए। ‘कटवालकाण्ड हुँदै पार्टी विभाजनको श्रृंखला सुरु भएको थियो,’ उनले भनेका थिए, ‘एउटा, दुईवटा, तीनवटा कति हो कति ? अहिले फेरि एकता कति हो कति १४-१५ समूह लाइनमा छन्।’
उनले पार्टीलाई नयाँ ढंगले रुपान्तरण गर्नुपर्ने बताएका थिए। ‘यो पार्टी क्रान्तिकारी पार्टीकै रुपमा रुपान्तरण गर्ने वा त्यतिकै छोडिदिने? बनाउन सम्भव छ भन्ने प्रतिगमनविरुद्धको आन्दोलनले देखायो,’ प्रचण्डले भनेका थिए, ‘फलाम तातेको बेला हान्न पर्छ, यही हो बेला भनेर हामी पार्टी निर्माण तिर लागेका हौं।’
गठबन्धनभित्रै अनपेक्षित हेपाहा व्यवहार त सामान्य रुपमा देखा परेकै छ, अब पनि हामीले आफ्नो खुट्टामा उभिन साहस गरेनौं भने इतिहास नै संकटमा पर्नसक्छ
त्यसो त उनले चुनावमा गठबन्धन गर्न नहुने कांग्रेस नेताहरुको अभिव्यक्तिलाई देखाएर एमालेसँग तालमेल गर्न सकिने सम्भावनाको ढोका बन्द भइनसकेको भनेर घुर्की समेत लगाइरहेका छन्। गत बिहिबार बुटवल पुगेर उनले कांग्रेसले लखेटे मात्रै एमालेसँगको तालमेल बारे सोच्न सकिने बताएका थिए। उनले भनेका थिए, ‘राजनीतिमा असम्भव भन्ने हुँदैन। गठबन्धन जोगाउने वा बचाउने भूमिका कांग्रेसमा निर्भर रहन्छ।’
त्यसो त एक साताअघि विराटनगर पुगेर यस्तै अभिव्यक्ति दिएका थिए, ‘गठबन्धनभित्रै अनपेक्षित हेपाहा व्यवहार त सामान्य रुपमा देखा परेकै छ, अब पनि हामीले आफ्नो खुट्टामा उभिन साहस गरेनौं भने इतिहास नै संकटमा पर्नसक्छ।’
आइतबार पोखरामा पनि गठबन्धन गर्न नहुने पक्षधर कांग्रेस नेताहरुको प्रसंग निकालेका थिए। उनले कांग्रेस उपसभापति धनराज गुरुङप्रति निसाना साँधे। गुरूङले केही समयअघि विराटनगरमा आयोजित कार्यक्रममा भनेका थिए, ‘कांग्रेस भनेको हात्ती हो, कुकुर भुक्दै गर्दा हात्ती लम्कँदै गर्छ। हात्तीको कानभित्र ओत लाग्न पाऊँ भन्दै केही चमेराहरू निवेदन दिइरहेका छन्, हात्तीको कान ठूलो छ भन्दैमा चमेरोलाई ओत दिनुपर्छ, दिन्छ भन्ने कुनै सपना नदेखे हुन्छ।' गुरूङको यही अभिव्यक्तिप्रति लक्षित गर्दै प्रचण्डले सुन्नै नसकिने गाह्रो भाषा प्रयोग गरिएको बताएका थिए।
‘कांग्रेसका एकजना गुरूङजी छन् नि, हात्तीको उसमा चमेरा कि के भन्या छन् एउटा.. त्यस्तै भाषा क्या! बढो सुन्नै गाह्रो भाषा बोल्ने, तिनलाई भन्या हो। त्यसै गर्छन् भने त हामीले विकल्प खोज्नुपर्ने बाध्यता आउँछ,’ प्रचण्डले भनेका थिए। चुनाव लक्षित कार्यक्रममा प्रचण्डले विरोधाभाषपूर्ण अभिव्यक्ति दिइरहेका छन्। एकतर्फ उनी आफ्नै बलबुँतोमा निर्वाचन लड्नुपर्ने बताएर कार्यकर्तामा उर्जा भरिरहेका छन् भने अर्को तर्फ गठबन्धन नहोला कि भनेर चिन्ता समेत व्यक्त गरिरहेका छन्।
प्रचण्डका पछिपछि नारायणकाजी
फागुन १५ गते प्रतिनिधिसभाबाट एमसीसी सम्झौता अनुमोदन भएपछि नेता नारायणकाजी श्रेष्ठले पार्टी नेतृत्वको चर्को आलोचना गरे। आफू निकट नेताहरुसँग निरन्तर छलफल गरे। एमसीसीमा राष्ट्रघात भएको भन्दै देशभक्त शक्तिहरुलाई एकठाउँमा उभिन अपिल गरे। फागुन १८ गते नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवसँग भेटवार्ता गरेपछि प्रचण्डसहित अन्य माओवादी नेताहरु श्रेष्ठसँग झस्किएका थिए। नेता श्रेष्ठले पार्टी छाडेर विप्लवसँग हातेमालो गर्न लागेको समाचार बाहिरिएपछि उनीहरु झस्किएका हुन्। सम्भावित विद्रोहको जोखिम टार्न प्रचण्ड श्रेष्ठ निवास हात्तिवन धाए।
तर, एमसीसी अनुमोदन भएको एक महिना नबित्दै अवस्था फेरिएको छ। अहिले प्रचण्डसँगै श्रेष्ठ पनि देश दौडाहमा छन्। प्रचण्ड जहाँ–जहाँ पुग्छन्, नेता श्रेष्ठ पनि पछिपछि त्यही पुग्छन्। एक महिना अघि विद्रोही देखिएका श्रेष्ठ अहिले प्रचण्डका अतिनिकट नेताझैं देखिन पुगेका छन्। दुई नेता सँगसँगै हिड्नुको गहिरो अर्थ रहेको माओवादीकै अर्का एक नेता सुनाउँछन्। ‘एमसीसीका सन्दर्भमा पार्टीमा देखिएको मतभेदका कारण तल्लो तहमा सन्देश राम्रो गएको थिएन। थुप्रै आशंका जन्मिएका थिए,’ ती नेता भन्छन्, ‘त्यही भ्रम चिर्न दुई जना सँगसँगै हिड्नुभएको हो। यसले राम्रै सन्देश गएको छ।’