काठमाडौं– साउदी अरबका राजकुमार तथा विदेशमन्त्री फैसल बिन फरहान अल साउद नेपालको दुई दिने भ्रमण सकेर स्वदेश फर्किएका छन्। सोमबार साँझ काठमाडौं उत्रिएका साउद उच्चस्तीय भेटघाट सकेर आज अपराह्न स्वदेश फर्किएका हुन्।
उनलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलको विशिष्ट कक्षमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि साउदी अरबका राजदूत मुसैद सुलेमान एम अल मरवानी, परराष्ट्र मन्त्रालय र नेपालस्थित साउदी अरबको दूतावासका उच्च अधिकारीहरूले स्वागत गरेका थिए। निजी विमानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उत्रिएका विदेशमन्त्री साउदले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा र परराष्ट्रमन्त्री नारायण खड्कासँग भेटवार्ता गरेका थिए।
उच्चस्तरीय भेटघाटपछि परराष्ट्र मन्त्रालयले आयोजना गरेको दिवा भोजमा सरिक भई उनी विमानस्थल प्रस्थान गरेका छन्।
सोमबार श्रीलंकाबाट नेपाल आइपुगेका साउदी राजकुमार साउदको टोलीसँग भएको भेटमा आपसी सहकार्य र द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा कुराकानी भएको बताइएको छ। आज नै परराष्ट्रमन्त्री खड्का र साउदीका विदेशमन्त्रीसमेत रहेका राजकुमार फैसलबीच पारस्परिक सहयोग अभिवृद्धि गर्नेसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।
नेपाल र साउदी अरबबीच जनरल कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर भएको हो। मन्त्रिपरिषद् बैठकले गत साता उक्त सम्झौतामा हस्ताक्षरका लागि स्वीकृति दिएको थियो। नेपाल र साउदीबीच राजनीतिक, आर्थिक र सामाजिक क्षेत्रमा सहकार्यका लागि उक्त सम्झौताले मार्गनिर्देश गर्नेछ।
उक्त सम्झौतापछि नेपाल र साउदी अरबबीच सञ्चार, शिक्षा, संस्कृति, उद्योग, खेलकुदलगायत क्षेत्रमा सहकार्य गर्न बाटो खुलेको छ। साउदी अरब नेपाली श्रमिकका निम्ति प्रमुख गन्तव्य देश पनि हो। करिब चार लाख नेपालीले साउदीमा रोजगारी पाएका छन्।
नेपाल र साउदी अरेबियाबीच कूटनीतिक सम्बन्ध बनेको ४५ वर्ष पूरा भएको अवसरमा त्यहाँका विदेशमन्त्री काठमाडौं आएका हुन्। सन् १९७८ मार्च १५ मा दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएको थियो।