आइतबार, मंसिर ७, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • महामारीबाट तंग्रिएको खेलकुदले गति लिँदै, चैतमा डेढ दर्जन राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रतियोगिता

महामारीबाट तंग्रिएको खेलकुदले गति लिँदै, चैतमा डेढ दर्जन राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रतियोगिता

सरकारले लगाएका प्रतिबन्धहरु फुकुवा भएपछि घरेलु तथा अन्तर्राष्ट्रिय खेल गतिविधि बढ्न थालेका छन्। लामो समय खेल्न नपाएर घरमै थन्किएका खेलाडीको व्यस्तता बढेको छ।
 |  मंगलबार, चैत १, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, चैत १, २०७८

काठमाडौं- कोरोना महामारीका कारण थलिएको खेलकुद क्षेत्र चलायमान भएको छ। सरकारले लगाएका प्रतिबन्धहरु फुकुवा भएपछि घरेलु तथा अन्तर्राष्ट्रिय खेल गतिविधि बढ्न थालेका छन्। लामो समय खेल्न नपाएर घरमै थन्किएका खेलाडीको व्यस्तता बढेको छ।

माघ अन्त्यदेखि कोरोना महामारीको तेस्रो लहर कम हुन थालेपछि फागुनमा केही प्रतियोगिताहरु भए। धनगढीमा खप्तड गोल्डकप र झापामा झापा गोल्डकप भर्खरै सकिएको छ।
यो महिना चैतमा त नेपाली खेलकुद क्षेत्र धेरै नै व्यस्त हुँदैछ। डेढ दर्जनभन्दा बढी राष्ट्रिय-अन्तर्राष्ट्रिय प्रतियोगिता यो महिनाका लागि तय भएका छन्।

फुटबल, क्रिकेट, भलिबललगायत समूहगत खेलका राष्ट्रिय अन्तर्राष्ट्रिय प्रतियोगिता यही महिना हुनेछन्। खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने पल्सर स्पोर्टस अवार्डसमेत यसै महिना परेको छ। १८औं पल्सर स्पोर्टस अवार्ड ८ चैतमा कमलादीस्थि प्रज्ञा भवनमा आयोजना हुनेछ।

बागमती प्रदेशको राजधानी हेटौंडामा २८ फागुनमा सुरु भएको बागमती प्रदेशस्तरीय खेलकुद प्रतियोगिता चैत महिनाभर चल्नेछ। यसमा विभिन्न खेलकुद समावेश गरिएको छ।

फुटबलतर्फ मोफसलमा गोल्डकपको सिजन सुरु भएको छ। विभिन्न जिल्लामा जिल्ला लिग हुँदैछ।

नेपाली राष्ट्रिय क्रिकेट टिम चैतमा सबैभन्दा व्यस्त हुने देखिएको छ। फुटबल टिमले पनि मैत्रीपूर्ण खेल खेल्ने तय भएको छ। नेपालको पहिलो फ्रेन्चाइज लिग नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण पनि यही महिनाको अन्तिममा सुरु हुनेछ। त्यसैगरी ए डिभिजन लिग च्याम्पियन मछिन्द्रले पहिलो पटक एएफसी कपको प्रारम्भिक चरण यही महिना खेल्दैछ।

National life


 

नेपाली राष्ट्रिय क्रिकेट टिमले चैतमा तीन वटा श्रृंखला खेल्नेछ। आईसीसी क्रिकेट विश्वकप लिग टु को त्रिकोणात्मक श्रृंखला यूएईमा चैत १ देखि ८ गतेसम्म सञ्चालन हुनेछ। उक्त श्रृंखलामा नेपाल र यूएईसहित पपुवा न्यु गिनीले खेल्नेछन्। नेपालले पहिलो खेल चैत २ गते पीएनजीसँग खेल्ने तय भएको छ। चैत ४ गते यूएई, चैत ७ गते यूएई र चैत ८ गते पीएनजीसँग खेल्नेछ।

उक्त प्रतियोगिता सकेर स्वदेश फर्किएलगत्तै नेपालले घरेलु मैदानमा एकदिवसीय र टी२० त्रिकोणात्मक श्रृंखला खेल्नेछ। नेपाल र पपुवा न्यु गिनीबीच चैत ११ र १२ गते दुई एकदिवसीय खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने तालिका छ। नेपाल, पपुवा न्यु गिनी र मलेसिया सम्मिलित टी २० अन्तर्राष्ट्रिय त्रिकोणात्मक श्रृंखला चैत १४ देखि २१ गतेसम्म त्रिवि मैदानमै हुँदैछ।

सरकारले लगाएका प्रतिबन्धहरु फुकुवा भएपछि घरेलु तथा अन्तर्राष्ट्रिय खेल गतिविधि बढ्न थालेका छन्। लामो समय खेल्न नपाएर घरमै थन्किएका खेलाडीको व्यस्तता बढेको छ।

घरेलु प्रतियोगितातर्फ यू १९ महिला क्रिकेट प्रतियोगिता धनगढीमा चैत ६ देखि ११ गतेसम्म आयोजना हुँदैछ।

फुटबलतर्फ राष्ट्रिय टिम, उमेर समूहदेखि क्लब फुटबल र ‘बी’ डिभिजन लिगका खेलहरु हुनेछन्। नेपाली महिला यू १८ टिमले भारतको जम्सेदपुरमा चैत १ देखि १० गतेसम्म साफ च्याम्पियनसिप खेल्दैछ। प्रतियोगितामा नेपाल, भारत र साविक विजेता बंगलादेश सहभागी हुनेछन्। नेपालले भारत र बंगलादेशसँग दुई-दुई खेल खेल्नेछ।

त्यसैगरी नेपालले चैत १० गते फिफा वरीयतामा ५५ स्थान माथिको थाइल्याण्डसँग उसकै मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दैछ। चैत १३ गते नेपाली टोलीले थाइ लिगमा शीर्ष डिभिजनको क्लब चोनवुरी एफसीसँग पनि मैत्रीपूर्ण खेल्न लागेको हो।

त्यसैगरी ए डिभिजन लिग च्याम्पियन मछिन्द्रले चैत २२ गते एएफसी कपको प्रारम्भिक चरणको खेल श्रीलंकाको ब्लु स्टारसँग खेल्नेछ। दशरथ रंगशालामा हुने यो खेल जितेमा मछिन्द्रले चैत २९ गते एटिके मोहन बगानसँग भारतमा गएर खेल्ने अवसर प्राप्त गर्नेछ।

एन्फाको आयोजनामा चैतमै राष्ट्रिय महिला लिग पनि सुरु हुनेछ। ८ टिम सहभागी हुने लिगको पहिलो चरण चैत १० देखि ३० गतेसम्म चितवनको भरतपुरमा सञ्चालन हुनेछ। एन्फाकै आयोजनामा १८ फागुनदेखि सुरु भएको सहिद स्मारक बी डिभिजन लिग चैत २७ गतेसम्म एन्फा कम्प्लेक्स सातदोबाटोमा चल्नेछ।

Laxmi sunrise bank
kumari

त्यसैगरी नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टको आयोजनामा नेपाल सुपर लिगको दोस्रो संस्करण २६ चैतमा सुरु हुनेछ। यस पटक तीन नयाँ टिम थपिएपछि सुपर लिगमा १० टिमले प्रतिस्पर्धा गर्नेछन्।

भलिबलतर्फ नेपाल भलिबल संघले हरेक वर्ष आयोजना गर्ने एनभीए क्लब लिग भलिबलको पछिल्लो संस्करण चैत महिनामा आयोजना हुने भनिए पनि मिति निर्धारण भएको छैन। गत असोजमा भएको क्लब च्याम्पियनसिपबाट छानिएका टोलीबीच लिग आयोजना हुन लागेको हो।

भलिबल संघको सहयोगमा सञ्जय स्मृति प्रतिष्ठानले पाल्पाको रानीमहल नजिक कालीगण्डकी किनारमा महिला बिच भलिबल आयोजना गर्दैछ। चैत २४ देखि २६ सम्म आयोजना हुने प्रतियोगितामा सात प्रदेश र तीन विभागीय टोलीको सहभागिता रहनेछ। त्यसैगरी बाँके जिल्ला भलिबल संघको आयोजनामा प्रधानमन्त्री कप आमन्त्रण महिला भलिबल प्रतियोगिताको सातौं संस्करण चैत १० देखि १४ गतेसम्म नेपालगन्जमा हुँदैछ।

अन्य प्रतियोगितातर्फ चैत पहिलो साता राष्ट्रव्यापी ब्वाइज एण्ड गर्ल्स स्कुलस्तरीय बक्सिङ प्रतियोगिता चैत ५ देखि ७ गतेसम्म त्रिपुरेश्वरस्थित कभर्डहलमा, चैत २६ गते जुम्ला रारा अल्ट्रा म्याराथन हुँदैछ।

प्रकाशित: Mar 15, 2022| 08:10 मंगलबार, चैत १, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।